७ पुल बगाउँदा डेढ करोडभन्दा बढीको नोक्सान, हिउँका ढिस्का खसेर हिमपातमा क्षति
काठमाडौं । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँच वटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पुर्याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका छन् । बाढीले तीनवटा पक्की पुलसहित गाउँपालिकाको शाखा सडकमा कुल सात वटा पुलमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए । यसबाट डेढ करोड रुपैयाँ भन्दा बढी नोक्सान भएको अनुमान गरिएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार मङ्गलबार साँझ लोमान्थाङ-४ चुम्जुङस्थित छुआमा खोलाको बाढीले आर्का-भार्सा जोड्ने पक्की पुलसहित तीनवटा पक्की मोटरेबल पुल, एक फलामे पुल र तीनवटा काठे पुलमा पूर्ण क्षति पुगेको छ । बाढीले सडक पुलहरूमा क्षति पुगे पनि मानवीय तथा पशु चौपायामा कुनै क्षति नपुगेको जनाइएको छ । अध्यक्ष गुरुङले लोमान्थाङ गाउँपालिका भित्रको रिङरोड सडक र अन्य शाखा सडक जोड्ने पक्की पुल र अस्थायी पुलमा क्षति पुगेको बताए । बाढीले पुलहरूमा क्षति पुगेपछि रिङरोड सडकको सवारी आवागमन अवरुद्ध रहेको उनको भनाइ छ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ स्थित चुम्जुङ गाउँ नजिकैको छुआमा खोलामा अकल्पनीय बाढी हिमताल फुटेका कारण आएको हुनसक्ने आशङ्का गरिएको छ । पानी नै नपर्ने भनेर चिनिएको हिमाली जिल्ला मुस्ताङमा बाढी आउँदाको समय त्यस क्षेत्रमा वर्षा नभएको लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङले बताए । ‘हामीले बाढी आउँदा त्यस स्थान र मुहानको लेकमा मौसमी अवस्था कस्तो थियो भनेर स्थानीयसँग जानकारी लियौँ, उनीहरूले त्यस क्षेत्रमा पानी नपरेको जनाएका छन्,’ अध्यक्ष गुरुङले भने, ‘यसरी एकाएक बाढी आउनुको एउटै कारण हुनसक्छ, त्यो हो हिमताल फुट्नु ।’ लोमान्थाङ-२ छोसेरस्थित नेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी)का सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले बाढी आउनाका कारण पत्ता लगाउन गएको टोली चुम्जुङबाट फर्किएको जानकारी दिए । चुम्जुङस्थित छुआमा खोलाको मुहान भएको लेकमा हिमतालहरू रहेको यार्सा सङ्कलन गर्नेहरूले बताएका उनको भनाइ छ । ‘यहाँ बाढी आउनुको मुख्य कारण हिमपात नै फुटेर हो कि भन्ने हाम्रो अनुमान छ, बाढी आउँदा मुहानको लेकमा पानी परेको थियो भनेर जानकारी आइसकेको छैन,’ उनले भने । लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उपल्लो मुस्ताङका शाखा नदीहरूको मुहानमा दर्जनौं हिमताल रहेको जानकारी दिए । उनले जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि भइरहेकाले उच्च लेकमा रहेका हिमालका हिउँका ढिस्का खसेर हिमपातमा क्षति पुर्याउने सम्भावना रहेको उल्लेख गरे ।
स्वायत्तता सुनिश्चितताको मागसहित इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरू आन्दोलनमा
काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितताको मागसहित प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन् । त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घको इन्जिनियरिङ अध्ययन संस्थान (इअस) इकाइहरू, प्राध्यापकका वैचारिक सङ्घ/सङ्गठनहरू र इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका सम्पूर्ण एकाइहरू त्रिभुवन विश्वविद्यालयको हस्तक्षेपका कारण प्रशासनिक, वित्तीय र अनुसन्धानात्मक स्वायत्तता गुमेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । प्रा डा सङ्गीता सिंहले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय हस्तक्षेपको विरोध गर्दै स्वायत्तता सुनिश्चित गरौँ भन्ने मागसहित यही असार १९ गतेदेखि आफूहरू अनिश्चितकालीन आन्दोलनमा उत्रिएको जानकारी दिए । ‘विगत केही दिनदेखि आन्दोलनमा छौँ, स्वायत्तता सुनिश्चित गरौँ भन्ने महत्वपूर्ण माग हो । केन्द्रीय हस्तक्षेप हस्तक्षेप खारेज हुनुपर्छ, विश्वव्यापीकरणको समयमा अन्तर्राष्ट्रियस्तरको अध्ययन अनुसन्धानलाई ध्यान दिनुपर्छ भन्नेमा हाम्रो जोड छ,’ उनले भने । सिभिल इन्जिनियर विभागका प्राध्यापक रोशन कार्कीले नेपाल सरकारले प्राविधिक जनशक्ति उत्पादनका लागि स्थापना गरेको अध्ययन संस्थानमाथि विश्वविद्यालयबाट हस्तक्षेप हुँदा ‘रिसर्च एन्ड डेभलपमेन्ट’ गतिविधि प्रभावित भएको बताए । ‘यो आन्दोलन इन्जिनियरिङ संस्थानको हकहित र सुधारका लागि गरिएको एकीकृत प्रयास हो । विगतमा संस्थानलाई दक्ष प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले स्वायत्ततासहित आम्दानी गरेर सञ्चालन गर्न दिइएको थियो, तर २०८० सालको सिनेटले निर्णय गरेर स्वायत्तता खोसेको छ, यो आपत्तिजनक छ,’ उनले भने । प्रा डा सुदीप भट्टराईले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका पाँच वटै आङ्गिक क्याम्पसलाई स्वायत्तता दिइनुपर्ने मागसहित ५४ जना प्राध्यापकले विभागीय प्रमुख र उपप्रमुखको जिम्मेवारीबाट राजीनामा दिएको बताए । प्राध्यापक सङ्घले आयोजना गरेको कार्यक्रममा वैचारिक सङ्गठनहरुको ऐक्यबद्धता रहेको उनकाे भनाइ छ । प्राध्यापक सङ्घ थापाथली क्याम्पस एकाइ समितिका सभापति डा श्री हरि थापाले व्यक्तिगत अपेक्षाभन्दा पनि संस्थाको स्वायत्तता र हितका लागि आन्दोलन गरिएको बताए । प्राध्यापकहरूले उपकुलपति समक्ष कर्मचारी प्रमुख मार्फत ध्यानाकर्षणसहितको माग पत्र बुझाएर आन्दोलन सुरु गरेको बताएका छन् । मागहरू पूरा नभएसम्म सम्पूर्ण शैक्षिक गतिविधिहरू (पठनपाठन, परीक्षा आदि) बन्द गर्ने निर्णयसहित आन्दोलन भइरहेको प्राध्यापक कार्कीले बताए ।
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने ३ हजार पर्यटकलाई सास्ती
