निःसन्तान उपचारका लागि मापदण्ड जारी, डोनरको उमेर २० देखि ३५ वर्ष बीचको हुनुपर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःसन्तान उपचार ९आइभीएफ० सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै उक्त मापदण्ड स्वीकृत गरेका हुन् । यो मापदण्डले नेपालमा निःसन्तान उपचार सेवा र यसका लागि आवश्यक प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा संवेदनशील मानिएको शुक्रकिट तथा अण्डा दान(डोनर) प्रक्रिया थप व्यवस्थित हुने भएको छ । मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले यो मापदण्डले निःसन्तान उपचार केन्द्रहरूको कानुनी आधारमा प्रभावकारी नियमन र निःसन्तान उपचार सेवामा एकरूपता ल्याउने बताए । उनका अनुसार न्यूनतम भौतिक पूर्वाधार, जनशक्ति र प्रयोगशालाको स्तर तोक्ने, सेवा शुल्कलाई पारदर्शी बनाउने तथा सेवाग्राही र दाताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले यो मापदण्ड जारी गरिएको हो । उनले भने, ‘निःसन्तानपन एक संवेदनशील स्वास्थ्य समस्यामात्र नभएर गहिरो सामाजिक र मनोवैज्ञानिक विषय पनि हो । यस मापदण्डले निःसन्तान उपचार सेवालाई थप सुरक्षित, पारदर्शी र अन्तरराष्ट्रियस्तरको बनाउन लागि एक कोशेढुङ्गाका रुपमा काम गर्ने छ ।’ डा. शर्माले मापदण्डबमोजिम सेवा प्रदायकलाई पूर्ण जिम्मेवार बनाइने छ । तोकिएको मापदण्ड पालना नगर्ने जोसुकैलाई कडा कानुनी दायरामा ल्याउने बताए। मन्त्रालयका प्रवक्ता डा। प्रकाश बूढाथोकीले प्रजनन स्वास्थ्यको क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन यस मापदण्डले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । ‘पछिल्लो समय निःसन्तानपनको समस्या बढ्दो छ । तर यसको उपचार दिने संस्थाहरूको गुणस्तर र प्रक्रियामा थुप्रै प्रश्न उठेका थिए । धेरै दम्पतीहरू ठगिनसक्ने र गुणस्तरीय सेवा नपाउँदा उनीहरुको जीवन समेत जोखिममा पर्नसक्ने खतरा थियो,’ उनले भने, ‘यो मापदण्डले सेवालाई सुरक्षित र विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’ मापदण्डमा ‘आइयुआई’ र ‘आइभीएफ’ जस्ता विशिष्ट सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । प्रत्येक अनुमति प्राप्त केन्द्रमा निःसन्तान रोग विशेषज्ञ, तालिम प्राप्त ‘इम्ब्रायोलोजिष्ट’ र ‘एनेस्थेसियोलोजिष्ट’ लगायतका दक्ष जनशक्ति अनिवार्य हुनुपर्नेछ । भ्रुणको विकासमा प्रत्यक्ष असर पार्ने प्रयोगशाला र शल्यक्रिया कक्षको वातावरणीय गुणस्तरका लागि प्राविधिक मापदण्ड तोकिएको छ । सेवा शुल्क मन्त्रालयले निर्धारण गरेबमोजिम मात्र लिन पाइनेछ भने प्रत्येक संस्थाले १० प्रतिशत सेवा गरिब तथा विपन्न वर्गलाई निःशुल्क उपलब्ध गराउनुपर्नेछ । सेवाको गुणस्तर, जनशक्ति र उपकरणको