एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्रीको वितरण
काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरुमा हानिएका प्रत्येक चौका वापत विद्यार्थीहरुलाई चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुसार शैक्षिक सामग्रीहरुको वितरण शुरु गरेको छ । यसै कार्यक्रम अन्तर्गत मंगलबार लुम्बिनी प्रदेशका तिन विद्यालयहरुमा ४४६ वटा शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । क्रिकेटदेखि कक्षाकोठासम्मको यो पहलमा क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका खेलहरूमा हानिने प्रत्येक चौका वापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गत मंसिरमा गरेको थियो । यसले विद्यार्थीहरूमा अर्थपूर्ण प्रभाव पार्दै शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने उद्देश्य राखेको छ । मंगलबार एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाईरेक्टर विषाखा लक्ष्मी खड्काले कपिलवस्तु नगरपालिका, वडा १० का श्री राष्ट्रिय माध्यामिक विद्यालय र मदरसा वहरुल उलूमका २६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । त्यसैगरी मंगलबार नै एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले राप्ति सोनारी गाँउपालिका, वडा ४ मा रहेको श्री बालकशान्ति प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई १८६ शैक्षिक सामग्री वितरण गरेका छन् । ‘आफ्नो प्रतिबद्धता बमोजिम प्राथमिक तहका विद्यार्थीहरूलाई एनसेल फाउन्डेसनमार्फत विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्रीको सहयोग प्रदान गर्न पाउँदा खुशी छौं। गुणस्तरीय शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार हो । यो पहलले विद्यार्थीहरूलाई शिक्षामा मद्दत गर्ने विश्वास मैले लिएको छु र साथै यसले शैक्षिक स्रोतको अभाव कम गर्न सहयोग गर्दछ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने । विद्यार्थीहरुले प्राप्त गरेका प्रत्येक शैक्षिक सामग्रीमा शैक्षिक सामग्रीहरु जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश छन् । ‘यो एक उत्कृष्ट पहल हो, जसमा शिक्षालाई क्रिकेटसँग जोड्दै एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विद्यार्थीहरूलाई उनीहरूको शिक्षामा सहयोग पुर्याउँछ । कपिलवस्तुमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा बच्चाहरूसँग समय बिताउदै र उनीहरुसँग खुशी बाँड्दै सहभागी हुन पाउँदा म अत्यन्तै खुशी छु,’ क्यानका सचिव पारस खड्काले भने । यस पहल अन्तर्गत एनसेल फाउन्डेसनले एनपीएलमा हानिएका ६५३ चौका वापत कुल २६१२ वटा शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गर्नेछ । कपिलवस्तुका दुई विद्यालयहरूले एनसेल फाउन्डेसनको फेसबुक पेजबाट यस पहलका बारेमा थाहा पाएपछि एनसेल फाउन्डेसनसँग सहयोगको लागि अनुरोध गरेका थिए, भने श्री बालकशान्ति विद्यालयले एनसेलको नेपालगञ्ज कार्यालयमार्फत सहयोगको लागि अनुरोध गरेको थियो । ‘हामी यस पहलप्रति प्राप्त व्यापक उत्साहजनक प्रतिक्रियाबाट उत्साहित छौं । शैक्षिक सामग्री वितरणको कामलाई निरन्तरता दिदै क्यान जस्ता सम्बन्धित साझेदारहरूसँगको सहकार्यमा देशका अन्य भागका विद्यार्थीहरूलाई पनि शैक्षिक सामग्री