निफ ‘मेन इभेन्ट’मा प्रवेश, आउन थाले विदेशी अतिथि

काठमाडौं । आगामी चैत १९ देखि २३ सम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करणको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ । ‘विश्वका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलिचत्र महोत्सव’ भन्ने नाराका साथ फ्युचर फर्वाड थिममा आयोजना हुन लागेको यस महोत्सवको प्राविधिक र व्यवस्थापकीय पक्षलाई आयोजक समितिले अन्तिम रूप दिएको हो । निफका अध्यक्ष केपी पाठक भन्छन्, ‘प्रि-इभेन्ट सकिए लगत्तै हामी मेन इभनेन्ट प्रवेश गरेका हौं । विदेशी अतिथिहरू आउने क्रम सुरु भइसक्यो ।’ निफको उद्घाटन समारोहका विशेष अतिथि बलिउडका प्रसिद्ध निर्देशक रमेश सिप्पी भने १८ गते साँझ ६ बजे नेपाल आइपुग्ने उनले बताए । उनीसहित कलाकार किरण जुनेजा र नेपाली मुलका भारतीय चलचित्र निर्माता निलकण्ठ रेग्मी पनि निफमा सहभागी हुनेछन् । चैत १९ गते सिभिल मलमा हुने उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेतको उपस्थिति रहने बताइएको छ । निफको दोस्रो दिन चैत २० गते दिउँसो ३ बजे पर्यटन बोर्डमा निर्देशक सिप्पी र महानायक राजेश हमालबीच ‘सिनेमा संवादः रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकको संवाद कार्यक्रम तय भएको छ । जहाँ उनीहरूले आफ्नो व्यक्तिगत अनुभव, सिनेमा क्षेत्रको यात्रा र सिनेमाको भविष्यबारे केन्द्रित रहेर कुराकानी तय भएको आयोजकले बताए । त्यस्तै, युवा मेकरहरुलाई लक्षित गरी निफमा पाँच दिने एआई फिल्म वर्कसप पनि राखिएको छ । निफ अविधभर यो जारी रहनेछ । निफका संयोजक शिव पुरी भन्छन्, ‘यो फिल्म निर्माणमा एआईको प्रयोगबारे वर्कसप हो ।’ यस वर्कसपमा नेपाली विज्ञहरूले एआई-डिजिटल कन्टेन्टबारे कानुनी जटिलता र प्रतिलिपी अधिकारबारे पनि वर्कसप दिनेछन् । पुरी भन्छन्, ‘एआई प्रयोग गरी बनाएका सामाग्रीको कानुनी पाटोबारे पनि वर्कसपमा चर्चा हुन्छ ।’ त्यस्तै, निर्माताका खोजीमा रहेका लेखकहरूलाई उनीहरूको पहुँचमा पुर्‍याउने उद्देश्यले ‘फिचर पिच’ कार्यक्रम पनि राखिएको छ । जहाँ लेखकहरूले निर्मातालाई आफ्नो कथा सुनाउन पाउनेछन् । यो संस्करणमा ४० देशका ८८ फिल्मले प्रतिस्पर्धामा सहभागी भएका छन् । ६ वटा चिनियाँ र ४ वटा रुसी प्रतिस्पर्धाबाहिर रहेर विशेष प्रदर्शन गरिने आयोजकले बताएको छ ।   रसियन हाउसमा रसियन फिल्म डेज आयोजना गरिनेछ । अन्य दिन पनि यस स्थानमा प्रदर्शन हुने फिल्महरु निशुल्क हेर्न पाइनेछ । यसपटक निफमा सिजाङ प्यानोरमा पनि आयोजना गरिएको छ । जस अन्तर्गत ६ वटा चिनियाँ सिनेमा र वृतिचित्र प्रदर्शन गरिनेछ । पर्यटन बोर्ड र छायाँ सेन्टरमा यी फिल्महरू नि:शुल्क हेर्न पाइनेछ । प्रतिस्पर्धमा रहेका मध्येका फिल्महरु सिभिल मल र छाया सेन्टरमा भने सशुल्क प्रदर्शन हुनेछ । निफ अन्तर्गत १० वटा अन्तर्क्रियात्मक कार्यकम राखिएको छ । जसमा विभिन्न देशका मेकरहरुले ‌आफ्नो अनुभव सेयर गर्नेछन् ।  

