ओपनएआईले सामाजिक सञ्जाल प्लेटफर्म ल्याउँदै, फेसबुक र इन्स्टाग्रामलाई टक्कर दिने !

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्मको रूपमा फेसबुक, इन्स्टाग्राम, एक्स (पूर्व ट्वीटर) र टीकटोक जस्ता एप्सले बजारमा प्रभुत्व जमाएका छन् । तर चाँडै नै ओपनएआईले यी एपहरूलाई चुनौती दिन सक्छ ।  ओपनएआई जसले लोकप्रिय एआई टुल च्याटजीपीटी विकास गरेको हो । मिडिया रिपोर्टहरूका अनुसार ओपनएआई एक यस्तो सामाजिक सञ्जाल प्लेटफर्ममा काम गरिरहेको छ, जसमा एआई सुविधाहरू समावेश गरिनेछन् । भनिन्छ- यो एउटा यस्तो एप हुनेछ जसले फेसबुक-इन्स्टाग्रामजस्ता प्लेटफर्मलाई टक्कर दिनेछ । यो एप पनि च्याटजीपीटीमा आधारित हुनसक्छ । एलन मस्कलाई पनि टक्कर ! द भर्जको एक रिपोर्टअनुसार ओपनएआई पनि एक्सजस्तै सामाजिक सञ्जाल निर्माण गर्ने योजनामा छ । एक्स पहिले ट्वीटर थियो, जसलाई एलन मस्कले किनेर नाम परिवर्तन गरेका हुन् । भनिन्छ, ओपनएआईले यसको प्रोटोटाइप (नमूना) तयार गरिसकेको छ, जसमा च्याटजीपीटीको क्षमताहरू समावेश छन् । एपमा पब्लिक फिड पनि हुनेछ, जहाँ मानिसहरूले आफ्ना भावना अभिव्यक्त गर्न सक्नेछन् । ओपनएआईका सीईओ साम अल्टम्यान यस प्रोजेक्टप्रति गम्भीर रहेको बताइएको छ । उनले विभिन्न व्यक्तिहरूसँग एपबारे सल्लाह लिइरहेका छन् र  उद्योग क्षेत्रका केही विशेषज्ञहरूबाट पनि प्रतिक्रिया मागिएको छ । तर अहिलेसम्म यो स्पष्ट छैन कि कम्पनीले नयाँ एप सार्वजनिक गर्नेछ वा च्याटजीपीटीमै सामाजिक सञ्जालको फिचर समावेश गर्नेछ । फेसबुक-इन्स्टाग्रामभन्दा फरक हुने एप रिपोर्टहरू अनुसार ओपनएआईले विकास गरिरहेको एप फेसबुक र इन्स्टाग्रामभन्दा फरक अनुभव दिनेछ । फेसबुक र इन्स्टाग्राममा एआईको प्रयोग गरिएको भए पनि ओपनएआईको एपमा एआई सामाजिक अनुभवहरूको केन्द्रमा हुनेछ । यसमा जनसाधारणभन्दा बढी एआईको प्रभाव देखिनेछ । मेटा पनि तयारीमा भनिन्छ मेटालाई पनि ओपनएआईबाट हुने चुनौतीको आभास भइसकेको छ । त्यसैले फेब्रुअरीमै खबर आएको थियो कि मेटा एआई एपमा काम गरिरहेको छ । यदि दुवै एप सार्वजनिक भएमा ती आपसमा प्रत्यक्ष प्रतिस्पर्धामा आउनेछन् । यसले प्रयोगकर्ताहरूलाई एआई-सामाजिक सञ्जालको नयाँ संसारमा छिरी प्रयोग गर्ने अवसर दिनेछ । नयाँ सुविधाहरू आउनेछन्, जसले प्रयोगकर्ताको अनुभव दुईगुना बनाउनेछ । ओपनएआईको चुनौती मस्कलाई भारी ओपनएआईबाट आइरहेको चुनौती एलन मस्कलाई मन परेको देखिँदैन । उनले साम अल्टम्यान र ओपनएआईको पटक–पटक आलोचना गरिसकेका छन् । एलन मस्कले अल्टम्यानको कम्पनी किन्ने प्रयास पनि गरेका थिए । त्यसको जवाफमा अल्टम्यानले एक्स (पूर्व ट्वीटर) किन्ने प्रस्ताव दिएका थिए ।

