बढुवाबाट वञ्चित भएको भन्दै १८ सयभन्दा बढी स्वास्थ्यकर्मी आन्दोलनमा

काठमाडौं । मधेस प्रदेशका १ हजार ८ सयभन्दा बढी स्वास्थ्यकर्मी हाल आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आफूहरूलाई अन्यायपूर्ण रूपमा बढुवा प्रक्रियाबाट वञ्चित गरिएको भन्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना जारी राखेका छन् । चौथो र पाँचौं तहका सिअहेव तथा सिअनमी स्वास्थ्यकर्मीहरूले चैत २५ गतेदेखि निरन्तर धर्ना दिँदै आएका छन् । उनीहरूले सरकारसँग स्पष्ट न्यायोचित समाधानको माग गरेका छन् । आन्दोलनका संयोजक मोहन साहले आन्दोलनको कारणबारे जानकारी दिँदै भने, 'मधेस प्रदेश सरकारले ल्याएको ‘मधेस प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ मा समेटिएको एउटा वाक्यांशकै कारण हामीहरू बढुवाबाट वञ्चित भएका छौँ ।' उक्त वाक्यांशमा भनिएको छ, 'कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भइसकेका स्वास्थ्यकर्मीहरूको बढुवा यही ऐन बमोजिम मात्र हुनेछ ।' यही प्रावधानको आधारमा मधेस प्रदेश लोकसेवा आयोगले बढुवासम्बन्धी प्रक्रिया रोकिदिएको हो । यस निर्णयले चौथो तहबाट सेवा सुरू गरेका सयौं स्वास्थ्यकर्मी अन्योलमा परेका छन् । उनीहरूका अनुसार, यो ऐनले उनीहरूको दीर्घसेवा, अनुभव र योग्यता सबैलाई बेवास्ता गरेको छ  । आन्दोलनमा सहभागीमध्ये करिब ५० प्रतिशत महिला स्वास्थ्यकर्मीहरू छन्, जो पनि उत्साहपूर्वक र नेतृत्वदायी भूमिकामा संघर्षमा उत्रिएका छन्  ।

उपकुलपति नहुँदा त्रिविको प्रशासनिक काममा अन्योल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्रा. डा. केशरजंग बरालको राजीनामा स्वीकृत भएसँगै त्रिवि उपकुलपतिविहीन भएको छ । जसका कारण विश्वविद्यालयका प्राज्ञिक, प्रशासनिक तथा कार्यकारी कामकारवाही प्रभावित भएका छन् । बरालले १५ चैतमा स्वास्थ्य कारण देखाउँदै राजीनामा दिएका थिए, जुन बिहीबार स्वीकृत भएको हो । उपकुलपति नभएपछि परीक्षाका प्रमाणपत्रमा हस्ताक्षर लगायतका कार्यहरू रोकिएका छन् । जसले विद्यार्थीहरूलाई असर पुर्‍याएको छ । बरालले चार महिनायता प्रधानमन्त्रीको असहयोग र अनावश्यक दबाबका कारण काम गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै राजीनामा दिएका थिए । उनले मेरिटका आधारमा डिन नियुक्ति गर्ने प्रयास गरेका थिए, तर सत्तारूढ दलको हस्तक्षेपका कारण सो सम्भव नभएको बताएका छन् । बरालको राजीनामा स्वीकृत भएसँगै त्रिविमा नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ । 

रिजेनेरेटिभ टुरिजम’ प्रति युवा पुस्तामा सचेतना अभिवृद्धि जरूरी

काठमाडौं । पुनस्थापनात्मक पर्यटन ‘रिजेनेरेटिभ टुरिजम’ प्रति युवा पुस्तामा सचेतना अभिवृद्धिसँगै ज्ञान र सीपसहित यसतर्फ आकर्षण गर्ने उद्देश्यले एक अन्तरक्रिया गरिएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को ब्याच्लर अफ ट्राभल एन्ड टुरिजम (बिटिटिएम) का पाँचौँ सत्रका विद्यार्थीले आयोजना गरेको कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञहरूले प्रशिक्षण दिए ।  नाथमका कार्यकारी निर्देशक सङ्गीता ओझाले कार्यक्रमले युवा पर्यटनकर्मीलाई आगामी दिनमा पर्यटन क्षेत्रमा व्यावहारिक रूपमा लागू गर्न तथा पर्यटनको अनुसन्धान र सरकारी नीति निर्माणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले कुनै पनि मुलुकले दिगो पर्यटनलाई प्राथमिकता दिए पनि रिजेनेरेटिभ पर्यटनबारे खासै ध्यान नदिइएको सन्दर्भमा नेपालमा आगामी दिनमा नीतिगत रूपमा सुधार गर्न सहयोग पुग्ने बताइन् ।  ‘सस्टेनेबल टुरिजम टू रिजेनरेटिभ टुरिजम’ शीर्षकमा विशेष वक्ता सोसियल टुर्सका संस्थापक राज ज्ञवालीले रिजेनेरेटिभ टुरिजमको अवधारणा र भविष्यको पर्यटनबारे प्रस्तुति दिए । छलफल सत्रमा नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का महासचिव युबिका भण्डारी, कोरा टुर्सका प्रमुख कार्यकारी अधिकृत सीईओ) विजय अमात्य र पर्यटन अनुसन्धानकर्ता राक्सित बहादुर खड्का सहभागी थिए ।  ज्ञवालीले पर्यटनलाई दिगो बनाउन गुणस्तरीयतामा ध्यान दिनुपर्ने खाँचो औंल्याए। पर्यटनलाई नयाँ ढङ्गले पुनःस्थापना गर्न युवापुस्तालाई यसप्रति प्रोत्साहन र दक्षता अभिवृद्धि गर्न रिजेनेरेटिभ टुरिजम अपरिहार्यता भएको बताए । पर्यटनमा स्थानीयको सहभागितालाई सुनिश्चित गरिएको खण्डमा मात्रै दिगो पर्यटन सार्थक हुने उनको धारणा छ । नाट्टाका महासचिव युबिका भण्डारीले समयक्रमसँगै रिजेनेरेटिभ टुरिजम ट्रेन आएको भन्दै पर्यटनलाई नयाँ तौर तरिकाले विकास र यसको पहुँच स्थानीयस्तरमा जोड्नका लागि महत्वपूर्ण रहेको बताइन् ।  उनले भनिन्, ‘नेपालले विगतमा पनि रिजेनेरेटिभ टुरिजममा काम गर्दै आएको छ । संरक्षण क्षेत्रलाई उदाहरणका रूपमा लिन सकिन्छ । हामीले दिगो पर्यटन मात्रै ध्यान दिएको भए अहिलेको अवस्थामा आउन कठिन हुने थियो । पर्यटनले प्रकृतिलाई कसरी अपडेट गर्छ अहिलेको पुस्ताले पर्यावरण मैत्री पर्यटनलाई सँगै लैजान पनि ध्यान खिच्छ ।’  कोरा टुर्सका सीईओ विजय अमात्यले रिजेनेरेटिभ पर्यटनको अवधारणामा विश्वमा विगत १० वर्षदेखि आएको र नेपालले पछिल्ला वर्षहरूमा यसको आवश्यकता र सान्दर्भिकता बारे बहस गरिरहेको भन्दै नेपालको सन्दर्भमा यो अपरिहार्य भएको बताए ।  पर्यटन प्रशिक्षक डम्बरराज भट्टले दिगो पर्यटनमा भएका कामलाई पुनः नयाँ सोच र अवधारणाका साथ लैजान उदाहरणका रूपमा लोप भइसकेका संस्कृतिलाई पुनर्जागृत गर्ने, वन वन्यजन्तु र वातावरण संरक्षणसँगै पर्यटन अगाडि बढाउने नयाँ अवधारणाका रूपमा रिजेनेरेटिभ टुरिजमको अवधारणा विकास भएको उल्लेख गरे ।  यस कार्यक्रमले नेपालको पर्यटन उद्योगको भविष्यका बारेमा सोच र अवधारणा तयार गर्नका साथै दिगोबाट पुनरूत्थानात्मक पर्यटनमा सरेर, नेपालले आफ्नो सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण मात्रै गर्दैन, वृद्धि गर्ने जिम्मेवार पर्यटन गन्तव्यका रूपमा आफ्नो स्थिति बलियो बनाउन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्ने आयोजकको भनाइ छ । कार्यक्रममा नेपाली वास्तुकला, माटोको कला, बाँसका सामग्रीहरू प्रदर्शनी गरिएको थियो ।