महिलालाई लोकसेवा पढाउँदै कास्कीकाे माछापुच्छ्रे गाउँपालिका

कास्की । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको उत्तर–पश्चिममा अवस्थित माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक महिलातर्फको लक्षित कार्यक्रमअन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब्सुबा) र राजपत्र अनङ्कित द्वितीय श्रेणी (खरिदार) वा सो सरहको परीक्षाका लागि ३० युवती तथा महिलालाई निःशुल्क तयारी कक्षा सञ्चालन गरिने गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले बताइन् । छिमेकी जिल्ला तथा पालिकाहरूको तुलनामा निजामती क्षेत्रमा आफ्नो गाउँपालिकाबाट न्यून उपस्थिति रहेकाले समेत पालिकावासीलाई लोकसेवाप्रति आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष दवाडीले तयारी कक्षामा सहभागिताका लागि माघ १४ गतेसम्म खुला आवेदन आह्वान गरिसकिएको र माग सङ्ख्याभन्दा बढी आवेदन आएमा सहभागी छनोट सामान्य ज्ञान तथा बौद्धिक परीक्षणमार्फत गरिने बताइन् । उनले भनिन्, “कतिपय महिलाको चाहना हुँदा पनि बजारसम्म पुगेर तयारी कक्षा लिनसक्ने अवस्था नरहेकाले उनीहरूलाई लक्ष्य गरी गाउँमै कक्षा सञ्चालन गर्न लागेका छौँ । राष्ट्रसवेक कर्मचारीमा स्थानीयवासीको आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास छ ।” रासस

जनगणनाको लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक मागियाे, यसरी दिनुहाेस् आवेदन

काठमाडाैं । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आव्हान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएको हो । विभागले करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लन लागेको जानकारी समेत गराएको छ । करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागको भनाई छ । २०७७ चैत्र ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत्र ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । जनगणना विभिन्न प्रविधि अपनाई गरिने र मानिसको जनगणनाको अलावा व्यवसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत जनगणना गरिने उनले बताए । अनलाइन दरखास्त केन्द्रीय तथ्यांक विभागको वेवसाइट अन्तर्गतकाे सवडोमेन तथा केन्द्रीय तथ्याङ्क विभागको वेवसाइटमा गएर भर्न सकिनेछ । राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले गणक तथा सुपरिवेक्षक स्थानीय तहकै जनशक्तिबाट गर्ने तथा स्थानीय तहमै तालिमको व्यवस्था गरिने बताए । अघिल्लो जनगणनामा भन्दा यसपटक ८ वटा बढी आधारभुत प्रश्नहरु राखिएको उनको भनाई छ । राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौँ जनगणना हो । नेपालमा वि.सं. १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो । बाह्रौ जनगणना २०७८ जेठ देखि असार सम्म सञ्चालन हुने पनि विभागले बताएको छ ।

बैंकमा स्थायी जागिरको अवसर, कृषि विकास बैंकले माग्यो ३२५ कर्मचारी (सूचनासहित)

काठमाडौं । कृषि विकास बैंकले विभिन्न १५ पदमा ३२५ जना कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले स्थायी कर्मचारी दरबन्दीमा रिक्त रहेका वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मको १५ पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी माग २९ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।