काठमाडौं । मुक्तिनाथ विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) तारा मानन्धरले पदभार ग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिको निर्णयअनुसार नियुक्त भएका मानन्धरले जेठ १ गतेदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् ।
बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अनुभवी मानन्धरले विभिन्न वाणिज्य बैंकमा उच्च कार्यकारी भूमिकामा रही काम गरिसकेका छन् । पछिल्लो समय उनी डिस मिडिया नेटवर्कमा प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।
बैंकले मानन्धरको नेतृत्वमा संस्थागत तथा रणनीतिक विकास, सुशासन र दिगो बैंकिङ अभ्यासलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ ।
नवनियुक्त सीईओ मानन्धरले बैंकको दीर्घकालीन लक्ष्य हासिल गर्दै उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीको मनोबल तथा सरोकारवालाको विश्वासलाई थप सुदृढ बनाउँदै संस्थालाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैंकले उनको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने विश्वास लिएको जनाएको छ ।