छुनुमुनुले गर्‍यो  वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र वरिष्ठ नाट्यकर्मी हरिहर शर्मालाई सम्मान

काठमाडौं । बाल नाट्य संस्था छुनुमुनुले वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र वरिष्ठ नाट्यकर्मी हरिहर शर्मालाई सम्मान गरेको छ ।  छुनुमुनुमा १ वर्षे नाट्य कक्षा पूरा गरेका बालबालिकाको दीक्षान्त समारोहको अवसर पारेर आयोजित कार्यक्रममा थापा र शर्मालाई जनही नगद ११ हजार १ सय ११ रूपैयाँ ताम्रपत्र दोसल्ला र भादगाउँले टोपी लगाएर सम्मान गरिएको हो ।  छुनुमुनुका अध्यक्ष युवा रंगकर्मी राजन भुजेलले आ(आफ्नो विधाका विराट प्रतिभालाई सम्मान गर्न पाउँदा छुनुमुनु संस्था नै गौरवान्वित भएको बताए । यस्तै, छुनुमुनुका वरिष्ठ सल्लाहकार तथा रंगकर्मी प्रभाकर न्यौपानेले नृत्य र नाट्य विधामा थापा र शर्माको योगदानको तुलना हुनै नसक्ने भन्दै संस्थाले आफ्नो गच्छेले भ्याएसम्मको सम्मान गरेर दुबै जनाको योगदानको स्मरण गर्न खोजेको बताए । सम्मानित व्यक्तित्व वरिष्ठ नृत्य निर्देशक थापाले नृत्य र अभिनय विधामा लागेर कला साहित्यको उन्नयनमा योगदान गर्ने सवैप्रति कृतज्ञता ज्ञापन गरे । अर्का सम्मानित व्यक्तित्व वरिष्ठ रंगकर्मी शर्माले उन्नत समाजमा सधैं कलाको सम्मान हुनाको साथै घरघर, विद्यालय र विश्वविद्यालयमा समेत रङ्गकर्म, नृत्यका साथै साहित्यका अन्य विधाको अध्ययन अध्यापन हुने गरेको स्मरण गरे ।  नेपालमा पनि विद्यालय तहमा रङ्गकर्ममा वालवालिकाको आकर्षण बढ्दै गएकोमा उनले प्रसन्नता व्यक्त गरे । कार्यक्रममा छुनुमुनुको १ वर्षे नाट्य कक्षा पूरा गरेका बालबालिकाले जुठो शीर्षकको नाटक प्रस्तुत गरेका थिए । उनीहरूलाई कोर्ष पुरा गरेको अवसरमा दीक्षान्त प्रमाण पत्र प्रदान गरिएको थियो ।

सर्वाधिक व्यापार गर्ने सूचीको चौथो स्थानमा परान, कमायो १७.५५ करोड रुपैयाँ

काठमाडौं । नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । नेपाली चलचित्र क्षेत्रमा ५१औँ दिनसम्म प्रदर्शन हुनुलाई ठूलो उपलब्धिको रूपमा लिइन्छ । दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्रले आज काठमाडौं उपत्यकामा रहेका आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, क्युएफएक्स सिटी स्क्वाएर मल, क्युएफएक्स भक्तपुर, सिके सिनेमाज, क्युएफएक्स लविम मल, आइएनआइ सिनेमा लोत्से मल, आइएनआई सिनेमा विश्वज्योति, बिएसआर मुभिज र उपत्यकाबाहिर बुटवलमा रहेको आइएनआई सिनेमाज क्युबक्स, इलाइट सिनेमा इटहरी, भीएफएक्स सिनेमाज, कावासोती सिनेमाज, क्युएफएक्स बागेश्वरी लगायतका चलचित्र भवनमा प्रदर्शनको ५१औँ दिन पूरा गरेको हो । ‘हामीले पारिवारिक कथालाई चलचित्रमार्फत आम दर्शकसम्म पुर्याएका छौँ । यसलाई उहाँहरूले आफ्नै घर र समाजको कथा भएकाले रुचाउनुभयो । हामीले व्यावसायिक र समीक्षात्मक दुवै रूपमा सफलता पाएका छौं,’ निर्देशक आचार्यले भने । चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रवीन खतिवडालगायतका कलाकारले अभिनय गरेका छन् । पुस ३ गतेसम्मको चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेपा-२ बक्सअफिस’ मा रहेको तथ्याङ्कअनुसार उक्त चलचित्रले देशव्यापी १७ करोड ५५ लाख ३४ हजार ५३० रुपैयाँ कमाएको छ । यो कमाइसँगै चलचित्र ‘परान’ सर्वाधिक व्यापार गर्ने चलचित्रको सूचीको चौथो स्थानमा छ । ‘सिनेपा २ बक्सअफिस’ मा रहेको तथ्याङ्कअनुसार ४६ करोड ८७ लाख रुपैयाँको कमाइ गर्दै ‘पूर्णबहादुरको सारङ्गी’ पहिलो स्थानमा, २१ करोड ४० लाख रुपैयाँको कमाइ गर्दै ‘कबड्डी ४ः द फाइनल म्याच’ दोस्रो स्थान, १९ करोड ९२ लाख रुपैयाँ कमाइ गर्दै ‘१२ गाउँ’ तेस्रो स्थानमा रहेको छ ।  साथै, चलचित्र ‘परान’ यो वर्षमा प्रदर्शनको ५१औँ पूरा गर्ने तेस्रो चलचित्र बनेको छ । यसअघि चलचित्र ‘ऊनको स्वीटर’ र ‘जेरीः अन टप’ ले उक्त सफलता पाएका थिए ।

