राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिकममा ६०९ जनालाई जागिर खुल्यो
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिकममा ६०९ जनालाई जागिर खुलेको छ । राष्ट्रिय बाणिज्य बैंकले ५७१ जनाका लागि जागिर खुलेको हो । बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर सहायक कर्मचारीदेखि मुख्य प्रबन्धकसम्मका पदमा ५७१ जनालाई जागिर खुलाएको हो । नेपाल टेलिकमले पनि सहायक अधिकृतदेखि उप प्रवन्धकसम्मका पदमा ३८ जनालाई जागिर खुलाएको छ । राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रवन्धक एक जना, वरिष्ठ प्रवन्धक दुई जना, प्रबन्धक ४ जना, प्रबन्धक सूचना प्रविधि एक जना, उप प्रबन्धक ८ जना, उप प्रबन्धक लेखा ५ जना, सहायक प्रबन्धक ८५ जना, सहायक प्रबन्धक कानुन ६ जना, सहायक प्रबन्धक इन्जिनियर ३ जना, सहायक प्रबन्धक लेखा १६ जना, सहायक प्रबन्धक (कृषि) ७ जना, बरिष्ठ सहायक ५६ जना, बरिष्ठ सहायक खजाञ्ची ३० जना, बरिष्ठ सहायक कम्प्युटर अपरेटर ६ जना, सहायक २४६ जना, सहायक नगद ४० जना, सहायक कम्प्युटर ५५ जना कर्मचारी मागेको हो । नेपाल टेलिकम पनि १७ जना बरिष्ठ इन्जिनियर, ४ जना सहायक स्तरका अधिकृत र ११ जना प्राबिधक माग गरेको हो । बाणिज्य बैंकमा जागिर खान चाहनेले असोज ८ देखि कार्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् भने टेलिकममा असोज ६ गतेदेखि ३० दिनभित्रमै आवेदन दिइसक्नुपर्नेछ ।
पत्रकार महासंघले तीन महिनाभित्र सबै पत्रकारको हातमा नियुक्ती पत्र दिलाउने
काठमाडौ । नेपाल पत्रकार महासंघका नव–नर्वाचित अध्यक्ष गोविन्द आचार्यले अबको तीन महिनाभित्र सबै पत्रकारलाई नियुक्तीपत्र दिलाउन प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ नेपाल एफएम प्रतिष्ठान शाखाले आफ्नै सभाकक्ष लाम्पाटीमा गरेको ‘व्यावसायीक पत्रकारिताका चुनौती र महासंघको योजना’ विषयक अन्तक्र्रियामा उनले श्रमजीवि पत्रकारहरुको हक अधिकारका लागि महासंघले नेतृत्व लिने वाचा गरे । पत्रकारहरुको दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष आचार्यले भने ‘पत्रकार महासंघका सबै सदस्यहरुलाई तालिम दिउँ, दक्ष बनाऊँ, त्यसो भयो भने कामबाट निकालिनुपर्ने अवस्था नै रहँदैन ।’ सम्वन्धित सञ्चारमाध्यममै कार्यरत श्रमजीवि पत्रकारको स्वायत्ततासहितको ट्रेड युनियन गठन गर्नका लागि प्रोत्साहन गरेर श्रम ऐन अनुसार पारिश्रमिक जस्ता समस्या समाधानमा सहजीकरण गर्ने आचार्यको योजना छ । व्यबसायिक पत्रकारिता र पत्रकारहरुको पेशागत व्यबसायलाई सुरक्षित राख्न मिडियालाई पनि आर्थिक रुपमा आत्मनिर्भर बनाउनु पर्ने भएकाले लोककल्याणकारी विज्ञापनलाई समानुपातिक रुपमा वितरण गरेर मात्रै नपुग्ने भएकाले विभिन्न छुटहरु दिन राज्यलाई सुझाव दिएको बताए । ‘मिडिया आत्मनिर्भर भएपछि मात्रै कर्मचारीका हक अधिकार सुरक्षित हुन्छ आचार्यले’ भने सञ्चारमाध्यमलाई सवारी साधन खरिदमा छुट, सञ्चार सामाग्री तथा विद्युतमा छुट दिन सकिन्छ ।’ पत्रकारहरुले पनि मनलाग्दी लेख्छन भन्ने धेरै सुन्ने गरिएको उल्लेख गदै उनले भने त्यसलाई कानुन बनाएर नियन्त्रण गर्न सकिन्छ, तर वैधानिक सञ्चारमाध्यमले सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई नियन्त्रणमा लिएर थुन्न पाईन्न । सबै सञ्चारमाध्यमलाई पनि आन्तरिक आचारसंहिता बनाएर लागु गर्न आग्रह गर्दै अध्यक्ष आचार्यले तीन वर्षे कार्यकालमा केहि नयाँ काम गर्ने योजनाका साथ आएकाले साथ दिन सबैलाई आग्रह गरे । श्रमजीवि पत्रकार ऐनमा पनि केहि अव्यबहारिक बुँदाहरु रहेकाले त्यसलाई हटाएर जाने योजना बनाएको उल्लेख गरे । कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रवन्धक तथा प्रतिष्ठान शाखाका केन्द्रीय सभासद गोविन्द रोका सचिनले नवनिर्वाचित अध्यक्षलाई घोषणा गरिएका लोकप्रिय योजना कार्यान्वयन गर्न आग्रह गरे । आधा पत्रकार र आधा मिडिया मालिक हुनुपर्ने भएकाले महासंघलाई पुरै ट्रेड युनियनका रुपमा स्वीकार गर्न नसकिएको उनको दावी छ ।
दक्षिण कोरियामा नेपालीको आत्महत्या बढ्दो, मालिकको व्यवहार र अत्याधिक वितृष्णा मुख्य कारण
काठमाडौ। वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान युवाहरुको आकर्षण बढेपनि त्यहाँ गएका नेपालीले आत्महत्या गर्ने घटना बढ्दै गएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखा तथा अंकुर नेपालको संयुक्त आयोजनामा शुक्रबार राजधानीमा आयोजित ‘गणतन्त्र कोरियामा नेपालीको आत्महत्याको कारण र समाधान’ विषयको कार्यशाला गोष्ठीका सहभागीले पछिल्लो दिनमा कोरियामा आत्महत्याका घटना बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । कोरियामा काम गर्दै गरेका नेपाली श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले कोरियामा नेपालीको आत्महत्याका घटना बढ्नु संवेदनशील भएको भन्दै यसलाई घटाउन नेपाल सरकारले आवश्यक पहल गर्ने बताए । कार्यक्रममा कोरियाको मानव संशाधन विभागका निर्देशक किम कि उक्ज्युले कोरियामा नेपालीको आत्महत्या दर बढ्दो रहेको स्वीकार गर्दै कोरिया प्रस्थान पूर्व स्वास्थ्य परीक्षण गरिएता पनि मनोवैज्ञानिक परीक्षण नगरिँदा समस्या आएको बताए । विदेशको जीवन र काम स्वदेशको भन्दा बिल्कुल फरक हुने तथ्यलाई आत्मसात् नगर्दा रोजगारीमा गएकाले आत्महत्याको बाटो अँगालेको हुनसक्ने उनको भनाइ छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका नेपाल निर्देशक बाबुराम खतिवडाले सन २००८ देखि २०१७ अगस्टसम्म १३८ नेपालीको कोरियामा मृत्यु भएको जानकारी दिए । मृत्युहुने मध्ये इपिएस भाषा परीक्षामार्फत गएका ७७ जना रहेको त्यसमध्ये ठूलो संख्या आत्महत्या गर्ने रहेको बताए । उनका अनुसार सन् २०१७ मा मात्रै १६ को मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी आत्महत्या गर्ने रहेका छन् । कोरियामा नेपाल सरकारका तर्फबाट श्रमसहचारीका रुपमा काम गरेर एक वर्षअघि फर्केका अनिल गुरुङले आफ्नो चार वर्षे कार्यकालमा १३० जनाको मृत्यु भएको र तीमध्ये ३६ जनाले आत्महत्या गरेको विवरण दिए । उनका अनुसार अत्यधिक वितृष्णा, घरपरिवारको व्यवहार, उच्च महत्वाकांक्षा, सहकर्मी एवं मालिकको व्यवहार, मानसिक तनाव जस्ता कारण आत्महत्या गर्नेको संख्या बढेको हो । रासस