विश्व र भीष्मले १.२५ अर्ब लगानीमा सञ्चालनमा ल्याए टेम्पल बेल बुटिक

काठमाडौं । पर्यटन राजधानी पोखराको लेक साइडमा १ अर्ब २५ करोड रुपैयाँ लगानीमा टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल सञ्चालनमा ल्याएको हो ।  नेपाली मौलिकता र अन्तर्राष्ट्रिय स्तरको सुविधासहितको होटल ‘बुटिक’ अवधारणामा निर्माण गरिएको होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए । पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आतिथ्य परम्परालाई समेट्दै ‘टेम्पल बेल बुटिक होटल’ सञ्चालनमा ल्याइएको उनले उल्लेख गरे ।  होटलमा नेपाली काष्ठ कला, ढुङ्गा, ढाका, थान्का, झुमर तथा पेन्टिङले सजाइएको छ । पर्यावरणमैत्री शैलीमा सजाइएको कोठा, करिडोर र खुला क्षेत्रले आगन्तुकलाई आत्मियता र मौलिकता प्रदान गर्ने विश्वास लिइएको छ ।  करिब साढे दुई रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा २ वटा इन्टरकनेक्टेड ब्लकहरू, ५५ वटा रुमका साथै स्विमिङ पुल, स्पा, सम्मेलन हल, बार, रेष्टुरेण्टलगायतका सुविधा छन् । ग्रुपले अहिले १५० जनालाई रोजगारी दिएको छ ।

विषालु हावाका कारण ४० प्रतिशतले बढे बिरामी

काठमाडौं । केही दिनदेखि निसास्सिएको काठमाडौं उपत्यकाले शुद्ध सास फेर्न पाएको छैन । विशुद्ध अर्थात विषालु हावाले धुम्मिएको उपत्यकाभित्र बसोबास गरिरहेका हरेक नागरिक अहिले अस्वस्थ सास फेरिरहेका छन् ।  विश्वको वायु गुणस्तर मापन एयर क्वालिटी इन्डेक्स एक्युआई सूचकांकअनुसार नेपालको काठमाडौं सहर केही दिनदेखि अत्यधिक प्रदूषित सहरमा परेको छ ।  जसका कारण अधिकांश नागरिकलाई अहिले आँखा बिझ्ने, श्वासप्रश्वासका समस्या हुने, खोकी लाग्ने समस्याले सताएको छ ।  कचौरा आकारको उपत्यकामा जम्मा भएको प्रदूषण सितिमिति हट्न गाह्रो हुने विज्ञहरू बताउँछन् । मौसमविद् प्रतिभा मानन्धर हिजोअस्तिको भन्दा मौसम खुलेपनि अझै प्रदूषण कायम रहने बताउँछिन् । उनी भन्छिन्, ‘तत्काल ठूलो पानी पर्ने, हावा चल्ने सम्भावना छैन, यसो नहुँदा प्रदूषण उस्तै रहनेछ ।’ उपत्यकाको यस्तो अवस्थाले बालबालिका, वृद्धवृद्धादेखि युवा उमेरका नागरिकको स्वास्थ्यमा असर परिरहेको छ । देशका विभिन्न ठाउँमा लागेको डढेलो, उपत्यकामा सञ्चालित इँटाभट्टा, सवारीसाधनको धुवाँले उपत्यकाको यस्तो अवस्था आएको विज्ञहरू बताउँछन् । उपत्यकामा प्रदूषण बढ्दा अस्पतालमा बिरामीको चाप बढेको छ ।  अस्पतालमा आउने अधिकांश बिरामी श्वासप्रश्वासको समस्या लिएर आउने गरेको चिकित्सकहरूले बताउँछन् । कुन अस्पतालमा कति बिरामी ? प्रदूषण बढेसँगै सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ ।  देशभरका बिरामी उपचार गर्न पुग्ने वीर अस्पतालमा केही दिनयता बिरामीको चाप निकै बढेको छ । दैनिक हजार बढी बिरामी उपचारको लागि पुग्ने अस्पतालमा अहिले दुई हजार बढी बिरामी उपचारको लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।  