कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार बनाउने तालिम

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ‘ब्राण्डिङ’ र ‘प्याकेजिङ’सम्बन्धी तालिम दिएको छ । नगरपालिकाको रैथाने बाली कोदोखेतीलाई प्रवर्द्धन गर्दै स्थानीय युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर नगरपालिकाले तालिम दिएको हो । ‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित वडा नं ७ महादेवस्थानस्थित वडा कार्यालयमा आयोजना गरिएको सात दिने तालिम शुक्रबार औपचारिकरुपमा समापन गरिएको छ । एकजना स्थानीय महिला उद्यमी तथा १२ जना विद्यार्थीको सहभागिता रहेको तालिममा सहभागी प्रशिक्षार्थीले उत्पादन गरेका कोदोको बिस्कुट, कुकिज, निम्की, पाउरोटी, मफिन र दुनोट प्याकेजिङ गरेर समापन कार्यक्रममा प्रदर्शन गरिएको थियो । तालिममा सहभागीले बनाएका कोदोका परिकार त्रिधार्मिकस्थल हलेसी बजारमा सञ्चालन गरिएको कोसेली घरमा राखेर बिक्री गर्ने र हलेसी आउने पाहुनालाई उपहारस्वरुप प्रदान गर्ने योजनाका साथ तालिमको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका–७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । 'त्रिधार्मिकस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीको रुपमा लैजानका लागि यहाँको उत्पादन खोज्ने गरेका छन् । कोदोको परिकारलाई यहाँको प्रमुख उत्पादनका रुपमा ब्राण्डिङ गर्नेगरी तालिमको आयोजना गरिएको हो', उनले भने, 'तालिममा सहभागीले व्यावसायिक रुपमा उत्पादन गरेका कोदोका परिकार नगरपालिकाको तर्फबाट खरिद गरिदिन्छौँ । खरिद गरिएको परिकार कोसेली घरमा राखेर उपहारस्वरुप पाहुनाहरूलाई वितरण गर्ने योजना बनाएका छौँ ।' नगरपालिकाको कृषि शाखाद्वारा सञ्चालित तालिमको सहजीकरण काठमाडौँबाट झिकाइएको खाद्य प्राविधिक आर्जन गौतमले गरेका थिए । दक्ष प्राविधिको सहजीकरणमा कोदोको परिकार बनाउने तालिम निःशुलक लिन पाएपछि सहभागीहरू व्यावसायिक बन्न उत्साहित बनेको नगरपालिकाले जनाएको छ । रैथाने बाली ‘कोदो’को बजार सम्भावनालाई आत्मसात् गर्दै स्थानीय युवाका लागि सीपमूलक उद्यमशीलता प्रति आकर्षित गर्नका लागि तालिमको आयोजना गरिएको नगरप्रमुख विमला राईले बताए । 'तालिममा सहभागीले पौष्टिकता, परम्परा र उद्यमशीलताको पाठ एकैसाथ सिक्न पाएका छन् । उनीहरूलाई तालिमले केवल सीपमात्र होइन, आत्मविश्वास र प्रेरणा पनि थपिदिएको छ', उनले भने, 'कोदोको पोषण, स्वाद र प्रयोगशैलीको विविधता उजागर गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । तालिमले रैथाने बाली कोदोको उत्पादन तथा मूल्य वृद्धि र स्थानीय उद्यमशीलतालाई थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।' तालिममा सहभागीलाई कोदोको परम्परागत प्रयोगलाई आधुनिक परिकारमा रूपान्तरण गर्दै गुणस्तरीय परिकार उत्पादन, ब्राण्डिङ, प्याकेजिङ तथा बजारीकरणका पक्षमा पनि व्यवहारिक जानकारी र अभ्यास गराइएको नगरपालिकाले जनाएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि–अक्सिडेन्टजस्ता पोषकतत्वहरूलाई ध्यानमा राखेर कोदो बालीलाई पोषण सुरक्षा र स्थानीय रोजगारीसँग जोड्ने प्रयास गरेको हो । तालिम समापन अवसरमा प्रशिक्षार्थीले उत्पादन गरेका सबै परिकारहरू कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूले अवलोकन गर्नुका साथै स्वाद परीक्षण गरेका छन् । तालिममा सहभागी विद्यार्थीले उत्पादन गरेका कोदोको विभिन्न प्रकारका परिकार गुणस्तरीय र स्वादिष्ट रहेको समापन कार्यक्रमका सहभागीले बताएका छन् । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा रैथाने बाली कोदो उत्पादन बढी हुने भएकाले पनि त्यसलाई प्रवर्द्धन गर्दै कोदोको विभिन्न प्रकारका परिकार उत्पादन गरेर बजारीकरण गर्न तालिमको आयोजना गरिएको जनाइएको छ । तालिमले विशेषगरी युवालाई सीपमार्फत सशक्त बनाउने, महिलालाई आम्दानीको अवसर दिने र रैथाने कृषि बाली उत्पादनको संरक्षण तथा सम्वर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।  रासस

