‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल
काठमाडौं । वीर अस्पतालले बिरामी कुरुवाका लागि कुरुवा घर निर्माण गर्ने भएको छ । अस्पतालको १३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माले यसबारे जानकारी गराएका हुन् । हालसम्म ७७ जिल्लाकै बिरामीको उपचार हुने गरेको वीर अस्पतालमा कुरुवा घर छैन । ७७ जिल्लाबाट राजधानीमा आएर उपचार गर्दा बिरामी कुरुवाहरू समस्यामा पर्ने कुराको मध्यनजर गरी कुरुवा घरको व्यवस्था गर्न लागेको उनले बताए । अस्पतालले ओपिडीको बिल्डिङबाट नयाँ सर्जिकल ब्लकमा जाने क्रममा पब्लिक भेइकल बढी हिँड्ने बाटो रहेकाले बिरामीलाई पनि धेरै अप्ठ्यारो भएको महसुस गरी आकाशे पुलको निर्माण गर्ने योजनाअनुसार काम गरिरहेको शर्माले जानकारी दिए । ओपिडी काउन्टर थपी प्रतीक्षालयको स्तरोन्नति गर्ने गरी क्यानोपी निर्माणको योजना बनाएको पनि उनले बताए । निर्देशक शर्माले अस्पतालको विद्यमान सर्भर पुरानो भएकाले र धान्नसक्ने स्थिति पनि नरहेकाले बजेटको आवश्यकता रहेकोमा जोड दिए । उनले एकीकृत डाटा सेन्टरको स्थापनाको लागि सरकारसँग आग्रह गरे । वीर अस्पतालको विस्तारित दुवाकोट परियोजनालाई यथाशिघ्र अघि बढाउन पनि उनको माग छ ।
आईएसपीलाई जथाभावी वाई-फाई हटस्पट सञ्चालनमा रोक, मोबाइल सेवाप्रदायकलाई राहत
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले जथाभावी वाई–फाई हटस्पट सेवा सञ्चालन गर्न नपाउने स्पष्ट चेतावनी दिएको छ । मोबाइल सेवा प्रदायकले मात्रै वाई–फाई हटस्पट सेवा दिन सक्ने प्रावधान रहेको उल्लेख गर्दै प्राधिकरणले कानून विपरीत सेवा प्रवाह गरेमा कारबाही हुने बताएको छ । प्राधिकरणले सोमबार सार्वजनिक सूचना जारी गर्दै, ‘वाई–फाई हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५’ विपरीत सेवा सञ्चालन गरेको गुनासो आएपछि यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । सूचनामा मोबाइल सेवाको अनुमति प्राप्त प्रदायकहरूले मात्र वाई–फाईमार्फत निर्बाध कनेक्टिभिटी, रोमिङ र मोबिलिटी सेवा दिन पाउने व्यवस्था रहेको स्पष्ट गरिएको छ । अन्य सेवा प्रदायक, विशेषगरी आईएसपीहरू, भने उक्त विनियमावलीअनुसार सीमित क्षेत्र र समयका लागि मात्रै वाई-फाई हटस्पट सेवा सञ्चालन गर्न पाउँछन् । एक पटकको लग–इनबाट सीमित अवधिका लागि मात्र सेवा दिन सक्ने व्यवस्था भए पनि हाल केही आईएसपीले यस प्रावधान उल्लंघन गर्दै व्यापक रूपमा हटस्पट सेवा प्रदान गरिरहेको प्राधिकरणको ठहर छ । वाई–फाई हटस्पट सेवामा अगाडि देखिएको वल्र्डलिंकले ‘वाई–फाई एक्सप्रेस’को नाममा देशभर १४ हजारभन्दा बढी स्थानमा निःशुल्क सेवा दिँदै आएको छ । एक पटक लग–इन गरेपछि स्वतः जडान हुने र समयसीमा पनि नतोकिने व्यवस्था रहेको प्राधिकरणको भनाइ छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको निर्देशनपछि प्राधिकरणले वल्र्डलिंकलगायतका आईएसपीहरूलाई