प्रदूषण बढेपछि वीरमा ओपीडीतर्फ १० प्रतिशत बिरामीको संख्या बढेको छ भने इमरजेन्सीतर्फ १५ प्रतिशत बिरामीको चाप बढेको बताइएको छ । अस्पतालका सूचना अधिकारी सीताराम खड्काका अनुसार वायु प्रदूषण बढेपछि अस्पतालमा बिरामीको चाप बढेको हो । उनले अस्पतालमा आउने धेरै जसो बिरामी श्वासप्रश्वासका समस्या लिएर आउने गरेको बताए ।  सूचना अधिकारी खड्काले अस्पतालमा बिहीबार एकै दिन २ हजार ४ सय ३१ जना बिरामी अस्पताल पुगेका बताएका छन् । वीर अस्पतालको छातीरोग विभाग प्रमुख डा. प्रज्वल श्रेष्ठले पहिलेको भन्दा बिरामीको संख्या अझ बढेको बताए ।  उनी भन्छन्, ‘अहिले बिरामीको संख्या बढेको छ, दम तथा दीर्घ बिरामीहरूको अवस्था पनि नियन्त्रण बाहिर गएको छ ।’ यो विभागमा अहिले ३० देखि ४० प्रतिशत बिरामी बढेको डा. श्रेष्ठले बताए । ‘यो अवस्था निक खतरा हो,’ डा. प्रज्वल भन्छन्, ‘अस्पताल पुग्ने धेरै जसोलाई घ्यार्रघ्यार्र हुने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिरहेका छन् ।’  उता महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा पनि बिरामीको चाप उत्तिकै बढेको छ । दैनिक १ हजार ८ सय देखि २ हजार जना बिरामी उपचारको लागि आउने गरेकोमा अहिले संख्या बढेर २ हजार ५ सय पुगेको अस्पतालले जनाएको छ ।  अस्पतालमा आउने आधिकांश बिरामी श्वासप्रस्वास र रुघाखोकीका रहेका छन् । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले बिरामीको संख्या बढेको जानकारी दिए । अस्पतालको छातीरोग इकाइका प्रमुख डा. निरज बमले पहिलेभन्दा अहिले श्वासप्रश्वासका बिरामीको संख्या बढेको बताए । उनका अनुसार अहिले दैनिक २ सयदेखि तीन सय बिरामी यो समस्या लिएर अस्पताल पुग्ने गरेका छन् । टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि अहिले बिरामीको चाप बढेको छ । अस्पताल प्रशासनका अनुसार अहिले डेढ सय देखि दुई सय सम्म बिरामी अस्पताल पुग्ने गरेका छन् । अस्पतालमा पुगेका अधिकांश बिरामीमा श्वासप्रश्वासको समस्या रहेको जनाइएको छ । काठमाडौंको धापासीमा रहेको ग्राण्डी इन्टरनेशनल अस्पतालमा पनि बिरामीको सख्या बढेको छ । अस्पतालका अनुसार प्रदूषणका कारण श्वासप्रस्वासको समस्या लिएर आउनेको संख्या पहिलेको भन्दा केही बढेको छ । अस्पतालका सूचना अधिकार भाष्करकुमार दासले ओपीडी र इमरजेन्सीमा आउने बिरामीको संख्या दिनहुँ बढ्दै गइरहेको बताएका छन् ।  पहिला यस्तो थिएन काठमाडौंको कलंकीका हरि महर्जनलाई केही वर्षदेखि काठमाडौं उपत्यकाको मौसम देखेर अचम्म लाग्छ । हिउँदमा पानी नपर्ने, वर्षामा अत्यधिक गर्मी हुने अनौठो अनुभव गर्दै आएका उनी केही वर्षदेखि उपत्यकामा बढ्ने वायु प्रदूषण देखेर अचम्म लागेको बताउँछन् ।  उमेरले ७५ वर्ष पुगेका उनी उहिलेको काठमाडौं र अहिलेको काठमाडौंमा निकै अन्तर रहेको बताउँछन् । ‘पहिले हरियाली, खेतीपाती भएको ठाउँ थियो, कलकल बग्ने बागमतीको पानी थियो,’ उनी भन्छन्, ‘अहिले जसरी ती जंगल र यहाँको वातावरण नासियो, ठूलठूला घर बने । जबदेखि सहर भयो तबदेखि काठमाडौं नै हरायो, यस्ता समस्या देखिन थाले ।’ कीर्तिपुरकी शिवमाया महर्जनलाई पहिले कीर्तिपुरदेखि काठमाडौं पुग्न घण्टौं हिँड्नुपथ्र्याे । अहिलेको जस्तो न बाटोघाटो थियो, न सवारीसाधन । एक ठाउँबाट अर्को ठाउँ पुग्न पैदलै हिँड्नुपथ्र्यो । उनी कीर्तिपुरबाट काम गर्न कहिले सिंहदरबार भएको ठाउँमा आउँथिन् भने कहिले कालीमाटी पुग्थिन् ।  उमेर ८० टेक्नै आँटेकी उनलाई अहिले हिँडेर जान न केही काम पर्छ न कुनै खुल्ला ठाउँ नै पाइन्छ । उनलाई अहिले जस्तो कुनै प्रदूषणले उपत्यकाका घाँटी निमोठेको याद छैन ।  उनी उपत्यकामा मान्छेको चाप र बस्ती बाक्लिएसँगै यस्तो समस्या आएको बताउँछिन् । भन्छिन्, ‘खोइ के हो, के हो, पहिले यस्तो केही सुन्दैनथ्यौं । अहिले के जाति रोग यही आउँछ, प्रदूषण यही बढ्छ कस्तो जमना आयो अचम्मै लाग्छ ।’  अहिले हरि र शिवमाया महजर्न जस्तै उपत्यकाका धेरैजसो बुढापाकालाई यस्तै अचम्म लाग्छ । पहिले हरियाली र खुल्ला जमिन देखेकाहरूलाई अहिले कंक्रिट सहर र यहाँका ट्याँट्याँ टुटु आवाज सुनेर दिक्क लाग्छ । उनीहरू सहरले विकाससँगै विनाश पनि ल्याएको बताउँछन् । किन यस्तो भइरहेको छ ? काठमाडौं उपत्यकामा सवारी चल्न थालेको इतिहास लामो छैन । २०१३ सालमा त्रिभुवन राजपथ निर्माण भएपछि यहाँ मोटर गुडेर आउन सुरु भएको हो । त्योभन्दा पहिले मान्छेले बोकेर ल्याएका सवारी फाट्टफुट्ट चल्थे । अहिले उपत्यकामा यातायातको साधन थेगिनसक्नुको छ ।  हाल उपत्यकामा बढेको वायू प्रदुषणको मुख्य कारण पनि सवारीबाट निस्केको धुवाँ रहेको विज्ञहरू बताउँछन् । वातावरणविद् भूषण तुलाधर यसका पछाडि धेरै कारण रहेको बताउँछन् । उनी देशभर आगलागीका घटना बढ्नु, उपत्यकामा इँटाभट्टा लगायत कलाकारखानाबाट निस्केको धुवाँसँग सवारीबाट निस्केको धुवाँका कारण यस्तो अवस्था सिर्जना भएको बताउँछन्।  गाडीको मर्मतसम्भार नहुनु, सार्वजनिक सवारीसाधनमा ओभरलोड हुनु र सडकमा जाम धेरै हुनुको कारण पनि प्रदूषण बढेको उनी बताउँछन् ।  काठमाडौं उपत्यकाका मान्छेको चापभन्दा बढी सवारी चाप बढ्दै गएको छ । नेपालको जनघनत्व प्रतिवर्ग किलोमिटर १ सय ९८ जनामात्र छ ।  तर, काठमाडौंमा भने प्रतिवर्ग किलोमिटर १७ हजार ४ सय रहेको छ ।  जुन राष्ट्रिय जनघनत्वभन्दा ८७ गुणाभन्दा पनि धेरै मानिन्छ । यहाँ वार्षिक १४ प्रतिशतको हाराहारीमा यातायातका साधन बढिरहेका छन् ।  जसरी उपत्यकमा जनघनत्व बढेको छ, त्योभन्दा बढी सवारीसाधनको चाप पनि बढेको छ । वातावरणविद् तुलाधर यही कारण पनि काठमाडौं उपत्यकाको अवस्था यस्तो भएको बताउँछन्।  काठमाडौं उपत्यकामा पेट्रोल र डिजेलबाट चल्ने सवारी जाँचको लागि तीन ठाउँमा परीक्षण गरिन्छ । काठमाडौंको टेकु, ललितपुरको एकान्तकुना र भक्तपुरको सल्लाघारी गरिने सवारी जाँचमा धुँवामा कार्वन र मोनोअक्साइड र हाइड्रो कार्वन परीक्षण गरिन्छ । तर अधिकांश सवारी परीक्षणबिनै वर्षौं पुराना धुवा फाल्ने गाडी जाँच चलाइराख्दा यस्तो आएको तुलाधर बताउँछन् ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनले पनि उपत्यकामा वायु प्रदूषण बढ्नुको मुख्य कारण यातायातबाट निस्कने धुँवा देखाएको छ । परिषद्ले सन् २००६ र २०१४ मा गरेको अध्ययनअनुसार वायु प्रदूषणको मुख्य कारण यातायात रहेको पाइएको थियो ।  चिकित्सकको सल्लाह वायु प्रदूषणले व्यक्तिको स्वास्थ्यलाई गम्भीर असर पुर्याउँछ ।  