आईएमई इलेक्ट्रिकले पायो मोटुल लुब्रिकेन्टको आउटस्ट्यान्डिङ बिजनेस पार्टनर अवार्ड

काठमाडौं । मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले दक्षिण एसियाबाट ‘आउटस्ट्यान्डिङ बिजनेस पार्टनर’ अवार्ड प्राप्त गरेको छ । भारतको कोचीमा सम्पन्न मोटुल इन्डिया एनुअल कन्फ्रेन्समा आईएमई इलेक्ट्रिकले सो अवार्ड पाएको हो ।  मोटुल इन्डिया एन्ड साउथ एसियाका सीईओ नागेन्द्र पाई, मोटुल एसिया प्यासिफिकका सीईओ लियोनेल डान्टियाक र मोटुल इन्डियाका चेयरम्यान खेतान ब्यासले आईएमई इलेक्ट्रिकका कार्यकारी निर्देशक निशान ढकाललाई सो अवार्ड हस्तान्तरण गरे ।  आईएमई इलेक्ट्रिकले गरिरहेको द्रुत विकास र यसले नेपालमा लुब्रिकेन्ट बजारमा पारेको   प्रभावलाई  सो मान्यताले पुष्टि गरेको छ ।  मोटुल कमर्सियल भेइकल, कार, मोटरसाइकल, थ्री ह्विलर, ट्रयाक्टर र इन्डस्ट्रियल सेक्टरका लागि हाइपर्फमेन्स लुब्रिकेन्ट उपलब्ध गराउने कार्यमा विशेषज्ञ मानिन्छ ।    

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार गरिएको चलचित्र ‘लालीबजार’ मा आफूले चाहेजस्तो काम गर्न पाएको र हालसम्म गरिरहेका भूमिकाभन्दा फरक रहेको बताएकी छिन् ।  उक्त चलचित्रको सार्वजनिक गीत तथा ‘टिजर’ लाई दर्शकले रुचाउँदै सकारात्मक प्रतिक्रिया दिएपछि अभिनेत्री खड्काले चलचित्र निर्माण गर्ने समूह षट्कोण आर्टसप्रतिको विश्वास र चलचित्रमा उठान गरिएको विषयवस्तुका कारण अभिनय गर्न थालेको एक दशकको यात्रा पार गरेपछि पहिलोपटक ‘अडिसन’ मार्फत चलचित्र ‘लालीबजार’ मा अभिनेत्रीका रूपमा अनुबन्धित भएको बताइन् ।  अभिनेत्री खड्काले भनिन्, ‘लालीबजार चलचित्रमा मैले अभिनेत्रीका रूपमा सोच्ने सबै काम गर्न पाएकी छु । यो विषयवस्तु मेरो लागि पनि नयाँ र फरक थियो । एउटा कलाकारका लागि यस्तो भूमिका निर्वाह गर्न पाउनु अवसर र चुनौती दुवै हो । मैले निर्वाह गरेको भूमिकाका बारेमा बिस्तारै खुल्दै गएपछि दर्शकले बुझ्नुहुन्छ ।  मैले हालसम्म गरेको कामभन्दा भिन्न छ ।’ उनले चलचित्रमा यौन पेसाकर्मी महिलाको भूमिका निर्वाह गरेकी छिन् । आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने उक्त चलचित्रमा अभिनेत्री खड्कासँगै रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, नवअभिनेता विशाल देवकोटाले अभिनय गरेका छन् ।  चलचित्रलाई यम थापाले निर्देशन गरेका छन् । चलचित्रको पटकथा तथा संवाद निर्देशक थापासँगै अर्का निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । उक्त चलचित्रलाई दीपेश खत्री र रवीन्द्रसिंह बानियाँले संयुक्त रुपमा निर्माण गरिएको हो ।