राजेश हमाल अभिनित चलचित्र ‘प्रवासी जीवन’ फागुन १४ गते सार्वजनिक हुने

काठमाडौं । महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ ।  नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा फिल्मले बोकेको छ ।  फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा निर्देशन गरेका छन् । प्रवासीहरूको सुख दुःख, आरोह अवरोह र चुनौतीहरूलाई मुख्य विषयवस्तु बनाएर फिल्म तयार गरिएको निर्देशक मध्येका एक श्याम क्षेत्रीले बताए । उनले भने, ‘प्रवासमा पुग्ने जो कोहीले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउनु हुनेछ । हामीले भौतिक रूपमा देखिने दुःखका धेरै चर्चा गर्छौं तर मानसिक रुपमा भोहिरहेको यातनालाई वे–वास्ता गर्ने गरेका छौं । त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यलाई फिल्ममा देखाएका छौं ।’ उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने बताए ।  फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एन्जेला बस्नेत, गगन सुबेदि, लोकेश  भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् । ‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्यसमेत रहेको उक्त फिल्ममा अभिनेता हमाल र अभिनेत्री लामिछाने विषयवस्तुकै कारण जोडिएका हुन् । अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायाङ्कन गरिएको उक्त फिल्मलाई श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको छ । ‘डाईङ क्यान्डल’, ‘चक्कर’, ‘जय श्री दाम’, ‘केटीएम कक्टेल’, ‘सरिता’, ‘रोटन ब्लड’ जस्ता फिचर तथा छोटा फिल्म निर्माण तथा छायांकन गरेका रविन आचार्य निर्माता रहेको उक्त फिल्मको विषयवस्तुले नै कलाकारलाई आकर्षित गरेको हो ।  निर्माता आचार्यले अभिनेता हमाल फिल्मसँग जोडिनुलाई विषयवस्तुकै आकर्षणका रुपमा प्रस्ट्याए ।  ‘यसको विषयले एउटा सचेतना पनि दिन्छ, यो प्रवासी जीवनको उज्यालो र अध्यारोसँग जोडिएको कथा हो । हामीले निकै कम चर्चा गर्ने मानसिक स्वास्थ्यको समस्या र त्यसपछिको सुन्दर जीवनले प्रेरणा दिन्छ भन्ने हामीलाई लागेको छ । यो प्रवासमा रहेका आफ्नो परिवारको बारेमा बुझ्न पनि हेर्नु पर्ने एउटा फिल्म बनेको छ,’ निर्माता आचार्यले भने । सार्वजनिक पोस्टरको पृष्ठभूमिमा लेखिएको ‘मेन्टल हेल्थ’, ‘एञ्जाइटी’, ‘थेरापी’ जस्ता शब्दले फिल्मको विषयलाई सङ्केत गरेको छ । फिल्मको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् । यसमा अमृत बिसुवाले छायाङ्कन, राम अधिकारीले सम्पादन, सुवास सिन्चुरीले पाश्र्व सङ्गीत, देवी खतिवडाले शृङ्गार, राज शङकर र प्रतिक सार्कीले ध्वनी मुद्रण, नवीन कार्कीले सङ्गीत सिर्जना गरेका छन् भने प्रमोद खरेल र प्रताप दास जस्ता गायकले स्वर दिएका छन् ।  फागुन १५ देखि देशव्यापी प्रदर्शन हुने उक्त फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