ऋणमा डुबेकी पार्वती करोडपति बनेपछि...

काठमाडौं । यही साउन २ गते शुक्रबारका दिन, घरधन्दा सकेपछि सधैँ झैँ मेलापात जाने तरखर गर्दागर्दै पानी दर्किएपछि धादिङ बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीले मोबाइल घरमै छोडिन् । मेलापात जाँदा पनि कसले पो फोन गर्ने हो र ? विदेशमा मजदुरी गरिरहेका श्रीमान् र काठमाडौँमा ‘प्लस टु’ पढ्दै गरेको छोरासँग साँझ बिहान नियमित फोन भइहाल्थ्यो । त्यसैले कार्कीले मोबाइल साथमा राख्न जरुरी ठानिनन् । जब उनी मेलापात सकेर घर फर्किइन्, मोबाइलमा नयाँ नम्बरबाट आएका ‘मिस्डकल’ देखिन् । कार्की घर फर्केर काम गर्दैगर्दा फोनको घण्टी बज्यो । उनले फोन उठाइन् । फोन काठमाडौंस्थित एनसेलको केन्द्रीय कार्यालयबाट आएको रहेछ । फोनमा बोल्ने व्यक्तिले उनको परिचय खोतल्ने प्रयास सुरु गरे । नाम, ठेगाना र परिवारबारे केही प्रश्न तेर्स्याए । उनले सबै जवाफ दिइन् । एनसेलका प्रतिनिधिले उनलाई सोमबार एनसेल मुख्यालयमा आउन भने । कार्कीलाई कारण के हो भन्ने बुझ्न मनलाग्यो र किन भनेर साेधिन् । तपाईंलाई उपहार परेको छ, तर अहिले भन्न मिल्दैन, तपाईं काठमाडौँ आउनुस् भन्ने जवाफ पाइन् । कार्कीले पछि मिलाएर आउँछु भनिन् । त्यसपछि राम्रो पुरस्कार परेको र सोमबारकै दिन एनसेल कार्यालय काठमाडौंमा सम्पर्क गर्न भनियो । ‘पुरस्कारको फोन कलपछि मैले यो कुरा सासूससुरा, विदेशमा रहेका श्रीमान् र काठमाडौँमा पढ्ने छोरालाई सुनाएँ’, उनले भनिन्, ‘सुरुमा पुरस्कार पर्‍यो भन्नेमा कसैलाई पत्यार लागेन । फोन गरेर कसैले झुक्यानमा पारेको पनि हुनसक्छ भन्ने कुरा भयो ।’ तर, जब काठमाडौंमा रहेका देवरले भनेपछि राम्रो उपहार परेको हो कि भन्ने भयो । देवरले एकपटक काठमाडौं आउनुहुन्छ त ? भनेपछि मात्र उनलाई साँच्चिकै पुरस्कार हो कि भन्ने भयो । उनी मेलापातको कामलाई थाँती राखेर परिचय खुल्ने कागजपत्र बोकेर आइतबारै काठमाडौंका लागि गाडी चढिन् । भोलिपल्ट बिहान उनी छोरा, देवरलगायतका साथमा लैनचौरस्थित एनसेल कार्यालय पुगिन् । ‘एनसेल कार्यालय आउँदासम्म मलाई कुन र कति उपहार परेको हो भन्ने थाहै थिएन’, शुक्रबार एनसेलको बम्पर उपहार प्राप्त गरेपछि उनले भनिन्, ‘अफिसमा सबै कागजपत्र जाँच भएपछि मलाई एक करोड रुपैयाँ परेको भनेर जानकारी दिनुभयो, सुरुमा त मलाई यो कसरी सम्भव भयो भनेर बुझ्नै सकिँन ।’ कार्कीलाई उपहारमा एक करोड रुपैयाँ दिने एनसेलसँगको सम्बन्ध उनको झण्डै आठ वर्षअघिको हो । ‘स्थानीय आरुघाटस्थित बजारमा सात/आठ वर्षअघि किनेको ‘सीमकार्ड’ हो, बेलाबेलामा एनसेलको ‘९९ को प्याक’ लिने गर्नुहुन्थ्यो’, उनले भनिन्, ‘आज त्यही प्याकले एक करोड जितायो, निकै खुसी लागेको छ, अबका दिनमा पैसाको दुःख हट्ने भयो भन्ने मनमा लागेको छ ।’ उनको जीवन कैयौँ दुःख र पीडाले गुज्रिएको छ । जीवन सहज बनाउन श्रीमानसँगै मिलेर आफूले कडा सङ्घर्ष गरेका दिन उनको मनमा अझै ताजै छ । श्रीमानले विदेशमा र आफूले घरधन्दा गर्दै महिला स्वयंसेविकाका रुपमा गाउँमा काम गर्न थालेको झण्डै डेढ दशक बितिसकेको छ । यद्यपि, भनेजस्तो अझै भएको छैन भन्ने लाग्छ कार्कीलाई । ‘कहिलेकाहीँ त जति गर्दा पनि कहिल्यै केही हुँदैन जस्तो लाग्थ्यो, मेहनतमा कमी थिएन, तर अपेक्षा गरेजस्तो पनि भएन र पनि कर्म गर्दै गएँ’, उनले भनिन् । उनको जीवनमा ब्रजपात त तब पर्‍यो जब बारपाक केन्द्रिबिन्दु भएर भूकम्प गयो । २०७२ वैशाख भूकम्पले धर्ती हल्लाउँदा निर्माण सकिएर सर्न ठिक्क परेको घर भत्कियो, त्यतिमात्र होइन, एक महिना दुई दिनको कान्छो छोरा पनि गुमाउनु पर्‍यो । धादिङबेंसीबाट सल्यानटार हुँदै गङ्गाजमुना गाउँपालिका– ६ बाङ्गेपीपल बसेरीमा हाल उनको सानो घर छ । विदेशमा श्रीमानले कमाउनेबाहेकको आयस्रोत छैन । यद्यपि, महिला स्वयंसेविकाका रुपमा थोरै भएपनि भत्ता आउँछ ।  त्यसबाहेक मकै, कोदो, धानखेती हुन्छ भने सिजनअनुसारको तरकारी पनि फलाउँछिन् । गाउँकै विद्यालयमा कक्षा ९ मा फेल भएपछि उनले स्कुल जान छाडेकी हुन् । त्यसको एक वर्षपछि २३ वर्षको उमेरमा विवाह भयो । त्यसको केही वर्षपछि छोरा जन्मियो । आर्थिक रुपमा कमजोर अवस्था भएकाले श्रीमान् धन कमाउन विदेश लागेपछि घर सम्हालने जिम्मा उनको काँधमा आयो । खाडीको चर्को गर्मीमा श्रीमानले ज्यानको बाजी राखेर काम गर्दै खर्च घर पठाउथे । त्यही रकमले घरखर्च चलाउँथिन् उनी । तर विदेशमा पनि भने जस्तो कहाँ हुन्छ र ? कुवेतमा रहँदा एक दिन श्रीमान् ‘बाथरुम’मा अचेत भई लडे । धन्न साथीहरुले थाहा पाएर अस्पताल लगी ज्यान बचाइदिए । केही वर्ष विदेशमा दुःख गर्दा पनि अपेक्षा गरेअनुसारको प्रगति नभएपछि उनले श्रीमानलाई देशमै जागिर गर्न सुझाव दिइन् । ‘विदेशमा उहाँले गरेको दुःख थाहा छ, रोगले च्याप्दा पनि उहाँले काम गरिरहनुहुन्थ्यो, त्यसैले नेपाल आएपछि पठाउन मन लागेन, ऋणधन गरेर काठमाडौँमा पसल सुरु गर्‍यौँ’, उनले विगत सम्झिँदै सुनाइन् । तर, भाग्यले त्यहाँ पनि ठग्यो । ऋण गरेर सुरु गरेको पसल केही महिनामै थप ऋणमा चुर्लुम्मै डुब्यो । लगानी निमेषभरमै खेर गयो । ठूलो लगानीमा खोलेको पसल नचलेपछि विदेश जानुको विकल्प रहेन । ९ लाख रुपैयाँमा सुरु  गरेको पसल बिक्री गर्दा ६० हजार पनि आएन ।  