घरबाट निकालिए, प्राध्यापक हुँदै उपकुलपति बने
काठमाडौं । ‘आफ्नै आँखाअगाडि खुलेआम राष्ट्रको अहित गरेर, भ्रष्टाचारमै लिप्त भएर, मुलुकलाई अनिश्चयको यो भुमरीमा ल्याएर छोड्नेहरूका अगाडि उभिएर ‘तपाईंजस्तो महान् आत्माबाट मेरा लागि यो लाभको पद वा दयादान बक्स्यिोस्’ भन्नु आत्महत्या गर्नुभन्दा सजिलो छ र ? अथवा, त्यो नै आत्महत्याको अर्को रूप होइन र ?’ यो प्रश्न आजभन्दा ८ वर्षअघि अर्थात् २०७३ असोज १८ गते नेपाल म्यागेजिनमा डा. अच्युत वाग्लेले ‘सुसाइड नोट’ शीर्षकमा लेखेको लेखको अन्तिम अनुच्छेद हो । डा. वाग्लेले लेखमा आफू आर्थिक समस्यामा पर्दाको सकस, आफ्नो हक्की र स्पष्ट बानी-व्यवहारले आफ्नो जीवनमा पारिरहेको प्रभाव, नेपालमा मौलाउँदै गएको भ्रष्टाचार र त्यो भ्रष्टाचारमा लिप्त राजनीतिक दलका शीर्ष नेताहरूप्रतिको आक्रोश पोखेका छन् । उनको लेखको निष्कर्ष बुझ्न सकिन्छ कि ‘उनले कुनै पनि नेतालाई जी हजुरी नगरेकै कारण उनले हालसम्म कुनै नियुक्ति वा आकर्षक पद पाएनन् ।’ तर, सोमबार प्रा.डा. वाग्लेलाई सरकारले काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्यो । विगतमा प्रधानमन्त्री केपी शर्मा ओली र अन्य राजनीतिक दलका शीर्ष नेताहरूको खरो आलोचकका रूपमा परिचित डा. वाग्लेको नियुक्तिको विषयमा अहिले सामाजिक सञ्जालमा बहस पनि भइरहेको छ । विशेष गरेर विगतमा ओलीको आलोचक वाग्लेलाई तिनै ओलीले उपकुलपति बनाएको भन्दै ओली निकट तथा नेकपा एमालेका कार्यकर्ताले ओलीको जयजयकार गरिरहेका छन् भने वाग्लेले ओलीसमक्ष निहुरिँदै सपथ लिएको तस्बिर राखेर वाग्लेलाई व्यङ्ग्य पनि गरिरहेका छन् । यी सबै विषयलाई थाति राख्दै ओलीले वाग्लेलाई उपकुलपतिमा नियुक्त गरेर उनको क्षमताको सम्मानमात्रै गरेका छैनन्, काठमाडौं विश्वविद्यालयको नेतृत्व एउटा काबिल र क्षमतावान व्यक्तिलाई सुम्पेका छन् । दुई महिनादेखि उपकुलपति छनोटको दौडमा लागेको काठमाडौं विश्वविद्यालयले पनि अन्ततः एउटा योग्य उपकुलपति पाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. वाग्लेलाई उपकुलपतिमा नियुक्त गरेपछि उनले मंगलबार प्रधानमन्त्री ओलीसमक्ष सपथ लिएका छन् । को हुन प्रा. डा. वाग्ले ? काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्त वाग्लेको घर काभ्रेको बनेपा नगरपालिका हाे । विसं २०२५ सालमा जन्मिएका उनको बाल्यकाल गाउँमै बित्यो । वाग्ले थप अध्ययनका लागि काठमाडौं छिरेका थिए । बाल्यकालदेखि नै हक्की स्वभावका उनको रुचि सानैदेखि राजनीति थियो । तर, राजनीति उनलाई खासै फापेन । बाल्यकालमा राजनीति गर्दाको विषय स्मरण गर्दै डा. वाग्लेले एउटा लेखमा लेखेका छन्, ‘मेरो राजनीतिक जीवन १२ वर्षको हुँदा सुरु भएको हो, १६ वर्ष पुग्दै थिएँ । एसएलसी नजिकै थियो । पिताजीले एक दिन राति ९ बजे सोध्नुभो, ‘घर छोड्ने कि राजनीति ?’ मैले भनेँ, ‘घर’ । त्यसो भए अहिल्यै छोड्ने,’ बुवाले आदेश दिनु भो । मैले तत्काल त्यही राति घर छोडेँ ।’ त्यो रात घर छोडेपछि उनले सात वर्षसम्म दशैं मनाउन पनि घर नफर्केको बताएका छन् । उनले आफ्नो बुवासँग समेत नझुकेको आफू अरूसँग झुक्न नसकेकै र व्यावहारीक बन्न नसकेकै कारण जीवनमा ठूलो आर्थिक समस्या भोग्नु परेको विषय पनि लेखमा उल्लेख गरेका छन् । उनको शैक्षिक यात्रा निरन्तर चलिरह्यो । प्राज्ञिक कार्यमा अगाडि बढिरहे । उनले त्रिभुवन विश्वविद्यालय र बेलायतको बर्मिङ्घम विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् भने भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)बाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । प्रा. डा. वाग्ले एक प्रसिद्ध स्तम्भकार पनि हुन् । उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकार र नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर तीलक रावलको सल्लाहकारको रूपमा पनि काम गरिसकेका छन् । प्राध्यापक डा. वाग्लेले ५ वर्ष नेपाल राष्ट्र बैंकमा काम गरेका थिए । त्यसैले पनि उनीसग मौद्रिक नीतिको राम्रो ज्ञान छ । उनले आर्थिक नीतिहरूलाई मार्गदर्शन गर्नेकार्यमा पनि महत्त्वपूर्ण भूमिका खेलेका छन् । विशेष गरी देउवा प्रधानमन्त्रीहुँदा उनी सल्लाहकारका रूपमा गरेर उनलाई सफल बनाउन पनि भूमिका खेलेका थिए । उपकुलपतिमा नियुक्त हुनुअघि प्रा.डा. वाग्ले काठमाडौं विश्वविद्यालयकै रजिष्ट्रारका रूपमा काम गरिरहेका थिए । गत ६ माघमा उपकुलपति प्रा.डा. भोला थापाको कार्यकाल सकिएपछि उनी कामु उपकुलपतिमा नियुक्त भएका थिए । प्रा.डा. वाग्लेसँग केयूको स्कुल अफ म्यानेजमेन्ट (कुसोम)को एसोसियट डिन तथा व्यवस्थापन विज्ञान विभागको प्रमुखका रूपमा काम गरेको अनुभव पनि छ । उनले विश्वविद्यालयमा इकोनोमेट्रिक्स, व्यावसायीक वातावरण लगायतका विषय अध्यापन गराउने गरेका छन् । आर्थिक, शैक्षिक र नीति परामर्शको क्षेत्रमा राम्रो अनुभव र ज्ञान भएका डा. वाग्लेको नेतृत्वमा विश्वविद्यालय नयाँ शैक्षिक र संस्थागत उन्नतिमा अगाडि बढ्ने अपेक्षा गरिएको छ । शिक्षकसँगै पत्रकार पनि उनी शिक्षकका रूपमा शिक्षणमा आवद्ध भएका थिए । दक्षिण एशियाली प्रबन्धन संस्थानमा शिक्षकको रूपमा सेवा गरेका थिए । वाग्लेले ललितपुर जिल्लाबाटै अंग्रेजी विषयमा उत्कष्ट शिक्षकको अवार्डसमेत पाएका थिए । आर्थिक, राजनीतिक, व्यावसायीक तथा वित्तीय क्षेत्रको एक अब्बल विश्लेषकका रूपमा आफ्नो परिचय बनाएका वाग्लेले अब आफ्नो क्षमता र अनुभव काठमाडौं विश्वविद्यालयमा देखाउनु पर्नेछ । आर्थिक क्षेत्रमा दख्खलता भएका वाग्ले एक अब्बल पत्रकारसमेत हुन् । उनीसँग आर्थिक अभियान राष्ट्रिय दैनिकको सम्पादकको नेतृत्व गरेको अनुभव पनि छ । वाग्लेसँग काम गरेकाहरू एक काबिल र पृथक काम गर्न रुचाउने व्यक्तिका रूपमा उनलाई चिन्छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग काठमाडौं विश्वविद्यालयलाई एउटा प्रतिस्पर्धी र विद्यार्थीको आकर्षण हुने विश्वविद्यालयको रूपमा अगाडि बढाउने प्रण गरेका छन् ।
बिहीबारदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा बिहीबारदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव गर्ने भएको छ । यो महोत्सव २०७१ चैत ७ गतेदेखि २०८२ वैशाख २९ गतेसम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका शहरहरूमा आयोजना हुने नेपाल पर्यटन बोर्डले जनाएको छ । लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रको रूपमा प्रवद्र्धन गर्नुका साथै नेपाल, चीन र अन्य राष्ट्रहरूबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको आदानप्रदानलाई प्रोत्साहन दिन महोत्सव आयोजना गरिएको बोर्डले जनाएको छ । चैत ७ गतेदेखि सुरु हुने यस महोत्सवमा चैत ८ गते मायादेवी मन्दिर बाहिरको