काठमाडौं । भिसा भेरिफिकेसन’ प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्यामा परेका छन् । चिनियाँ दूतावासले भिसा भेरिफिकेसनमा १० दिनभन्दा बढी समय लाग्दा कम्तीमा २ हजार ५०० पर्यटक काठमाडौंमा अड्किएको व्यवसायीले गुनासो गरेका छन् । विगतमा तीन दिनमा हुने भिसा प्रक्रिया हाल १० दिनसम्म लाग्ने र भिसाको सुनिश्चितता नहुँदा काठमाडौंका विभिन्न पाँच तारे होटलमा झन्डै ३ हजार पर्यटक मानसरोवर यात्राको प्रतीक्षामा रहेको व्यवसायीहरूको भनाइ छ । ओझा होलिडे टुर्स एन्ड ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक रमेश ओझाले ‘सिजन’कै बेला भिसा भेरिफिकेसनसम्बन्धी नयाँ नीतिले पर्यटन व्यवसायी मर्कामा परेको बताए । उनका अनुसार तीन दिनमा हुने भिसा प्रक्रिया हाल १० दिनसम्म लाग्ने गरेकाले २ हजारभन्दा बढी धार्मिक पर्यटक मानसरोवर जान पाएका छैनन् । भिसा भेरिफिकेसनले कैलाश मानसरोवर यात्रा विलम्ब भइरहेका बेला हालै रसुवामा आएको बाढीले सडक बाटो अवरुद्ध हुँदा पर्यटक थप समस्यामा परेका छन् । धेरैजसो पर्यटक रसुवागढीबाट केरुङ रुट भएर मानसरोवर पुग्ने गरेकाले समस्या भएको हो । यो मार्ग अवरुद्ध हुँदा भारतीय पर्यटकलाई गन्तव्यमा पुग्न कठिन भएको छ । अधिकांश भारतीय नागरिक यो ‘रुट’ भएर मानसरोवर जाने गरेका छन् । कैलाश मानसरोवरमा विभिन्न देशमा रहेका भारतीय मूलका नागरिक हवाई यातायातको माध्यमबाट काठमाडौं-हुम्लाको सिमीकोट र काठमाडौंबाट चीनको ल्हासा भएर मानसरोवर पुग्ने गरेका छन् । काठमाडौंबाट केरुङ रुट भएर पनि कैलाश मानसरोवर पुग्न सकिन्छ । यसका लागि काठमाडौँबाट रसुवागढी हुँदै केरुङ पुग्नुपर्छ । काठमाडौँबाट नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर जान सकिन्छ । ओझा होलिडेज, रिचा ट्राभल्स एन्ड टुर्स, इको ट्रेक, हेरिटेज टुर्स एन्ड ट्राभल, सनि ट्राभल, ट्रेकर सोसाइटीलगायत आधा दर्जन बढी कम्पनीले सर्वाधिक रूपमा कैलाश मानसरोवर टुर गराउँछन् । भारतको मुम्बईस्थित लिआजर पोर्टका सञ्चालक नमराज जोशीले ३९ जनाको समूह लिएर १० दिनदेखि काठमाडौंमा भिसा कुरिरहनुपरेको दुःखेसो पोखे । दूषित प्रिन्सेस काठमाडौंमा बसिरहेका उनीहरू चाँडै भिसा आउने प्रतीक्षामा छन् । सिजनमै कैलाश मानसरोवर यात्रामा व्यवधान आउँदा समस्या भएको व्यवसायीले गुनासो गर्दै आएका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको यही असार २२ गतेको बैठकमा पनि सांसदहरूले मानसरोवर जाने पर्यटकको प्रवेशाज्ञा (भिसा) प्रक्रिया विलम्ब हुँदा सयौँको सङ्ख्यामा विदेशी नागरिक होटलमा कुरिरहेको भन्दै पर्यटन मन्त्रीको ध्यानाकर्षण गराएका थिए । जवाफमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मानसरोवर जाने पर्यटकहरूका लागि भिसा प्रक्रिया सहजीकरणका लागि परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावाससँग पहल गर्ने प्रतिबद्धता जनाएका थिए । कैलाश मानसरोवरका लागि विदेशीले २ हजार ५०० देखि ३ हजार डलरमा प्याकेज खरिद गरेका हुन्छन् । उनीहरूले २ हजार हाराहारी डलर हवाई टिकटमा आफैँ खर्च गर्नुपर्छ । यसरी पाँचदेखि ७ हजार डलर विदेशीले मानसरोवर जान खर्च गर्नुपर्छ । ‘विदेशीलाई ल्हासाबाट प्रवेश अनुमति आउँछ, पासपोर्ट दिएपछि तीन दिनमा भिसा आउने गरेको थियो । हाल विदेशी आइसकेपछि चिनियाँ दूतावासले भिसा भेरिफिकेसन गर्ने गरेका छन् । भिसा विलम्ब हुँदा पाँचदेखि १० रातको बढी रकम होटललाई टुर अपरेटर कम्पनी आफैँले तिर्नुपरेको छ । आफ्नो कमिसनभन्दा पनि उल्टै बढी पैसा खर्च भएको र अनावश्यक तनाव र झन्झट पनि बेहोर्नु परिरहेको छ,’ व्यवसायीले भन्ने गरेका छन् । रसुवा नाका पहिरोले अवरुद्ध भएपछि भिसा पाएकाहरूलाई नेपालगञ्ज, हुम्ला हुँदै गन्तव्यमा पुर्याउनका लागि पहल भइरहेको व्यवसायीले बताएका छन् । बसाइँ लम्बिँदा पर्यटक बेखर्ची हुने र कतिपय फर्किन अवस्थामा रहेका भन्दै व्यवसायीले जानकारी दिएका छन् । नेपाल भएर तिब्बत, मानसरोवर, ल्हासा जाने पर्यटक समग्र पर्यटनको झन्डै २० प्रतिशत रहेको यस क्षेत्रमा कार्यरत कम्पनीले बताउने गरेका छन् । यसरी वार्षिक २० देखि २५ हजार पर्यटक मानसरोवर जाने गरेका छन् । जुन २५ देखि जुलाई नौ तारिखसम्म भिसा भेरिफिकेसनका नाममा पर्यटक होटलमै बसि रहनुपरेको र आर्थिक भार नेपाली व्यवसायीमाथि थुप्रिएको गुनासो छ । अमेरिकाबाट आएका भारतीय मूलका नागरिक १० दिनपछि भिसा प्रक्रिया पुर्याएर बुधबार ल्हासा पुगेको एक कम्पनीले जनाएको छ । ‘समयमा भिसा भेरिफिकेसन नहुँदा सबैभन्दा मारमा हामी व्यवसायी परेका छौँ । टुर चलाएर पाउने कमिसनभन्दा बढी खर्च गरेर पर्यटक व्यवस्थापन गर्नुपरेको छ,’ कैलाश यात्रा गराउने सोहम जर्निस प्रालिका प्रबन्ध निर्देशक सूर्य पाठकले गुनासो सुनाए । एक सिजनमा तीन हजार पर्यटक पठाउने गरेको स्मरण गर्दै व्यवसायी पाठकले यस वर्ष मुस्किलले एक हजार पर्यटक पुग्ने विश्वास व्यक्त गर्नुभयो । उक्त कम्पनीले सन् २०१९ मा झन्डै ४ हजार जनालाई मानसरोवर यात्रा गराएको थियो । एसोसियसन अफ कैलास टुर अपरेटर्स नेपालमा आबद्ध ३० भन्दा बढी कम्पनी छन् । मेदेखि सेप्टेम्बरसम्म करिब पाँच महिना कैलाश मानसरोवर जाने सिजन हो । सो संस्थाले जनाएअनुसार वार्षिक २५ हजारसम्म पर्यटक नेपाल भएर मानसरोवर जाने गरेका छन् । त्यहाँ पुग्न नेपालगञ्ज–सिमिकोट–हिल्सा सबभन्दा नजिकको रुट पर्ने हुनाले हरेक वर्ष उल्लेख्य सङ्ख्याका पर्यटक यो मार्ग भएर गन्तव्यमा पुग्छन् । मानसरोवर जान भारतीय नागरिकलाई रु अढाई लाखदेखि तीन लाख र गैर आवासीय भारतीय नागरिकलाई कम्तीमा १० लाख रुपैयाँ लाग्ने टुर कम्पनीहरूले जनाएका छन् । कैलाश मानसरोवरमा भारतीय मूलका, तर विश्वका विकसित देशहरू अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलियामा बस्ने गैर आवासीय भारतीयहरू बढीजसो जाने गरेका छन् ।