यस्ता अव्यवस्थित सेवा तत्काल नरोके कडा कारबाही हुने चेतावनी दिएको हो । अब यी हटस्पट सेवाहरू ‘वाई–फाई हटस्पट विनियमावली, २०७५’ अन्तर्गत तोकिएको मापदण्डमा मात्रै सीमित हुनेछन् । प्राधिकरणले वाई–फाई हटस्पट सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति, २०८० अन्तर्गत तोकिएको पावर लिमिट, ब्याकहलरब्याकबोन सञ्जाल प्रयोग र टाइप–एप्रुभल प्राप्त रेडियो उपकरण प्रयोग अनिवार्य गरिएको समेत उल्लेख गरेको छ । हाल नेपालमा वाई–फाई हटस्पटको सबैभन्दा ठूलो नेटवर्क वल्र्डलिंकसँग रहेको छ । यस निर्देशनपछि त्यसको १४ हजारभन्दा बढी हटस्पटले प्राधिकरणका मापदण्ड पालना गरेर मात्रै सेवा प्रवाह गर्नुपर्नेछ ।
हवाई नीति छिट्टै जारी हुन्छ : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले हवाई नीति छिट्टै नै जारी गर्ने तयारी रहेको बताएका छन् । सोमबार मन्त्रालयमा पर्यटन नीति २०८२ सार्वजनिकीकरण कार्यक्रममा उनले सो बताएका हुन् । उनले पर्यटन नीति संस्कृति नीतिभन्दा पछाडि मन्त्रीपरिषद्मा गएपनि जारी गर्न भने अगाडि नै सफल भएको बताए । उनका अनुसार संस्कृति नीति अहिले पनि मन्त्रिपरिषद्मै रहेको छ । यो नीति लगभग अन्तिम चरणमा पुगिसकेको छ । उनले अबको केही महिनाभित्रै तीनै वटा नीतिलाई अन्तिम रूप दिएर सार्वजनिक गरिने बताए । मन्त्री पाण्डेले संविधानसभामार्फत २०७२ सालमा जारी भएको नयाँ संविधानसँगै संघीयता कार्यान्वयन गर्न मन्त्रालय नीतिगत रूपमा अघि बढेको जानकारी दिए । उनले संस्कृति नीति र हवाई नीति हाल मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलको चरणमा रहेको र मन्त्रालयमार्फत १३ वटा विधेयकहरू समेत अघि बढिसकेको उल्लेख गरे । पर्यटनमन्त्री पाण्डेले निनी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए । उनले विशेषगरी होटल, ट्रेकिङ र पर्वतारोहण उद्योगसँग सम्बन्धित संघसंस्थाहरूको महत्वलाई उल्लेख गर्दै ती क्षेत्रलाई विकासमा नेतृत्वदायी भूमिका खेल्न आग्रह गरे मन्त्री पाण्डेले २०६५ सालको पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै तयार पारिएको नयाँ ‘पर्यटनीति २०८२’ मा ‘अद्वितीय पर्यटकीय गन्तव्य : नेपाल’ भन्ने शब्दावली नीति संरचनाकै दृष्टिकोणको रूपमा समावेश गरिएको जानकारी दिए । उनले भने, ‘नेपाललाई ‘आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्य’ का रूपमा विकास गर्न पर्यटन नीति ल्याइएको हो। यसले मुलुकको राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक टेवा पुर्याउनेछ ।’ मन्त्री पाण्डेले पर्यटन प्रवर्द्धनमा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स जस्ता राष्ट्रिय विमानसेवाहरूको भूमिकाबारे प्रष्ट पारे । अन्तर्राष्ट्रिय यात्रु ओसारपसारमा हाल स्वदेशी वायुसेवाहरूको बजार हिस्सा कम रहेको स्वीकार गर्दै उनले त्यसको क्षमता वृद्धिका लागि आवश्यकता औंल्याएका छन्।