सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध
काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुरोध गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोधप्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्ने निर्णय गरेको बताए । मन्त्री भट्टराईले नेपाल शिक्षक महासङ्घले उठाएका मागहरु सम्बोधन गर्न सरकार संवेदनशील रहेको त्यसनिम्ति निरन्तर संवादमा रहेको बताए ।
काठमाडौंमा दैनिक ४ उडान गर्दै कतार एयर, भैरहवा र पोखराबाट उडान गर्न आग्रह
काठमाडौं । कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन चासो देखाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी र कतार नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष मोहमद विन फहेल अल हजारीबीच भएको भेटवार्ताको क्रममा कतारले नेपालमा उडान बढाउने सकारात्मक प्रतिक्रिया जनाएको हो । उनीहरूबीच कतारमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) फ्यासिलिटेसन कन्फ्रेन्सका क्रममा मंगलबार भेटवार्ता भएको हो । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार महानिर्देशक प्रदीप अधिकारीले भैरहवा र पोखराबाट उडान गर्न आग्रह गरेका थिए । जवाफमा कतारको सिभिल एभिएसनका अध्यक्षले दुवै विमानस्थलको प्राविधिक पक्ष र बजारको अययन गरेर निर्णय लिने प्रतिक्रिया दिएको थियो । कतारले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साविक बमोजिम उडान गर्नेगरी नेपालसँग प्रस्ताव राखेको छ । कतारले काठमाडौंमा दैनिक चारसहित साताको २८ उडान गर्दै आएको छ । यसबीचमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको क्रममा एक उडान भैरहवाबाट गर्ने व्यवस्था मिलाइएको थियो । नेपालकोतर्फबाट भैरहवा र पोखरामा उडान गर्न आग्रह गरिएको थियो । त्यसको लागि सहकार्य गरेर नयाँ विमानस्थलको प्राविधिक र बजारको अध्ययन गरेर निर्णय लिने जतारले प्रतिक्रिया दिएको छ । कतारी पक्षले काठमाडौं विमानस्थलमा साताको २८ उडानको अपेक्षा गरेको थियो । नेपालले भैरहवा र पोखरा विमानस्थलमा उडान गर्नेगरी शर्त राखेको थियो । दुवै विषयमा छिट्टै निर्णयमा पुगिन क्यानले उल्लेख गरेको छ । ‘भैरहवा र पोखराबाट कतार एयरवेजको उडान गर्नका लागि सहजीकरण गरिदिन त्यहाँको नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरिएको छ,’ सूचना अधिकारी भुलले भने । सो अवसरमा कतारले आइकाओ काउन्सि परिषद्को निर्वाचनमा सहयोग गर्न आग्रह गरेको थियो । नेपालले सहयोग गर्ने बचन दिँदै र पोखराबाट उडान गर्नुपर्ने शर्त राखेको थियो । आइकाओ आवद्ध एकसय ९३ देशहरुमध्ये ३६ देशको काउन्सिल परिषद् हुन्छ । तीन समूहमा १२–१२ देश रहन्छन् । कतार सन् २०२२ मा तीन वर्षका लागि निर्वाचित भएको थियो । सन् २०२६ मा हुने काउन्सिल निर्वाचनका लागि कतारले नेपाललाई सहयोग मागेको छ । प्राधिकरणले भैरहवा र पोखराबाट उडान गर्नुपर्छ उनीहरूबीच पारस्परिक हित र सम्बन्ध सुमधुर बनाउन फलदायी छलफल भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त बैठकमा कतारले कतार एयरवेजको टिआइएएमा हप्तामा २८ उडानको अनुमति पुनः गर्ने र आगामी आइकाओको काउन्सिलेको निर्वाचनमा कतारको सदस्यताका लागि नेपालको समर्थनमा केन्द्रित भएको थियो । क्यानले कतार एयरवेद्धार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न नेपाली वायुसेवा कम्पनीसँग घरेलु कोड साझेदारी व्यवस्थामा सहयोग गर्ने आश्वासन दिएको थियो । हवाई उद्योगको हितका लागि आपसी चासोको समाधान गर्न छिट्टै संयुक्त प्राविधिक टोली गठन गर्ने समझदारीसहित बैठक सम्पन्न भएको क्यानले जनाएको छ । भैरहवा अन्तरराष्ट्रिय विमानस्थलमा करिब आधा दर्जन एयरलाइन्सले उडान गर्दै आएकामा समर सिजन अप्रिल १ अर्थात् चैत १९ देखि सुरु भएको समर सिजनमा कुनै पनि अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले भैरहवा उडानको ‘सेड्युल’ पेस नगरेपछि तत्काललाई अन्तरराष्ट्रिय उडान स्थगित भएको विमानस्थल कार्यालयले जनाएको छ । उक्त विमानस्थलमा ३० मार्चसम्म अन्तरराष्ट्रिय उडान भएको थियो । भैरहवामा जजीरा एयरवेज, थाई एयर एसिया र फ्लाई दुबईले नियमित उडान गर्दै आइरहेका थिए । नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–दुबई उडान गरे पनि भैरहवामा ‘टच डाउन’ मात्र गर्ने गरेको छ । कतार एयरवेजले केही समय उडान गरेर पुसमै सेवा बन्द गरेको थियो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले नियमित व्यावसायिक उडान र सिचुवान एयरलाइन्सले नियमित चार्टर्ड उडान गरिरहेका छन् ।
८.२४ करोडमा निर्माण सुरु गरिएको अस्पताल बजेट अभावले अधुरै
काठमाडौं । बागलुङको निसीखोलामा निर्माणाधीन पालिका स्तरीय आधारभूत अस्पताल अधुरो रहेको छ । गत वर्ष पुस महिनामा सम्पन्न हुनुपर्ने अस्पताल बजेट अभावका कारण अधुरै रहेको हो । निसीखोला गाउँपालिका-४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल निर्माणका लागि लागि २०७८ माघमा सम्झौता भएर काम सुरु भएको थियो । ८ करोड २४ लाख रुपैयाँमा निर्माण सुरु भएको अस्पताल २०८० पुस महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो । तर हालसम्म ९० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आइएस/एसी जेबीका प्रमुख दीपककुमार अदैले जानकारी दिए । पालिकाले बजेट विनियोजन गरे २ महिनामै काम सम्पन्न गर्ने सक्ने उनको भनाइ छ । विसं २०८० भदौमा बुझाएको १ करोड १० लाख रुपैयाँको बिलको भुक्तानी अझै हुन नसकेको उनले बताए । पालिकाबाट भुक्तान गर्न बाँकी रहेको १ करोड १० लाख रुपैयाँ सहित थप ६० लाख रुपैयाँ व्यवस्थापन गर्न सके काम गर्न समस्या नहुने उनी बताउँछन् । लामो समयसम्म काम गरेको भुक्तानी नपाउँदा समस्या परेको प्रमुख अदैले बताए । पालिकाले बजेट व्यवस्थापन गरेको भए अघिल्लो वर्ष नै अस्पताल सम्पन्न भई सक्ने उनको भनाइ छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले सङ्घीय सरकारले बजेट नपठाउँदा अस्पताल अधुरो रहेको बताए । गाउँपालिकाको आन्तरिक स्रोत कम हुने हुँदा अस्पतालमा बजेट विनियोजन गर्न नसक्ने उनको भनाइ छ । आवश्यक बजेट व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरेको अध्यक्ष घर्ती मगर बताउँछन् ।