शंकर पोखरेलको घोषणाः ५ वर्षपछि ५ नंम्बर प्रदेशका युवाले विदेश जानु पर्दैन

दाङ । दाङ निर्वाचन क्षेत्र नं. २ (१)का प्रदेशसभा सदस्य पदका उम्मेदवार शंकर पोख्रेलले आफूले जितेमा ५ बर्षमा प्रदेश नं. ५ का कुनैपनि युवा रोजगारीका लागि विदेश जानु नपर्ने दाबी गरेका छन् । रिपोटर्स क्लव नेपाल दाङ शाखाले आइतबार तुलसीपुरमा आयोजना गरेको चुनावी कार्यक्रममा उनले सक्षम आगामी पाँच बर्षपछि प्रदेश नम्बर ५ का कुनै पनि युवाले विदेश जानु नपर्ने बताएका हुन् । नेकपा एमालेका स्थानीय कमिटी सदस्य पोख्रेलले आफूले जितेमा प्रदेश नं. ५ को मुख्य मन्त्री बन्ने र हरेक युवालाई कुनै न कुनै खालको तालिम तथा सिप प्रदान गर्ने बताए । हरेक युवाको स्वास्थ्य बीमा गराउने बताएका पूर्व मन्त्री पोख्रेलले सक्नेले आफै त्यो बीमा गर्ने र नसक्नेको बीमा राज्यले गरिदिने घोषणा पनि गरे । उनले आफूले जितेमा दामोदर मार्गलाई बैकल्पिक मार्गको रुपमा विकास गर्ने पनि बताए । नेता पोख्रेललले प्रदेश नं. ६ संग सम्वन्ध विस्तारका लागि ५ बबर्षभित्रै तुलसीपुर–सुर्खेत सडक खण्ड कालोपत्रे गरिसक्ने, रोल्पा हुँदै पूर्वी रुकुम जान नयाँ राजगर्मा निर्माण गर्ने, घोराही–प्यूठान सडक खण्ड कालोपत्रे गर्ने आश्वासन बाँडे । दाङलाई सिंगो पश्चिमको यातायातको हव बनाउनका लागि आफूहरुले लुम्बिनीदेखि नेपालगञ्जसम्म रेल कुदाउने सपना देखेको पूर्व मन्त्री समेत रहेका नेता पोख्रेलले बताए । त्यस्तै उनले दाङमा क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्नका लागि सम्भाव्यता अध्ययन सुरु भइसकेको उनले बताए । महाभारत र चुरे रेञ्जमा हिल स्टेसन निर्माणगरि पर्यटन प्रवद्र्धन गर्ने योजना सुनाएका एमाले नेता पोख्रेलले स्वर्गद्धारी, छिल्लिकोट, दंगीशरण जस्ता क्षेत्रहरुलाई पर्यटकिय क्षेत्रका रुपमा विकासगर्ने आश्वासन बाँडेका थिए । थारु कला र संस्कृतिको जगेर्नागर्नका लागि होमस्टे निर्माण गर्नेदेखि जिल्लामा खानेपानी र सिंचाईको राम्रो प्रवन्ध गर्नका लागि बबई लगाएत यहाँका ग्वारखोला लगाएतका खोलाहरुमा उच्चवाँध बाध्ने योजना पनि उनले प्रस्तुत गरेका थिए । ‘म नै प्रेदश नं. ५ को मुख्य मन्त्री हुने हो र त्यसपछि दाङ राजधानी बन्ने संभावना तयार हुन्छ ।’ नेता पोख्रेलले भने ।

एनबीआइले माछापुच्छ्रे बैंकका कर्मचारीहरुलाई विभिन्न तालिम दिने

काठमाडौं । नेशनल बैंकिङ इन्ष्टिच्युट(एनबीआई) र माछापुच्छ्रे बैंकबीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ । सो सम्झौता अनुसार एनबिआइले माछापुच्छ्रे बैंकका कर्मचारीहरुको कार्य क्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरेका छन् । बैंकमा हाल करिब ८५० कर्मचारी रहेका छन् ।

मतगणना प्रक्रियामा महिला प्रतिनिधि पठाउन आग्रह

चितवन । चितवन जिल्लाका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले मतगणना प्रक्रियामा उम्मेदवारका प्रतिनिधिका रुपमा महिलालाई मात्र समावेश गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघीय विकास नियोग (युएनडिपी)को सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम भरतपुरले मंगलबार यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । गएको स्थानीय तहको निर्वाचनमा मतगणनाका क्रममा उम्मेदवारका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिका–१९ को मतदान पुनः भएको थियो । सो पश्चात् तारको जाली लगाएर जालीभित्र प्रतिनिधिलाई राखेर मतगणना गरिएको थियो । मुख्य निर्वाचन अधिकृत शर्माले जिल्लामा एउटा फरक संस्कृतिको विकास गर्न आग्रह गर्दै मतगणनाका क्रममा सबै उम्मेदवारले महिला प्रतिनिधि पठाएमा गणना प्रक्रिया अरू बढी राम्रो हुने बताए । उनले भने, “महिला स्वभावतः शालीन र भद्र हुन्छन् । उनीहरुको आवाज ठूलो नहुने जसले सद्भाव खलबलिन नदिने बताउँदै मुख्य निर्वाचन अधिकृत शर्माले यसले निर्वाचनको विश्वसनीयता अझ बढेर जाने धारणा व्यक्त गरेका छन्। कार्यक्रममा सहभागी महिलाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दलहरुले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार नबनाएको गुनासो गर्दै निर्वाचनको प्रचार प्रक्रियादेखि मतगणनासम्म हुन सक्ने चुनौतीलाई समयमै आँकलन गरी सुरक्षा रणनीति बनाउनुपर्नेमा जोड दिएका छन् । निर्वाचन प्रक्रिया खर्चिलो भएको, आचारसंहिताको पालना कम भएको, सञ्चारमाध्यम र कर्मचारी निष्पक्ष बन्न नसकेको र मानव अधिकारकर्मी स्वतन्त्र नभएको गुनासो उनीहरुले व्यक्त गरेका थिए । सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले निर्वाचनपूर्व, निर्वाचनको समय र मतदानपछिको समयको सुरक्षा प्रबन्ध मिलाइएकाले ढुक्कसँग मतदान गर्न सबैमा आग्रह गरे । रासस