एकातिर चर्को ब्याजदरको ऋण र अर्कोतर्फ बिरामी शरीर बोकेर कार्कीका श्रीमान् झण्डै दुई वर्षअघि बहराइन पुगे । तर, त्यहाँ पनि भने जस्तो काम पाएनन् । ऋणको बोझले जागिरै छाडेर घर आउन दिएन, त्यसैले उहाँ अहिले पनि बहराइनमै छन् । ‘दुई वर्षपछि आउने भन्नुहुन्थ्यो, अब भदौमा दुई वर्ष पुग्छ, त्यसपछि बिदा पाइन्छ भन्नुभएको छ’, उनले भनिन् । बहराइनमा श्रीमानको शरीरमा नयाँ रोग थपियो, ‘एलर्जी’ । कहिले शरीर सुन्निने त कहिले ‘एलर्जी’ले गाह्रो बनाइरहन्छ । तैपनि काम गर्दै महिनामा १५/२० हजार रुपैयाँ पठाइरहन्छन् । यसले जेनतेन ऋणको ब्याज तीर्न मात्रै पुगेको उनले बताइन् । एनसेलबाट प्राप्त एक करोड रुपैयाँमध्ये २५ लाख सरकारलाई कर बुझाएपछि बाँकी रकम अहिले उनको खातामा आइसकेको छ । यो रकम उनका लागि धेरै ठूलो हो । यो रकमले जीवन सहज बनाउँछ भन्ने उनको विश्वास छ । प्राप्त रकमले पहिलो काम ऋणको भारी बिसाउने योजना छ । लामो समयदेखि बोझ बनेको ऋण अब बोक्नु नपर्ने भयो भन्ने सोच्दा उनी खुसी छिन् । ‘यो ऋण कहिले सकिएला र सुख पाइएला भन्ने हुन्थ्यो, अब उपहारमा पाएको यो पैसाले सबैभन्दा पहिले ऋण तिर्छु, अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनु परेन’, उनले भनिन् । ऋण चुक्ता गरेपछि बचेको पैसाले नेपालमै श्रीमान्–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ, कार्कीको । ‘यो पैसालाई राम्रो ठाउँमा सदुपयोग गर्न सकियो भने भोलिका दिन सहज हुन्छ भन्ने थाहा छ, त्यसैले अब श्रीमानलाई नेपालमै राखेर दुवै जना काम गर्छौं’, उनी भन्छिन् । साथमा छोराले ‘प्लस टु’ पढिरहेको छ । उसको पढाइमा पनि ठूलो खर्च हुन्छ । बाँकी पैसा छोरालाई पढाउनमा खर्च गर्ने कार्कीको योजना छ । रासस   

ढोरपाटन पुगे एकै वर्षमा २३ हजार पर्यटक

बागलुङ । नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ । ढोरसिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा गत एक वर्षमै आठ हजारले वृद्धि भएको छ ।  ढोरपाटन सिकार आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेकोमा आर्थिक वर्ष २०८१/८२ मा पर्यटकको सङ्ख्या आठ हजारले बढेर २३ हजार ६९२ पुगेको छ । जसमध्ये सार्क नागरिक १२ जना र विदेशी नागरिक २१३ जना मात्रै रहेका छन् भने अन्य पर्यटक आन्तरिक नै हुन् ।  ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको सुवेदीको भनाइ छ । उनका अनुसार पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै राजस्वमा समेत वृद्धि भएको छ । ढोरपाटन पुग्ने नेपाली पर्यटकले रु एक सय प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ ।  गत आवमा मात्रै २० लाखभन्दा बढी राजस्व पर्यटकको प्रवेश शुल्कबाट सङ्कलन भएको छ ।  ‘प्रचारप्रसार, पर्यटकीय पूर्वाधार थपिनु, बुकी र जलजलाको चर्चासँगै पदयात्रा गर्न आउनु र होटल तथा घरबासको व्यवस्थापनका कारण पर्यटकमा वृद्धि भएका छन्,’  सुवेदीले भने ।   ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय सिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक त्यहाँ आउने गरेका छन् ।  