कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै
काठमाडाैं । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्रवासी कामदारले आफूखुशी आफ्नो काम गर्ने ठाउँ परिवर्तन गर्न पाउने नियम यहाँको श्रम तथा रोजगार मन्त्रालयले लागू गरेको छ । गत डिसेम्बरमा ग्रिनहाउस आवासमा राखिएकी एक कम्बोडियन श्रमिकको चिसोका कारण मृत्यु भएपछि श्रमिक सङ्गठनले आवासको राम्रो व्यवस्थासहित इपिएस प्रणालीमा सुधार गर्नुपर्ने भन्दै सरकारलाई दबाब दिँदै आएका थिए । मन्त्रालयले सम्बन्धित सरकारी निकायसँगको सहकार्यमा रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियामा काम गरिरहेका विदेशी नागरिकको जीवनस्तरमा सुधार गर्न अन्य तयारीसमेत गरेको बताएको छ । यसका साथै अत्यन्तै न्यूनस्तरको आवास प्रदान गर्ने कम्पनीमा काम गर्ने प्रवासी कामदारले आफ्नो कार्यस्थल बदल्न अनुमति दिनुका साथै त्यस्ता कम्पनी मालिकलाई विदेशी कामदार राख्न प्रतिबन्ध लगाइने नियम ल्याइएको छ । हाल प्रवासी कामदारलाई उनीहरूको पहिलो कार्याविधिमा तीन पटक र दोस्रो सम्झौतामा दुई पटक गरी पाँचवर्षे कार्यकालमा पाँच पटकसम्म कार्यस्थल परिवर्तन गर्न पाउने अधिकार दिइएको छ । यसका लागि कम्पनी परिवर्तन गर्न रोजगारदाताको अनुमति अनिवार्य छ । कम्पनी परिवर्तन गर्ने इपिसएस कामदारले पाँचवर्षे कार्यकाल सकेपछि पुनःकोरियामा रोजगारी गर्न चाहेमा भाषा परीक्षा पुनःदिनुपर्नेलगायतका प्रावधान पनि राखिएको छ । रोजगारदाताद्वारा कुटपिट गर्ने, यौन दुव्र्यवहार गर्ने, अमानवीय व्यवहार गर्ने, तलब दिन ढिलाइ गर्नेलगायतका गल्ती प्रमाणित भएमा श्रमिकले आफूखुशी कार्यस्थल परिवर्तन गर्न पाउने नियम छ ।
नेपाल बैंकमा काम गर्ने अवसर, ठूलो संख्यामा माग्यो कर्मचारी, कसले दिन पाउँछन् आवेदन ?
काठमाडौैं । नेपाल बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदमा १ सय ९० कर्मचारी माग गरेको हाे । बैंकले केन्द्र तथा विभिन्न प्रदेशमा खुल्ला प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न लागेको हो । बैंकले सहायक प्रबन्धकमा २० जना कर्मचारी माग गरिएको छ। यसमा व्यवस्थापन वा अर्थशास्त्रमा स्नाकोत्तर गरेकाले आवेदन दिन सक्नेछन् । यस्तै, आइटीतर्फको सहायक प्रवन्धकमा ४ जना, चार्टड एकाउन्टेन्टतर्फको सहायक प्रबन्धकमा १० जना र इलेक्ट्रिकल इन्जिनियरतर्फको सहायक प्रबन्धकमा १ कर्मचारी माग गरिएको छ । इच्छुकले फागुन २१ गतेदेखि चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् । अनलाइनबाट फारम भरी साथमा नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइजको फोटो स्क्यान तथा एट्याच गरी पठाउनुपर्नेछ । सम्बन्धित विषयमा स्नातककोत्तर गरेकाले यो पदमा आवेदन दिन सक्नेछन् । आवेदकको परीक्षा शुल्क ८ सय तोकिएको छ । त्यस्तै विभिन्न प्रदेशका शाखा कार्यालयका लागि सहायक पदमा ७८ कर्मचारी माग गरिएको छ। जसअन्तर्गत प्रदेश १ अन्तर्गतका शाखा कार्यालयका लागि १७ जना, प्रदेश दुईका लागि २८, वाग्मती प्रदेशकाे लागि २१, गण्डकी प्रदेशकाे लागि ५, कर्णाली प्रदेशकाे लागि १ र सुदुरपश्चिमकाे लागि ६ जना सहायक पदमा कर्मचारी माग गरिएको छ।
जागिर र कामदार खोज्नेहरूका लागि लन्चप्याड
