चन्द्रागिरि केबलकारको टिकट अब उपत्यका भित्रका आईएमई सेन्टरमा पनि
काठमाडौं, २८ असोज । चन्द्रागिरि केबलकारको टिकट उपत्यका भित्रका २४ आईएमई सेन्टरबाट लिन सकिने व्यवस्था मिलाईएको छ । दशैंको विदामा चन्द्रागिरिमा बढ्दो चापसँगै टिकटकै लागि लाईन बस्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आम सेवाग्राहीको सेवाका लागि यस्तो सेवा उपलब्ध गराईएको छ । आईएमई सेन्टरहरुले नेपाली नागरिकहरुलाई मात्र टिकट विक्री गर्न सक्नेछन । यसरी विक्री भएका टिकटको वैधता तीन महिनासम्म मात्र हुनेछ । उपत्यका भित्रका आईएमई सेन्टरको पूर्ण विवरण चन्द्रागिरि हिल्स लिमिटेडको आधिकारीक वेभसाईटमा उपलब्ध छ । नेपालको नम्बर १ रेमिट्यान्स कम्पनी आईएमईका प्रमुख शहर तथा शहरोन्मुख ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ५००० भन्दा बढी एजेन्ट/सब–एजेन्ट, १४७ आईएमई सेन्टर र विभिन्न बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
एयरलाइन्समा एक अर्बसम्म लगानी थप गर्दै फिस्टेल ग्रुप, नियमित उडानमा गोमामार्फत बजार बिस्तार
काठमाडौं २८, असोज । हेलिकोप्टर सेवामा आफ्नो छुट्टै छवि बनाएको फिस्टेल ग्रुपले एयरलाइन्स क्षेत्रमा आगामी एक वर्षभित्रै एक अर्ब रुपैयाँसम्म लगानी थप गर्ने भएको छ । आगामी जनावरीभित्र गोमा एयरका लागि एउटा जहाज थप गर्ने र एक वर्ष भित्रै दुईवटा नयाँ हेलिकोप्टर ल्याउने सम्झौता हालसालै सम्पन्न भएको फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन पाण्डेले बताए । पाण्डेका अनुसार गोमा एयरमार्फत आन्तरिक उडानको जहाजमा गएको यो वायुसेवाले दुई वर्ष अगाडि नै गोमा एयरको बहुमत शेयर खरिद गरेको हो । सिंगल इन्जिनको गोमा एयर खरिद गरेपछि यसको बजार हिस्सा बढाउन दुई वटा लेट ४१० नामक १९ सिट क्षमताको हजाईजहाज थप गरेर नियमित उडान गरिरहेको छ । आगामी जनावरी भित्रै लेटकै अर्को एउटा जहाज थप गर्र्ने गरी गोमाले जहाज निर्माता कम्पनीसँग सम्झौता गरिसकेको छ । फिस्टेल ग्रुप अन्तर्गतको गोमा एयरको जहाज यो जहाजको बजार मूल्य अहिले ५५ करोड रुपैयाँ रहेको छ । गोमासँग हाल सिंगल इन्जिनका यात्रु तथा कार्गो चार्टर गर्ने २, नियमति यात्रु उडानका २ वटा जहाज उडानमा छन् । अर्को एक यात्रु उडानको जहाज थप गरेर यात्रुको सेवा र उडान गन्तव्य बढाउने गोमा एयरको योजना रहेको छ । फिस्टेल ग्रुप अन्तर्गतको गोमा एयर नियमित उडानको वायुसेवा हो भने फिस्टेल हेलिकोप्टरले पनि सेवा दिइरहेको छ । लामो समयदेखि हेलिकोप्टरको सेवा दिएको यो कम्पनीसँग पाँच वटासम्म हेलिकोप्टर थियो । दसैंदेखि एयरवस हेलिकोप्टर कम्पनीको एउटा एएस ३५० बी थ्री नामक ६ सीट क्षमताको हेलिकोप्टर थप भएको छ । करीब २५ करोड रुपैयाँमा खरिद भएको यो एक हेलिकोप्टर थप भएपछि हाल फिस्टेलसँग दुईवटा हेलिकोप्टर भएको छ । आगामी