गाउँमा काम नपाउँदा काम खोज्न भारत जाने सुदूरपश्चिमेलीको लर्को

डाेटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका छन् । यहाँका गाउँघरमा खेतीपातीको काम सकिएपछि गाउँमा रोजगारी नपाउँदा यहाँका वृद्ध, महिला, बालबालिका तथा युवा काम खोज्नकै लागि भारतका विभिन्न शहर जाने क्रम निकै बढेको छ । कैलालीमा रहेको इलाका प्रहरी कार्यालय त्रिनगरका अनुसार प्रत्येक दिन कम्तीमा पनि ५०० देखि ७०० युवा काम खोज्न भारत जान थालेका छन् । अधिकांश नेपाली भारतको पञ्जाब, मुम्बई, आगरा, राजस्थान, बरेली, लखनऊ, सिमला तथा काला पहाडका शहरमा कामका लागि जान थालेको बताउने गरेको त्रिनगर प्रहरी प्रमुख रमेश शाहीले बताए । उनले भने, ‘दैनिक सयौँ नागरिक कामका लागि भारत जान थालेका छन्, अधिकांश महिला र बालबालिका छन्, गाउँमा काम नपाएपछि काम खोज्न भारत जान थालेको भन्छन्, निकै दया लागेर आउँछ ।’ कोभिड–१९ को जोखिम यहाँका शहरदेखि गाउँसम्म कायमै रहे पनि त्यसको बेवास्ता गर्दै यहाँका बेरोजगार नागरिक कामकै लागि भारत पस्न थालेका हुन् । हरेक वर्ष धान रोपाइँ सकेपछि हजारौँ सुदूरपश्चिमेली युवा काम खोज्न भारत जाने र चाडपर्वका बेला फर्किने परम्परा रहेकाले यस वर्ष पनि कामकै लागि अर्थात् दशैँ खर्च जुटाउन भारत पस्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ गैराका मदनबहादुर बामीले बताए । सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी तथा डोटीलगायतका जिल्लाका नागरिक कामकै लागि बर्सेनि भारत जाने परम्परा छ । यहाँका नौ जिल्लामध्ये सबैभन्दा बढी अछाम, बाजुरा तथा डोटीका नागरिक कामका लागि बढी भारत पस्ने गरेको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तत्थ्याङ्कले देखाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख पुरुषोत्तम कँडेलले हिजोआज कामका लागि भारत जाने नेपालीको सङ्ख्या एकाएक बढेको जानकारी दिए । उनका अनुसार नेपालीहरुको सुरक्षाका लागि सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरुसँग समन्वय गरिएको छ । यसै सिलसिलामा डोटीबाट पनि दैनिक दजनौँ युवा कामका लागि जिल्ला छाड्न थालेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । अर्थावस्था कमजोर रहेका यस क्षेत्रका युवा रोपाइँ सकिएपछि बर्सेनि भारतका विभिन्न शहरमा मजदुरीका लागि जाने गरेको केआइसिंह गाउँपालिका–३ का शेरबहादुर ऐरले बताए । उनले भने, ‘कामका लागि यहाँका नागरिकले भारतकै भर पर्नुपर्ने हुन्छ, खेतीपातीको काम सकेर खाली गाउँ बस्नुभन्दा काम पनि मिल्ने कमाइ पनि हुने भएकाले युवाहरु भारत जान थालेका हुन् ।’ घरपरिवारको अर्थावस्था कमजोर भएको र विद्यालयमा समेत पढाइ बन्द भएकाले भारतमा काम गर्न जानुपरेको डोटीबाट आफन्तको साथमा भारत हिँडेका जिल्लाको सायल गाउँपालिकाका युवा करन रोकायाले दुखेसो पोखे । उनले भने, ‘स्कूल सबै बन्द छन्, घरमा खानलाउन समस्या छ, खाली बस्नुभन्दा अलिकति भए पनि कमाइ हुन्छ भनेर भारत जाँदैछु, दशैँमा कमाएर आउँछु ।’ उनीजस्तै पछिल्लो समय जिल्लाबाट काम खोज्नका लागि सयौँ युवा तथा बालबालिका आफ्नो पढाइ छाडेर काम खोज्न भारत जान थालेका छन् । नेपालमा बालबालिकालाई काम गर्न नदिइने तथा भारतमा बालबालिकाका लागि सहजै काम पाइने भएकाले आफूहरु घर छाडेर भारत जाने गरेको बालबालिका बताउँछन् । जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्ने एक दर्जन जति सङ्घसंस्था भए पनि अहिले कामका लागि भारत जान थालेका बालबालिकालाई रोक्न कसैले पहल गरेका छैनन् । आमाबुबा साथमै हुने गरेका कारण बालबालिकालाई भारत जानबाट रोक्न नसकिएको यहाँको प्रहरी प्रशासनले बताउँदै आएको छ । रासस

