दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने स्वास्थ्य मन्त्री पौडेलको तयारी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाअन्र्तगतको आधारभूत सेवामा देखिएको दोहोरोपना हटाएर सुधारिएको प्रोटोकल निर्माणको तयारी थालेका छन् । यसका लागि उनले स्तरीय प्रोटोकल तयार पार्न मन्त्रीस्तरीय निर्णय गर्दै विज्ञ समिति गठन गरेका छन् । कतिपय अवस्थामा आधारभूत स्वास्थ्य सेवामा दोहोरोपना आइरहेको देखिएकाले त्यसलाई सुधार गरी मापदण्ड बनाउनका लागि समिति गठन गरिएको मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले जानकारी दिए । हाल विभिन्न सरकारहरट्लेठ आधारभूत सेवामा निःशुल्क औषधीका लागि रकम विनियोजन गरे पनि स्वास्थ्य बीमामा समेत दावी आउँदा भुक्तानी दायित्व बढेको र खर्चको दोहोरोपना देखिएको विज्ञहरुले बताउने गरेका छन् । योसहितका प्राविधिक विषयमा समितिले प्रोटोकल तयार पार्नेछ । एक महिनाभित्र प्रतिवेदन दिने गरी उनले गठन गरेको समितिले स्तरीय निदान तथा उपचार प्रोटोकल समेत तयार पार्नेछ । यसका लागि स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. राजेन्द्र पन्त नेतृत्वको समिति गठन गरिएको छ । समितिले प्रथम सेवा बिन्दुमा उपलब्ध हुने सेवामा प्रष्टताका लागि समेत सुझाव दिने कार्यादेश प्राप्त गरेको छ । यसका अलावा बिरामी रेफर गर्ने अवस्था तथा विधिसमेत समितिले निर्धारण गर्नेछ । समितिलाई आधारभूत सेवाबाहेक बीमामार्फत प्राप्त हुने सेवा प्याकेजसमेत निर्धारणका लागि कार्यादेश दिइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । नेपाल सरकारको निःशुल्क स्वास्थ्य कार्यक्रम स्थानीय तह, प्रदेश र संघबाट लागू भएको विवरण र सूची तयार पारेर दोहोरोपना हटाउन पनि समितिले काम गर्ने उनले बताए । समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराउने निःशुल्क औषधी स्वास्थ्य बीमामा कसरी प्रयोग गर्ने भन्ने विषयमा समेत प्रष्टता ल्याउने अपेक्षा गरिएको छ । समिति सदस्यमा जनस्वास्थ्य विज्ञ भोगेन्द्र डोटेल, विज्ञ राम भण्डारी, मन्त्रालयकी मेसु डा. सुनिता लम्साल तथा सदस्य सचिवमा उपचारात्मक सेवा महाशाखाका वरिष्ठ मेसु डा. अमृत पोखरेल चयन भएका छन् ।
प्रयास नेपालका बालबालिकालाई हिमालय एअरलाइन्सले दियो शैक्षिक सामग्री
काठमाडौं । सञ्चालनको एक दशक पूरा गर्दै हिमालय एअरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको पहल 'स्टेप टुर्वाडस् एजुकेशन' मार्फत समुदायप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिएको छ। यस अभियान अन्तर्गत, एयरलाइन्सले लामो समयदेखि सहकार्य गर्दै आएको प्रयास नेपालका बालबालिकाहरूलाई आगामी शैक्षिक वर्षका लागि आवश्यक शैक्षिक सामग्री प्रदान गर्दै सहयोगलाई निरन्तरता दिएको हो । कम्पनीले बिहीबार पाठ्यपुस्तक, नोटबुक, रजिस्टर, जुत्ता लगायतका सामग्रीसहित तन्ना र तौलियाहरू समेत हस्तान्तरण गरेको छ । कार्यक्रममा बोल्दै हिमालय एअरलाइन्स्को ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले भनिन्, 'विगत आठ वर्षदेखि प्रयास नेपालसँग सहकार्य गर्दै आउँदा यहाँका बालबालिकाहरूको जीवनमा आएको सकारात्मक परिवर्तन देखेर अत्यन्त हर्षित छु । उनीहरू आत्मविश्वासी र सक्षम व्यक्तित्वमा रूपान्तरण भइरहेका छन्, जुन परिवर्तनको साक्षी हुनु भावनात्मक र प्रेरणादायी अनुभव हो ।' प्रयास नेपालकी अध्यक्ष मणि जोशीले निरन्तर साथ र सहयोगका लागि हिमालय एअरलाइन्सप्रति आभार व्यक्त गर्दै भनिन्, 'उहाँहरूको योगदान केवल भौतिक सहयोगमा सीमित छैन, यसले बालबालिकाहरूको जीवनमा आशा र प्रेरणाको उज्यालो थपिदिएको छ। हामी हिमालय एअरलाइन्स्को सफलताको निरन्तर कामना गर्दछौँ ।' विगत २२ वर्षदेखि बालबालिका सशक्तीकरणमा क्रियाशील प्रयास नेपाल हाल १८ जना बालबालिकाको घर हो, जहाँ उनीहरूलाई आत्मनिर्भर र जिम्मेवार नागरिकका रूपमा हुर्काइँदैछ । सामाजिक उत्तरदायित्वमा लगातार अग्रसर रहँदै आएको हिमालय एयरलाइन्सले आफ्नो १० वर्षे यात्रासँगै समाजप्रतिको दायित्व र समावेशी मूल्यमा आधारित दृष्टिकोणलाई अझ मजबुत बनाउँदै लगेको छ ।
स्वास्थ्य मन्त्रालयले भन्यो : औषधि लिमिटेड किराना पसल होइन, विधिअनुसार मात्रै खरिद हुन्छ
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि खरिद प्रक्रिया अगाडि नबढाएको कारण नेपाल औषधि लिमिटेडले उत्पादन बन्द गर्नुपरेको भन्ने आरोप अस्वीकार गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार प्रक्रिया पूरा नगरेको कारण लिमिटेड खरिद प्रक्रियामा समावेश हुन नसकेको स्पष्ट पारे । उनले औषधि खरिदलाई किराना पसलबाट सामान किनेजस्तो रूपमा चित्रण गर्नु अनुपयुक्त भएको बताए । 'हामी आफ्नै घरेलु तथा स्थानीय उद्योगलाई प्रोत्साहन गर्छौं,' प्रवक्ता बुढाथोकीले भने, 'तर टेन्डर प्रक्रियामा सहभागी भएर कागजातहरू पूरा नगरीकन कुनै पनि निकायबाट सिधै खरिद गर्न सकिँदैन । मन्त्रालय कानुनअनुसार मात्रै अघि बढ्छ ।' डा. बुढाथोकीले औषधि लिमिटेडले सरकारी–सरकारी प्रक्रिया अपनाउन चाहेको भएपनि त्यसका लागि उद्योग तथा अर्थ मन्त्रालयको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको बताए । उनका अनुसार औषधि लिमिटेडले व्यावसायिक योजना बनाएर अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको भए पनि सो प्रस्ताव हालसम्म स्वीकृत भएको छैन । 'मुख्यमन्त्री, सचिव लगायतका सरोकारवालासँग भएको छलफलमा औषधि लिमिटेडले व्यावसायिक योजना पेस गर्ने र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि मात्रै स्वास्थ्य मन्त्रालयले एमओयू गरेर खरिद प्रक्रिया अघि बढाउने सहमति भएको थियो,' उनले भने, 'तर अर्थ मन्त्रालयले प्रत्याभूति नदिएपछि हामीमा आवश्यक विश्वास नजागेपछि एमओयू प्रक्रिया अघि बढ्न सकेको छैन ।' नेपाल औषधि लिमिटेडले कच्चा पदार्थ खरिद गरी उत्पादन बढाए पनि सरकारका निकायले औषधि खरिद नगरेपछि बजारमा बिक्री ठप्प भएको र त्यसैले सिटामोल, जीवनजलजस्ता अति आवश्यक औषधिको उत्पादन डेढ महिनादेखि रोकिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले औषधि खरिदमा पारदर्शिता र कानुनी प्रक्रिया पालना गर्नुपर्ने जनाएको छ भने औषधि लिमिटेडले व्यावसायिक योजना र आर्थिक प्रत्याभूतिको सुनिश्चितता बिना उत्पादन निरन्तर गर्न कठिन भएको जिकिर गरेको छ । अब औपचारिक प्रक्रिया पूरा भएपछि मात्रै औषधि खरिदका लागि स्वास्थ्य मन्त्रालयबाट पहल हुने देखिएको छ ।