केयुको ३०औं दीक्षान्तमा १ हजार १२९ दीक्षित

काभ्रेपलाञ्चोक । काठमाडौं विश्वद्यिालय (केयु)को ३०औं दीक्षान्त समारोह (दोस्रो चरण)मा शुक्रबार विभिन्न तह एवं विधामा एक हजार १२९ विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोह प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षमा सम्पन्न भएको समारोहमा अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत ब्रेन्डन जी कारको प्रमुख आतिथ्य तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति रघुजी पन्तको समुपस्थिति रहेको थियो ।  समारोहमा स्कुल अफ आर्टसका १६३, स्कुल अफ एजुकेसनका १०२, स्कुल अफ इञ्जिनियरिङका ६८, स्कुल अफ मेनेजमेन्टका ११०, स्कुल अफ मेडिकल साइन्सेजका ६६१ र स्कुल अफ साइन्सका २५ जना विद्यार्थी दीक्षित भएका हुन् ।  यस्तै समारोहमा विश्वविद्यालयका आर्टस्, एजुकेसन, इञ्जिनियरिङ, मेनेजमेन्ट, मेडिकल साइन्सेन्स र साइन्स सङ्कायका पिएचडी तहका १४, डिएम तहका आठ, एमसीएच तहका १०, एमफिल तहका ६९, स्नातकोत्तर तहका ५१३, पिजीडी तहका चार र स्नातक तहका ५१९ जना दीक्षित हुनेछन् ।  दीक्षित हुनेमध्ये ५० दशमलव ९३ प्रतिशत छात्र र ४९ दशमलव ०७ प्रतिशत छात्रा छन् । दीक्षित हुने विदेशी विद्यार्थी भुटान, भारत, श्रीलङ्का र माल्दिभ्स गरी चार देशका ११८ जना अर्थात् १० दशमलव ४५ प्रतिशत रहेको केयुले जनाएको छ ।  समारोहमा विश्वविद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रधानमन्त्री ओली र कारले संयुक्त रुपमा स्वर्णपदक प्रदान गरेका थिए ।  चान्सलर स्वर्णपदकमा स्नातकोत्तर तहमा सबभन्दा बढी सिजिपए प्राप्त गर्ने विद्यार्थी दयाराम सिंखडा, भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थी एजल सुजखु, जुद्धबहाुर श्रेष्ठ स्वर्णपदकबाट कृष्णबाबु भट्टराई, रणबहादुर शाह स्वर्णपदकबाट एमबिए तहमा सर्वोत्कृष्ट विद्यार्थी तरुण अग्रवाल, रमेशप्रसाद सिंह स्वर्णपदकबाट स्नातकोत्तर तह एमएस् अर्थोपेडिक्समा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने सुयश तिमल्सिना, महेशनाथ पराजुली स्वर्णपदकबाट स्कुल अफ एजुकेसनअन्तर्गत दुईवर्षे स्नातकोत्तर तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने छात्रा युरिशा उपाध्याय र प्रेमराज पन्त स्वर्णपदकबाट स्नातक तह ९स्कुल अफ म्यानेजमेन्ट०मा सबैभन्दा बढी सिाजपिए प्राप्त गर्ने विद्यार्थी एजल सुजखुलाई पदक प्रदान गरिएको हो ।  स्कुल अफ इञ्जिनियरिङअन्तर्गत ‘डाक्टर अफ फिलोसफी इन जियोम्याटिक्स् इञ्जिनियसिरङ’मा एक जना, स्कुल अफ मेनेजमेन्टअन्तर्गत ‘ब्याचलर अफ प्राफेसनल हस्पिटालिटी’मा २० जना र स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गत ‘डाक्टर अफ मेडिसिन इन पल्मोनरी क्रिटिकल केयर एण्ड स्लिप मेडिशिन’मा एक जना, ‘एमएससी इन कम्युनिटी हेल्थ नर्सिङ’मा एक जना, ‘एमएससी इन साइक्र्याटिक नर्सिङ’मा दुई जना, ‘मास्टर्स अफ साइकोथेरापी इन मस्कुलोस्केलेटल साइकोथेरापी’मा पाँच जनालाई उपाधि प्रदान गरिएको केयुले जनाएको छ ।  समारोहमा कारले माउन्ट सिनाई समन्वय केन्द्र र सहकार्यको नेतृत्व गर्न पाउँदा आफु धेरै भाग्यशाली भएको बताउँदै नेपालको उद्देश्य चिकित्सा शिक्षालाई अगाडि बढाएर, उच्च–गुणस्तरको हेरचाह बढाएर तथा देशभित्र अनुसन्धान अवसरलाई बढावा दिएर नेपालका नागरिकको स्वास्थ्य सुधार गर्न लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए विश्वविद्यालयका उपकुलपति प्रा डा. अच्युत वाग्लेले समारोहमा उपस्थितलाई स्वागत गर्दै नेपाललागयत संसारकै उच्च शिक्षा यतिखेर परिवर्तनको अति महत्वपूर्ण र निर्णायक चौबाटोमा रहेकाले कक्षाकोठा, प्रयोगशाला र कार्यशालामा आधारित शिक्षण सिकाइमार्फत युवाको मस्तिष्कमा जानकारी, ज्ञान र सीपका रुपमा जुन बोझ बोकाइने पद्दति अन्त्यतिर दोहोरिरहेको बताए । तीसौं दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी केयुबाट ४७ हजार ८ सय ३१ जना उत्तीर्ण भएका छन् । जसमध्ये पाँच हजार ६६० जना अर्थात् ११ दशमलव ८३ प्रतिशत विद्यार्थी विदेशी रहेको जनाइएको छ ।   

