डीडीसीको महाप्रबन्धकका लागि दरखास्त आह्वान
काठमाडौं । सरकारले दूग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डीडीसीका महाप्रबन्धक रुद्र पौडेलको कार्यकाल सकिनु अगाडी नै दरखास्त आह्वान गरेको हो । पौडेलको दुई वर्षे कार्यकाल आगामी फागुन २५ गते सकिदैछ् । कार्यावधि एक महिना बाँकी हुँदै मन्त्रालयले खुल्ला दरखास्त आह्वान गरेको हो । डीडीसीको महाप्रबन्धक बन्नका लागि सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७६ को दफा ३ उपदफा २ (ग) बमोजिमको शैक्षिक योग्यता हासिल गरी कुनै संस्था वा निकायमा व्यवस्थापककोे हैसियतले कम्तिमा दश वर्षेको कार्य अनुभवका साथमा दुग्ध विकास संस्थानको वर्तमान अवस्था, चुनौती र सुधारका विषय समेटिएको बढीमा ५ हजार शव्दको व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ । दरखास्त दिने इच्छुकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योेग्यताको प्रमाणपत्रको प्रतिलिपि, अनुभव खुल्ने कागजातको प्रतिलिपि, वैयक्तिक विवरण, एक प्रति पासपोर्ट साइजको फोटोका साथमा रु तीन हजार शुल्क लाग्नेछ । मन्त्रालयले २१ दिनको अवधि राख्दै मंगलबार दरखास्त आह्वान गरेको हो ।
ठगी आरोपमा टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्टका संचालक पक्राउ
काठमाडाैं । काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका संचालक भीम गुरुङ ठगी आरोपमा पक्राउ परेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ ले बिहिबार गुरुङलाई पक्राउ गरेको हो । युएईको ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो । हालै उक्त म्यानपावर कम्पनीमा पीडितसँग भिडियो खिच्न गएका सञ्चारकर्मीहरुमाथि पनि आक्रमण भएको थियो । पक्राउ परेका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिएको छ ।
आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन
काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक (एमडी) का लागि १७ जनाको आवेदन परेको छ । रिक्त रहेको निगमको एमडीका लागि आवेदन दिने अन्तिम दिन माघ १६ गतेसम्म तोकिएको थियो । तोकिएको अवधिमा १७ जनाको आवेदन परेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको सूचना अनुसार एमडीका लागि जीवनप्रकाश सिटौला, विष्णुवावु मिश्र, हरिभक्त शाही, प्राध्यापक डा लक्ष्मण पौडेल, लोक बहादुर खड्का, लोकराज पाठक, कृष्ण प्रसाद यादव, तारानाथ पौडेल र चित्तरन्जन दासको आवेदन परेको छ । यस्तै, रामदेव यादव, चण्डिका प्रसाद भट्ट, उमेश प्रसाद थानी, पंकजकुमार दास, हरिवशं आचार्य, आनन्दप्रसाद चन्द, भुपेन्द्र प्रसाद अर्याल, सन्जय कुमारको आवेदन परेको मन्त्रालयले जनाएको छ । निगमका तत्कालीन कार्यकारी निर्देशन सुरेन्द्र पौडेल तीन वर्ष कार्यकाल पूरा गरी गत पुस २० गते निगमबाट बाहिरिएसँगै पुस २५ गते एमडीका लागि खुला आवेदन माग गरिएको थियो ।