स्मार्टच्वाइस टेक्नोलोजिज पीसीआई–डीएसएस संस्करण ४.०.१ प्रमाणित

काठमाडौ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) पीसीआई–डीएसएस संस्करण ४.०.१ प्रमाणित भएको छ । एससीटीले हालसालै पीसीआई–डीएसएस संस्करण ४.०.१ प्रमाणीकरण प्राप्त गरेको हो, जुन हालसम्मको सर्वाधिक सुरक्षित र अद्यावधिक संस्करण मानिन्छ ।  पीसीआई–डीएसएस एक अन्तर्राष्ट्रिय स्तरको सुरक्षात्मक मापदण्ड हो, जुन भुक्तानी कार्ड सम्बन्धी डाटा सुरक्षा सुनिश्चित गर्नका लागि तयार गरिएको हो । यस मापदण्डअन्तर्गत विभिन्न १२ प्रकारका सुरक्षा आवश्यकता र प्रक्रियाहरू निर्धारण गरिन्छ जसले डाटा चोरी, अनधिकृत पहुँच तथा साइबर आक्रमणबाट बच्न सहयोग पुर्याउँछ ।  कुनै पनि भुक्तानी सेवा प्रदायक संस्थाको लागि पीसीआई– डीएसएस जस्तो प्रमाणीकरण प्राप्त गर्नु एक महत्वपूर्ण उपलब्धि हो, किनभने यसले कम्पनीको प्रणाली, नेटवर्क तथा डाटा संरचनाहरू उच्चस्तरको सुरक्षा अनुरूप संचालन भइरहेका छन् भन्ने कुरा प्रमाणित गर्दछ ।  नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन बमोजिम कार्डमार्फत भुक्तानी कारोबार गर्न अनुमतिपत्रप्राप्त संस्थाले कारोबार तथा कार्डसंग सम्बन्धित संवेदनशील सुचनाको प्रत्याभूति गर्न कार्डको प्रकृति अनुसार पीसीआई–डीएसएसजस्ता अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डहरु पालना गर्नुपर्ने नियम गरेअनुरुप यस संस्था पीसीआई–डीएसएस प्रमाणित हुँदै आइरहेको छ । 

सगरमाथा क्षेत्रमा ४३ हजार पर्यटकले गरे भ्रमण, ११ करोड ३२ लाख राजस्व जम्मा

सोलुखुम्बु । वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा क्षेत्रमा हजारौं पर्यटकको ध्यान खिच्ने गरेको छ ।  वसन्त ऋतु प्रारम्भ भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गत महिना १२ हजार तीन जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् ।  राष्ट्रिय निकुञ्जका रेन्जर विवेक श्रेष्ठका अनुसार यो याम हिमाल आरोहण, ट्रेकिङ तथा हिमाली दृश्यावलोकनको दृष्टिले उपयुक्त भएकाले पर्यटकको आगमन बढेको हो ।  'हिमाल आरोहण तथा दृष्यावलोकनका लागि यो समय उत्तम हुने भएकाले विदेशी तथा स्वदेशी पर्यटक आउने क्रम जारी छ, सगरमाथासहितका हिमाल सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले यहाँ पर्यटक बढेसँगै हाम्रो व्यस्तता पनि बढेको छ,’ रेन्जर श्रेष्ठले भने ।  पर्यटकको आवागमन बढेसँगै खुम्बु क्षेत्रमा व्यावसायिक गतिविधि, होटल लजहरूको व्यस्तता पनि बढेको छ ।  