हिमाल आरोहणबाट साढे २४ करोड आम्दानी, ४१ समूहका ३८१ जनाले लिए अनुमति
काठमाडौं । वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ४१ आरोही समूहका ३८१ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म सगरमाथा, आमादब्लम, अन्नपूर्ण-१, मकालुलगायत हिमाल र पिक आरोहणका लागि ८४ महिला र २९७ पुरुषसहित कूल २३१ जनाले अनुमति पाएका हुन् । विभागका निर्देशक आरती न्यौपानेका अनुसार सगरमाथा आरोहणका लागि मात्रै १४ आरोही समूहका २७ महिला र १०७ पुरुषसहित जम्मा १३४ जनाले अनुमति पाएका छन् । नेपालसहित ७५ देशका नागरिकले हिमाल आरोहण अनुमति लिएका छन् । जसमध्ये ३० देशका २७ महिला र १०७ पुरुषसहित कूल १३४ जनाले सगरमाथा आरोहण गर्न अनुमति लिएका हुन् । यस्तै अन्नपूर्ण-१ मा छ आरोही समूहका ६६, आमादब्लाममा चार ४८ र मकालुमा तीन समूहका ४० जनाले विभागबाट आरोहण अनुमति लिएका छन् । हालसम्म हिमाल आरोहणबाट २४ करोड ५२ लाख ७७ हजार ५३७ रुपैयाँ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ ।
गौतमबुद्ध अन्तर्राराष्ट्रिय विमानस्थल सञ्चालनको माग गर्दै उद्योग व्यवसायीको ध्यानाकर्षण
भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग राख्दै रूपन्देहीका उद्योगी व्यवसायीले ध्यानाकर्षण गराएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स, रुपन्देहीले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन् । आन्दोलनमा विमानस्थल अगाडि धर्नालगायतका कार्यक्रम सार्वजनिक गरिएको छ । उद्योगी व्यवसायीहरूले विमानस्थल सञ्चालनका लागि सबै मिलेर निर्णायक आन्दोलन गर्ने जनाएका हुन् । सिद्धार्थ सञ्जाल रूपन्देहीको अगुवाइमा हुने आन्दोलनमा जिल्लाका सबै सङ्घ–संस्था रहने गरी संयुक्त आन्दोलन सङ्घर्ष समितिसमेत गठन गरिएको छ । पहिलो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत रुपन्देहीमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिका साथै सङ्घ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिसँग छलफल गरी प्रतिबद्धता लिने, सम्बन्धित एयरलाइन्सका प्रमुखसँग छलफल गर्ने समितिका संयोजक तथा सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । त्यस्तै, सम्पूर्ण सङ्घ–संस्था, राजनीतिक दल, आम सर्वसाधारण, जनप्रतिनिधिलगायत हजारौँको सङ्ख्यामा उपस्थिति भई विमानस्थल अगाडि अल्टिमेटम दिँदै शान्तिपूर्ण विरोध, प्रधानमन्त्री, पर्यटन, अर्थ, श्रम, स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित मन्त्रालयका सचिव र नेपाल वायुसेवा निगमका प्रमुखहरुसँग आन्दोलनका कार्यक्रमबारेमा ध्यानाकर्षण गराइने अध्यक्ष ज्ञवालीले जानकारी दिए । त्यसैगरी कालोपट्टी बाँधेर दबाबमूलक विरोध प्रदर्शन तथा शान्तिपूर्ण ¥याली प्रदर्शन तथा बजार परिक्रमा गरिने उनले बताए । मागको सुनुवाइ नभए दोस्रो चरणको आन्दोलनअन्तर्गत विमानस्थलको गेट अगाडि नियमित धर्ना तथा विरोधसभा र यति गर्दा पनि अन्तरराष्ट्रिय उडान सञ्चालन नभए आन्तरिक र बाह्य विमानस्थलको अगाडि विरोध गरिने ज्ञवालीले बताए । विमानस्थल सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिकासहित यहाँ रहेका सम्पूर्ण पालिकाले पहल गर्नुपर्ने उनको माग छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालनका लागि यहाँबाट उडान भरिरहेका वायुसेवा कम्पनीले गर्मीयामका लागि ‘समर शेड्युल’ लिएका छैनन् । यसले अब यहाँबाट सातामा एक दिन नेपाल एयरलाइन्सको विमानबाहेक अन्य अन्तरराष्ट्रिय उडान हुने छैनन् । भैरहवाबाट उडान हुँदै आएका जजिरा एयरलाइन्स, फ्लाई दुबई, थाई एयर एसियाले समर शेड्युल लिएका छैनन् ।