मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे, सार्क राष्ट्रका पर्यटक धेरै

मुस्ताङ । मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालयका विसं २०८० को तुलनामा २०८१ सालमा यहाँ आउने विदेशी पर्यटक करिब ५० प्रतिशतले बढेका छन् ।  विसं २०८० मा कूल ९६ हजार ६४५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकामा २०८१ सालमा ४९ दशमलव ७६ प्रतिशतले बढेर एक लाख ४४ हजार ७४५ जना पुगेको एक्याप जोमसोम कार्यालयका प्रमुख राजेशप्रसाद गुप्तले जानकारी दिए ।  एक्यापका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष सार्क राष्ट्रका पर्यटकको आगमन ५३ दशमलव ७१ प्रतिशतले बढी छ । गत वर्ष सार्क राष्ट्रबाट एक लाख १७ हजार ६१४ जना र अन्य मुलुकका २७ हजार १३१ जना पर्यटकले मुस्ताङ भ्रमण गरेको कार्यालयको भनाइ छ । कार्यालयका अनुसार २०८१ वैशाखमा २० हजार ८०९, जेठमा २८ हजार ८५६, असारमा आठ हजार १८७, साउनमा तीन हजार ५५८, भदौमा छ हजार ६७९, असोजमा १३ हजार २१६, कात्तिकमा १४ हजार ५७८ र मङ्सिरमा सात हजार ५५३ जना विदेशी पर्यटक मुस्ताङ आएका छ्न् । साथै पुसमा छ हजार ९७५, माघमा तीन हजार ५१७, फागुनमा  नौ हजार ३२६ र चैतमा २१ हजार ४९१ जना  विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । कार्यालयका अनुसार गत वर्ष कूल ७२ राष्ट्रका पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । कार्यालय प्रमुख गुप्ताका अनुसार मुस्ताङ आउने सार्क राष्ट्रतर्फ ८० प्रतिशत भारतीय पर्यटक हुने गरेका छन् । उनीहरू विशेष गरी मुक्तिनाथ दर्शन गर्न आउँछन् ।  एक्याप जोमसोमका अनुसार विसं २०८० सालमा ९६ हजार ६४५ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्दा सार्क राष्ट्रतर्फ ७६ हजार ५१६ जना र अन्य विदेशी पर्यटकतर्फ २० हजार १२९ थिए ।  केही वर्षयता राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकमार्ग सहज भएसँगै मुस्ताङ आउने आन्तरिक र बाह्य पर्यटकको उल्लेख्य वृद्धि भइरहेको एक्यापको भनाइ छ ।  कार्यालयका अनुसार मुस्ताङ आउने एक चौथाई विदेशी पर्यटक अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै आएका छन् । साथै लमजुङको बेसी सहरदेखि मनाङ हुँदै मुस्ताङ भित्रिने पर्यटकको संख्यामा समेत वृद्धि भइरहेको छ । मुस्ताङबाट दृष्यावलोकन गर्न सकिने निलगिरि र धौलागिरि हिमालको मनमोहक दृष्य एवं यहाँका प्राकृतिक तथा जैविक विविधता अवलोकन गर्न विदेशी पर्यटक आउने गरेका छन् । कालिगण्डकी नदीको तटीय क्षेत्र, यहाँका पृथक भूगोल तथा  प्राकृतिक सौन्दर्यताका कारण पर्यटक आउने गरेका छन् । यहाँका गुम्बा, माने, छोर्तेन र स्तुप पर्यटकीय आर्कषण हुन् । उपल्लो मुस्ताङमा मुस्ताङी राजाको ऐतिहासिक राजदरबार, लोघेकर (घर) गुम्बा, छोसेर गुफा, चिउसी गुफा, लुरी गुम्बा, दामोदरकुण्ड धार्मिकस्थललगायतका पर्यटकीय सम्पदा विद्यमान छन् ।  यस्तै, प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ, कागबेनीधाम, ढुम्बाताल, स्याउको राजधानी एवं सांस्कृतिक गाउँ मार्फा, गुरुसाङ्वो गुफा, टिटी ताल र सेकुङ ताल लगायतका पर्यटकीय गन्तव्य भएकै कारण मुस्ताङमा पर्यटक आगमनदर बढ्दो छ ।