हाल नाम्चे बजारदेखि लुक्लासम्मका होटल पर्यटकले भरिभराउ छन् । अनुकूल मौसम हुँदा काठमाडौं तथा रामेछापको मन्थली विमानस्थलबाट दैनिक सयौं पर्यटक लुक्ला हुँदै निकुञ्ज प्रवेश गरिरहेका छन् । यद्यपि, मौसम प्रतिकूल हुँदा सोही पर्यटकहरू वैकल्पिक मार्ग रोज्दै काठमाडौंबाट जिप चढेर सल्लेरी हुँदै सुर्केसम्मको यात्रा गरिरहेको यातायात व्यवसायीहरू बताउँछन् । हवाइ र सडक मार्ग सगरमाथा क्षेत्र पुग्ने माध्यम पहिले–पहिले सगरमाथा पुग्ने एकमात्र प्रमुख विकल्प लुक्लाको हवाई यात्रा थियो । तर हालैका वर्षहरूमा लुक्लासम्म सडक विस्तार हुँदै जाँदा अब गाडी चढेर पनि हिमालको काखमा पुग्न सकिने सम्भावना बढेको छ । मौसम प्रतिकूल हुँदा हवाइजहाज उड्न नसक्दा वैकल्पिक बाटोको खोजीमा निस्केका पर्यटकहरू जिपमार्फत खुर्कोट, घुर्मी, ओखलढुङ्गा हुँदै सोलुखुम्बु सदरमुकाम सल्लेरी पुग्छन् ।  यहाँबाट बोलेरोबाट लुक्ला नजिकैको स्थान सुर्केसम्म यात्रा गर्छन् । निकुञ्ज क्षेत्रमा कार्यरत सवारी चालकदेखि होटल व्यवसायीसम्मले पछिल्लो समयको सडक विकासलाई स्वागत गरेका छन् । अब मौसम खराब भयो भनेर लुक्ला नपुगी फर्कनुपर्ने बाध्यता हटेको पर्यटन व्यवसायी बताउँछन् ।  लुक्ला–मन्थली तथा काठमाडौं–लुक्ला हवाइ सेवा प्रभावित हुनसाथ सल्लेरी हुँदै लुक्लाभन्दा केही तलसम्मको स्थान सुर्के जाने विदेशी पर्यटकको सङ्ख्या उच्च हुने गरेको यातायात व्यवसायी रामबहादुर बराइलीले बताए । काठमाडौंबाट जिपमार्फत खुर्कोट, घुर्मी हुँदै सोलुखुम्बु जिल्ला सदरमुकाम सल्लेरी आइपुगेका पर्यटक सल्लेरीबाट बोलेरोमार्फत सुर्केसम्म पुग्ने गरेका छन् । सल्लेरीभन्दा माथिको बाटो कच्ची भएकाले सुमो जिप नजाने भएकाले बोलेरो प्रयोग गर्ने गरेको सवारी चालक सन्तोष तामाङले बताए । लुक्ला नजिकै कच्ची सडक पुगेकाले पर्यटकलाई जहाजको विकल्प भएको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए । 'लुक्लामा मौसम बिग्रिरहने भएकाले बारम्बार जहाज उडान अवरुद्ध हुन्छ तर अब लुक्ला नजिकै रोड पुगेकाले गाडीबाट पनि जान सकिने भएको छ, यो खुसीको कुरा हो,’ उपाध्यक्ष शेर्पाले भने ।  यद्यपि खुम्बु आउन चाहने केही पर्यटक भने मौसमका कारण अन्यत्र डाइभर्ट हुने गरेको व्यवसायीहरूको भनाइ छ ।  व्यवसायी तेम्बाछिरिङ शेर्पाले भने, 'खुम्बु जाने सहज माध्यम भनेको हवाइजहाज हो, तर लुक्लामा मौसम खराब हुँदा खुम्बु जाने कतिपय विदेशीहरू अन्य स्थानतर्फ लागे । उनीहरू निश्चित समयको 'भिषा' लिएर आउने भएकाले मौसम प्रतिकूल हुनासाथ अन्य स्थानतर्फ जाने सम्भावना बढ्छ ।' निकुञ्ज क्षेत्रमा पर्यटकको आगमन उत्साहवर्धक विसं २०३२ मा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपािलका क्षेत्रमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पूर्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुलगायत हिमचुचुरा पर्दछन् । कुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो ।  