विद्युत् नियमन आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन दिन आह्वान

काठमाडौं । सरकारले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन दिन आह्वान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज एक सूचनामार्फत आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन दिन सूचित गरेको हो । यसअघिका अध्यक्ष डिल्लीबहादुर सिंहलगायतले तोकिएको काम नगरेको पाइएपछि सरकारले छानविन समिति गठन गरी बर्खास्त गरेको थियो । विद्युत् तथा ऊर्जा क्षेत्रको काम कारवाहीको नियमनका लागि सरकारले आयोग स्थापना गरेको हो । सूचनाअनुसार आयोगमा एक अध्यक्ष, तीन सदस्य (एक महिलासहित) रहने कानूनी प्रबन्ध छ । सूचनाअनुसार १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आयोग नियमन आयोग नियमावली, २०७५ को अनुसूची १ बमोजिम आवेदन दिन आग्रह गरिएको छ । आवेदन पेश गरेका उम्मेदवारको कार्ययोजनाको मूल्याङ्कन छनोट भई सङ्क्षिप्त सूचीमा परेका बढीमा पाँच उम्मेदवारलाई कार्ययोजन प्रस्तुतिका लागि इमेल वा एसएमएस वा टेलिफोनबाट सूचित गरिने ऊर्जा मन्त्रालयले जनाएको छ । विद्युत् व्यापार, महसुल तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित विषयमा नियमन गर्ने उद्देश्यका साथ सरकारले २०७२ सालमा आयोग स्थापना गरेको हो ।

नेपाल बैंकले माग्यो ठूलो संख्यामा नयाँ कर्मचारी, प्लस टु पढेकाले पनि आवेदन दिनसक्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले रिक्त रहेको स्थानका लागि ठलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै कनिष्ठ सहायकदेखि सहायक प्रबन्धक तहसम्मका लागि ३ सयभन्दा बढी कर्मचारी माग गरेको हो । लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि स्वीकृत दरबन्दीका आधारमा बैंकले रिक्त रहेको ३०३ जना नयाँ कर्मचारीका लागि आवेदन मागेको हो। बैंकले मागेको विभिन्न पदका लागि प्लस टु उत्तीर्णदेखि स्नातकोत्तर सँगै केही पदका लागि अनुभवी कर्मचारी माग गरेको हो । बैंकले जारी गरेको सूचना अनुसार ६२ जना सहायक प्रबन्धक, १४८ जना सहायक र ९१ जना कनिष्ठ सहायकका लागि दरखास्त आह्वान गरेको छ। यस्तै, सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सिए) मा २ र सहायक प्रबन्धक (आइटी) मा ४ जना माग गरेको हो। बैंकले सहायक र कनिष्ठ सहायकका लागि प्रदेशगत रूपमा माग गरेको छ। १४८ जना सहायक मागेको बैंकले कनिष्ठ सहायकमा ९१ जना माग गरेको छ। बैंकले प्रदेश १ र मधेसमा ३१/३१ जनाका लागि कोटा छुट्याएको छ । यस्तैगरी, बागमतीमा ५१, गण्डकीमा १०, लुम्बिनीमा २१ तथा कर्णाली र सुदूरपश्चिममा २र२ जना सहायक स्तरका कर्मचारी माग गरेको छ । सहायक आइटी बागमतीका लागि २ जना माग गरिएको छ । बैंकले ९१ जना कनिष्ठ सहायक मागेको छ । जसअनुसार प्रदेश १ मा १६, मधेसमा १५, बागमतीमा २७, गण्डकीमा १२, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ५ जना माग गरिएको छ। इच्छुक र योग्य नागरिकले फागुन २० गतेदेखि चैत १० गतेसम्म अनलाइनमार्फत आवेदन दिनसक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ। बैंकले केन्द्रीय कार्यालय र प्रदेशगत कार्यालयका लागि आवेदन मागेको हो।

कुमारी जब र फाउण्ड परियोजनाले अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिने

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको लागि औपचारिक रोजगारीको अवसरहरु प्रदान गर्ने कुमारी जब र फाउण्ड परियाेजना (द लेप्रोसी मिशन नेपाल)बीच सम्झौता भएकाे छ । दुई संस्थाले बुधबार यसबारे सम्झाैतापत्रमा हस्ताक्षर गरेकाे छ । सम्झौता पत्रमा कुमारी जबको तर्फबाट प्रबन्ध निर्देशक सन्देश भण्डारी र फाउन्ड परियोजनाका तर्फबाट परियोजना निर्देशक चिरञ्जीवी शर्माले हस्ताक्षर गरेका थिए । अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार बनाउन सहयोग गर्दै समाजको लागि योगदान दिने मुख्य उद्धेश्यले प्रेरित भएर यो सम्झौतामा हस्ताक्षर गरिएको कुमारी जब र फाउन्ड परियोजनाले जानकारी दिएको छ। कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारी शारिरिक अपाङ्गता भएका व्यक्तिहरु मानसिक रुपमा उत्तिकै सक्षम र उचित अवसर पाएको खण्डमा उनीहरुले पनि अन्य मानिसहरु सरह नै उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्न सक्ने बताउँछन् । ‘नेपाली परिप्रेक्ष्यमा शारिरिक अपाङ्गता भएका व्यक्तिहरुलाई औपचारिक रोजगारीको क्षेत्रमा अझै पनि अवसर दिन नखोजिएकोमा कुमारी जबले परिवर्तनको सन्देश दिन खोजेको छ । र, यसै सिलसिलामा फाउन्ड परियोजनासँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ,’ उनले भने ।