एनसेलले ल्यायो नयाँ प्याकहरू, २८.३ रुपैयाँमैँ अनलिमिटेड भ्वाइस र डेटा
काठमाडौं । नेपालको अग्रणी दूरसञ्चार कम्पनी एनसेलले पहिलोपटक दिनको ३० रुपैयाँभन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकहरुसहित विभिन्न नयाँ प्याकहरू संचालनमा ल्याएको छ । आम ग्राहकहरूमाझ बढ्दो भ्वाइस र डेटा सेवाको मागलाई ध्यानमा राख्दै कम्पनीले नयाँ प्याकहरु संचालनमा ल्याएको हो । भ्वाइस सेवामा, एनसेलले ३९ रुपैयाँदेखि ५९९ रुपैयाँसम्म शुल्क पर्ने ६ वटा नयाँ प्याकहरू सार्वजनिक गरेको छ । जसमा ७ दिनको लागि मात्र १९८ रुपैयाँमा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ । यस प्याकमार्फत ग्राहकहरूले दिनको मात्र २८.३ रुपैयाँमा अनलिमिटेड भ्वाइस कल सेवाको फाइदा लिन सक्छन् । एनसेलबाट एनसेलमा कल गर्न टक टाइम चाहिने ग्राहकहरूले ३ दिनको लागि मान्य अनलिमिटेड डे अन नेट प्याक लिन सक्छन्, जसको मूल्य मात्र ५० रुपैयाँ रहेको छ । त्यसैगरी, ५९९ रुपैयाँमा ग्राहकहरूले ८४ दिन अर्थता झण्डै तीन महिनासम्म प्रयोग गर्न मिल्ने ९९९ मिनेटको कुनै पनि नेपाली नेटवर्कमा कल गर्न मिल्ने अल नेपाल टक टाइम प्राप्त गर्न सक्छन् । भारतमा फोन गरी सम्पर्कमा रहिरहन पर्ने ग्राहकहरूलाई लक्षित गर्दै, एनसेलले ४९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने इन्टरनेशनल लङ् डिस्ट्यान्स (आइएलडी) प्याक संचालन गरेको छ, जसअन्तर्गत ग्राहकहरूले भारतमा प्रतिमिनेट मात्र २.९९ रुपैयाँ (कर बाहेक) मा फोन गर्न सक्छन् । यो दर हाल लाग्दै आएको शुल्कभन्दा २५ प्रतिशत सस्तो हो । सस्तो शुल्कमा बढी मोबाइल डेटाको माग बढिरहेको अवस्थालाई ध्यानमा राख्दै, एनसेलले २ आकर्षक प्याकहरू सार्वजनिक गरेको छ । ९९ रुपैयाँ पर्ने पहिलो प्याकमा ग्राहकहरूले ३ दिनसम्म अनलिमिटेड डेटा लिन सक्छन् । २ हजार ४९९ रुपैयाँ शुल्क रहेको दोस्रो प्याकमा ग्राहकहरुले ८४ दिनसम्म अनलिमिटेड डेटाको फाइदा लिन सक्छन् । यसले अनलिमिटेड डेटाको प्रति दिनको खर्च मात्र २९.८ रुपैयाँमा झारेको छ । आफ्नो लोकप्रिय सधैं अन प्याकअन्तर्गत, एनसेलले १ हजार ९९९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस सेवा रहेको प्याक संचालनमा ल्याएको छ । त्यसैगरी, ग्राहकहरूलाई १ हजार १९९ रुपैयाँमा ८४ दिनका लागि १ हजार १९९ मिनेट अल नेपाल टक टाइम, २५ जीबी डेटा र ९९ एसएमएस पाइने अर्को प्याक पनि उपलब्ध गराएको छ । ‘नयाँ अनलिमिटेड भ्वाइस, डेटा प्याकहरू र अन्य प्याकहरूमार्फत सबैका लागि कनेक्टिभिटी अझ सहज र सस्तो बनाउँदै छौं । ग्राहकलाई डिजिटल जीवनशैलीसँग मेल खाने गरी सेवा प्रदान गर्दै, कनेक्टेड नेपालको निर्माणमा योगदान दिन प्रतिबद्ध रहेका छौं,’ एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने । ग्राहकहरूलाई थप लाभ सुनिश्चित गर्दै एनसेलले हाल जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा सधैं अन रिन्यूअल ल्याक र साना डेटा प्याकहरूमा आकर्षक बोनसहरू पनि प्रदान गर्दै आएको छ । एनएसएल डबल डेटा अफरअन्तर्गत ३९९ रुपैयाँबाट सुरु हुने सधैं अन रिन्यूअल प्याकमा ग्राहकहरूले बोनसको रूपमा डबल डेटा प्राप्त गर्दछन् । त्यसैगरी, एनसेल एप मार्फत खरीद गरिने ५० रुपैयाँको अनलिमिटेड डेटा र १५० रुपैयाँको डबल मजा प्याकमा ग्राहकहरूले क्रमशः एनसेलबाट एनसेल नम्बरमा कल गर्न मिल्ने २० मिनेट टक टाइम र २ जीबी बोनस डेटा प्राप्त गर्दछन् ।