उपलब्ध गराउने छौं,’ एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाईरेक्टर विषाखा लक्ष्मी खड्काले भनिन् । एनपीएलका लागि एनसेलको साझेदारी र प्रत्येक चौका वापत ४ वटा शैक्षिक सामग्रीको वितरण कम्पनीको ‘हामी तपाईंकै लागि’ भन्ने थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धता अनुरुप रहेको थियो । एनसेल फाउन्डेसन महत्वपूर्ण सामाजिक आवश्यकताहरू पूरा गर्न प्रभावकारी पहल मार्फत समुदायहरूको समृद्धिमा योगदान पुर्याउन प्रतिबद्ध रहेको छ ।
‘दाँत तथा मुख स्वस्थ राख्न १० मिनेट छुट्याउँ’
काठमाडौं । आज मार्च २०, ‘स्वस्थ मुखः सकारात्मक सोच’ भन्ने नाराका साथ विश्वभर मुख स्वास्थ्य दिवस २०२५ मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मदै तालु तथा ओठ चिरेको (खुँडे), गिँजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगबाट मुक्त हुने अवस्थाको रुपमा व्याख्या गरेको छ । नेपालमा दाँत किराले खाने, गिँजाबाट रगत आउने, गिँजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या अधिकांशमा देखिन्छ । चिनीको खपत, सुर्ती, रक्सीको प्रयोग र सरसफाइको कमी मुखसम्बन्धी स्वास्थ्य समस्याका मुख्य कारक रहेको डब्लुएचओको भनाइ छ ।दन्त विशेषज्ञसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी दाँतको तथा मुखको स्वास्थ रह्यो भने ९० देखि ९५ प्रतिशत समस्याहरु रोकथाम गर्न सकिने बताउँछन् । उनका अनुसार दाँत तथा मुख सफा राख्न सकियो भने दाँत किराले खाने समस्या, गिँजाको समस्या, मुखमा आउने घाउ-खटिरा, मुखको क्यान्सर, दाँत खिएर जाने समस्या हुनबाट जोगिन्छ । डा. बुढाथोकी भन्छन्, ‘दाँत तथा मुख शरीरको प्रवेशद्वार हो । मुख स्वास्थ भएन भने त्यसबाट खाइएका चिजहरु शरीरमा फोहोरकै रुपमा जाने हुन्छन् । मुख शरीरको ऐना पनि हो । मुखमा देखिने समस्या तथा घाउखटिरा दाँत तथा मुखसम्बन्धी कारणहरु हुन सक्छन् वा शरीरमा भएका कुनै रोगहरुको प्रतिबिम्बको रुपमा देखिने गर्दछ ।’ विज्ञकाअनुसार दाँत तथा मुखको समस्या समयमै निदान गर्न सकियो भने उपचारमा कम लागत र जटिलता पनि धेरै निम्तिँदैन । डा. बुढोथोकीले दाँत तथा मुखको समस्या हुँदा मधुमेह, श्वासप्रश्वासका समस्या, मष्तिष्कमा असर तथा गर्भवतीको पेटमा हुर्किरहेको बच्चाको वृद्धिविकासमा पनि समस्या देखिन सक्ने बताउँछन् । मुख स्वास्थ राख्न प्रत्येक दिन कमसेकम दुई पटक फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने र एक पटक डेन्टल फ्लसले सफा गर्ने, गुलियो खानेकुरा कम खाने, खाना खाइसकेपछि र गुलियो खानेकुरा खाएपछि सफा पानीले मुख कुल्ला गर्ने, सूर्तीजन्य पदार्थ तथा मदिरा सेवन नगर्ने, मौसम अनुसारको फलफूल तथा सागसब्जी खाने, मुखमा कुनै समस्या देखिएमा आफै जथाभावी औषधि सेवन नगर्ने र मुख स्वास्थ्यलाई राम्रो बनाउन ६-६ महिनामा दाँत परीक्षण गराउनुपर्ने विज्ञको सुझाव छ । ‘बिहान खाना खाइसकेपछि पाँच मिनेट र राति सुत्नुअघि पाँच मिनेट दाँतलाई मजाले सफा गरियो भने दाँत तथा मुखका धेरै समस्याबाट बच्न सकिन्छ । यसलाई नियमित जीवनशैलीको रुपमै अपनाउनुपर्छ’, डा बुढाथोकीले भने ।
नगरकोट भ्रमण वर्ष-८२ मा होटल व्यवसायीले १० प्रतिशत छुट दिने, थप छुटको ‘प्याकेज’ बनाउन आग्रह