ढोरपाटन उपत्यकामा दुई दर्जन होटल तथा घरबास सञ्चालनमा रहेको र सोझै पोखरादेखि पर्यटकलाई प्याकेजमै ल्याउने लैजाने व्यवस्थापनका कारण पर्यटकलाई सहज भएको ढोरपाटन सामुदायिक घरबासका सञ्चालनक रामबहादुर घर्तीले जानकारी दिए ।  समुद्री सतहदेखि दुई हजार ९०० मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन् । 

रोटरी क्लब अफ बानेश्वरले सम्पन्न गर्‍यो वृक्षारोपण कार्यक्रम

टोखा । रोटरी क्लब अफ बानेश्वरले इन्द्रायणी भुतखेल सामुदायिक वनसँगको सहकार्यमा 'रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण कार्यक्रम' गरेको छ । कार्यक्रमअन्तर्गत कुल ४५० बिरुवाहरू रोपिएको छ । ५० वटा सिप्रसका बिरुवा र ४०० फलफूल तथा जडीबुटीका बिरुवा नर्सरी स्थापना गर्न वृक्षरोपण गरिएको हो ।  धुपी, तेजपत्ता, सुन्तला, मुन्तला, कागती, रोजमेरी, तुलसी लगायतका बहुपयोगी बिरुवा रोप्ने योजना अन्तर्गत यस कार्यक्रमले जैविक विविधता संरक्षणमा टेवा पुर्‍याएको छ। सामुदायिक वनको अनुरोधअनुसार सिप्रस बिरुवा वनको विशेष भागमा रोपिएको हो। वृक्षारोपणपश्चात सहभागी टोलीले नवस्थापित नर्सरीको अवलोकन गर्दै औपचारिक रूपमा ४०० बिरुवाहरू इन्द्रायणी भुतखेल सामुदायिक वनका प्रतिनिधिहरू श्री सुर्य मान डंगोल र श्री हरि नारायणलाई हस्तान्तरण गरियो । यी बिरुवाहरूलाई आवश्यक हेरचाह गरी स्थायीत्व प्राप्त भएपछि मात्र वन क्षेत्र वा अन्य उपयुक्त ठाउँमा रोप्ने योजना छ। कार्यक्रमले विगतको अनुभवलाई ध्यानमा राख्दै सिजनमा सिधा रोपाइँका साटो पहिला नर्सरीमा हुर्काउने विधि अपनाएको छ। वर्षायाममा रोपिएका ५०–६० बिरुवा अत्यधिक पानीका कारण नष्ट हुने गरेको तथ्यका आधारमा यस वर्ष नयाँ तरिका अपनाइएको हो, जसले दीर्घकालीन सफलता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। नर्सरीको एक विशेष पहलका रूपमा कम्पोस्ट मल उत्पादन केन्द्र स्थापना गरिएको छ, जसमा वन क्षेत्रमा झरेका पात र घाँसलाई प्रयोग गरी जैविक मल उत्पादन गरिन्छ । प्रतिकिलो २५ मा विक्री हुने यो मलले वन र नर्सरी व्यवस्थापनमा आर्थिक सहयोग पुर्‍याइरहेको छ । कार्यक्रममा ९ जना रोटेरियन, ४ जना सामुदायिक वनका स्वयंसेवक र २ जना रोटरी स्वयंसेवक गरी कुल १५ जनाको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूको सहकार्य र प्रतिबद्धताले हरित र दिगो भविष्यप्रतिको साझा दृष्टिकोणलाई स्पष्ट रुपमा झल्काउँछ । यो परियोजना वन संरक्षण, जैविक विविधता प्रवर्द्धन, र स्रोतको आत्मनिर्भर उपयोगमा केन्द्रित दिगो विकासको उत्कृष्ट उदाहरणका रूपमा स्थापित भएको छ ।  इन्द्रायणी भुतखेल सामुदायिक वन, टोखामा वृक्षरोपण गरिएको हो ।