सन् १९७९ देखि यस निकुञ्जलाई विश्वसम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ ।  उच्च पर्वतीय वातावरण रहेको यस राष्ट्रिय निकुञ्जमा गोब्रे सल्ला, ठिङ्ग्रे सल्ला, हेमलक, धुपी, भोजपत्र, गुराँस जातका रुख पाइन्छन् । वसन्त ऋतुमा लालीगुराँसका फूलले निकुञ्जभित्रको जङ्गललाई अति मनोरम र सुन्दर बनाउँछन् ।  कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारलजस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुङ्गा) र पहेँलो चुच्चे काग (टेमुलगायत १९३ प्रजातिका चरा यस राष्ट्रिय निकुञ्जमा पाइन्छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज सांस्कृतिक महत्त्वको क्षेत्र पनि हो । यहाँका तेङ्वोचे, तथा थामे गुम्बाहरूमा बौद्ध शिक्षा दिइन्छ ।  मुख्यतः सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलोकन गर्न बर्सेनि हजारौं पर्यटक यहाँ आउने गर्दछन् । हिमाल आरोहण, ट्रेकिङ मात्र नभई सांस्कृतिक भ्रमणले वार्षिक हजारौं पर्यटकलाई आकर्षित गर्दै आएको छ । सगरमाथा क्षेत्रमा पर्यटक आगमनको मुख्य याम फागुनदेखि जेठ र असोजदेखि मङ्सिरसम्म हो ।  नौ महिनामा ४३ हजार पर्यटकद्वारा निकुञ्ज भ्रमण चालु आर्थिक वर्षको नौ महिनामा ४३ हजारभन्दा धेरै पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । निकुञ्जका अनुसार गत साउन महिनादेखि चैतसम्ममा ४४ हजार छ सय आठ जना पर्यटक सगरमाथा क्षेत्र पुगेका हुन् ।  गत साउनमा १२५ जना, भदौमा एक हजार ३९४ जना, असोजमा आठ हजार दुई, मङ्सिरमा चार हजार ३९४, पुसमा एक हजार ७११, माघमा ९४३, फागुनमा दुई हजार ४८७ र चैतमा १२ हजार तीन जना निकुञ्जको चेकपोष्ट जोरसल्लेबाट प्रवेश गरेका रेन्जर विवेक श्रेष्ठले जानकारी दिए ।       पर्यटकबाट सगरमाथा राष्ट्रिय निकुञ्जले रु ११ करोड ३२ लाख नौ हजार १०० राजस्व सङ्कलन गरेको छ । भ्रमणकर्तामध्ये विदेशी ३७ हजार ७९६ जना र नेपाली पाँच हजार ८९७ जना रहेका छन् । तीन हजार ९९६ जना सार्क राष्ट्रका र ३३ हजार ८०० अन्य देशका पर्यटकले निकुञ्जको भमण गरेका हुन् ।  हाल दैनिक ४०० जनाभन्दा धेरै विदेशी तथा स्वदेशी पर्यटक विभिन्न माध्यमबाट सगरमाथा क्षेत्र पुगिरहेका जनाइएको छ । पर्यटकको लगातार बढ्दो आगमनले सगरमाथा क्षेत्रलाई आर्थिक रुपमा फाइदा पुर्‍याइरहेको छ तर आम्दानीसँगै पर्यावरणीय समस्या पनि थपिएका छन् ।  पर्यटन क्षेत्रका जानकार आङछिरिङ शेर्पा भन्छन्, 'अबको प्राथमिकता भनेको प्राकृतिक स्रोतको संरक्षण,  पर्यटनको दिगो विकास हुनुपर्छ । सगरमाथा नेपाल र नेपालीको गौरव हो, याे देशको अद्वितीय सौन्दर्यको रासास्वादन जीवनमा एकपटक गर्नैपर्ने सन्देश दिनुपर्छ ।'