शिक्षक, कर्मचारी र विद्यार्थी सङ्ख्या बराबर
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका-२ खबराको हंशबाहिनी आधारभूत विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थीको सङ्ख्या बराबर छ । दुई जना दरबन्दीका शिक्षक, एक/एक बालविकास सहयोगी र कार्यालय सहयोगी रहेको विद्यालयमा विद्यार्थी सङ्ख्या चार छ । कक्षा तीनसम्म पठनपाठनको अनुमति पाएको विद्यालयको कक्षा २ मा एक जना पनि विद्यार्थी छैनन् । बाल कक्षामा दुई, कक्षा १ र ३ मा एक/एक जना विद्यार्थी रहेका प्रधानाध्यापक सरस्वती नेपालीले बताइन् । उनका अनुसार गत शैक्षिक सत्रको सुरुमा २२ जना विद्यार्थी रहेकामा बर्खे बिदापछि ११ जनाले विद्यालय परिवर्तन गरेका हुन् । ‘कक्षा ५ का एक जना उत्तीर्ण भएपछि अर्को विद्यालयमा गएका छन् । विद्यार्थीका अभिभावकले पनि विद्यालय परिवर्तन गराएपछि सङ्ख्या घट्दै गएको हो,’ उनले भने, ‘अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएका थियौँ । बालबालिकाको सिकाइ उपलब्धि मूलक बनाउन बाल कक्षापछि नर्सरी सञ्चालन गरेका थियौँ । समुदायको साथ नपाउँदा विद्यार्थी सङ्ख्या घटेको हो ।’ विसं २०८० सम्म कक्षा ७ सम्मको पठनपाठन हुँदै आएको विद्यालयमा विद्यार्थी सङ्ख्या ५१ थियो । कक्षा ८ सञ्चालन गर्ने, गणित र विज्ञान विषयको शिक्षक माग गर्दै आएका अभिभावक र बेनी नगरपालिकाका जनप्रतिनिधि सहमति हुन नसकेपछि अभिभावकले विद्यालय परिवर्तन गराएका हंशबाहिनीका शिक्षकले गुनासो गरेका छन् । गत वर्ष विद्यार्थी सङ्ख्या कम भएकाले उक्त विद्यालयलाई कक्षा ८ बाट कक्षा ३ सम्मको पठनपाठन गर्न पाउनेगरी बेनी नगरपालिकाले निर्णय गरेको थियो । यहाँका तीन जना शिक्षकको दरबन्दी अन्यत्र व्यवस्थापन गरिएको प्रअ नेपालीले बताए । विद्यालयको सेवा क्षेत्रमा पर्ने ठूलो र सानो खबरामा १५० घरपरिवारको बसोबास छ । सदरमुकाम बेनी बजार नजिकैको उक्त बस्तीबाट बेनीका दुई निजी विद्यालयमा दुई बस विद्यार्थी आउने शिक्षक हृदयकुमार श्रेष्ठले बताए । उनका अनुसार केही अभिभावकले बेनी सामुदायिक र प्रकाश माविमा पढाउन थालेका छन् । ‘हंशबाहिनीमा छोराछोरी पढाउनेलाई सामाजिक रूपमा हिंसा गर्न थालेपछि कतिपय अभिभावकले इच्छा नभए पनि बेनी पठाएको पाएका छौँ,’ शिक्षक श्रेष्ठले भने, ‘रित्ता कक्षाकोठा रुघेर बस्नुपरेको छ ।’ सुविधा युक्त खेलमैदान र कक्षाकोठा खाली रहेका उनको भनाइ छ ।
६ करोडमा बनेको ‘वनजङ्गल एडभेञ्चर’, साहसिक पर्यटनका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य