बाहिरबाट नाँगो आँखाले नदेखिने ठूला–ठूला कणहरू श्वासप्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गर्ने भएकाले स्वास्थ्यका लागि निकै घातक हुने चिकित्सकहरू बताउँछन् । प्रदूषणले श्वासप्रश्वासदेखि क्यान्सरसम्मका रोगहरू निम्त्याउने गर्छ । पछिल्लो समय गरिएका विभिन्न अध्ययन अनुसन्धानले वायु प्रदूषणका कारण मष्तिष्कघातदेखि हृदयघातसमेत गराउने गरेको पाइएको छ ।  छातीरोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ यस्तो बेलामा सकेसम्म घर बाहिर ननिस्कन सल्लाह दिन्छन् । उनी भन्छन्, ‘हामी काम नपरी बाहिर ननिस्कौं, निस्कनै परेमा माक्स, चस्माको प्रयोग गरी पुरै शरीर ढाक्ने लुगा लगाउनुपर्छ ।’  डा. श्रेष्ठ बिहान र साँझको समयमा प्रदूषणको मात्रा अझ धेरै हुने भएकाले उनी केही दिनसम्म बिहानै उठेर मर्निङवाकमा ननिस्कन सल्लाह दिन्छन् । भन्छन्, ‘यो हावाले कसैलाई फाइदा गर्दैन तर गर्भवती महिला, ६० वर्ष कटेका वृद्धवृद्धा बालबालिका छन् भने हामीले निकै सावधानी अपनाउनुपर्छ ।’  

एकैदिन ३२ आरोही अन्नपूर्णको चुचुरोमा, दुई शेर्पाको खोजी जारी

म्याग्दी । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।  सङ्घका महासचिव मोहन लम्सालले सेभेन समिट ट्र्याकबाट नौ, पायनियर एडभेन्चरबाट आठ, आठके एक्सपिडेसन बाट नौ, इमाइजिन नेपालबाट तीन र मकालु एभेन्चरबाट दुईजनाले अन्नपूर्णको सफल आरोहण गरेको जानकारी दिए ।  अन्य दिनको तुलनामा सोमबार मौसम अनुकूल भएकाले धेरै आरोही अन्नपूर्णको शिखरमा पुग्न सफल भएको उनले बताए । आरोहण टोलीका दुईजना शेर्पा हिउँपहिरोमा बेपत्ता भएका छन् भने अरू सकुशल आधार शिविर फर्किएका छन् । क्याम्प दुई र तीनको बीचमा हिउँ पहिरो आउँदा बेपत्ता भएका सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पाको खोजीमा हेलिकप्टर र शेर्पाको टोली परिचालन गरिएको छ ।  आरोही मिग्मा शेर्पाले धेरै जोखिम मोलेर अन्नपूर्णको आरोहण गर्न सफल भएको सामाजिक सञ्जाल ‘फेसबुक’ मा लेखेका छन् ।  ‘सुक्खा अवस्था, धेरै दरार, क्याम्प दुई र क्याम्प तीनबीचको घातक हिमपहिरोले ज्यान बचाउन कठिन भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ’अठोट र साहसका कारण चुचुरोमा पुगेर यो सुुन्दर हिमाललाई बिदाइ गरे, अन्नपूर्णको सुन्दरताले मलाई सधैँ आकर्षित गर्दथ्यो, तर अब यहाँ मेरो ज्यान जोखिममा पार्न सक्दिनँ ।  वसन्त याममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन् । गत वर्ष जम्मा २५ जनाले मात्र अनुमति लिएका थिए । चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूले भरिएको छ ।  अन्नपूर्णको अहिलेसम्म ५२० जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए । प्रथम आरोही मौरिस हर्जोग आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारी साधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुग्न सकिन्छ ।  पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको आकर्षक पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।