अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश
काठमाडौं । राष्ट्रिय सभामा अभौतिक सम्पदाको संरक्षण गर्न सम्बन्धित व्यवस्था गर्न तयार गरिएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयक, २०८१ पेश गरिएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उक्त विधेयक राष्ट्रिय सभामा पेश गरे । विधेयक प्रस्तुत गर्दै मन्त्री पाण्डेले भने, 'नेपाल अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३ को पक्ष राष्ट्र भइसकेको अवस्थामा, महासन्धिको पक्ष राष्ट्रको हैसियतले उक्त सन्धिको कार्यान्वयन गर्नका लागि यो विधेयक ल्याइएको हो ।' उनका अनुसार संवैधानिक व्यवस्थालाई मूर्तरूपमा कार्यान्वयन गर्न, सांस्कृतिक सम्पदाको संरक्षण तथा व्यवस्थापनसम्बन्धी कानुन बनाउन आवश्यक छ । त्यसैले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी ऐनको तर्जुमा गर्नु बाञ्छनीय भएकाले विधेयक पेश गरिएको हो । विधेयकमाथि दुई जना राष्ट्रिय सभा सदस्यहरूले विरोधको सूचना दर्ता गरे पनि मन्त्री पाण्डेको प्रष्टिकरणपछि ती सूचनाहरू फिर्ता लिएका थिए ।
बजार हिस्सा घटेपनि १२.७९ प्रतिशत बढ्यो यति एयरलाइन्सको व्यापार
काठमाडौं । यति एयरलाइन्स लिमिटेडले ९ महिनामा ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । कम्पनीले आर्थिक वर्ष २०२५/२६ को ९ महिनामा ४ अर्ब ११ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ। कम्पनीले सन् २०२४ मा ४ अर्ब २५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । अघिल्लो वर्ष सन् २०२३ मा एयरलाइन्स कम्पनीले ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष १२.७९ प्रतिशत अर्थात् ४८ करोड ३० लाख रुपैयाँ बढीको कारोबार गरेको हो। यति एयरलाइन्सका अनुसार सन् २०२२ मा ३ अर्ब ९२ करोड रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । सन् २००२ मा स्थापित यति एयरलाइन्स नेपालको सबैभन्दा पुरानो घरेलु एयरलाइन्समध्ये एक हो । कम्पनीसँग ७२ सिट क्षमताका ७ वटा एटीआर विमान सञ्चालनमा रहेका छन् । जसमध्ये ६ वटा खरिद गरिएका हुन् भने एउटा भाडामा लिइएको कम्पनीले जनाएको छ । कम्पनीले घरेलु हवाई उद्योगमा १७ प्रतिशत हिस्सा ओगटेको दाबी गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको बजार हिस्सा घटेको देखिएको छ । सन् २०२३ जनवरी १५ मा कम्पनीको नाइनएन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएपछि बजार हिस्सा घटेको कम्पनीले जनाएको छ । यसअघि सन् २०२३ मा कम्पनीको बजार हिस्सा २१ प्रतिशत थियो । कम्पनीमा एशियन लाइफ इन्स्योरेन्सको मुख्य सेयर स्वामित्व रहेको छ । कम्पनीमा एशियन लाइफको ४६.८२ प्रतिशत, ल्हाक्पा सोनाम शेर्पाको २५.०३ प्रतिशत र चन्दा शेर्पाको २०.०६ सेयर स्वामित्व रहेको छ । कम्पनीको अध्यक्ष समेत रहेका ल्हाक्पा सोनाम शेर्पासँग पर्यटन क्षेत्रमा ५० वर्षभन्दा बढीको अनुभवसहित यति एयरलाइन्सको नेतृत्व गरिरहेका छन् । साथै कम्पनीमा चन्दा शेर्पा प्रबन्ध निर्देशक, नोर्बु छिरिङ शेर्पालाई उपप्रबन्ध निर्देशक र चार्टर्ड एकाउन्टेन्ट सुभास सापकोटा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका छन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ३६ करोड १६ लाख रुपैयाँ र २७.१९ मिलियन अमेरिकी डलर ऋण लिएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले २ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ र ७.१९ मिलियन अमेरिकी डलरका दीर्घकालीन ऋणका लागि त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यस्तै, ७५ करोड ७३ लाख रुपैयाँ अल्पकालीन ऋणका लागि ए ३ रेटिङ र २ अर्ब ६४ करोड ६० लाख रुपैयाँ अल्पकालीन तथा दीर्घकालीन ऋणका लागि त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।
दोस्रो डिजिटल फ्रेमवर्क यही वर्षदेखि लागू हुन्छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षदेखि दोस्रो डिजिटल फ्रेमवर्क लागू हुने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । त्यसको लागि डिएनएफ अन्तिम चरणमा पुर्याएको मन्त्री गुरुङको दाबी छ । २०७६ सालमा बनेको डिएनएफ धेरै अपूरो रहेको उनको भनाइ छ । मन्त्री गुरुङले डिएनएफ बनाउन विश्व बैंकले ५८ करोड रुपैयाँ दिने भनेर सम्झौता गरेको भएपनि ५८ पैसा समेत प्राप्त हुन नसकेको बताए । विश्व बैंकका प्रतिनिधिहरुसँग सम्पर्क गर्दा सम्पर्कमा नआएको बताए । सात महिनासम्म पनि विश्व बैंक सम्पर्कमा नआएपछि मन्त्रालयले पहल गरेको बताए । मन्त्रालयमा छलफल सकिसकेको र मन्त्रीपरिषद्बाट पास भएपछि चालु वर्षबाटै लागू हुने जानकारी दिए । मन्त्री गुरुङले भने, ‘दोस्रो डिजिटल फ्रेमवर्क नेपाल चालु आर्थिक वर्षदेखि लागू हुन्छ । डिएनएफ अन्तिम चरणमा पुर्याएका छौँ । २०७६ सालमा बनेको डिएनएफ पहिलो चरणमा बनेको थियो । यो धेरै अपूरो थियो । आइटी क्षेत्र त दिनदिनै यति धेरै फास्ट चेन्ज भइरहेको छ । यो वर्ष बनाएको पनि अर्को वर्ष संशोधन गर्नुपर्ने, सुधार गर्नुपर्ने हुन्छ । हाम्रो मन्त्रालयको छलफल सकिसकेको छ । क्याबिनेटबाट पास भएपछि यही वर्षबाट लागू हुन्छ ।’ मन्त्री गुरुङले नेपाल एआईको क्षेत्रमा धेरै पछि परेको बताए । चालु आ.व.मा फाइभजी काठमाडौं र पोखरा उपत्यकामा शुरु गर्ने बताए । यसले एआईको प्रयोगलाई समेत प्रभावकारी बनाउने जिकिर गरे ।