नेपाल पर्यटन बोर्डले ५ हजारलाई रोजगारी दिने

काठमाडाैं । कोभिड–१९ महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको छ । निजी क्षेत्रलाई सहुलियतपूर्ण ऋणलगायत सुविधा प्रदान गरिनाका साथै अन्तरराष्ट्रिय संस्थाको साझेदारीमा अल्पकालीन र दीर्घकालीन परियोजना पनि सञ्चालन भइरहेका छन् । यसबाट विशेषगरी पर्यटन क्षेत्रका श्रमिक तथा मजदूरलाई राहत पुग्नेगरी रोजगारी अभिवृद्धि कार्यक्रम अघि बढाइएको छ । यसै सन्दर्भमा नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा झण्डै पाँच हजारलाई रोजगारी दिन शुरु गरेको छ । जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनामार्फत पर्यटन क्षेत्रका मजदुरलाई रोजगारीको अवसर सिर्जना गरिएको हो । कोभिड महामारीका कारण रोजगारी तथा आम्दानी गुमाएकालाई केहीमात्रामा भए पनि रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गरी पर्यटकीय क्षेत्रमा रहेका अतिप्रभावित जनशक्तिलाई रोजगारी दिन शुरु गरिएको परियोजनाका राष्ट्रिय संयोजक मणि लामिछानेले बताए । उनले परियोजनाअन्तर्गत १५ क्षेत्रका विशेषगरी पदमार्ग, सम्पदा आदि क्षेत्रमा प्राथमिकता निर्धारण गरेर काम गरिने जानकारी दिए । परियोजनाअन्तर्गत पहिलो चरणमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अतिप्रभावित एक हजार ६०० जनशक्तिलाई तत्तत् पर्यटकीय क्षेत्रको सरसफाइ, पदमार्गको मर्मतसम्भार, पैदलमार्गका सिँढी मर्मतसम्भार, सङ्केत चिन्हको स्थापन तथा मर्मतसम्भारलगायतका कार्यमा संलग्न गराई ४० दिन बराबरको रोजगारी प्रदान गरिएको छ । सात प्रदेशका कम्तीमा १०० मजदुर समेटिने गरी रोजगारी दिइएको छ । उनीहरुलाई हरेक दिन रु एक हजार पारिश्रमिक दिइन्छ । दुई वर्ष छ महिना अवधिको परियोजनाका लागि बोर्डले १० लाख तथा युएनडिपीकातर्फबाट १० लाख ५० हजार गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ । देशभरका स्थानीय तहसँग साझेदारिता गरेर थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिइएको छ । यसका लागि हालसम्म देशका ९० गाउँपालिकालाई पत्राचार गरिएकामा १० पालिकासँग सम्झौता भइसकेको परियोजनाले जनाएको छ । परियोजनाको पदमार्ग पर्यटन क्षेत्रअन्तर्गत अन्नपूर्ण क्षेत्र, सगरमाथा क्षेत्र, लाङ्टाङ क्षेत्र, मनास्लु क्षेत्र, कञ्चनजङ्गा पाथीभरा क्षेत्र, मकालु बरुण क्षेत्र र खप्तड क्षेत्र रहेका छन् । त्यस्तै सांस्कृतिक सम्पदा क्षेत्रतर्फ लुम्बिनी, जनकपुर र काठमाडौँ उपत्यका छन् । ¥याफ्टिङ र जल पर्यटन क्षेत्र त्रिशूली, भोटेकोशी कालीगण्डकी, कर्णाली तथा मर्स्याङ्दी छन् । सात प्रदेशका ७०० पर्यटन व्यवसायीलाई सीपमूलक पर्यटनसम्बन्धी तालिम दिई उनीहरुको व्यावसायिक दक्षता बढाउने, पर्यटकीय क्षेत्रमा ससाना पूर्वाधार निर्माण गरिनेछ । त्यसअन्तर्गत ४० नयाँ काठे पुलको निर्माण तथा १० पुराना काठे पुलको मर्मत, १० विश्रामस्थल, २० ठाउँमा फोहर व्यवस्थापन प्रणाली तथा ३०० फोहर व्यवस्थापन भाडा, ३० नयाँ सङ्केत चिन्ह र ९० सङ्केत चिन्हको जडान तथा मर्मत गरिनेछ । तीन किमी ढुङ्गाको सिंढी बनाउने तथा १०० किमी नाला तथा ढुङ्गाको सिंढी मर्मत र दुई पर्यटन सूचना केन्द्रको निर्माण गरिनेछ । उक्त परियोजनाको तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अर्थ मन्त्रालयबाट स्वीकृत भई निर्देशिकाअनुसार बोर्ड कार्यान्वयन साझेदार रही कार्यक्रम सञ्चालन गर्नेगरी बोर्ड र युएनडिपीबीच विसं २०७७ मङ्सिरमा सम्झौता भई पुस १७ गतेदेखि सञ्चालनमा आएको थियो । परियोजनालाई व्यवस्थित र नतिजामुखी बनाउन एक प्रोजेक्ट बोर्डको व्यवस्था गरिएको छ । त्यसमा बोर्डका कार्यकारी प्रमुख अध्यक्ष तथा अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय र युएनडिपीका प्रतिनिधि रहनुभएको छ । अहिले पदमार्ग मर्मत, सम्पदा सरसफाइलगायत काम धमाधम भइरहेको छ । परियोजना संयोजक लामिछानेका अनुसार यसअघि पाइलट परियोजनाका रुपमा सञ्चालन गरिएको कार्यक्रमबाट २५० भन्दाबढी मजदुरलाई ४५ दिन बराबरको रोजगारी दिइएको थियो । हरेक श्रमिकलाई दैनिक एक हजार पारिश्रमिक दिइएको थियो । तत्काल पुनरुत्थान कार्यक्रमअनुरुप पाँच स्थानमा यो कार्यक्रम सञ्चालित थियो । प्रदेश नं १ को खुम्मु क्षेत्र, प्रदेश नं २ को जनकुर क्षेत्र, गण्डकी प्रदेशको अन्नपूर्ण क्षेत्र र कास्कीकोटमा मर्मत तथा सरसफाइ कार्य गरिएको थियो । परियोजना अवधिभरमा झण्डै पाँच हजारलाई रोजगारी दिने लक्ष्य रहेको संयोजक लामिछानेले बताए । पर्यटन क्षेत्रको बृहत् राष्ट्रिय पुनरुत्थान रणनीति तयार गरी नेपालका पर्यटकीय सेवा सुविधाको स्तरीकरणसम्बन्धी निर्देशिका बनाई सेवा सुविधाको स्तरीकरण गर्ने, पर्यटन तथा पर्यटनको कूल गार्हस्थ उत्पादनमा रहेको योगदानलाई यकिन गर्नका लागि विश्व पर्यटन संस्थाको सहकार्यमा ‘टुरिज्म स्याटेलाइट अकाउन्ट’ गर्ने, अन्तरराष्ट्रिय महत्वका दिगो पर्यटनसम्बन्धी सभा, सम्मेलन नेपालमा सञ्चालन गर्ने योजना छ । रासस