अवस्थाबारे मन्त्रालयको समितिले नियमित अनुगमन गर्ने र मापदण्ड पालना नगर्ने संस्थाको अनुमति खारेज गर्नसक्ने व्यवस्था गरिएको छ । शुक्रकिट वा अण्डा दान गर्ने दाताका लागि समेत स्पष्ट मापदण्ड तोकिएको छ । दाताको उमेर २० देखि ३५ वर्षको बीचमा हुनुपर्ने, कुनै पनि सरुवा रोग नभएको स्वास्थ्य परीक्षणबाट प्रमाणित हुनुपर्ने र विवाहितको हकमा दम्पतीको लिखित मञ्जुरीजस्ता विषयलाई अनिवार्य गरिएको छ । एक व्यक्तिले दान गर्न पाउने पटकको सङ्ख्या सीमित गरिएको छ र दाताको पहिचान पूर्ण रूपमा गोप्य राख्नुपर्नेछ । साथै कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी वा दबाबमा राखी दान गराउन पूर्ण रूपमा निषेध गरिएको छ ।
शिक्षासँगै सीप सिकाउने ग्लोबल कलेज
काठमाडौं । के तपाईं प्लस टु पास हुनुभयो ? यदि स्नातक तह नेपालमै पढ्ने योजना बनाउनुभएको छ भने पक्कै राम्रो कलेजको खोजीमा हुनुहुन्छ होला । अहिले नेपालमा स्वदेशी विश्वविद्यालय वा विदेशी विश्वविद्यालयबाट मान्यताप्राप्त थुप्रै कलेजहरू छन् । जसले स्वदेशमै विद्यार्थीलाई गुणस्तरीय शिक्षा मात्र दिइरहेका छैनन् उद्यमी बन्न पनि सिकाइरहेका छन् । यसै मध्येको एउटा कलेज हो– ग्लोबल कलेज । काठमाडौंको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेजले प्लस टु पास गरिसकेका विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय सेवा दिँदै आएको छ । यो कलेजको उद्देश्य विद्यार्थीलाई पढाएर जागिर खाने बनाउनुमात्र होइन, बरु उनीहरूलाई नवप्रवर्तनमा लाग्न प्रेरित गर्नु पनि हो । सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक शिक्षाको आवश्यकता औंल्याउँदै सञ्चालनमा आएको यो कलेजले विद्यार्थीको आवश्यकताअनुसार शिक्षा दिइरहेको दाबी कलेजको छ । यसले पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । ग्लोबल कलेज र उसको नेटवर्किङमा सञ्चालन भएका कलेजमा विभिन्न विश्वविद्यालयका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । ग्लोबल कलेजको त्रिभुवन विश्वविद्यालयअन्तर्गत कार्यक्रमका प्रमुख डा. देवराज पनेरु ग्लोबल कलेजअन्तर्गत विभिन्न चार कलेजले ब्याचरलमा फरक फरक विषयको अध्ययन गराइरहेको बताए । विषयअनुसार कलेज रोज्न सकिने उनको भनाइ छ । जसमध्ये तीनवटा कलेज मध्यबानेश्वरमै छन् र एउटा लिबर्टी कलेज अनामनगरमा छ । कुनमा के हुन्छ पढाइ ? पनेरुका अनुसार चारवटै कलेज विद्यार्थीको आवश्यकता र रुचिका आधारमा खोलिएका हुन् । जसमा फरकफरक कार्यक्रमहरू सञ्चालन छन् । उनले प्लसटु पास गरिसकेका विद्यार्थीले लिबर्टी कलेजमा ब्याचलर अफ कम्प्यूटर सिस्टम एण्ड इन्फर्मेसन टेक्नोलोजी (बीसीएसआइटी), ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) र बीबीए फाइनान्स