काठमाडौं । काठमाडौं उपत्यका नजिकै पर्ने तारकेश्वर नगरपालिका-३ स्थित योग गन्तव्यको साहसिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । ‘वनजङ्गल एडभेञ्चर’ स्थापना भएसँगै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो । पर्यटनमा पछिल्लो साहसिक पर्यटनमा रूचि राख्नेको आगमन बढ्दै गएको छ । यहाँ जिपलाइन, रकक्लाइमिङ र बञ्जीजम्प गर्न उपत्यका बाहिरका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक पुग्न थालेका हुन् । योसँगै काठमाडौंमा बसोबास गरिरहेकाले साहसिक पर्यटनका लागि टाढाटाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ । काठमाडौंकै रिङरोडभित्र बसोबास गर्नेका लागि साहसिक गन्तव्य काठमाडौं रिङरोड बाइपासबाट १० किलोमिटरभित्र ककनी राजमार्गमा पर्ने पाँचमाने स्थित ‘वनजङ्गल एडभेञ्चर’ बनेको छ । यहाँ पुगेपछि प्रकृतिको आनन्द र हरियाली वातावरणमा स्वच्छ हावा पनि लिन सक्नेछन् । ८ महिनादेखि काठमाडौंभित्र रहेका र साहसिक पर्यटनमा रूचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकलाई प्रकृतिसँगै नजिक राखेर सेवा दिँदै आइएको वनजङ्गल एडभेञ्चरका सञ्चालक एलिसा ढकालले बताइन् । उनले काठमाडौंमा बसोबास गरिरहेकालाई प्रकृति र साहसिक पर्यटनप्रति रूचि बढाउन एडभेञ्चर सञ्चालन गरिएको धारणा राखे । हिजोआज साहसिक पर्यटनको ‘प्याकेज’ बनाएर आउनेको सङ्ख्या बढिरहेको भन्दै उनले एडभेञ्चरले काठमाडौंभित्रका पर्यटकलाई लक्षित गरेर यो व्यवसाय सञ्चालन गरिरहेको बताए । काठमाडौंका मानिस यहाँ आउँदा समयको बचत र जङ्गलभित्र सबै एडभेञ्चरको फरक महसुस गर्न पाउने भएकाले सेवाग्राहीको सङ्ख्या बढ्दै गइरहेको ढकालले बताए । उनका अनुसार ३० रोपनीमा फैलिएको वनजङ्गलमा सेवाग्राहीले जिपलाइन, रोलर कोस्टर, क्लाइमिङ वाल, अब्स्टयाक्ल कोर्ष, हाइरोप कोर्ष, किड्स एडभेञ्चर्स कोर्ष जिपलाइन ट्रिपटप एडभेञ्चर र जाइन्ट स्वीङको अनुभव लिन पाउनेछन् । साहसिक पर्यटनका लागि नेपालमा पहिलोपटक रोलर कोस्टरको अनुभव लिन पाउने सञ्चालक ढकालले जानकारी दिए । फलाममा चक्का राखी बाँधेर छोड्ने गरिन्छ । पर्यटकले एक मिनेटसम्म फलामको डण्डामा घुमेर मनोरञ्जन लिन सक्नेछन् । पर्यटकले टेन्ट र मौलिक नेपाली घरमा बसेर फरक अनुभूति गर्न सक्छन् । एडभेञ्चरमा ११ टेन्ट र एक मौलिक घर रहेको छ । मौलिकताको जगेर्ना गर्दै वनजङ्गल एडभेञ्चरले मौलिक घरमा ढिकी, जाँतो, हलो तथा कृषकले प्रयोग गर्ने सामग्री देख्न पाइन्छ । शुक्रबार र शनिबार आन्तरिक पर्यटकको भीडभाड हुने गर्दछ । भारतीय अक्सो कन्सल्टेन्सीले एक वर्षको अवधिमा पूर्वाधार निर्माण गरेको र सबै पूर्वाधार पूर्ण रुपमा इञ्जिनिरियङ गरेर बनाइएको सञ्चालक ढकालले बताए । ‘वनजङ्गल एडभेञ्चरको विशेषता भनेको साहसिक पर्यटन हो । यहाँ भएका अधिकांश खेल खेलाउन पर्यटन विभागबाट अनुमति लिएका छौँ,’ उनले भने, ‘साहसिक खेलमा सहभागी प्रत्येक खेलाडीको बिमा गरिएको छ ।’ जङ्गलको बीचमा कूल ६ करोड रुपैयाँ लागतमा आफ्नै जग्गामा पर्यटकीय पूर्वाधार निर्माण गरिएको ढकालले जानकारी दिए ।
बालेन शैली अपनाउँदा मृत्युको मुखमा पुर्याइयो, स्वास्थ्यमन्त्रीसम्मको ‘नेक्सस’
काठमाडौं । नेपाली युवाहरूको एउटै गुनासो छ- ‘नेपालमा गरिखान गाह्रो छ’ । हरेक क्षेत्रमा राजनीति, भ्रष्टाचार र राम्रो गर्नेहरूको खुट्टा तान्ने प्रवृत्तिले युवाहरूको रोजाइ नै परदेश हुन थालेको छ । सोमबार सामाजिक सञ्जालमा अलबिदा लेख्दै आत्महत्या गर्ने योजनामा पुगेका चिकित्सक डा. केशव श्रेष्ठको हकमा पनि ठ्याक्कै यही घटना दोहोरियो । प्रहरीले उनलाई मृत्युबाट जोगाए पनि यो घटनाले नेपालमा सुशासनको जग बसाल्न कति चुनौती खेप्नुपर्छ भन्ने देखाएको छ । जिल्ला अस्पताल, रामेछापमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक श्रेष्ठले आफू राम्रो गर्न खोज्दा कर्मचारी, प्रदेश स्वास्थ्य मन्त्रालयलगायत विभिन्न ठाउँबाट दबाब खेप्नुपरेको भन्दै आत्महत्या गर्न बाध्य बनाएको लामो स्टाटस लेखे । परिवारलाई सम्बोधन गर्दै लेखिएको स्टाटसले सोमबार दिनभर सामाजिक सञ्जाल तात्यो । केही गर्न खोज्नेहरूलाई राजनीतिक तहमा समस्या सिर्जना हुने काम सिर्जित हुने गरेको भन्दै व्यापक आलोचना पनि भयो । प्रहरीले समयमै सूचना पाउँदा चिकित्सकको ज्यान जोगिए पनि यो घटनाले ठूलो प्रश्न खडा गरेको छ । एउटा सामान्य कर्मचारीले राजनीति र सरकारबाटै कति कष्ट सहनुपर्छ भन्ने कुरूप अनुहार छर्लंग भएको छ । चिकित्सकहरूलाई नै यस्तो अवस्थामा ल्याउनेविरुद्ध कडा कारवाही गर्नुपर्ने माग सर्वसाधारणदेखि चिकित्सकहरूबाट उठेको छ । ड्युटीमा कडाइ गर्दाकाे परिणाम नेपालमै केही गर्नुपर्छ भन्ने हुटहुटी भएका २५ वर्षका चिकित्सक श्रेष्ठले जिल्ला अस्पताल, रामेछापमा २५ महिना सेवा गरे । यो अवधिमा उनले १८ महिना अस्पतालको निमित्त सुपरिटेन्डेन्ट भएर काम गरे । करारको जागिर हुँदै नेपाल प्रहरी र बागमती प्रदेशको लोकसेवाबाट नाम निकालेर यो पेशामा प्रवेश गरेका श्रेष्ठको स्वभाव बालेनशैलीको रहेको उनलाई चिन्नेहरू बताउँछन् । उनलाई नजिकबाट चिन्ने एक चिकित्सक केशवमा बालेन शैलीको स्वभाव रहेको बताउँछन् । ‘उनी आफू पनि काम गर्ने र आफ्नो टिमलाई पनि गर्नुपर्छ भन्ने स्वभावका थिए, ती चिकित्सक भन्छन्, ‘केही गर्नुपर्छ, नराम्रो गर्न हुँदैन भन्नेलाई नेपालमा गर्न नदिइने रहेछ, बालेनलाई पनि त्यस्तै छ, उनलाई पनि त्यस्तै असहयोग भयो ।’ चिकित्सकलाई नै यो अवस्थामा पुर्याउने नेपालको राजनीतिक अराजकताले युवाहरू स्वदेशमा बस्ने वातावरण नरहेको उनी बताउँछन् । रामेछापका स्थानीय पनि १८ महिनाको अवधिमा श्रेष्ठले राम्रो कामको प्रयास गरेको बताउँछन् । नामको मात्र अस्पताल रहेको जिल्ला अस्पताललाई साँच्चिकै अस्पताल बनाउन श्रेष्ठको ठूलो हात रहेको उनी बताउँछन् । अर्का एक स्थानीय पनि श्रेष्ठले जिल्ला अस्पतालमा एउटा सिस्टम बसालेको बताउँछन् । नाम नबताउने सर्तमा उनले भने, ‘श्रेष्ठको नेतृत्वमा अस्पताल चल्दा राम्रा काम भइरहेका थिए । थिति बसाल्न खोज्दा अप्ठ्यारो अवस्थामा पुर्याइयो ।’ लथालिंग अवस्थामा रहेको जिल्ला अस्पताललाई व्यवस्थित् बनाउने योजनाका साथ नेतृत्व तहमा पुगेका श्रेष्ठलाई अन्ततः त्यहीका राजनीतिक दलका नेता तथा कार्यकर्ताले आत्महत्या गर्नेसम्मको अवस्थामा पु¥याएको उनी बताउँछन् । उनले सेवाग्राहीलाई अस्पतालमा पाइने सबै सेवा समयमै उपलब्ध गराउने कडा नियमपछि अस्पताल भित्रैका कर्मचारी र बाहिरका राजनीतिक दलका कार्यकर्ताहरूकै दबाबले यस्तो अवस्था आएको अर्का स्थानीय बताउँछन् । भन्छन्, ‘भर्खरको युवा केही गर्नुपर्छ भन्ने हुटहुटी भएका श्रेष्ठले त्यहीअनुसार नियम कडा पारे तर यहाँका कर्मचारीलाई मन परेन । दबाबमा सरुवा गर्नेदेखि यस्तै गतिविधि सुरु भए ।’ डा. श्रेष्ठले नेतृत्व गरिसकेपछि प्रत्येक महिनाको अन्तिम साता काठमाडौंबाट विशेषज्ञ चिकित्सकहरू बोलाएर निःशुल्क जाँच गर्नुका साथै अस्पतालमा नियमित स्वास्थ्य शिविर सुरु गरेका थिए । जिल्ला अस्पताललाई प्रदेश अस्पताल बनाउन पनि उनको ठूलो हात छ । पहिले १५ बेडमा रहेको अस्पताललाई उनले ५० बेडसम्मको बनाएका छन् भने उनकै पहलमा २ बेड आईसीयू पनि जिल्ला अस्पतालमा सञ्चालनमा आएको छ । ती स्थानीय भन्छन्, ‘कर्मचारी राजनीतिक शक्तिबाट आएका हुन्छन्, उनी आएपछि सबैलाई काममा लगाए, ड्युटी कडा बनाए । घाम तापेर दिन बिताउने गरेकाहरूलाई यो पचेन अनि कर्मचारीको असन्तुष्टि बढ्यो ।’ यो बीचमा पनि श्रेष्ठलाई सुरुवा गर्न निकै चलखेल भयो । श्रेष्ठले आफ्नो अस्पतालका कर्मचारीदेखि प्रदेश स्वास्थ्य मन्त्रालयले काममा हस्तक्षेप गरेको स्टाट्समा लेखेका छन् । उनले सेवाग्राहीलाई अस्पतालमा पाइने सबै सेवा समयमै उपलब्ध गराउने कडा नियमपछि अस्पताल भित्रैका कर्मचारी र बाहिरका राजनीतिक दलका कार्यकर्ताहरूकै दबाबले यस्तो अवस्था आएको अर्का स्थानीय बताउँछन् । मन्त्रालयमा उजुरी अस्पतालभित्र भइरहेको किचलो तब बाहिर आयो जब करारका ५ जना स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रालयमा उजुरी दिए । उनीहरू अस्पतालमा प्रमुखको कारण बस्न, खानदेखि काम गर्न समस्या भएपछि मन्त्रालयले कदम अगाडि बढाएको मन्त्रालयले जनाएको छ । यो विषयमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलाल भने जिल्ला अस्पतालबाट उजुरी परेपछि दुवै पक्षलाई बोलाएर छलफल गरेको बताउँछन् । उनी भन्छन्, ‘हामीलाई काम गर्न मात्र होइन, बस्न खान पनि समस्या आयो भनेर कर्मचारीले गुनासो गरेपछि सरुवा गरेका हौं । तर, उहाँले आत्महत्या नै गर्नुपर्ने अवस्थासम्म हामीले चोट पुग्ने काम गरेका छैनौं ।’ स्वास्थ्य मन्त्रालयले यो विषयमा छानबिन गर्न समिति नै बनाएको थियो । छानबिन समितिले छानबिन गरिरहँदा श्रेष्ठको सरुवा भएको थियो । समितिका संयोजक डा. सञ्जु राय स-साना कुराहरूलाई व्यवस्थापन गर्न नसक्दा अवस्था यहाँसम्म पुगेको पाइएको बताउँछिन् । ‘स-सानो कुरामा विवाद भएको पाइयो, भान्छा कोठामा खाना पकाएर खान नदिने, काम गर्ने वातावरण पनि राम्रो नभएको कर्मचारीको भनाइ थियो । हेर्दा सामान्य लाग्ने कुरा नै जटिल रूपमा आउँदा समस्या भएको हो,’ उनले भनिन् । यो विषयमा हामीले रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपानेसँग पनि बुझेका छौं । उनले कसैले आत्महत्या गर्न खोज्दैछ भने त्यसपछि आफूहरूले नजाने धारणा राखे । उनी एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्यो भन्दैमा सुसाइड नोट लेखी आत्महत्या गर्न जानु हास्यास्पद भएको बताउँछन् । ‘एउटा कर्मचारी सरुवा भएर जाँदा आकाश खसेको जस्तो गरेका छन्, सुसाइड गर्न हिँड्या छन् रे, कता होटेलमा मासुभात खाएर बसेका छन् रे भन्ने सुनियो, तर त्यस्तो होइन । त्यस्तो हो भने के हामी राजनीतिकर्मी चुनाव हार्यौं भनेर सुसाइड गर्दै हिँड्ने हो त ?’ उनले प्रश्न गर्दै भने । उनी डा. श्रेष्ठको व्यवस्थापकीय कमजोरी रहेको दाबी गर्छन् । न्यौपाने कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेलको जेठान समेत हुन् । डा. श्रेष्ठले दुःख दिए भनेर उल्लेख गरिएका केदार कार्की रामेछाप नगरपालिका वडा न ८ का पूर्ववडाध्यक्ष हुन् । उनी पनि नेपाली कांग्रेसका नेता रहेको बुझिएको छ । सम्बन्धित सामग्री बालाजुमा सकुशल भेटिए डा. केशव श्रेष्ठ, प्रहरीको निगरानीमा फेसबुकमा ‘अलबिदा’ लेख्दै चिकित्सक बेपत्ता, सचिवदेखि मन्त्रीसम्म मुछिए