अस्पताल विस्तारको योजना रोकिएको छ, अब ढिला नगरी जग्गा दिनुहोस् : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जग्गा नहुँदा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विस्तारको योजना रोकिएको बताएका छन् । जग्गा उपलब्ध नभए दूधपाटीमा सञ्चालित प्रत्यारोपण केन्द्र अन्य जिल्लामा लैजाने उनले उल्लेख गरे ।  भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १३औँ वार्षिकोत्सव समारोहमा मन्त्री पौडेलले केन्द्रले भवन निर्माणका लागि रकमको  व्यवस्था गरिसकेको अवस्थामा जग्गा अभावले योजना अघि बढ्न नसकेको बताए । मन्त्री पौडेलले भने, ‘जग्गा नहुँदा प्रत्यारोपण केन्द्रले आफ्नो भवन बनाउन पाएको छैन । भक्तपुरमै राख्ने हो भने अब ढिला नगरी जग्गा दिनुहोस् ।’ मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई देशभरको प्रत्यारोपण सेवाको नेतृत्वकर्ता अस्पतालको रूपमा विकास गरिने मन्त्री पौडेलको भनाइ छ । हाल गण्डकी (पोखरा), कर्णाली (सुर्खेत) र लुम्बिनी प्रदेशमा सेवा सुरु गरिसकेको तथा बागमती प्रदेशअन्तरगत भरतपुर अस्पतालमा एक महिनाभित्र प्रत्यारोपण सेवा सञ्चालन गरिने उनले जानकारी दिए ।  सुदूरपश्चिममा गेटा अस्पताल, कोशी प्रदेशमा कोशी अस्पताल वा बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेश प्रदेशमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तारको तयारी भइरहेको मन्त्री पौडेलले बताए ।  अङ्ग प्रत्यारोपणको माग बढ्दै गए पनि माग अनुसार अङ्ग नपाउँदा समस्या बढिरहेको भन्दै  ‘ब्रेन डेथ’ वा मृत्यु पश्चात अङ्गदानको महत्वबारे आम जनसमुदायमा चेतना फैलाउनु आवश्यक रहेको बताए ।  उनले भने, ‘मैले मेरो अङ्ग दान गरिसकेको छु, अरुलाई पनि यसबारे चेतना फैलाउनु जरुरी छ । ‘ब्रेन डेथ’ भएको व्यक्तिको अङ्गदान गरेमा परिवारलाई केन्द्रबाट रु एक लाख र मन्त्रालयबाट थप रु एक लाख सहयोग गरिने व्यवस्था गरेका छौँ । एक जनाको अङ्गले छ जनाको ज्यान बच्छ, अङ्गदान पूण्य दान हो ।’  मन्त्री पौडेलले भक्तपुरस्थित प्रत्यारोपण केन्द्रमा मुटुको प्रत्यारोपण सेवा  सुरु गर्ने तयारी रहेको उल्लेख गर्दै देशभर केन्द्रको सेवालाई विस्तार गरिने बताए । विदेश जानु अगाडि श्रमिकलाई स्वास्थ्यसम्बन्धी तालिम अनिवार्य लिनुपर्ने व्यवस्था गरेको जिकिर गर्दै उनले विदेशबाट फर्किएपछि श्रमिकहरुको मिर्गौलादेखि अन्य अङ्गको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा निःशुल्क परीक्षण गर्ने व्यवस्था गरेको बताए ।  कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले चाँंगुनारायण नगरपालिकाले केन्द्रलाई जग्गा दिइसकेको बताए ।  ‘झौखेलमा ३० रोपनी जग्गा सरकारले केन्द्रको नाममा दिइसकेको छ, त्यो जग्गामा डायलासिस सेवा सुरु गर्नुस्, चाँगुनारायण नगरपालिकाले सुडालको मिश्रिकोटारमा थप ३५ रोपनी १२ आना सार्वजनिक जग्गा अस्पताललाई दिन प्रक्रिया अगाडि बढाइसकेको छ,’ उनले भने ।  भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले झौखेलमा अस्पताललाई दिएको जग्गामा भवन बनाएर सेवा सुरु गर्न केन्द्रलाई आग्रह गर्दै कुनै विवाद आए त्यसलाई सुल्झाइने बताए । अस्पतालका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अस्पतालको १३ वर्षको प्रगतिबारे जानकारी दिँदै सेवा विस्तारमा आएका चुनौतीबारे स्पष्ट पारे ।  सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा श्रेष्ठलाई वर्षको उत्कृष्ट कर्मचारीका रुपमा १० हजार पुरस्कार प्रदान गरिनुका साथै उनकी पत्नी नविना श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

चाँगुनारायण अस्पतालमा सेवा विस्तार, थाइराइडदेखि भिटामिनको परीक्षण सुरु

काठमाडौं । स्थानीयस्तरमै आफ्ना नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न चाँगुनारायण नगर अस्पताललाई भौतिक पूर्वाधारदेखि उच्च प्रविधिमैत्री बनाउँदै आएको चाँगुनारायण नगरपालिकाले थाइराइडदेखि शरीरमा हुने विभिन्न भिटामिनको कमीको परीक्षण सुरु गरेको छ । सहरदेखि गाउँघरका बासिन्दामा पछिल्लो समय थाइराइडको रोग बढ्दै गएको, शरीर कमी भएको भिटामिनका बारेमा जानकारी नपाउँदा रोग पाल्दै बस्नुपर्ने र थाइराइडको परीक्षण एवं औषधि लिन भक्तपुरदेखि काठमाडौंका अस्पतालसम्म नै धाउनुपर्ने समस्या नगरपालिकाले अन्त्य गरेको छ ।  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ बराबरको एक थान क्लिया एनालाइजर मेसिन र रिएजेन्ट मेसिन हस्तान्तरणपछि चाँगुनारायण नगर अस्पतालले यो सेवा विस्तार गरेको हो ।  कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्कीले चाँगुनारायणका नगरप्रमुख जीवन खत्रीलाई एक थान क्लिया एनालाइजर मेसिन र रिएजेन्ट मेसिन बुधबार हस्तान्तरण गरेसँगै चाँगुनारायण अस्पतालले आफ्नो नगर अस्पतालमा यो सेवा विस्तार गरेको हो । कागेश्वरीका नगरप्रमुख कार्कीले चाँगुनारायण नगरवासीलाई गुणस्तरीय सेवा विस्तार गर्न आफ्नो नगरपालिकाले पनि प्रविधि हस्तान्तरण गर्न पाएकामा खुसी व्यक्त गर्दै यसले स्थानीय सरकारबीचको अन्तर नगर सम्बन्धलाई घनिष्ट र मजबुद् बनाउने बताए ।  कार्यक्रममा चाँगुनारायणका प्रमुख खत्रीले नगर अस्पताललाई थप प्रविधिमैत्री बनाउन कागेश्वरी मनोहराको मेसिन सहयोगले तत्कालै सेवा विस्तार गर्न सहज भएको बताउँदै अब नगरवासीले यस्ता सेवा लिन टाढा धाउनु नपर्ने बताए ।  दुई स्थानीय सरकारकाबीचको मजबुत सम्बन्धले एकापसमा सहयोगको भावना बढाएको बताउँदै चाँगुनारायणवासीलाई नगरपालिकाले निःशुल्क अक्सिजन वितरण गर्दै आएको, प्रसूतिदेखि अधिकांश सेवा आफ्नै अस्पतालमा विस्तार गरेको र अस्पताल आउन नसक्ने बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको बताए ।  उनले उपचार नपाएर चाँगुनारायणवासीले ज्यान गुमाउनुपर्ने अवस्था नरहेको बताउँदै चाँगुनारायण अस्पताललाई सुविधासम्पन्न र प्रविधिमैत्री बनाउँदै लगेको बताए ।