पवित्र उद्यानमा १०० भिक्षु र ४०० साधकहरूको सहभागितामा ध्यान सत्र सञ्चालन हुनेछ । चैत ९ गते खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन हुनेछ । यसबीचमा लुम्बिनी शान्ति सांगीतिक कार्यक्रम, झोंग हुआ गुम्बाको २५औं वार्षिकोत्सवको अवसरमा फोटो प्रदर्शनी, बुद्ध दीक्षा समारोहलगायतका विविध कार्यक्रम गर्ने र वैशाख पूर्णिमाको दिन विशेष समापन समारोह हुने बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस महोत्सवलाई लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक समिति, युनान माउन्टेनियरिङ तथा आउटडोर स्पोट्र्स संघ, केजीएच ग्रुप, भिभो, दीपल, बुद्ध एयर जस्ता स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गर्ने छन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक जोशीले दास्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव नेपालले शान्ति र सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न गरेको प्रतिबद्धताको प्रतीकको रुपमा अघि बढाइएको बताएका छन् । उनले भने, ‘हामी विश्वभरका पाहुनाहरूलाई लुम्बिनीको आध्यात्मिक अनुभव गर्न र विश्वव्यापी सौहार्दता मनाउन निमन्त्रणा गर्दछौं ।’
पोखराबाट ‘पोखरा-छेन्दु’ को पहिलो व्यावसायिक चार्टर उडान
काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलोपटक मित्रराष्ट्र चीनको सिचुुवान प्रान्तको छेन्दुुमा व्यावसायिक चार्टर उडान भएको छ । विमानस्थल उद्घाटनको दुुई वर्षपछि मङ्गलबार पोखराबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक चार्टर उडान गरिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडानका लागि गरिएको निरन्तर प्रयासपछि निजी क्षेत्रका पर्यटन व्यवसायीको पहल एवं पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनिज एसोसिएसनसँगको सहकार्यमा पहिलोपटक व्यावसायिक चार्टर उडान गरिएको हो । पहिलोपटक भएको अन्तरराष्ट्रिय उडानको प्रत्यक्ष साक्षी बन्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष–२०२५ का कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईलगायत १२६ सदस्यीय पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली छेन्दु आई पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम अघि बढाएको छ । महानगर प्रमुखसहितको पोखरेली टोलीलाई छेन्दु विमानस्थलमा चीनका लागि नेपाली महावाणिज्यदूत सुरेश राउत, सिचुवान प्रदेशका उच्चपदस्थ अधिकारी, सिचुवान एयरलायन्सका प्रतिनिधिलगायतले भव्य स्वागत गरेका थिए । उक्त अवसरमा महानगरप्रमुख आचार्यले २०२३ को जनवरी १ मा उद्घाटन भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट उद्घाटनको २ वर्षसम्म पनि अन्तरराष्ट्रिय उडान हुन नसकेको अवस्थामा महानगरपालिका, पोखरा पर्यटन परिषद्सहितको निरन्तरको प्रयासबाट पहिलो व्यावसायिक चार्टर उडान गरिएको बताए । पोखराको पर्यटकीय विकास सम्बन्धमा चिनियाँ राजदूतावासबाट पनि २ देशका पर्यटन व्यवसायीबीच ‘बिटुबी’ गर्ने सम्बन्धमा छलफल भएको उल्लेख गर्दै उनले यसै अभियानमा पनि बिटुबीलगायतका कार्यक्रम गर्न लागिएको जानकारी दिए । छेन्दुबाट १ हजार २५० पर्यटक विभिन्न उडानमार्फत पोखरा जाने तय भएको जानकारी दिँदै महानगरप्रमुख आचार्यले त्यहाँबाट पनि पर्यटक पठाउने कार्यमा लाग्ने बताए ।