एक वर्षभित्रै थप भइसकने गरी दसैं अगाडि सम्झौता भएको बेलको पाँच सिट क्षमताको ५०५ हेलिकोप्टरसहित फिस्टेलसँग हेलिको संख्या चार वटा पुग्ने भएको छ । फिस्टेल एयरले दसैंबाटै उडान सुरु गरेको नयाँ हेलिकोप्टर एयरवस हेलिकोप्टरमा भएको लगानी र बेलमा सम्झौता भएको एउटाको १२ करोड रुपैयाँ तथा गोमा एयरमा हुने लगानीसहित फिस्टेल ग्रुपको एक वर्षभित्रमा नै एक अर्ब रुपैयाँ थप हुने जानकारी पनि पाण्डेले दिएका छन् । फिस्टेलले नयाँ बजार रणनीति बनाएर बजार विस्तार गर्दै जाने र आन्तरिक उडानमा फिक्स विंग्स तथा हेलिकोप्टर सेवाको पहुँच बढाउने योजना रहेको पनि पाण्डेले जानकारी दिए । उनका अनुसार विकास राणा अध्यक्ष रहेको यो कम्पनीले नेपाली हवाई क्षेत्रमा बलियो पहुँच बनाएर अगाडि बढ्ने दीर्घकालिन रणनीति बनाइरहेको छ । फिस्टेलले दसैं अगाडि मात्रै बेलका दुईवटा हेलिकोप्टर खरिद गर्न टेक्ट्रोन कम्पनीसँग सम्झौता गरेको छ । सम्झौतामा फिस्टेलक अध्यक्ष विकास राणाले हस्ताक्षर गरेका छन् नेपाली आकासमा दुई प्रकारको हेलिकोप्टर सेवा प्रदान गरेर नयाँ पुस्तालाई सेवा दिन यो कम्पनी अब्बल ठहरिदै गएको बुझाई पनि फिस्टेल एयरको छ । हेलिकोप्टर सेवामा चर्को प्रतिस्पर्धा नेपाली आकासमा पछिल्लो समय दुई साताकोबीचमा तीन वटा हेलिकोप्टर थप भएका छन् । फिस्टेलको एक, अल्टिच्यूट एयरको एक र प्रभु एक गरी तीन वटा कम्पनीले एकएक वटा हेलिकोप्टर थप गरेका छन् । नेपाली आकासमा सिम्रिक एयर, श्री एयरलाइन्स, माउन्टेल हेलिकोप्टर्स, एयर डाइनेष्टिले पनि हेलिकोप्टरको सेवा प्रदान गरिरहेका छन् । यी सबै वायुसेवासँग एकदेखि चारवटासम्म यस्ता हेलिकोप्टर रहेका छन् । दसैंदेखि नै सेवा सुरु गरेको अल्टिच्युटको एउटा छ भने प्रभुले एक थप गरेर दुई वटा हेलिकोप्टर बनाएको छ । अन्य सबै कम्पनीसँग दुई देखि ४ वटासम्मले उडान गरिरहेका छन् । नेपाली आकासमा हेलिकोप्टर सेवामा भएको यो प्रतिपस्र्धाले उड्डयन क्षेत्रको सम्भावनालाई औल्याएको पनि उल्लेख छ।
नेपाली युवालाई उत्कृष्ट विद्यार्थी पुरस्कारं, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट नेपाली विद्यार्थी छानिए
काठमाडौ २८, असोज । अस्ट्रेलियामा अध्ययनरत नेपाली युवालाई अस्ट्रेलियन सरकारले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको छ । सिड्नीमा रहेको युनिभसिर्टी अफ टेक्नोलोजीमा अध्ययनरत विजय सापकोटालाई न्यु साउथ वेल्स राज्यले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको समाचार शुक्रबारको कान्तिपुर दैनिकमा छापिएको छ । अस्ट्रेलियन सरकारले प्रत्येक बर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरुमध्येबाट छनोट गरेर उक्त पुरस्कार दिने गर्दछ । अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने उक्त पुरस्कार सबैभन्दा उच्च तहको मानिन्छ ।