ओम अस्पताललाई ५० लाखभन्दा बढी क्षतिपूर्ति तिर्न उपभोक्ता अदालतको आदेश

काठमाडौं । उपचारमा लापरबाही भएको ठहर गर्दै उपभोक्ता अदालतले काठमाडौंको चावहिलस्थित ओम अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ । ९८ वर्षीय हरिप्रसाद गौतमको मृत्यु भएपछि उनका छोरा बसन्त गौतमले ५ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा हालेका थिए । अदालतका अध्यक्ष रामप्रसाद शर्मा र सदस्यहरू गेहेन्द्रराज रेग्मी तथा आनन्दराज पोखरेलको इजलासले बिहीबार फैसला सुनाउँदै अस्पताल र सम्बन्धित चिकित्सकलाई क्षतिपूर्ति भराउन आदेश दिएको हो । अदालतले अस्पताललाई ८० प्रतिशत अर्थात् ४० लाख ५६ हजार रुपैयाँ र घटनामा संलग्न दुई चिकित्सकलाई जनही ३ लाख ५ हजारका दरले बाँकी २० प्रतिशत रकम तिराउन आदेश दिएको छ । २०७८ माघ ५ गते बाथरुममा लडेका हरिप्रसाद गौतमलाई ओम अस्पतालको आपतकालीन कक्षमा चार दिनसम्म उपचार गरिएको थियो । परिवारका अनुसार सामान्य जाँचपछि एक्सरे गरेर केही नभएको भन्दै दुखाइ कम हुने इन्जेक्सन दिएर औषधि लेखी डिस्चार्ज गरिएको थियो । तर, चार दिनपछि समेत दुखाइ कम नभएपछि उनलाई अर्को निजी अस्पतालमा लग्दा खुट्टामा फ्र्याक्चर देखिएको थियो । बसन्त गौतमले समयमै सही उपचार नगरी लापरबाही गर्दा थप स्वास्थ्य समस्या उत्पन्न भई पिताको ज्यान गएको भन्दै क्षतिपूर्ति माग गरेका थिए ।