काठमाडौं । आगामी वैशाख १ गतेदेखि सुरु हुने नगरकोट भ्रमण वर्ष-२०८२ मा सहयोगका लागि नगरकोटका होटल व्यवसायीले यहाँ आउने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेका छन् । भ्रमण वर्षको तयारीका लागि बुधबार चाँगुनारायण नगरपालिकामा आयोजित भक्तपुरका ४ नगरपालिका प्रमुख एवं जनप्रतिनिधिसहितको छलफलमा व्यवसायीहरुले यस्तो घोषणा गरेका हुन् । चाँगुनारायण नगरप्रमुख जीवन खत्रीले होटल व्यवसायीले भ्रमण वर्ष सुरु भएदेखि वर्षदिनभरि नै यहाँ आउने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेको बताए । उनले नगरकोट आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउने, १ पटक आएर गएका पर्यटक फेरि आउने र खुसी भएर जाने गरी व्यवस्था र व्यवहार गर्न होटल एवं पर्यटन व्यवसायीलाई आग्रह गरिएको बताए । ‘करोडौं लगानी गरेर होटल सञ्चालन गरिरहेका व्यवसायीहरुले भ्रमण वर्ष सफल पार्न सामाजिक दायित्वअन्तर्गत आवश्यक लगानीसहित आगन्तुक पर्यटकको स्वागतमा लाग्नुपर्छ । सबै वर्गका आन्तरिक पर्यटकलाई सहज रूपमा खानेबस्ने गरी छुटका प्याकेज बनाउन पनि आवश्यक छ,’ नगरप्रमुख खत्रीले भने । चाँगुनारायण नगरपालिकासँगै मण्डनदेउपुर, बनेपा र शङ्करापुर नगरपालिकाले संयुक्त रूपमा भ्रमण वर्षको आयोजना गर्न लागेका छन् । होटल व्यवसायीदेखि स्थानीयवासीले भ्रमण वर्ष सफल पार्न आ-आफ्नो घर, टोल, छिमेकमा सफाइदेखि पर्यटकको स्वागतका लागि लाग्न आग्रह गरिएको छ । स्थानीय तहले पनि आवश्यक तयारीसहित पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्नेमा जोड दिइएको छ । भ्रमण वर्षलाई लक्षित गरी नगरकोट आउने नगरकोट कमलविनायक सडक खण्डको कालोपत्र गर्न नगरपालिकाले ‘टेन्डर’ आह्वान गरिसकेको नगरपालिकाले जनाएको छ । मण्डन देउपुर नगरपालिका प्रमुख टोपबहादुर वाइबाले नगरकोट चारवटै पालिकाको सङ्मगस्थल भएको बताउँदै भ्रमण वर्षलाई सफल पार्न चारवटै नगरपालिकाले पहल गर्ने बताए । यहाँको भौतिक संरचनादेखि पर्यटकीय क्षेत्रको विकास र भौतिक संरचना निर्माणका लागि चारवटै नगरपालिकाले लगानी गर्ने उनको भनाइ छ । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले नगरकोटका होटल महँगो भएकाले भ्रमण वर्षका लागि छुटको ‘प्याकेज’ बनाउन आग्रह गरे । उनले नगरकोटको वाटर मर्मतका लागि नगरपालिका लागेको बताउँदै नगरकोट आउने पर्यटकले चारवटै पालिकको पर्यटकीय क्षेत्रको भ्रमण गर्नसक्ने गरी व्यवस्था गर्नुपर्ने बताए । नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले वैशाख १ गते भ्रमण वर्षको शुभारम्भका लागि उद्घाटन स्थलको स्थायी संरचना निर्माण अन्तिम चरणमा पुगेको बताए । उनले पर्यटन व्यवसायीले गर्ने योगदानबारे समितिले पुनः छलफल गरेर थप निर्णय लिने बताए । चाँगुनारायण नगरपालिका-६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले भ्रमण वर्ष अवधिभर व्यवसायीले १० प्रतिशत छुट दिने, सबै होटलहरूले आफ्नो होटल र आसपासका क्षेत्र सजाउने, बत्तीले झिलीमिली बनाउने, प्रचारप्रसार र प्रवर्द्धनात्मक कार्यक्रम गर्ने घोषणा गरेको बताए । कार्यक्रममा पर्यटन व्यवसायी सुगरत्न कंसाकार, नगरकोट भ्रमण वर्ष-२०८२ का सम्पर्क व्यक्ति तथा विज्ञ डा घनश्याम खतिवडालगायतले पर्यटकलाई नगरकोट तान्न सक्ने गरी कार्यक्रमहरू ल्याइने बताए ।