जेडीए कम्प्लेक्समा महानगरका प्रमुख, भवन अभावले भाडाको कोठामा मेयर र उपमेयर

काठमाडौं । पुरानो भवन भुइँचालोले क्षतिग्रस्त भएपछि भाडाको घरबाट सञ्चालन हुँदै आएको काठमाडौं महानगरपालिकाले आफ्नो जननिर्वाचित मेयर तथा उपमेयरलाई पनि त्यही भाडाको घरमा स्वागत गर्ने भएको छ । महानगरपालिकाको कार्यालय सुन्धारास्थित जेडिए कम्प्लेक्सको पाँचौं र छैटौं तलामा सञ्चालन हुँदै आएको छ। कार्यकारी अधिकृत ईश्वरराज पौडेल बस्दै आएको कोठा मेयरका लागि खाली हुने छ। प्रवक्ता ज्ञानेन्द्र कार्की बस्दै आएको कोठामा उपमेयर बस्नेछन्। मेयर र उपमेयरका लागि तयार गरिएका दुवै कोठा छैटौं तलामा रहेको छ। महानगरपालिकाका प्रवक्ता कार्कीले मेयर तथा उपमेयरका लागि भाडाकै कोठा तयार गरिएको बताए। त्यस्तै, मेयर र उपमेयरको सुरक्षामा नगर प्रहरी खटाउने पनि उल्लेख छ। मेयरका लागि नगर प्रहरीका सईको नेतृत्वमा ८ देखि १० कर्मचारी खटाउने तयारी छ भने उपमेयरका लागि असईको नेतृत्वमा ६ देखि ८ जना कर्मचारी खटाइनेछ। उता, ललितपुर महानगरपालिकाले महानगर भवनको चौथो तलामा मेयर तथा उपमेयरका लागि कोठा छुट्टयाइएको छ। दुवै कोठाको रङरोगन सकिएको छ। भित्री रङरोगन, सरसफाइ तथा फर्निसिङका लागि १५ दिनदेखि काम भइरहेको कार्यकारी अधिकृत हरिप्रसाद दाहालले बताएका छन्। भरतपुर महानगरपालिकाले भने नवनिर्वाचित मेयर तथा उपमेयरका लागि साबिककै कोठा दिने तयारी गरेको छ। कोठाको रङरोगन गर्ने काम सकिसकेको र टेबुल–कुर्सी फेर्ने काम भइरहेको कार्यकारी अधिकृत प्रेमराज जोशीले बताए। नयाँ पत्रिका दैनिकबाट ।

बैंकमा जागिर खोज्नेलाई राम्रो अवसर, नेपाल बैंकले माग्यो १०८ जना नयाँ कर्मचारी

काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । नेपाल बैंक लिमिटेडले एकैपटक १०८ जना कर्मचारी मागेको छ । यो बैैंकले आगामी १५ दिन भित्रै रितपूर्वक आवेदन दिनुपर्ने गरी इन्छुक तथा योग्यता पुगेको नागरिकबाट आवेदन माग गरेको हो । बैंकले विभिन्न पदमा माग गरेको यस्तो आवेदन सबैभन्दा बढी सहायक पदका लागि माग गरेको छ । बैकले यो पदमा ३२ जना खुला तर्फबाट चौथो तहको लागि आवदेन माग गरेको हो । बैैंकले तीन तहदेखि नौ तहका बरिष्ठ प्रवन्धकसम्म खुला प्रतिस्पार्धाबाट नियुक्त गर्ने भएको छ । बैंकले नौ तहका प्रवन्धक २ जना मागेको छ । यसमा एक जना महिला कोटा निर्धारण गरेको छ । यस्तै आठौं तहको प्रवन्धक ३ जना, सातौ तहको उपप्रवन्धक ५ जना, छैटो तहको सहायक प्रवन्धक ३१ जना मागेको छ । पाँचौ तहको बरिष्ठ सहायक पाँच जना मागेको छ । चौथो तहको सहायक सहायक ५८ जना मागेको छ भने तेस्रो तहको कनिष्ठ सहायक ४ जना मागेको छ । बैंकले १२ कक्षा पास गरेका कनिष्ठ सहायकदेखि मान्यताप्राप्त संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर गरेकोसम्मका लागि खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको छ । सरकारी बै‍क भएकाेले यसकाे सेवा सुविधा तथा आकर्षक पारिश्रमिक मानिन्छ । यसमा बैकको सेवामा प्रवेश गर्न इच्छुक व्यक्तिले बैंकले तोकेको सर्त अनुसार १५ दिन भित्रै आवदेन दिनुपर्ने छ ।

म्यादी प्रहरीलाई युनिर्फमका लागि प्रतिव्यक्ति ७ हजार १ सय, पोसाकमै ५३ करोड खर्च

काठमाडौ । स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीलाई पोसाक दिन नसकेपछि सरकारले सात हजार एक सय रुपैयाँ पोसाक भत्ता दिने निर्णय गरेको छ । तर, तालिम सकिन लाग्दा पनि पोसाक भत्ता अझै अर्थ मन्त्रालयले निकासा गरेको छैन । पोसाक आफैँ खरिद गर्न म्यादी प्रहरीलाई भत्ता दिन लागिएको हो । सार्वजनिक खरिद ऐनअनुसार पोसाक भत्ता किन्ने समय नभएकाले उनीहरूलाई ड्रेसकोड तोकेर पोसाक भत्ता दिन लागिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए । सर्ट–पाइन्ट, नीलो डाङ्री, जुत्ता, टोपी, पेटी, सिठी, मोनोग्राम र लाठी खरिद गर्न म्यादी प्रहरीलाई भत्ता दिन लागिएको हो । नेपाल प्रहरीले तयार पारेको अनुमानित लागतका आधारमा पोसाक भत्ता सात हजार एक सय तय गरिएको छ । भत्ता रकम जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीलाई वितरण हुन्छ । म्यादीको पोसाकमै ५३ करोड खर्च म्यादी प्रहरीको पोसाकमै ५३ करोड २५ लाख रुपैयाँ खर्च हुने भएको छ । स्थानीय निर्वाचनमा खटिने ७५ हजार म्यादी प्रहरीले पोसाकबाहेक मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब पाउनेछन् । यसका साथै सम्बन्धित जिल्लाको दररेटअनुसार रासन भत्तासमेत उनीहरूले पाउनेछन् । ५५ दिनका लागि सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो । म्यादी प्रहरीहरूले मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब, सम्बन्धित जिल्लाको दररेटअनुसार रासन भत्ता र सात दिनका लागि दैनिक पाँच सयका दरले भत्ता पाउनेछन् । निर्वाचनमा खटिने सुरक्षाकर्मीले दैनिक पाँच सय रुपैयाँ भत्ता पाउने भएका छन् । २ सय ५० रुपैयाँ खाजा भत्ता र २ सय ५० रुपैयाँ विशेष भत्ता दिन दिइने गृह प्रवक्ता बालकृष्ण पन्थीले बताए । यो भत्ता म्यादी प्रहरीले पनि पाउनेछन् । नयाँ पत्रिका दैनिकबाट ।