अध्ययन गर्न सकिने बताए । विद्यार्थीले आफ्नो रुचि र कक्षा ११ र १२ मा अध्ययन गरेका विषयका आधारमा विषय रोज्न सक्ने उनी बताउँछन् । ग्लोबल कलेज इनटरनेशनल ग्लोबल कलेज इन्टरनेशनल काठमाडौंको मध्यबानेश्वरमा छ । कलेजले व्यापारिक केन्द्र र कर्पोरेट संस्थाहरूको सहकार्यमा विद्यार्थीलाई अध्ययन अवधिभर इन्टर्नसीपको अवसर प्रदान गर्दै आइरहेको छ । यहाँ स्नातक र स्नातकोत्तर तहका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यो कलेजले स्नातक तहअन्तर्गत बीबीए, बीएचएम, बीटीटीएम कार्यक्रम सञ्चालन गरिरहेको छ । स्नातकोत्तरमा एमबीए कार्यक्रम पनि सञ्चालन भइरहेको छ । त्यस्तै, ग्लोबल कलेजले ग्लोबल कलेज अफ सोसल साइन्स एण्ड टेक्नोलोजी बीटेक इन एआई यो वर्षदेखि सञ्चालनमा ल्याएको छ । प्लस टुमा विज्ञान विषयअन्तर्गत केमेस्ट्री र म्याथम्याटिक्स विषय लिएर अध्ययन गरेका विद्यार्थीले मात्रै यो विषय पढ्न पाउने छन् । यही कलेजमा बीए एलएलबी पाँच वर्षको कोर्स पनि सञ्चालन भएको छ । यस्तै, ग्लोबल कलेज अफ म्यानेजमेन्टमा त्रिभुवन विश्वविद्यालयको कार्यक्रम बीबीएस पनि पढाइ हुने पनेरु बताउँछन् । नवप्रवर्तनमा विद्यार्थी केन्द्रित शैक्षिक संस्था सेवासँगै नाफा कमाउने उद्देश्यले सञ्चालन हुन्छन् । तर ग्लोबल कलेज विद्यार्थी थुपार्नुमात्र आफ्नो उद्देश्य नरहेको दाबी गर्छ । कलेजले विद्यार्थी भर्ना भएपछि चार वर्षे पढाइको सम्पूर्ण जिम्मा कलेजले लिन्छ र हालसम्म यहाँबाट शतप्रतिशत विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएको कलेजका सूचना अधिकारी धर्म ओझा बताउँछन् । ‘यो कलेज अरू कलेजभन्दा केही भिन्न छ, जुन यसको विशेषता हो । यसले पाठ्यक्रमकेन्द्रित मात्र गर्दैन, बाहिरको सीपलाई पनि उत्तिकै जोड दिन्छ । विद्यार्थी भर्ना भएर नियमित कक्षा सुरु भएपछि हरेक हप्ता अघिल्लो साताभरि अध्ययन/अध्यापन गरेका विषयको परीक्षा साप्ताहिक रूपमा सञ्चालन गरिन्छ,’ उनले भने । यस्तो गर्दा विद्यार्थीको पढाइमा ध्यान जाने उनको भनाइ छ । ओझाका अनुसार यस्तो अभ्यासबाट विद्यार्थीहरूको डिभिजन सुरु हुन्छ र कमजोर देखिएका विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था हुन्छ । विद्यार्थीले स्कूलपछि ब्याचलर गर्दा चार वर्षको कोर्स गरिसकेपछि लाइफ स्किल, करिअर स्किल पुरा गरेर जानुपर्ने हुन्छ । ब्याचलरको चार वर्षको कोर्सले उसको ४० वर्षको रिटर्निङ गर्छ । पढ्दाखेरि ज्ञानसँगै सीप दिने गरी कार्यक्रमहरू चारवटै कलेजमा सञ्चालन गरेको पनेरु बताउँछन् । उनी भन्छन्, ‘ग्लोबल कलेजले अहिलेसम्म विद्यार्थीलाई दिन सकेको भनेको करिअर स्किलको ग्यारेन्टी हो ।’ यहाँका विद्यार्थीले आफ्नो तेस्रो वर्षको कोर्स पूरा गरिसकेपछि चौंथौ वर्षमा इन्टर्नसीपको अवसर पाउँदै आएका छन् । कक्षाकोठा भित्रको सिकाइ र पाठ्यक्रम मात्र नभई कक्षा बाहिरको सिकाइ र विशेषगरी व्यवहारिक सिकाइमा कलेजले जोड दिँदै आएको छ । प्राचार्य देवराज पनेरु ‘ज्ञान र सीप एट्टिटुयुडबाट आउँछ,’ प्राचार्य पनेरु भन्छन्, ‘हाम्रो उद्देश्य हाम्रा विद्यार्थी ग्राजुएट हुँदा सर्टिफिकेटमात्र होइन, सीपको सर्टिफिकेट पनि उनीहरूसँगै जानुपर्छ भन्ने हो ।’ ग्लोबल कलेजले विद्यार्थीलाई काम गर्ने ठाउँको खोजी गरेर सीप क्षमता अनुसारको काम पनि दिइरहेको छ । ख्यातिप्राप्त शिक्षक ग्लोबल कलेज र त्यसको नेटवर्किङमा सञ्चालन आएका सबै कलेजमा क्षमतावान विशेषविज्ञ शिक्षकहरू छन् । उनीहरूले विद्यार्थीलाई आफूसँग भएको सबै ज्ञानहरू सिकाउँछन् । प्राचार्य पनेरु ब्याचलरमा सञ्चालन भएका हरेक कार्यक्रममा अध्याापन गराइरहेका शिक्षक ख्यातिप्राप्त शिक्षक रहेको दावी गर्छन् । ‘हाम्रो कलेजमा पढाउने जति पनि शिक्षक हुनुहुन्छ उहाँहरू काठमाडौंको सबैभन्दा बेस्ट शिक्षक हुनुहुन्छ, म यो दाबीका साथ भन्छु । हाम्रो क्राइट एरिया नै फराकिलो छ, विभिन्न प्रक्रिया पार गरेर आएपछि मात्र बल्ल यहाँको शिक्षक बन्न पाइन्छ, ’ उनले भने । ब्याचलरमा जीपीए हेरिँदैन कुनै पनि विद्यार्थी कमजोर हुँदैनन् । सबै विद्यार्थी क्षमतावान हुन्छन् । जो विद्यार्थीलाई राम्रोसँग गाइड गर्ने शिक्षक वा शैक्षिक संस्था हुँदैन तब मात्र विद्यार्थी अदक्ष हुन्छन् । प्राचार्य पनेरु स्नातक तहमा अध्ययन गर्न कुनै पनि विद्यार्थीको जीपीए नहेरिने बताउँछन् । ‘ग्लोबल कलेज र नेटवर्ककको २५ वर्षको यात्रामा के थाहा भयो भने विद्यार्थीलाई राम्रो वातावरण दिइयो भने सबैले राम्रो गर्न सक्छन् । करिकुलम र कर्पोरेटलाई हामीले सँगै लैजानुपर्ने हुन्छ । यसले गर्दा पछि कुनै पनि समस्या आउँदैन,’उनले भने। कति छन् विद्यार्थी ? कलेजले क्षमताअनुसार विद्यार्थीको सिट संख्या छुट्याएको छ । जुनसकै कार्यक्रममा पनि एउटा सेक्सनमा ४६ जना विद्यार्थी राखेर अध्ययन गराइन्छ । बीबीएमा दुईवटा सेक्सन बनाएर ९६ जना भर्ना गर्न मिल्छ भने फाइनान्समा ४५, बीएचएममा ४८ विद्यार्थीलाई भर्ना लिइन्छ । ग्लोबल कलेजले पनि बीटीटीएममा ९६ जना विद्यार्थी भर्ना गर्छ । यस्तै, बीएएलएलबीमा ६० जना विद्यार्थीका लागि सिट छुट्याइएको छ । पूर्वाञ्चाल विश्वविद्यालयका कार्यक्रममा भने अनलिमिटेड कोटा हुँदा क्षमताअनुसार भर्ना लिन सकिने पनेरु बताउँछन् । सुविधासम्पन्न संरचना ग्लोबल कलेजको भवन बाहिरमात्रै भव्य नभई भित्र पनि उत्तिकै सुविधा सम्पन्न छ । यहाँको ल्याबमा एकै पटक ४० देखि ४५ जना विद्यार्थीले प्रयोगात्मक सिकाइ क्रियाकलाप (प्राक्टिकल) गर्न पाउँछन् । पढ्ने इच्छा भएका विद्यार्थीलाई यो स्कुल सधैं खुला हुन्छ । शनिबार पनि