काठमाडौं । रोजगारीको खोजीमा रहेकाहरूलाई लन्चप्याड २०२१ को आयोजना हुँदैछ । रोजगारदाता तथा रोजगारीको खोजीमा रहेकालाई एकै थलोमा भेटाउने उद्देश्यले लन्चप्याड करिअर तथा रोजगार प्रदर्शनिको कार्यक्रमको आयोजना हुन लागेको हो । लाजिम्पाटस्थित होटल र्याडिसनमा यसै मार्च १३ तारेख (फागुन २९ गते) मा कार्यक्रम आयोजना हुँदैछ । कोभिड १९ को महामारीका कारण धेरै कम्पनीहरुले कर्मचारी कटौती गरे । कैयौंले जागिर गुमाए । बेरोजगारीको संख्या बढ्दै गयो । यसै कुरालाई मध्येनजर गरेर पिपुल्स फर्स्ट संस्थाले अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्न लागेको हो । यस अन्र्तक्रियामा रोजगारदाताले जागिरको खोजीमा रहेकाहरुसँग अन्तवार्ता लिनेछन् । यो जब एक्सपोले रोजगारदता र कर्मचारीहरुलाई प्रत्यक्ष भेटघाटको अवसर जुराउनेछ । विभिन्न रोजगारदाताले चाहेका गुणात्मक जनशक्ति, कार्यस्थलमा आवश्यक पर्ने सीप तथा मानसिकताका बारेमा करिअर काउन्सिलिङ, प्यानल छलफल तथा रोजगारतासँगको अन्तरक्रिया गरिनेछ । मानव संसाधन उत्थानमा क्रियाशिल पिपुल फर्स्ट संस्थाको पहलमा लन्चप्याडको आयोजना हुन लागेको हो । रोजगारीको खोजिमा रहेकालाई सजग र सचेत बनाइ कर्पोरेट संसारमा प्रतिष्पर्धी बनाउने उद्देश्य रहेको पिपुल फर्स्टकी संस्थापक इच्छा मल्लले बताइन् । ‘कोरोना महामारीले आक्रान्त बनाएको बेला रोजगार बजारमा सहज पहुँच बनाउने हाम्रो उद्देश्य हो ।’ मल्लले भनिन् ‘अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिष्पर्धा गर्न प्रशिक्षण दिन चाहन्छौं । यस संस्थामार्फत साना र ठूला कर्पोरेट हाउस, महिला उद्यमीहरुलाई म्यानेजमेन्ट कन्सल्ट्यान्सी सेवा पनि प्रदान गर्दैछु ।’ मार्च ११ र १२ तारेख (फागुन २७, २८) मा दुई दिन जुमको भर्चुअल प्लेटफर्ममा प्यानल डिस्कसन, करिअर काउन्सिलिङ हुनेछ । जोन्स हप्किन्स विश्वविद्यालयका सहायक डिनद्वारा करिअर काउन्सिलिङ सञ्चालन गरिने छ । पहिलो दिन करिअर काउन्सिलिङ, दोस्रो दिन प्यानल डिस्कसन र तेस्रो दिन प्रत्यक्ष अन्तरक्रियात्मक कार्यक्रम हुनेछ । यस्तै १३ तारेखमा होटल र्याडिसनमा रोजगार सम्बन्धी प्रदर्शनीमा रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुले प्रत्यक्ष अन्तरक्रिया गर्न पाउनेछन् । अन्तरक्रियात्मक कार्यक्रममा होन्डा, अग्नि ग्रुप जस्ता २०, २२ ठूला कम्पनीहरूको सहभागिता रहने आयोजक संस्थाकी संस्थापक मल्लले जानकारी दिएकी छिन् । यस कार्यक्रमबाट हरेक वर्ष कम्पनीहरुले कम्तीमा एक हजार मानिसहरुलाई रोजगारी प्रदान गर्न सक्षम हुने उनले विश्वास राखेकी छिन् । लन्चप्याड काठमाडौं कलेज अफ म्यानेन्जमेन्ट, नेप्लिज, युथ इन्टरप्रेन्युर फोरम, टर्किस एयरलाइन्स, केटीएम सिटी तथा क्लिन टेक्नोलोजीसँगको सहकार्य र समन्वयमा हुन लागेको हो । कोरोना महामारीपछि सिर्जित बेराजगारी समस्यालाई कम गर्न रोजगारता र रोजगारीको खोजिमा रहेका जनशक्तिलाई उत्कृष्ट अवसर प्रदान गर्ने उद्देश्यले पिपुल्स फर्स्ट संस्थाले तीन दिने कार्यक्रम विशेष कार्यक्रम सञ्चालन गर्न लागेको हो । पाँच वर्ष अगाडी स्थापना भएको पिपुल्स फर्स्टले करिअर सम्बन्धी परामर्श र प्रशिक्षण दिदै आएको छ ।