काभ्रेमा रगतको चरम अभाव, बिरामी समस्यामा
काभ्रेपलाञ्चोक । बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा रहेको छ । विरामीका लागि स्थानीय नागरिक तथा अस्पतालद्वारा रगत लिन आज केन्द्रमा पुग्दा केन्द्रले एक यूनिट रगतसमेत दिन नसकेको जनाइएको छ । केन्द्रमै केही दिनदेखि रगत अभाव भएको बताइएको छ । 'केन्द्रमा एक यूनिट रगत पनि छैन, जिल्लाका अस्पताल र व्यक्तिबाट माग भइरहेको छ', केन्द्रका ‘स्टोर इन्चार्ज’ गोकुल बानियाँले भने । उनका अनुसार रगतका लागि बिहीबार विहानैदेखि केन्द्रमा लगातार फोन आइरहेको छ । रगतको मुख्य बैंकका रुपमा रहेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालितको उक्त केन्द्रमा रगत नहुँदा निकै समस्या भइरहेको उनले बताए । रेडक्रसले सात सय यूनिट रगत भण्डारण क्षमताको केन्द्र सञ्चालन गर्दै आएको छ । जिल्लामा नियमित रूपमा रक्तदाता नहुँनुले पनि रगतको अभाव भइरहेको जनाइएको छ । केही दिनयता जिल्लामा रगत अभाब हुनथालेको हो । रगत दान गर्नेभन्दा रगत लिनेको सङ्ख्या बढ्नथालेपछि रगत अभाव हुनथालेको केन्द्रले जनाएको हो । रक्तदान कार्यक्रम कम भएका कारण पनि रगत अभाव देखिएको रेडक्रस काभ्रेले जनाएको छ । केन्द्र प्रमुख राधा थापाका अनुसार हाल केन्द्रमा रगतको अभाव पूर्ति गर्न कठिनाई भइरहेको छ । 'कहिलेकाही सम्पर्कमा रहेका रक्तदातालाई अनुरोध गरेर बिरामीका आफन्तसँग समन्वय गराउँछौँ, अन्यथा निकै कठिन भइरहेको छ', उनले भने । उनका अनुसार केन्द्रमा ‘ए–पोजेटिभ’, ‘बी–पोजेटिभी’, ‘एबी–पोजेटिभी’ र ‘ओ–पोजेटिभ’लगायत सबै प्रकारको रगतको माग भएको हो । रगत अभाव हुनथालेपछि बिरामीहरू समस्यामा परेका छन् । काभ्रेपमा रगत अभाब भएपछि केही हप्तादेखि भक्तपुर र काठमाडौंबाट रगत पूर्ति गर्नुपर्ने बाध्यता रहेपनि पछिल्ला दिनदेखि ती दुई जिल्लामा रगत अभाव भएको खबर प्राप्त भएको ‘स्टोर इन्चार्ज’ बानियाँले बताए । जिल्लामा आधा दर्जन अस्पताल तथा एक दर्जन क्लिनिक सञ्चालनमा छन् । जिल्लाक सबै अस्पतालमा सामान्यदेखि बिशिष्ट खालका शल्यक्रियासमेत हुने गरेका छन् । शल्यक्रियाका क्रममा रगतको आवश्यकता पर्ने भएकाले बिरामीलाई आवश्यता पर्ने गु्रपको रगत नहुँदा अस्पतालका साथै बिरामीका आफन्तलाईसमेत समस्या हुने गरेको पाइएको छ । काभ्रेमा सञ्चालित अस्पतालमा छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा तथा ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुरसँगै मधेस र भित्री मधेसका विभिन्न जिल्लाबाट बिरामी उपचार गर्न आउँछन् । अस्पतालमा बिरामीको चाप बढेसँगै रगत अभावको समस्या चुलिएको हो । रासस
आवासीय चिकित्सकहरूले स्वास्थ्य मन्त्रालय घेराउ गर्दै
काठमाडौं । निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्दै छन् । डेढवर्षदेखि निर्वाहभत्ताको माग गर्दै आन्दोलनमा उत्रेका चिकित्सकले बिहीबारदेखि फेरि आन्दोलन कडाइ गर्दै मन्त्रालय घेराउ गर्न लागेको जनाएका छन् । आवासीय चिकित्सक डा. तेजशु मल्लले बिहीबार देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने बताए । उनका अनुसार उपत्यकामा रहेका निजी मेडिकल कलेजमा कार्यरत चिकित्सकहरूले माईतीघर मण्डलमा जम्मा भइ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेर्ने भएका छन् । २८ दिनदेखि जारी चिकित्सकको आन्दोलनप्रति सरकार गैरजिम्मेवार र उदासीन भएको आरोप भएको बताउँदै उनीहरूले बाध्य भएर आन्दोलन कडा पार्नुपरेको बताएका छन् ।
सगरमाथा चढ्दा मात्र गौरव मान्दैनौँ, त्यसको रक्षा पनि हाम्रो कर्तव्य ठान्छौँ : राजकुमारी अलथानी