शिखर अर्गनाइजेसनले दियो १२ खेलाडीलाई रोजगारी, थप २ हजार खेलाडीलाई दिने योजना

काठमाडौं । नेपाली व्यवसायीक समूह शिखर अर्गनाइजेसनले बुदोकैदो मार्सलआर्टसका १२ खेलाडीलाई रोजगारी दिएको छ । काठमाडौंको दशरथ रंगशालामा बिहीबार आयोजित एक विशेष कार्यक्रमकावीच संस्थाका अध्यक्ष केदारनाथ शर्माले सातै प्र्रदेशमा रहेका उद्योगहरूमा काम गर्ने गरि खेलाडीहरूलाई नियुक्ति पत्र प्रदान गरेका हुन । अध्यक्ष शर्माका अनुसार रोजगारी पाएका खेलाडीहरूले उद्योगहरूमा डिसिप्लेन अफिसर (अनुसाशन अधिकृत) का रुपमा काम गर्नेछन् । सँगै उनीहरूले सम्बन्धित प्रदेश अन्र्तगतका जिल्लामा बुदोकैदो मार्सलआर्टसको तालिम सञ्चालन गरेर नयाँ खेलाडी तयार गर्नेछन् । ‘खेलाडीहरूलाई जीविकामा सहयोग पुगोस र प्रोत्साहन होस भनेर नेपालको खेलक्षेत्रको विकासका लागि पनि सहयोग पुगोस भन्ने उदेश्यले हामीले खेलाडीहरूलाई रोजगारि दिएका हौं’ अध्यक्ष शर्माले भने । शिखर अर्गनाइजेसनले २ वर्षभित्र आफ्ना अन्य उद्योग तथा कम्पनीहरूमा २ हजार खेलाडीहरूलाई रोजगारीको अवसर प्रदान गर्ने जनाएको छ । बुदोकैदो मार्सलआर्टस नेपालमा विकास गरिएको खेल हो । नेपाल बाहेक विश्वका केहि मुलुकमा समेत यो खेल खेलाइने गरिएको छ । व्यवसायीक घरानाबाट खेलाडीहरूलाई रोजगारीको अवसर सिर्जना हुँदा आफूहरु निकै उत्साहित भएको खेलाडी योगेन्द्र बोहोराले बताए । रोजगारी पाएकी खेलाडी शान्ति लामा खेल खेलेर काम पाइँदैन समय मात्रै बर्वाद हुन्छ भन्नेहरूको भिडमा शिखर अर्गनाइजेसनले खेलाडीलाई रोजगारी दिएर सराहनिय काम गरेको बताउँदै खुसि व्यक्त गरिन । बुदोकैदो मार्सलआर्टसका अध्यक्ष काजीमान श्रेष्ठले खेलाडीहरूका लागि यसरी राम्रो सुविधा सहित रोजगारीको अवसर सिर्जना हुँदा यसले नेपालमा विकास गरिएको बुदोकैदो मार्सलआर्टसलाई विश्वभरी चिनाउन सहयोग पुग्ने बताए । शिखर अर्गनाइजेशनले उपकार ब्राण्डमा चामल, दाल, तेल, विस्कुट, चिया, अचार, मह, खानेपानी लगायतका खाद्य सामग्रि तथा कृषि उपकरणहरूको उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ ।