आज विश्व क्षयरोग दिवस मनाइँदै, ७ हजार संस्थाबाट निःशुल्क सेवा उपलब्ध

काठमाडौं । आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । दिवसको यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । उक्त रोगका कारण नेपालमा हजारौँ मानिस प्रभावित भइरहेका छन् । विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका हाम्रो साझा तथा सामूहिक संकल्पमा केन्द्र कटिबद्ध रहेको जनाएको छ । केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले जारी गरेको विज्ञप्तिमा क्षयरोग (टीबी) विश्वभर लाखौँ मानिसलाई प्रभावित गर्ने सरुवा रोग भएको र नेपालमा यो जनस्वास्थ्य समस्याको रुपमा रहिआएको उल्लेख छ । सन् २०२३ मा विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा अनुमानित ६८ हजार नयाँ क्षयरोग प्रभावित व्यक्तिहरू थिए, जसको दर प्रति १ लाख जनसङ्ख्यामा २२९ रहेको थियो । त्यसैगरी क्षयरोगका कारण १६ हजारको मृत्यु भएको अनुमान गरिएको छ । जसको मृत्युदर प्रति १ लाख जनसङ्ख्यामा ५४ थियो । सोही अवधिमा, राष्ट्रिय क्षयरोग कार्यक्रमले ४० हजार ७७६ जना क्षयरोग प्रभावित व्यक्ति उपचारका लागि दर्ता गरेको थियो । त्यसमा ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष थिए । पत्ता लागेका औषधि प्रतिरोधी क्षयरोग प्रभावित व्यक्ति ७५६ जना थिए । उपचारका लागि दर्ता भएका मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग र २८ प्रतिशत फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोगी थिए । त्यसैगरी उपचार सफलता दर ९२ प्रतिशत छ । उल्लेखनीय प्रगतिका बावजुद, नेपालले अझै पनि क्षयरोग अन्त्यका लागि धेरै चुनौतीको सामना गरिरहेको केन्द्रले जनाएको छ । अनुमानित क्षयरोग प्रभावित व्यक्ति र उपचारको दायरामा आएका क्षयरोग प्रभावित व्यक्तिको सङ्ख्यामा ठूलो अन्तर छ । करिब ४० प्रतिशत अनुमानित क्षयरोग प्रभावित व्यक्तिलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । पर्याप्त स्रोतको अभाव ‘राष्ट्रिय क्षयरोग कार्यक्रमको पञ्च वर्षीय क्षयरोग रणनीतिक योजना २०२१/२२ देखि २०२५/२६’ का अनुसार पाँच वर्षको लागि क्षयरोग कार्यक्रमको बजेट १९२ मिलियन अमेरिकी डलर रहेकोमा ११० मिलियन मात्र (अनुमानित) उपलब्ध छ । त्यो भनेको ४३ प्रतिशत बजेट अभाव हुनु हो । क्षयरोगको कारणबाट रोगीको परिवारमा अधिक आर्थिक व्ययभार परेको छ । राष्ट्रिय क्षयरोग बिरामी लगत सर्वेक्षण-२०२४ का अनुसार नेपालमा ५१ प्रतिशत क्षयरोग प्रभावित व्यक्ति तथा उनीहरूको परिवारलाई यस रोगको कारणबाट अधिक आर्थिक व्यय भार परेको छ । रोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य हुन नसक्दा थप प्रगति हासिल हुन नसकेको केन्द्रले स्पष्ट पारेको छ । रोगको अन्त्यका लागि स्वास्थ्य क्षेत्रसहित, स्वास्थ्य बाहेकका अन्य क्षेत्रहरू जस्तैः शिक्षा, श्रम तथा रोजगार, सामाजिक सुरक्षण लगायत अन्यको पनि महत्त्वपूर्ण योगदान रहनु आवश्यक छ । यसका साथै नीजि क्षेत्र र समुदायको संलग्नता पनि उत्तिकै महत्त्वपूर्ण छ । चुनौतीलाई समाधान गर्न केन्द्रले निरन्तर आफ्ना प्रयासलाई परिस्कृत गर्दै लगेको जनाएको छ । नेपालभर क्षयरोग उपचारका सेवा ६ हजार २४१ स्वास्थ्य संस्था र निदानका सेवा ८०० स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छन् । रोगको द्रूत परीक्षण सेवाको पहुँच ६७ जिल्लाका ११७ स्वास्थ्य संस्थामा पुगेको छ । यो परीक्षणबाट क्षयरोग प्रभावित व्यक्तिको औषधि प्रतिरोधको अवस्था थाहा पाउन सकिन्छ । औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सेवा २९ वटा उपचार केन्द्र र ९८ उपचार उप- केन्द्रबाट प्रदान गरिँदै आएको केन्द्रले जनाएको छ । औषधि प्रतिरोधी बिरामीको लागि इन्जेक्सनरहित छोटो अवधिको, ६ महिने उपचार ‘रेजिमेन’ उपलब्ध गराएको छ । मुलुकको सङ्घीय संरचनालाई ध्यानमा राखी नेपालले नवीनतम् प्रयासको रुपमा स्थानीय तहको नेतृत्व, उत्तरदायित्व र अपनत्व विकास गरी क्षयरोग अन्त्यका लागि भएका प्रयासलाई दिगो रुपमा गति दिनको लागि क्षयरोग मुक्त नेपाल अभियान १४९ स्थानीय तहमा विस्तार गरिएको छ । एआई जडित डिजिटल एक्सरे मेसिनद्वारा समुदायमा क्षयरोग बिरामीको सक्रिय खोजपड्ताल सुुरुवात भएको छ । राष्ट्रिय क्षयरोग छैटौँ औषधि प्रतिरोध सर्वेक्षण र पहिलो क्षयरोग बिरामी लगत सर्वेक्षण जस्ता महत्त्वपूर्ण अध्ययनसम्पन्न भएको छ । प्रत्येक वर्ष क्षयरोग रोकथाम, निदान, र उपचारसम्बन्धी सीप अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । यी प्रयास प्रभावकारी भएपनि, क्षयरोग अन्त्यका लक्ष्य प्राप्तिका लागि सुधार गर्न धेरै बाँकी रहेको केन्द्रले जनाएको छ । आगामी दिनमा क्षयरोग प्रभावित व्यक्तिको पहिचानमा वृद्धि गर्ने, आवश्यक स्रोत तथा साधन जुटाउन तथा परिचालनको लागि स्थानीयतहलाई नेतृत्वदायी भूमिका प्रदान, एकीकृत सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । त्यसैगरी स्वास्थ्य प्रणालीलाई सुदृढ गरी गुणस्तरीय उपचार सेवा सुनिश्चित गर्नुका साथै निजी क्षेत्रको संलग्नतालाई सुदृढीकरण गर्ने र क्षयरोग प्रभावित व्यक्तिलाई सामाजिक सुरक्षण प्रदान गर्न आवश्यक समन्वय तथा सहकार्य बढाउन विशेष प्राथमिकता निर्धारण गरिएको छ । सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्यतर्फ केन्द्र अग्रसर रहेको विज्ञप्तिमा उल्लेख छ । हरेकबर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गरेको डरलाग्दो तथ्याङ्क छ । तीन हप्ता वा सो भन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा यस रोग लागेको हुन सक्छ । त्यस्तै पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर परीक्षण गर्नुपर्दछ । शारिरीक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकामा यो रोगको संक्रमण हुन सक्छ । यो रोगसँग डराउनु नपर्ने र यसको निःशुल्क उपचारको प्रबन्ध गरिएको छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागुऔषध सेवन गर्नेमा र क्षयरोगको औषधिको पूर्ण मात्रा सेवन नगरेमा उक्त रोगको पुनः संक्रमण फेरि देखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनु आवश्यक हुने जनाइएको छ । औषधिको नियमित सेवनले क्षयरोग निको हुने चिकित्सकहरुको भनाइ छ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल, आरएनपी-एआर प्रणालीको कार्यान्वयन

काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्बन्धित निकायसँग समन्वय गर्दै कार्ययोजना निर्माण गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । ‘गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि कार्ययोजना तयार पारेर प्राधिकरण र सम्बद्ध सबै निकायमार्फत फहल गरिरहेका छौँ,’ उनले भने, ‘विमानस्थल सञ्चालनको सुरुवाती चरणमा एयरलाइन्सलाई आकर्षित गर्न विभिन्न प्रोत्साहन कार्यक्रम लागु गरिएका थिए ।’ महाप्रबन्धक तिवारीका अनुसार यात्रु भाडादर प्रतिस्पर्धी बनाउँदै विमानस्थलको बजार प्रवर्द्धन र गन्तव्य प्रवर्द्धनमा जोड दिइएको छ । साथै, यात्रु सुविधाका लागि श्रम, मेडिकल, तथा भिसा प्रक्रिया सहज बनाउने पहल भइरहेको छ । उनले सबै पक्षबीच बलियो सहकार्य गरी ‘समर सेड्युल’लाई निरन्तरता दिने र विमानस्थललाई विश्वसनीय बनाउने दिशामा पहल गर्नुपर्ने आवश्यकता औँल्याए । सरकारले विमानस्थलको दिगो सञ्चालन सुनिश्चितताका लागि विभिन्न पहलकदमी लिएको छ । श्रम स्वीकृति तथा मेडिकल परीक्षण भैरहवाबाटै गरिने, भिसा सेन्टरको व्यवस्था गरिने, नेपाल नागरिक उड्डयन प्राधिकरणले उपयुक्त व्यापार रणनीति लागू गर्नेलगायत मन्त्रिपरिषद्बाट निर्णय भएको थियो । यसैबीच गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन सुनिश्चित गर्न यही चैत्र ९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरोकारवालासँग छलफल गरेका छन् । आरएनपी-एआर प्रणालीको कार्यान्वयन विगतमा इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस) को अभावमा खराब मौसमका कारण केही उडान स्थगित गर्नुपरेको थियो । उक्त समस्याको समाधानस्वरूप भू-उपग्रहमा आधारित ‘रिक्वार्ड नभिगेशन परफर्मेन्स-अथोराइजेशन रिक्वार्ड’ (आरएनपी-एआर) अवतरण प्रणालीको प्रस्ताव गरिएको र हाल उक्त प्रणाली कार्यान्वयनमा आइसकेको विमानस्थलले जनाएको छ । अब यस प्रणालीलाई प्रयोग गर्न सक्ने जहाज तथा प्रशिक्षित चालक दल भएको एयरलाइन्सले अवतरण गर्न सहज हुने अपेक्षा गरिएको छ । विमानस्थलको तथ्याङ्कअनुसारअनुसार विसं २०८१ कात्तिकदेखि नियमित उडान पुनःसञ्चालनमा आएपछि यात्रु सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । सन् २०२४ मा कुल आठ हजार १५७ यात्रु, भने सन् २०२५ को मार्च २० सम्म मात्र १३ हजार १८१ यात्रुले यो विमानस्थल प्रयोग गरिसकेका छन् । यो सङ्ख्याले उडान सुधारको संकेत देखिएको विमानस्थलको विश्वास छ ।

टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर

काठमाडौं । टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ । यो रोमाञ्चक सहकार्यसँगै टिकटकमा विशेष कन्टेन्ट, खेलाडीहरूको संलग्नता र प्रतियोगिताका हाइलाइट मार्फत फ्यानहरूलाई कार्यक्रमको अझै नजिक ल्याइने कम्पनीले जनाएको छ । मार्च २९ देखि काठमाडौंमा आयोजना हुने एनसेल एनएसएल ३ को समयमा फुटबल प्रशंसकहरूले अहिले विश्वभर एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू रहेको टिकटक प्लेटफर्ममा संलग्न हुने र कन्टेन्टहरू बनाउने अवसर पाउनेछन् । प्रतिष्ठित दशरथ रंगशालामा आयोजना हुने एक महिना लामो फुटबल महोत्सव अप्रिल २६, २०२५ मा हुने फाइनलसँगै समाप्त हुनेछ । कम्पनीका अनुसार टिकटक पछिल्ला केही वर्षहरूमा नेपालमा खेलकुद र मनोरञ्जन कन्टेन्टको एक महत्त्वपूर्ण स्रोत एवम् जोशिला प्रशंसक र क्रियटरहरूको लागि जमघट स्थलको रूपमा विकसित भएको छ । प्रत्येक दिन हजारौं भिडियोहरू साझेदारी गरिने प्लेटफर्मले मानिसहरूलाई आफ्ना मनपर्ने टिम, खेलाडी र म्याच डे इभेन्टहरू छलफल गर्ने ठाउँ दिन्छ । यो साझेदारी मार्फत देशभरका एनसेल एनएसएल फ्यानहरूले खेलका हाइलाइट, खेलाडीहरूसँगको पर्दा पछाडिका अन्तरक्रिया र भाइरल गेम डे ट्रेण्डहरूबारे अपडेट रहन सक्छन्, जसले लिगलाई अझ अन्तरक्रियात्मक र आकर्षक बनाउँछ । साथै, ह्यासट्यागले टिकटकमा युनिक कन्टेन्टहरू प्रस्तुत गर्नेछ जसले युजर डिस्कभरी र एनएसएल कन्टेन्टसँग संलग्नता बढाउँछ । टिकटकको दक्षिण एसियाकी कन्टेन्ट अपरेसन प्रमुख पूजा दत्ताले भनिन्, ‘हामी नेपालको सबैभन्दा ठूलो खेलकुद कार्यक्रमहरू मध्ये एक एनसेल एनएसएल ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर बन्न पाउँदा उत्साहित छौं । यस साझेदारीसँगै हामीले टिकटकमा यस सिजनभरि नै लिगका फ्यानहरूमाझ यस भव्य प्रतियोगिताको भावना र जोश ल्याउने लक्ष्य राखेका छौं ।’