४/४ दिनको फरकमा तीन जहाज ल्याउँदै श्री एयरलाइन्स, पहिलो जहाज बुधबार
काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले करिब एक अर्ब रुपैयाँ लगानी गरेको नियमति उडानको आन्तरिक वायुसेवा कम्पनी स्थापना गरेको छ । १७ वर्षदेखि नियमित रुपमा हेलिकोप्टर उडान गरिहेको यो वायुसेवाले पहिलोपटक नियमति उडानमा पनि सेवा विस्तार गर्न लागेको हो । कम्पनीले जहाज ल्याउने, उडान गर्ने, आन्तरिक व्यवस्थापन मिलाउँने, दक्ष जनशक्ति उत्पादन गर्नेसहितका कार्यमा करिब एक अर्ब लगानी गरेको उल्लेख छ । यो कम्पनीको औपचारिक सेवा सुरुवात भने जहाज आएको एक महिना भित्रमै हुने उल्लेख छ । जहाज आउने समय करिब तय भैसक्यो । अहिलेसम्मको तयारी अनुसार १ जहाज जापानबाट र २ वटा युरोपबाट आउने निश्चित भएको छ । यी जहाज चार दिनेको फरक पारेर १२ दिन भित्रै आइसक्ने श्री एयरलान्इसका कर्पोेरेट प्रवन्धक अनिल मानन्धरले बताए । उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जहाज ल्याउन र काठमाडौं विमानस्थलमाा अवतरणको अन्तिम स्वीकृति मात्रै बाँकी रहेको छ । जहाज जापान तथा युरोपबाट उडेर आउने भएकोले पहिलो जहाज बुधबारसम्म आइपुग्ने मानन्धरको भनाइ छ । उनका अनुसार थप २ जहाज पनि त्यसको ४/४ दिनको फरक पारेर ल्याइने उल्लेख छ । यो वायुसेवाले ४ वटा जहाज ल्याउने भएपनि अहिले तय भएको भने ३ वटा हो । अर्को एउटाको तय गर्ने बाँकी रहेको पनि श्री एयरलान्सले जानकारी दिएको छ । सुगम क्षेत्रकै विमानस्थलमा उडान हुने जहाज ल्याएर सुगम क्षेत्रकै विमानस्थलमा उडान हुने भएको छ । यी जहाज काठमाडौंलाई आधार बनाए भद्रपुर, विराटनर, धनगढी, पोखरा, भैरहवासहितका विमानस्थलमा उड्ने पनि श्रीले जानकारी दिएको छ । यो वायुसेवाले एकैपटकमा ५० देखि ७० जना सम्म बोक्न सक्छ । आन्तरिक उडानको यी जहाजले अन्य दुर्गम क्षेत्रमा भने उडान गर्न सक्दैन । त्यसैले श्रीका जहाज आएपछि आन्तरिक वायुसेवाबीच सहरी क्षेत्रका विमानस्थल (सुगम गन्तव्य)मा प्रतिस्पर्धा हुने भएको छ । जहाज कम्पनीबीचको प्रतिस्पर्धाले आन्तरिक उडानका यात्रुलाई लाभ हुने भएपनि आन्तरिक वायुसेवाको स्थायित्वमा भने चुनौति हुने नेपाल वायुसेवा निगमकै एक पूर्व कर्मचारीको भनाइ छ । उनका अनुसार जहाज आउनु र यात्रु उडानको सेवा विस्तार हुनु राम्रो हो । तर, वायुसेवा कम्पनीको स्थायित्व र भविष्य भने निकै चुनौतिपूर्ण रहेको छ । श्रीले उडान व्यवस्थापनका लागि आन्तरिक रुपमा जनशक्ति तयार पार्ने र कार्यालय व्यवस्थापन गर्ने सम्मको काम गरिसकेको छ । श्रीले हाल हेलिकोप्टरको सेवा त्रिपुरेश्वरबाट दिइरहेको छ । आन्तरिक उडानको सेवा सुरु गर्ने भएपनि यसलेकार्यालय सिनामंगलमा सारिसकेको छ । आन्तरिक उडान र हेलिकोप्टर सेवाको कार्यालय अब सिनामंगल हुने पनि श्रीले बताएको छ । श्रीले आन्तरिक उडानका लागि ५० सीट क्षमताको सीआरजे २०० र ईआरजे ७०० नामक ७० सिट क्षमतको जहाज ल्याउने भएको छ । यो कम्पनीले दुबै प्रकृतिका दुई २ वटा जहाज ल्याउने छ ।
नयाँ पुस्तक र भर्नाको सास्ती, कक्षा चढेकाे भन्दा पनि आर्थिक भार परेकोमा चिन्ता
काठमाडौं । नयाँ शैक्षिक भर्ना सुरु भएसँगै अभिभावकलाई आफ्ना नानीबाबु भर्ना गर्ने र किताब किन्ने विषयले सास्ती दिइरहेको छ । छोराछोरी नानी भर्ना गराउने र विभिन्न थरीका शुक्लको भारले तनाव हुने गरेको छ। यो वर्ष पनि यही क्रमले निरन्तरता पाउँदैछ। बाबुनानी कक्षा चढेकोमा खुसी हुनुपर्ने अभिभावकलाई यतिबेला पुस्तक जुटाउने समस्याले पिरलेको छ। ऋण नै लिएर नानीहरुको किताब किन्नुपर्यो, ललितपुरस्थित लिटिल एन्जल्स स्कूलका एक अभिभावकले भने । दुई छोराछोरीको किताब किन्न नौ हजार रुपैयाँ खर्च गर्नुपर्यो। त्यसमाथि थरीथरीका पब्लिकेसनको किताब किन्नुपर्ने झण्झटले वाक्कै बनायो। आखिरमा स्कूलले भनेकै पसलबाट किताब किन्न बाध्य भएँ। यसपटक उनका एक छोरी ७ र अर्की छोरी ४ कक्षामा भर्ना भएका छन्। स्कूल सञ्चालकले कमिसनको चक्करमा थरीथरीका पब्लिकेसनका पुस्तक सिफारिस गर्ने, उनीहरुले भनेकै ठाउँबाट किताब किन्नुपर्ने तर छुट नदिने, अन्यत्र किताब किन्न नपाइनेजस्ता कारण मर्का परेको अभिभावकको गुनासो छ। सोही स्कूलकी अर्की अभिभावकले ट्याक्सी नै बोलाएर नानीहरुको किताब घर ल्याउनु परेको गुनासो गरिन्। स्कूलले गेटबाहिरै पसल चलाएको रहेछ। त्यहीँबाट किताब किन्नुपर्यो, उनले भनिन्। पछिल्ला केही वर्षयता विद्यालयबाट पुस्तक वितरण गर्न नपाउने नियम सरकारले बनाएपछि निजी स्कूलहरुले नजिकै सटर केही समयका लागि भाडामा लिएर पुस्तक बेच्दै आएका छन्। केही निजी विद्यालयले आफूले तोकेको पसलमै गएर किन्न अभिभावकलाई बाध्य पार्ने गरेका छन्। नागरिक दैनिकबाट ।
एनआईसी एशिया बैंकका २ नयाँ शाखा सञ्चालनमा
काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न २ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ उद्घाटन गरेको छ । उक्त शाखाहरु मध्ये बुधबारे झापा स्थित ८३ औं शाखाको उद्घाटन एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल एवं बुधबारे उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द प्रसाद पौडेलले संयुक्त रुपमा गरेका हुन् । साथै, झुम्का सुनसरी स्थित ८७ औं शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल एवं झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष सगेन चौधरीले संयुक्त रुपमा गरेका छन् । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।