स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गर्नेछौं: श्रममन्त्री

दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापीरूपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्न स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गरिने बताएका छन् । मन्त्रालयले पोखरामा आयोजना गरेको आन्तरिक रोजगारी प्रवद्र्धनका लागि छलफल तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले रोजगारी सिर्जना गर्न तीन तहका सरकारबीच प्रभावकारी समन्वय गर्दै अगाडि बढ्न आग्रह गरे । श्रेष्ठले उद्यमशीलताको संस्कृति विकास गर्दै कामको सम्मान गर्ने वातावरण तयार गर्नुपर्ने उल्लेख गर्दै बजारको मागबमोजिम सीपमूलक श्रमशक्ति विकास गर्न आवश्यक रहेको बताए । यस क्षेत्रका व्यहारिक कठिनाइ तथा समस्याको पहिचान गर्दै आन्तरिक रोजगारीको क्षेत्रमा क्रियाशील सरोकारवालालाई प्रोत्साहित गर्ने सरकारको नीति रहेको उनको भनाइ थियो । सरकारको मुख्य प्राथमिकता देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नु रहेको बताउदै उहाँले पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न दीर्घकालीन रणनीति बनाएर अघि बढ्नु आवश्यक रहेको स्पष्ट गरे । स्थानीयस्तरमा रहेका रोजगारीको सम्भावनाका क्षेत्रको पहिचान गर्न र आन्तरिक रोजगारीको प्रवद्र्धनमा सङ्घ, प्रदेश र स्थानीय तहबीच आपसमा समन्वय गर्न आवश्यक रहेको उनले बताए । रासस

थपिए २६२ उद्योग, १ खर्ब ८३ अर्ब लगानी हुँदा २० हजार रोजगारी सिर्जना

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना उद्योग क्षेत्रमा लगानी र रोजगारी सिर्जनाको आधारमा उत्साहजनक देखिएको छ । साउनदेखि मंसिरसम्मको अवधिमा २६२ उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा स्वदेशी लगानीका १३६ र विदेशी लगानीका १२६ उद्योग थपिएका हुन् । यी उद्योगमा १ खर्ब ८३ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको लगानी स्वीकृत भएको छ । लगानी स्वीकृत भएका स्वदेशी तथा विदेशी लगानीका उद्योगमा २० हजार २८३ जनाको लागि रोजगारी सिर्जना भएका छन् । सिर्जना भएको नयाँ रोजगारीमा स्वदेशी लगानीका ठूला, साना र मझौला उद्योगमा १२ हजार ३ सय २१ जना र विदेशी लगानीका उद्योगमा ७ हजार ९६२ जनालाई रोजगारी सिर्जना भएको उद्योग विभागले जानकारी दिएको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा मात्र साना, ठूला र मझौला गरी ४१ वटा स्वदेशी लगानीका उद्योगहरु दर्ता भएका थिए । उक्त संङख्यामा उद्योग दर्ता भएसँगै ३ हजार ६३२ जनालाई रोजगारी दिइने उल्लेख गरिएको छ । त्यसैगरी भदौ महिनामा २१ वटा उद्योग दर्ता हुँदा १ हजार ८९५ जनाको लागि रोजगारी सिर्जना भएको छ । असोज महिनामा साना, ठूला र मझौला गरी २७ वटा उद्योगहरु दर्ता भएका थिए । उक्त सङख्यामा उद्योग दर्ता भएसँगै २ हजार ६६७ जनाले रोजगारी पाउने अवस्था सिर्जना भएको छ भने कात्तिक महिनामा २८ वटा उद्योग दर्ता हुँदा २ हजार १३४ जनाले रोजगारी पाउने छन् । विभागको तथ्याङक अनुसार मंसिर महिनामा साना, ठूला र मझौला गरी २० वटा दर्ता भएका छन् । जसबाट २ हजार ५३ जनालाई रोजगारी दिइने उल्लेख छ ।

आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ । निगमका तत्कालीन कार्यकारी निर्देशन सुरेन्द्र पौडेलले तीन वर्ष कार्यकाल पूरा गरी बाहिरिएसँगै कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आईतबार एक सूचना जारी गर्दै आवेदन खुला गरेको हो । २०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेल पुस २२ गते निगमबाट बिदाई भएका थिए । इच्छुक व्यक्तिले सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र दरखास्त दिन सकिनेछ । निगमको कार्यकारी निर्देशक हुनका लागि निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ । उम्मेदवारले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, बायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो र पाँच हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यवसायिक कार्ययोजना पेश गर्नुपर्ने छ । इच्छुक आवेदकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा पाँच हजार रुपैयाँ सहित दरखास्त दिन सक्नेछन् ।