तलब नबढेपछि कर्मचारी निराश, तलबभत्ता पुनरावलोकन आयोग गठनमा असन्तुष्टि

काठमाडौँ । नयाँ बजेटमा कर्मचारीको तलबभत्ता केही वृद्धि हुने आशा बोकेर बसेका कर्मचारी बजेट भाषणपछि हिस्स परेका छन् । सङ्घीयता कार्यान्वयनमा कर्मचारी व्यवस्थापनको विषय निकै चुनौतीपूर्ण भइरहेको अवस्थामा कर्मचारीलाई स्थानीय निकायमा जान प्रोत्साहित गर्नकै लागि भए पनि सरकारले बजेटमार्फत आफ्ना माग सम्बोधन गर्ने आशा कर्मचारीले गरेका थिए । तर, सरकारले घुमाउरो पारामा तलबभत्ता पुनरावलोकन आयोग गठन गरेर उसको सिफारिसका आधारमा तलब वृद्धि गर्ने आश्वासन दिएकोप्रति कर्मचारीले असन्तुष्टि जनाएका छन् ।  बजेटमा सरकारले राष्ट्रसेवकको तलबभत्ता र सुविधामा पुनरावलोकन गरी उपयुक्त सुझाव सिफारिस गर्न एक उच्चस्तरीय तलब सुविधा सुझाव आयोग गठन गर्ने भनेको छ । “यो हामीलाई झुक्याउने पारा मात्र हो”, आधिकारिक ट्रेड युुनियनका अध्यक्ष पुण्य ढकालले भन्नुभयो, “यसअघि पनि यस्ता समिति बनेका थिए तर कुनै समितिको सिफारिस पनि सरकारले कार्यान्वयन गरेन । अब बन्ने समितिको सिफारिस कार्यान्वयन हुन्छ भनेर हामीले कसरी विश्वास गर्ने ? उहाँले सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण पाटो कर्मचारी समायोजन भएको बताउँदै यस्तो अवस्थामा कर्मचारीमा उत्प्रेरणा जगाउने गरी तलबभत्तामा विचार नगरेर सरकारले विवेक नपुर्याएको आरोप लगाउनुभयो । “यसले सङ्घीयताको सकारात्मक समृद्धिमा असर पर्ने सम्भावना रहन्छ”, उहाँले थप्नुभयो । निजामती सेवामा रहेका अन्य कर्मचारी सङ्गठनहरूले पनि कर्मचारीप्रति बजेट उदासीन देखिएको गुनासो गरेका छन् । “बजेटले कर्मचारीलाई प्रोत्साहित गर्न सकेन”, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)का केन्द्रीय सदस्य विश्वबन्धु रेग्मीले भन्नुभयो । धेरै तलब बढाउन नसके पनि साङ्केतिक वृद्धि गरेर कर्मचारीको मनोबल बढाउने काम गरिनुपथ्र्यो । सङ्घीयतामा कर्मचारी समायोजनका साथै असार ९ मा हुने दोस्रो चरणको स्थानीय तहको चुनाव, त्यसपछिको प्रदेश र सङ्घको चुनावमा कर्मचारीको सकारात्मक सहयोग र सद्भावका लागि पनि तलबभत्तामा साङ्केतिक वृद्धि गरिनुपर्ने सम्बद्ध क्षेत्रका विज्ञहरूले बताउनुभयो । वरिष्ठ प्रशासनविद् डा.भीमदेव भट्टले कर्मचारीको तलब सुविधामा धेरै वृद्धि गर्न नसके पनि साङ्केतिक वृद्धि गरेर उनीहरूलाई प्रोत्साहित गर्ने बजेट ल्याएको भए राम्रो हुने प्रतिक्रिया दिनुभयो । गोरखापत्र दैनिकबाट ।

जीवन बीमामा रोजगारी अवसर, महालक्ष्मी लाइफले माग्यो ३५ जनाको दरखास्त

काठमाडौं । जीवन बीमा कम्पनीमा नयाँ रोजगारी अवसर सिर्जना हुने भएको छ । थप हुँदै गरेका नयाँ जीबन बीमा कम्पनीले धमाधम नयाँ जनशक्ति माग गरिरहेका छन् । यसै क्रममा भविष्यमै संचालनको तयारी गरिरहेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकैपटक ३५ जनालाई रोजगारी दिदैँ छ । यो कम्पनीले विभागीय प्रमुख ७ जना, प्रादेशिक प्रमुख ७ जना र शाखा प्रमुख २१ जना गरी ३५ जनाको दरखास्ता माग गरेको छ । यो कम्पनीले आवश्यक योग्यता पुगेका आवेदनकबाट यही जेठ २६ गतेभित्र आवेदन माग गरेको छ । कम्पनीले अाफ्नो इमेल ठेगानामा इच्छुका आवेदनकसँग आवेदन माग गरेको छ । कम्पनीले पद अनुसार अलग अलग याेग्यताक्रम पनि निर्धारण गरेकाे छ ।

१९ प्रतिशत घरपरिवार रेमिट्यान्समै निर्भर, विदेश जानेको आम्दानी नजानेको भन्दा ५ गुणा बढी

काठमाडौं । युवायुवती वैदेशिक रोजगारीमा जाँदा समाजमा थुप्रै विसंगति, विकृति सिर्जना भइरहेको गुनासो बढेको बेला गरिएको एक अध्यययनमा रोजगारीको लागि विदेश जानेको आम्दानी स्वादेशमा भन्दा पाँच गुणा राम्रो हुने तथ्य फेला परेको छ । राष्ट्र बैकले गरेको एक अध्ययन अनुसार विदेश नजाने युवायुवतीको तुलनामा वैदेशिक रोजगारीमा जानेकोको कमई पाँच गुणा बढी देखिएको छ । प्रतिव्यक्ति नेपालीको सरदर आम्दानी ९० हजार ५२१ रुपैया छ । विदेशमा जाने नेपालको भने प्रतिव्यक्ति यस्तो आम्दानी ५ लाख ३२ हजार रहेको पनि अध्ययनले देखाएको छ । स्वदेशको आम्दानीसँग ठूला व्यापारिक घरानाको समेत जोडिए पनि वैदेशिक रोजगारीमा भने नेपाली कामदारको पारिश्रमिक एकै प्रकारको हुने गरेको छ । अहिले विदेशीने नेपालीकै कारण १९ प्रतिशत घरपरिवार पूर्ण रुपमा रेमिट्यान्समा निर्भर हुन पुगेका छन् । ८० प्रतिशत घरपरिवार भने दैनिक गुजार चलाउने रेमिटेन्सको सहयोग लिनु परेको पनि उल्लेख छ । नागरिक दैनिकबाट ।