रेमिटान्स बजारमा थपियो नयाँ रेमिट टु नेपाल

काठमाडौं । नेपाली रेमिटान्स बजारमा सेवा प्रदान गर्न रेमिट टु नेपाल प्रा.लि. नामको अर्को एक कम्पनी स्थापना भएको छ । ललितपुरको पूल्चोकमा मूख्य कार्यालय रहेको उक्त कम्पनी सेवाग्राहीहरुलाई छिटो, सहुलियत शूल्कमा, सुरक्षित ढंगबाट सेवा प्रदान गर्ने उद्देश्य लिएको छ । यस कम्पनीमा वित्तीय तथा रेमिटान्सको क्षेत्रमा लामो समयसम्म काम गरेको अनुभव भएको व्यवस्थापन टिमले सेवा प्रदान गरिरहेको छ । कम्पनीको व्यवस्थापकीय नेतृत्व भने बैंक तथा वित्तीय क्षेत्रको विशिष्ट तहमा कार्य अनुभव हासिल गरिसकेका चन्द्व भट्टले गरेका छन् । वित्तीय क्षेत्रमा उनीसँग दुई दशक भन्दा बढि लामो काम गरेको अनुभव रहेको छ । सम्बन्धित क्षेत्रमा लामो समयसम्म काम गरेका कुशल र दक्ष कर्मचारीहरुको अनुभव अनि दक्षतालाई सदुपयोग गदैं आफ्ना सेवाग्राहीहरुलाई उच्चस्तरको सेवा प्रदान गर्ने रेमिट टु नेपालका प्रमुख कार्यकारी अधिकृत भट्टले जानकारी दिए । स्थापनासँगै रेमिट टु नेपाल ले आन्तरिक तथा बाह्य विप्रेषण रकम सरल तवरले भुक्तानीको लागी, कमर्सियल बैंक, विकास बैंक , फाईनान्स कम्पनी, सहकारी संस्था साथै २००० भन्दा बढि प्राईभेट एजेन्टहरुसँग विप्रेषण भुक्तानी गर्ने संझौता गरिसकेको छ । यसैक्रममा बैंकले सेन्चुरी कमर्सियल बैंक, मेगा बैंक नेपाल लि., बैंक अफ काठमाडौं, प्राइम कमर्सियल बैंक लि., माछापुछ्रे बैंकसँग संम्झौता समेत सम्पन्न गरिसकेको छ । स्थापनासँगै यो कम्पनीले विदेशबाट पठाएको रकम छिटो, छरितो र सरल ढंगबाट आफन्तले प्राप्त गर्न विभिन्न बैंक वित्तीय संस्था, सहकारी संस्था, ट्राभल एजेन्सी र व्यवसायीक संस्थाहरुलाई सेवा प्रदान गर्ने सम्बन्धि संझौता गरिसकेको छ । त्यसैगरी ७ दर्जन सहकारी संस्था लगायत अन्य व्यवसायिक संस्थाहरुसँग समेत संम्झौता गरिसकेको छ । कम्पनीले विदेशका विभिन्न एक्सचेन्ज हाउस (मिडिल इष्ट, मलेसिया) साथै अन्तराष्ट्रिय मनी ट्रान्सफर सँग संम्झौता गर्ने तथा सहज ढंग बाट नेपालको ७५ जिल्ला भरिका हरेक कुना कन्दरामा सेवा सञ्जाल विस्तार गरिसकेको छ । ‘कम्पनीले दैनिक २ अर्बको हाराहारीमा भित्रिने रेमिटान्सलाई सदुपयोग गर्न विशेष जनचेतना कार्यक्रम समेत अभियानकै रुपमा गर्ने योजना रहेको जानकारी गराएको छ । ‘रेमिटान्सबाट दैनिक नेपाल भित्रिने ठूलो रकम नेपालीहरुले घरखर्चमै सिमित गर्ने गरेका छन ।’ प्रमुख कार्यकारी अधिकृत भट्टले भने-‘यो रकम उत्पादनमुलक क्षेत्रमा सदुपयोग गर्न हामी विशेष जनचेतनामुलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्छौं ।” संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व शिर्षकमा समेत विभिन्न कार्यहरु गर्ने पनि जानकारी दिएको छ ।

माछापुच्छ्रे बैंकको इएमभी चिप कार्ड सञ्चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुलाई इएमभी चिप कार्ड जारी गरेको छ । कार्ड सम्बन्धि कारोवारलाई अझ सुरक्षित बनाउँदै कार्डबाट हुने कारोवारको जोखिम न्यूनिकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारित कार्ड सञ्चालनमा ल्याईएको बैंकले जनाएको छ । बैकले हालसम्म म्याग्नेटिक स्ट्राइप प्रविधिका कार्डहरु जारी गर्दै आइरहेको थियो । बैकले इएमभी चिप कार्ड मार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्नेे बताएको छ । बैंकले ५६ शाखा कार्यालय मार्फत सम्पुर्ण बैँकिङ्ग सेवा प्रदान गर्नुका साथै डेविट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड तथा माग गर्नासाथ तुरुन्त पाइने इन्स्ट्यान्ट डेबिट कार्ड उपलब्ध गराउदै आएको छ । साथै, यस बैंकबाट जारी भएको डेबिट कार्ड प्रयोग गरी यसै बैंकको एटीएमबाट रकम झिक्दा कुनै शुल्क नलाग्ने तथा नेपाल भित्र भिसा नेटवर्क अन्तर्गतका जुनसुकै एटिएमबाट रकम झिक्दा बढीमा ३० रुपैयाँ मात्र लाग्ने समेत बैंकले जानकारी गराएको छ । साथै, बैकले आफ्ना ग्राहकहरुलाई आफूसँग भएको म्याग्नेटिक स्ट्राइप कार्ड (डेबिट/क्रेडिट/प्रिपेड कार्ड) लाई चिपमा आधारित कार्डमा परिवर्तन गर्न अनुरोध गरेको छ ।

नेपाल बैंककोे स्मार्ट कार्ड सेवा सञ्चालनमा, साझा बसबाट यात्रा गर्नेलाई विशेष सुविधा

काठमाडौं । नेपाल बैंक लिमिटेडले पहिलो पटक स्मार्ट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आधुनिक एवं स्तरीय सेवा प्रदान गर्ने क्रममा उक्त कार्डको सञ्चालन गरेको हो । बैंकले नेपालमा नै पहिलो पटक साझा बसबाट यात्रा गर्ने यात्रुहरुको लागि स्मार्ट कार्ड प्रयोग गरी भाडा तिर्ने सुबिधा प्रदान गरेको छ । साझा यातायात र एन क्लाउडको सहकार्यमा सञ्चालित यो सेवा नेपालमा नै पहिलो पटक हो । साझा बसमा यात्रा गर्ने नेपाल बैंकका पहिलो ५०० जना ग्राहकहरुलाई यो कार्ड निशुल्क वितरण गरिने छ । हाल सो कार्डको प्रयोग साझा यातायातको लगनखेल देखि गोंगबु रुटमा चल्ने साझा बसहरुमा हुने छ । साथै, निकट भविष्यमा नै साझा यातायातको सम्पूर्ण रुटहरुमा चल्ने बसहरुमा यस किसिमको कार्ड प्रयोग गर्न सकिने बैंकले जर्नाएको छ ।