पुस्तकालयमा गएर अध्ययन गर्न सकिन्छ । हरेक कक्षामा स्मार्ट बोर्ड राखिएकाले विज्ञानका सैद्धान्तिक विषयहरूलाई तत्कालै स्मार्टबोर्डबाट देखाइन्छ । हरेक विद्यार्थीले यहाँ अनिवार्य रूपमा प्रिजेन्टेसन गर्नुपर्छ । यसले विद्यार्थीको लेखनसँगै, वाककला, सीप र भाषागत ज्ञान समेत बढ्नसक्छ । यसका साथै विभिन्न ‘इन्टरनेशलन एक्सपोजर’ का माध्यमबाट विभिन्न देशको भ्रमण समेत गराउने गरिएको छ । जसबाट विद्यार्थीहरुलाई राष्ट्रिय क्षेत्रका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा भएको विकास, प्रविधिको प्रयोग, वैज्ञानिक क्षेत्रमा भएका नयाँ आविष्कार आदि क्षेत्रको जानकारी लिने अवसर हुन्छ । ‘विद्यार्थीका लागि करिअर काउन्सिलिङ, प्रिजेन्टेसन, प्रोजेक्ट वर्क, रिसर्चजस्ता विषयमा केन्द्रित गर्ने गरेको छ । खेललाई पनि प्राथमिकता विद्यार्थीलाई पढ्न मात्र होइन, खेलकुदजन्य क्रियाकलाप पनि उत्तिकै आवश्यक हुन्छ । ग्लोबलले पढासँगै खेललाई पनि उत्तिकै जोड दिइरहेको छ । विद्यार्थीलाई दैनिक रूपमा ब्रेक समयमा खेल्न कलेजभित्रै बास्केटबल, फुटसल ब्याडमेन्ट खेल्ने ठाउँ पर्याप्त छ । कलेजले हप्तामा एक पटक कलेजभित्रै विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराउँछ भने वर्षमा एक पटक खेल प्रतियोगिता नै आयोजना गर्छ । क्रिकेट, फुटबल लगायतका खेल खेलाउन कलेजमा स्पेस नहुँदा बाहिर लिएर खेलाउने गरिन्छ । विद्यार्थीलाई पढाइसँग खेलको लागि कलेजले विशेष व्यवस्था गरेको छ । स्नातक नेपालमै गर्दा फाइदा कक्षा १२ पास गर्नेबित्तिकै नेपाली विद्यार्थी अध्ययनका लागि विभिन्न देशमा जान्छन् । उनीहरू पढाइसँगै काम पनि गरिरहेका हुन्छन् । कतिपय विद्यार्थी कामकै लागि पनि विद्यार्थी भिषामा विदेश गइरहेका हुन्छन् । प्राचार्य पनेरु कक्षा १२ पास गरेर विद्यार्थीहरूलाई विदेश नजान सल्लाह दिन्छन् । उनी विदेश जाने विद्यार्थीले नेपालमै ब्याचलर गरेर बाहिर जाँदा केही सहज हुने बताउँछन् । भन्छन्, ‘म पनि युरोपमा पीएचडी गरेर आएको हुँ, पाँच वर्ष त्यहाँका विश्वविद्यालयमा पढाउने मौका पनि पाएँ, आफै विद्यार्थी पनि भएर रिसर्च गर्ने मौका पनि पाएँ । आफै भुक्तभोगी भएकाले म विद्यार्थीलाई ब्याचलर नेपालमै गरेर जान सल्लाह दिन्छु ।’ आर्थिक अवस्था राम्रो भएका अभिभावकले भने विदेशका राम्रा विश्वविद्यालयमा पढाउँदा राम्रो हुने उनको भनाइ छ । ‘तपाईंको आर्थिक अवस्था राम्रो छ, पढ्नैका लागि मात्र विदेश जाने हो भने राम्रै हुन्छ, तर पढाइसँगै काम गर्ने सोचमा जानुहुन्छ वा छात्रवृत्ति दिने भन्ने हिसाबले जानुहुन्छ भने तपाईंहरू नजाँदा नै राम्रो हुन्छ,’ उनी भन्छन् ।
विद्यार्थीलाई आत्मनिर्भर बनाउन विद्यालयमा आधुनिक खेती प्रणालीको अभ्यास
