६ सय ६० जनालाई भन्सार एजेन्टमा रोजगारीको अवसर
काठमाडौं । भन्सार एजेन्टको इजाजतपत्र लिन इच्छुक व्यक्तिका लागि अनलाइन दरखास्त आह्वान खुला भएको छ । भन्सार विभागले सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै ६ सय ६० जनाका लागि आवेदन माग गरेको हो । भन्सार नियमावली, २०६४ को नियम ३७, उपनियम (१) बमोजिम भन्सार एजेन्टको इजाजतपत्रका लागि देहाय बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिले विभागको वेवसाइट मार्फत अनलाइन दरखास्त दिन सक्नेछन् । विभागको सूचना अनुसार २१ वर्ष पूरा गरेका नेपाली नागरिकले विभागको वेवसाइटमा गएर दरखास्त दिन सक्नेछन् । त्यसका लागि भन्सार एजेन्टको अनलाइन दरखास्त प्रणाली लिंकमार्फत् दरखास्त दिनुपर्नेछ । परीक्षा केन्द्र काठमाडौंमा मात्र हुनेछ । दरखास्त भर्न दस्तुर तीन हजार लाग्ने विभागको भनाइ छ । २०७८ वैशाख ५ गतेसम्म दरखास्त दिने समय छ । इच्छुक उम्मेदवार स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । कम्प्युटर सम्बन्धी कम्तीमा तीन महिनाको आधारभूत तालिम लिएको हुनुपर्नेछ । नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र, कम्प्युटर तालिमको प्रमाणपत्र, भन्सार नियमावली, २०६४ को नियम ३७ को उपनियम (२) को खण्ड (ख) बमोजिमको योग्यता आवश्यक नपर्ने व्यक्तिको हकमा भन्सार नियमावली, २०६४ को नियम ३७ को उपनियम (३) बमोजिम सम्बन्धित भन्सार कार्यालयका प्रमुखले प्रमाणित गरेको कागजात स्क्यान गरी अपलोड गर्नुपर्नेछ । २० वर्षपछिको अबसर लामो समय पछि विभागले पहिलो पटक ठूलो संख्यामा एजेन्टको लाइसेन्सका लागि आवेदन माग गरेको हो । करिब २० वर्षअघि विभागले चार सय भन्सार एजेन्टलाई लाइसेन्स दिइएको थियो । लामो समयसम्म एजेन्टका लागि आवेदन नहुँदा हाल एक सय ७० जना मात्र एजेन्ट रहेका छन् । विभागले नयाँ माग गरेको एजेन्टका लागि लोकसेवा आयोगमार्फत लिखित तथा मौखित परीक्षा लिने तयारी गरेको छ । भन्सार एजेन्टका लागि आवेदन दिन बीए वा सोसरहको शैक्षिक योग्यता आवश्यक हुन्छ भने साधारण कम्प्युटर चलाउन सक्ने हुनुपर्छ । यसअघि भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि परीक्षा रोकिएको थियो । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो । भन्सार विभागले ऐन परिमार्जन गरी परीक्षा लिन लागिएको जनाएको छ । भन्सार एजेन्टले आयात निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन् ।
लोकसेवाले कर्मचारीको बढुवामा विभेद गरेकाे छ: अध्यक्ष मैनाली
काठमाडाैं । लोकसेवा आयोगले कर्मचारीहरुको बढुवामा आन्तरिक प्रतियोगिता र खुला प्रतियोगितामा विभेद रहेको धारणा सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष उमेश मैनालीले सेवामा रहेको व्यक्तिले खुला प्रतिस्पर्धामा आउने योग्य व्यक्तिभन्दा बढी सुविधा पाउने गरेको बताए । मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मैनालीले निजामति सेवा ऐनमा भएको व्यवस्थाले सेवामा निरन्तर रहेको व्यक्तिलाई उमेरको हदमा छुट दिएको तर त्यही पदमा खुलाबाट प्रतिस्पर्धा गर्नेलाई ३५ वर्षको उमेर हद रहेको बताए । संघीय संसदमा विचाराधिन रहेको विधेयकमा विभेद हटाउन आयोगले सुझाव दिएको पनि उनले बताए । लोकसेवा आयोग भोलीबाट पदाधिकारी विहिन हुने भएको छ । २०७१ चैत्र ११ गते नियुक्त सबै पदाधिकारीको चैत्र ११ बाट पदावधि सकिँदैछ । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मैनालीले आयोग पदाधिकारीविहिन हुँदा गम्भिर असर पर्ने अवस्था रहेको बताए । यसका कारण तत्काल बढुवाको सबै प्रक्रिया रोकिने, परिक्षाहरु रोकिने, नतिजा प्रकाशन गर्ने काम रोकिनुकाे साथै उच्च पदका सरकारी बढुवा र अन्तरवार्ताहरु पनि रोकिने अवस्था रहेको उनले बताए । स्व. शुशिल कोइराला नेतृत्वको सरकारले आयोगमा अध्यक्ष मैनाली सहितको पदाधिकारी नियुक्त गरेको थियो ।
नबिल बैंकमा काम गर्न अवसर, माग्यो ८९ जना कर्मचारी
काठमाडौं। नबिल बैंक लिमिटेडले एकैेपटक ठूलो मात्रामा कर्मचारीको माग गरेका छ । बैंकले एक सूचना प्रकाशन गर्दै विभिन्न पदमा ८९ जना कर्मचारीको माग गरेको हो । बैंकले खुला प्रतिस्पर्धाबाट म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट र सूचना प्रविधिमा कर्मचारीको माग गरेको हो । जसमा म्यानेजमेन्ट ट्रेनीमा १५ जना, ट्रेनी असिस्टेन्ट भनेर ७० जना र माग सूचना प्रविधि (आइटी) मा ४ जना कर्मचारी मागिएको छ । बैंकले सार्वजनिक गरेको सूचना अनुसार म्यानेजमेन्ट ट्रेनीका लागि एक वर्षको परीक्षण अवधि सकिएपछि अधिकृत तहमा पदस्थापन गरिनेछ । उक्त पदका लागि २८ वर्षभन्दा बढी उमेर भएका व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साइन्स, इन्जिनियरिङ मा स्नातकोत्तर पास गरेका उम्मेद्वारले आवेदन दिन सक्नेछन् । यसैगरी, ट्रेनी असिस्टेन्टमा २५ वर्ष पूरा भएको तथा स्नातक पास गरेकाहरुले आवेदन दिन सक्नेछन । सूचना प्रविधि क्षेत्रमा आवेदन दिन आइटी/इन्जिनियरिङमा स्नातक पास गरेको हुनुपर्नेछ । सबै पदका लागि आवेदन गर्ने अन्तिम समय २३ मार्च अर्थात चैत १० सम्म रहेको छ । बैंककाे अनुसार नयाँ माग गरिएका कर्मचारी सातै प्रदेशका लागि रहनेछन् ।