आफ्नै रेकर्ड तोड्न ३१ औँ पटक सगरमाथातिर लम्किँदै कामीरिता
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो । हिउँको ढिस्को पन्छाएर ढुङ्गाको पहरो छिचोल्दै चुचुरोमा पुग्नु आफैँमा साहसिक र चुनौतीपूर्ण कार्य हो । एक/दुई पटक हैन ३० औँ पटक यस्तो जोखिमपूर्ण यात्रा गर्नु वा सगरमाथाको शिखर चुम्नु चानचुने कुरा होइन । विश्वविख्यात कीर्तिमानी कामीरिताको लागि भने यो काम ‘पानीको पँधेरो’ जस्तै भएको छ । उनी एकै ‘सिजन’मा दुई पटकसम्म सगरमाथाको चुचुरोमा पुगेर आफ्नै ‘रेकर्ड ब्रेक’ गर्ने भाग्यमानी आरोही हुन् । कामीरिताले यसपटकको वसन्तयाममा ३१ औँ पटक सगरमाथा आरोहण गरेर यसअघि आफ्नै नाममा रहेको विश्व कीर्तिमान तोड्न लागेका छन् । उनले सन् २०२३ को आफ्नै नामको २८ पटकको रेकर्ड तोड्दै सन् २०२४ मा ३०औँ पटक रेकर्ड दर्ज गरेका थिए । पुनः त्यो रेकर्ड तोड्न ३१ औँ पटक सगरमाथाको शिखर चुम्न केही दिनपछि त्यसतर्फ जाने शेर्पाले जानकारी दिए। ‘सगरमाथा आरोहणका लागि एक/दुई दिनपछि जाँदैछु, यो ३१ पटकको आरोहण हो । कतिपटक सगरमाथा चढ्ने भन्ने विषय आरोहण क्षेत्रको मौसम र अवस्थाले निर्धारण गर्छ,’ उनले भने । आरोही शेर्पाले सगरमाथा आरोहण कुनै रेकर्डका लागि नभई आफ्नो नियमित काम भएको जिकिर गरे । उनी सेभेनसमिट ट्रेक्स प्रालिमार्फत भारतीय सेनाको टोलीलाई लिएर यसपटक सगरमाथा आरोहणमा जान लागेका हुन् । ३१ औं पटक जीवनको प्रवाह नगरी जोखिमपूर्ण सगरमाथा यात्रा गर्ने आरोहीको सामाजिक सुरक्षाका लागि भने राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ । शेर्पाले हिमाल सफाइका लागि बजेट र जनशक्ति व्यवस्थापन गरिनुपर्ने खाँचो औंल्याए । यसका साथै ३० औँ पटक सगरमाथाको चुचुरोमा पुग्दा आरोही शेर्पाले जलवायु परिवर्तनका कारण हिमाल पग्लिएकामा चिन्ता लागेको बताए । सगरमाथामा पहिलोपटक मानव पाइला टेकिएको ७२ वर्षको अवधिमा ३० औँ पटक सफल आरोहणको कीर्तिमान कायम गर्ने उनको रेकर्ड कसैले तोड्न सकेको छैन तर प्रकृतिले भने हरेक पटक जसो सगरमाथाको प्राकृतिक स्वरूपको ‘रेकर्ड’ तोड्दै गएको आफूले महसुस गरेको शेर्पाले सुनाए । ‘मेरो रेकर्ड कसैले तोड्न सकेको छैन । सगरमाथा आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने एक्लो प्रतिस्पर्धीका रूपमा छु, यस हिसाबले खुसी छु तर सगरमाथाको सुरुको स्वरूपमा अहिले निकै बदलाव आएको छ । हरेक पटक आरोहण गर्दा केही न केही समस्या देखिरहेको आभाष गरेको छु । यसले खिन्न बनाइरहेको छ,’ उनले भने । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५५ वर्षीय कामीरिता कुशल पर्वतारोही पथ प्रदर्शक समेत हुन् । सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका उनका नाममा ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २८ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए । कामीरिताले सगरमाथा रेकर्ड ब्रेक गर्ने होडमा नभई आफ्नो पेसा नै हिमाल आरोहणसँग जोडिएकाले ‘चढ्दा चढ्दै रेकर्ड’ बनेको बताए । सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पा कीर्तिमानी कामीरिता ३१ औँ पटक सगरमाथा आरोहणका लागि आफ्नो कम्पनीबाट जान लागेकामा खुसी व्यक्त गर्छन् । ‘सगरमाथाको रेकर्ड राष्ट्रकै लागि गौरवको कुरा हो, यो कुनै व्यक्ति र कम्पनीको मात्रै हैन,’ उनले भने । जोखिमपूर्ण र संवेदनशील यात्राका रूपमा लिइने सगरमाथा आरोहणका क्रममा केही वीरवीराङ्गनाले सगरमाथाकै नाममा आफ्नो जीवन उत्सर्ग गरेका छन् । एक तथ्याङ्कअनुसार हालसम्म ४०० भन्दा बढी आरोहीले सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाएका छन् । यसर्थ आरोहीहरूको सामाजिक सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने अध्यक्ष शेर्पाको भनाइ छ । सगरमाथा आरोही सङ्घका महासचिव शिव बहादुर सापकोटाले यस वर्ष सगरमाथासहितका हिमाल आरोहण उत्साह वर्द्धक हुने अनुमान गरिएको बताए । उनका अनुसार यस याममा पनि कामीरितासहित विभिन्न आरोही नयाँ कीर्तिमान कायम गर्ने गरी जान लागेका छन् । पर्वतारोहणसम्बन्धी (छैटौं संशोधन) नियमावली २०८१ जारी भएपछि कीर्तिमान राख्ने आरोहीले आरोहण अनुमति लिएर मात्रै कीर्तिमानलाई मान्यता दिइने उल्लेख छ । सोहीअनुरुप थप कीर्तिमान बनाउन आरोहीहरू सगरमाथामा लामबद्ध भएका हुन् । अघिल्लो वर्षको आरोहणमा गोरखाकी फुञ्जोझङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाए । यस्तै, फोटो पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठले एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गरेर महिला आरोहीको विश्व कीर्तिमान बनाए । कुनै आरोही कीर्तिमानी गर्ने हो भने त्यसका लागि पर्यटन विभागमा निवेदन दिएर राज्यका निकायबाट अनुमति लिएर जानुपर्ने हुन्छ । पर्यटन विभागका अनुसार बुधबारसम्म यस सिजनका लागि ३० आरोही समूहका ५८ महिला र २५३ पुरुष गरी कुल ३११ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । हिमाल आरोहणमार्फत ५२ करोड ६४ लाख रुपैयाँ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ । सगरमाथाबाट मात्रै ४६ करोड रुपैयाँ ‘रोयल्टी’ सङ्कलन भएको जनाइएको छ । विभागका निर्देशक लिलाधर अवस्थीका अनुसार बुधबार साँझसम्म विभिन्न २१ हिमाल आरोहणका लागि ७४ आरोही समूहले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि निकै कठिन मानिएको खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न भएको विभागले जनाएको छ । आइसफलका डाक्टरहरूले खुम्बु आइसफल हुँदै रुट फिक्सिङ पूरा गरेको निर्देशक अवस्थीले बताए । उनले सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनिसकेकाले अब केही दिनमै दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउन दक्ष शेर्पाको टोली खटिने जानकारी दिए । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बटो निर्माणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले जिम्मेवारी लिँदै आएको छ । पर्वतारोहण सञ्चालक सङ्घले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) काम गर्नेछ । सङ्घले यो सिजनको सगरमाथा आरोहणका लागि बाटो बनाउने तथा रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ । सगरमाथा आरोहणको इतिहास दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखमा बनाउनुभएको थियो । पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर-२०२३’ का आरोहण सुरु भए यता हालसम्म सात हजार ६२६ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । सन् २०२३ र २०२४ को आरोही सङ्ख्या जोड्दा ८ हजार बढी हुन आउँछ । आरोहीले नयाँ नयाँ कीर्तिमानसमेत थप्दै आएका छन् । कतिपयले यात्राकै क्रममा ज्यानसमेत गुमाउने गरेका छन् ।
तेस्रो बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट अप्रिल २३ देखि सुरु, यसपटक काठमाडौंमा पनि हुने
काठमाडौं । तेस्रो बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) यही अप्रिल २३ देखि आयोजना हुने भएको छ । बुधबार नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) ले पत्रकार सम्मेलनको आयोजना गरी मार्ट आयोजना हुनेबारे जानकारी गराएको हो । मार्ट नेपाल पर्यटन बोर्ड र नाट्टा दुवैले संयुक्त रूपमा मिलेर आयोजना गर्न लागेको जनाएको छ । यससम्बन्धमा बोर्ड र नाट्टाबीच गत चैत्र २२ गते सम्झौता भइसकेको छ । उक्त कार्यक्रममा बोर्डबाट कार्यबाहक निर्देशक सुनील शर्मा तथा बीआईटीएम २०२५ की संयोजक एवं नाट्टाका वरिष्ठ उपाध्यक्ष जिश्वाँ तुलाधर श्रेष्ठले समन्वयकर्ता र प्रतिनिधिको रूपमा भूमिका निर्वाह गर्ने तय भएको छ । आयोजकका अनुसार अघिल्लो वर्षमा बुद्धको जन्मस्थान लुम्बिनीमा मात्रै मार्ट आयोजना हुँदै आएकोमा यो पटक भने काठमाडौंमा पनि आयोजना हुने भएको हो । काठमाडौंमा अप्रिल २३ र २४ अनि लुम्बिनीमा २५ मा हुनेछ । कार्यक्रममा १५० भन्दा बढी अन्तर्राष्ट्रिय बौद्ध पर्यटनप्रति अभिरुचि राख्ने खरीदकर्ता तथा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विक्रेताहको सहभागिता हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार सहभागी देशहरूमा भारत, चीन, भुटान, म्यानमार, थाइल्याण्ड, मलेसिया, श्रीलङ्कालगायतका प्रमुख बौद्ध राष्ट्रहरू छन् । साथै मार्टमा १ हजार १ सयभन्दा बढी आगन्तुकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरू, बौद्धमार्गीलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदार र सञ्चारमाध्यमका प्रतिनिधिहरू रहनेछन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा धर्मको माध्यमबाट पनि नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगमी अप्रिल २३ देखि २४ गतेसम्मको लागि कार्यक्रम आयोजना हुन लागेको नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले बताए । उनले भने, ‘बीआईटीएम २०२५ नेपाललाईद केवल बुद्धको जन्मस्थलको रूपमा होइन, बरु बौद्ध धर्मको गहिरो सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक महत्व बोकेको देशको रूपमा चिनाउने अवसर हो । यसले निजी क्षेत्र र सरकारी निकायहरूबीचको सहकार्यलाई बलियो बनाउनेछ ।’ कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालमा बौद्ध सम्पदाको प्रचुर सम्भावना रहेको बताउँदै त्यसको प्रचारप्रसार आवश्यक औंल्याए । उनले भने, नेपालमा बौद्ध सम्पदाको प्रचुर सम्भावना छ, जुन विश्वभरिका करोडौं मानिसहरूसँग भावनात्मक सम्बन्ध राख्दछ ।’ यसले दीर्घकालीन पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उनले उल्लेख गरे । कार्यक्रम तालिका २२ मेमा विदेशीहरू नेपालमा आइपुग्ने कार्यक्रम रहेको छ । २३ अप्रिलमा औपचारिक रूपमा मार्टको उद्घाटन कार्यक्रम रहेको छ भने उक्त दिन कन्फ्रेन्स, बिटुबी मिटिङ, र प्रदर्शनी रहेको छ । साँझ गाला डिनरका साथै नेटवर्किङ कार्यक्रम आयोजना हुने छ । दोस्रो दिन अर्थात २४ मे मा कन्फ्रेन्स, बिटुबी नेटवर्किङ र प्रदर्शनीको निरन्तरता रहनेछ भने त्यही दिन साँझ लुम्बिनी जाने कार्यक्रम रहेको आयोजकले जनाएको छ । आयोजनका अनुसार २५ मे मा लुम्बिनीमा त्यहाँ पोष्ट कन्फ्रेन्स, एफएम ट्रिप, बिटुबी नेटवर्किङसहित कार्यक्रमको समापन हुने छ । २६ मे मा काठमाडौं फिर्ता हुँदै विदेशीहरु आ–आफ्नो देशमा फर्किने कार्यक्रम रहेको छ । मार्टमा सहभागी हुन चाहने सहभागीहरूले २०८२ वैशाख २८ (१० मे २०२५) भित्र अनिवार्य दर्ता गर्नु पर्ने छ । र २०८२ वैशाख १८ (३० अप्रिल २०२५) भित्र दर्ता गर्ने सहभागीहरूलाई ‘अर्ली बर्ड’ को छुटसमेत उपलब्ध रहेको आयोजकले जनाएको छ । यो कार्यक्रमको मूख्य लक्षित समूहमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ट्राभल एण्ड ट्रेड कम्पनी, पर्यटनसम्बद्ध सरकारी कार्यालय, बुद्धिजमसँग सम्बन्धित संघसंस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय एयरलाइन्स, सञ्चारमाध्यमलगायत रहेको आयोजकले जनाएको छ । बीआईटीएम २०२५ को लागि प्लाटिनम, डाइमण्ड, गोल्ड र सिल्भर स्तरका प्रायोजन प्याकेज सार्वजनिक गरेको छ । जसअनुसार विभिन्न स्तरमा ब्राण्डको सहभागिता, कार्यक्रमको प्रचारमा सहकार्य तथा अन्तर्राष्ट्रिय बजारमा नेटवर्क विस्तारको अवसर प्रदान गरिनेछ । आयोजकले यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण पर्यटन क्षेत्र, सरकारी निकाय, अन्तर्राष्ट्रिय साझेदार, सञ्चारमाध्यम, स्थानीय समुदाय र सरोकारवाला निकायहरूको सक्रिय सहभागिता र सहकार्यको अपेक्षा गरेका छन् । नेपालमा पहिलोपटक सन् २०१९ र दोस्रोपटक सन् २०२३ मा बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट सम्पन्न भएको थियो । सन् २०२३ मा २५० भन्दा बढी भिजिटर्स, ८ सय भन्दा बढी सदस्य, १५ भन्दा बढी देशका प्रतिनिधि, ५० भन्दा बढी बिक्रेता र ५० भन्दा बढी सञ्चारमाध्यमको सहभागिता रहेको आयोजकले जनाएको छ । आयोजका अनुसार सन् २०२३ मा ३५० भन्दा बढी भिजिटर्स, ९ सयभन्दा बढी सदस्य, ८० भन्दा बढी ब्लगर्स÷मिडियाको सहभागिता रहेको थियो ।