भोजपुर । भोजपुरका सामुदायिक विद्यालयले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन सुरु गरेका छन् । राज्यको नीतिअनुसार यहाँका विद्यालयहरूले कृषिलगायतका प्राविधिक विषयमा व्यावहारिक ज्ञान प्रदान गर्न थालेका हुन् । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयले भाडामा जग्गा लिएर विद्यार्थीलाई अभ्यासमूलक कृषि शिक्षण गराउँदै आएको छ । यहाँका कक्षा ९ देखि १२ सम्म कृषि बाली विज्ञान अध्ययन गरिरहेका विद्यार्थीलाई व्यावहारिक शिक्षणमा जोड दिइएको हो । विद्यालय नजिकै १५ रोपनी जग्गा लिजमा लिएर आधुनिक तथा प्रविधिमैत्री खेती प्रणालीको ज्ञान र सीप प्रदान गर्ने काम भइरहेको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिए । उनका अनुसार विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमात्र नभई जीवनोपयोगी सीप दिने उद्देश्यले अभ्यासमार्फत शिक्षण गराइँदै आएको छ । 'हामीले विद्यार्थीलाई अभ्यासमूलक शिक्षणमा जोड दिएका छौँ', प्रधानाध्यापक रेग्मीले भने, 'अहिलेको आवश्यकता प्राविधिक शिक्षाको हो । अध्ययन सकेपछि कुनै न कुनै कृषि उद्यममा संलग्न होस् भन्ने उद्देश्यले यो पद्धति अपनाएका हौँ ।' शिक्षालाई परम्परामुखीभन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेको उनको भनाइ छ । विगतमा राज्यबाट सञ्चालित ‘पढ्दै कमाउँदै’ कार्यक्रम निकै उपयोगी भए पनि हाल त्यो कार्यक्रम हटाइएकाले विद्यार्थी मारमा परेको उनको टिप्पणी छ । यस्ता उपयुक्त कार्यक्रमलाई पुनः निरन्तरता दिन आवश्यक रहेको बताए । कृषि विषयका विद्यार्थीले कक्षा ९ देखि १२ सम्म कृषिसम्बन्धी १६ वटा विषय अध्ययन गरिरहेका छन् । कृषिअन्तर्गत प्राविधिक शिक्षा पढ्न चाहनेले कक्षा ९ बाटै प्रवेश गर्नुपर्ने विद्यालयका बाली विज्ञान प्रशिक्षक सुलोचना गिरीले जानकारी दिए । व्यावहारिक अभ्यास कार्यस्थलमा विद्यार्थीलाई आधुनिक तरिकाले धान, मकै, विभिन्न जातका तरकारी, च्याउखेती, मौरीपालन, माछापालनलगायतका बारेमा ज्ञान दिइन्छ । साथै जैविक विषादी निर्माण, कृषि बालीमा लाग्ने रोग, कीरा र उपचार पद्धतिबारे पनि अभ्यास गराइन्छ । 'हामीले विद्यार्थीलाई सबै खालका खेती प्रणालीको अभ्यासमूलक ज्ञान दिँदै आएका छौँ', प्रशिक्षक गिरीले भने, 'विद्यार्थीले यहाँ सिकेको सीपले भविष्यमा आत्मनिर्भर जीवनयापन गर्न सकून् भन्ने हाम्रो लक्ष्य हो ।' आफ्नै विद्यालयमा प्राविधिक शिक्षा पाउँदा सहजता भएको कक्षा १२ की छात्रा विविहाङमा राईले बताए । अभ्यासका माध्यमबाट शिक्षण हुने भएकाले सीप आर्जन गर्न सजिलो भएको उनको भनाइ छ । विसं २०७४ देखि बाली विज्ञान व्यावहारिक शिक्षा सुरु भएको विद्यालयले जनाएको छ । हाल यहाँ ३२ जना विद्यार्थी बाली विज्ञान प्राविधिक शिक्षा लिइरहेका छन् । रासस