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी तथा सगरमाथा आरोही आश्मा अलथानीले हिमाली क्षेत्रमा द्रुत रूपमा भइरहेको परिवर्तनप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छिन् । सोलुखुम्बुको सानो तर जलवायु असरले गहिरो प्रभावमा परेको थामेमा गाउँ साथसाथै फाउन्डेसनद्वारा आयोजित हिमाली आरोही सम्मेलनलाई सम्बोधन गर्दै राजकुमारी थानीले भनिन्, ‘सगरमाथा जस्ता हिमालहरूमा हिउँ रित्तिँदै जानु केवल नेपालका लागि मात्रै होइन, सम्पूर्ण विश्व समुदायका लागि खतरा हो ।’ सन् २०१९ मा पहिलो पटक नेपाल आएकी र त्यसै वर्ष सफल सगरमाथा आरोहण गरेकी राजकुमारीले यस पटकका हिमालहरूमा जीवन छैन यात्रालाई निकै भिन्न अनुभवका रूपमा लिएकी छिन् । ‘पहिलोपटक आएँ, त्यसबेला हिमाल उज्यालो, आकर्षक र जीवन्त लाग्यो । अहिले फर्किँदा ती हिमालहरूमा जीवन छैन जस्तो अनुभूत गरेँ । हिउँ हराउँदै गएको छ, चट्टानहरू खुला र काला देखिएका छन् । मौसम परिवर्तन भएको छ । यो सबै परिवर्तन एकदमै गम्भीर छ,’ राजकुमारी अलथानीले भनिन् । जलवायु परिवर्तनको प्रत्यक्ष मारमा थामे बस्ती हिमाली वातावरणमा आएको परिवर्तनको सबैभन्दा ठूलो असर थामेजस्ता वस्तीहरूले झेलिरहेका छन् । गएको वर्ष सगरमाथा क्षेत्रमा अवस्थित एक हिमताल फुट्दा आएको बाढीले थामे वस्तीमा व्यापक क्षति पुर्याएको थियो । त्यसबाट दर्जनौं घर विस्थापित भए । विद्युत् संरचना ध्वस्त भयो । सडक सञ्जाल टुट्यो । वस्तीका बालबालिकाको शिक्षामा समेत बाधा पुग्यो । राजकुमारी थानीले यस्ता घटना जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम भएको बताउँदै भनिन्, ‘यस्ता हिमाली वस्तीको पुननिर्माणमा केवल नेपाल सरकारको प्रयास मात्रै काफी हुँदैन । यो सङ्कटसँगै लड्न सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायले हातेमालो गर्नुपर्छ ।’ बाढीपहिरो, हिमताल विस्फोट, र हिउँ पहिरोजस्ता विपद्बाट बच्न पूर्व सूचना प्रणाली जडान गर्नुपर्नेमा राजकुमारीको विशेष जोड थियो । हिमाली क्षेत्रहरू संवेदनशील छन् । यहाँ यस्ता प्रणाली भए यथासमयमा सूचना प्रवाह भएर जनजीवन जोगिन सक्छ । प्रविधिको सदुपयोग जरुरी छ । सगरमाथाको संरक्षणमा विश्वको दायित्व राजकुमारी थानीले सगरमाथा केवल नेपालको सम्पत्ति नभई सम्पूर्ण मानवजातिको साझा धरोहर भएको उल्लेख गरिन् । ‘हामी जस्ता आरोहीहरूले सगरमाथा चढ्दा मात्र गौरवको कुरा मान्दैनौँ, हामी त्यसको रक्षा पनि हाम्रो कर्तव्य ठान्छौँ । अब हरेक विकास योजनामा हिमालको अस्तित्वलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ, होइन भने भोलि सगरमाथा फोटोमा मात्र सीमित हुनेछ,’ उनले चेतावनी दिइन् । राजकुमारीको भनाइलाई समर्थन गर्दै सम्मेलनमा सहभागी अन्य पर्यावरण विज्ञ, आरोही र स्थानीय प्रतिनिधिहरूले हिमालय संरक्षणका लागि वैश्विक सहकार्य आवश्यक भएकामा एकमत जनाए । सम्मेलनमा नेपाल सरकार, स्थानीय निकाय, गैरसरकारी संस्था तथा विदेशी पर्वतारोहण समुदायबीच सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । थामेमा आयोजित सम्मेलन केवल हिमाली आरोहीहरूको जमघट मात्रै थिएन, यो जलवायु चेतना, हिमाली सङ्कट र समाधानको विमर्शको थलो बन्यो । सम्मेलनमा प्रस्तुत गरिएका तथ्याङ्कअनुसार सगरमाथा क्षेत्रको औसत तापक्रम हरेक दशकमा बढ्दै गएको छ । जसको प्रत्यक्ष असर हिमनदीमा परेको छ । राजकुमारी थानीको चेतावनी, अनुभव र भावनात्मक अपिलले सम्मेलनमा गहिरो प्रभाव पारेको थियो । उहाँको अन्तिम सन्देश थियो, ‘हिमाल हाम्रो शिर हो, हाम्रो आत्मा हो । यदि हिउँ हरायो भने हामीले पृथ्वीको भविष्य गुमाउँछौँ । सगरमाथा बचाउन हामी सबैको साझा दायित्व हो ।’ उक्त सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको शुभकामना सन्देश पनि सार्वजनिक गरिएको थियो । उनले सम्मेलनले सगरमाथा संवादको औपचारिक तयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले वातावरणीय सङ्कटबारे जागरुकता फैलाउन आवश्यक रहेको उल्लेख गरे । साथसाथै फाउन्डेसनले तिनै तहका सरकारसँगको समन्वयमा मङ्गलबार थामेमा आयोजना गरेको सम्मेलनलाई नेपाल सरकारले आगामी जेठ २ गतेदेखि आयोजना हुने सगरमाथा संवादको पूर्वकार्यक्रमका रूपमा अपनत्व लिएको छ ।