सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरें : अभिनेता हमाल
काठमाडौं । अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन् । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए । चलचित्र ‘नरसिंहा अवतार’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट गरे । 'मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ । तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ । चलचित्रको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठूलो पर्दामा पुनः आएँ', अभिनेता हमालले भने । उनले चलचित्रले मनोरञ्जनसँगै सामाजिक घटनालाई उजागर गरेको जानकारी दिए । निर्देशक दिवाकर भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः चलचित्रको पर्दामा ल्याउनु आफ्ना लागि अवसर र चुनौती रहेको बताए । 'अभिनेता हमालको प्रशंसक (फ्यान) का बारेमा मैले बोल्नै पर्दैन । त्यसैले उनलाई दर्शकको भावनाअनुरुप चलचित्रमा प्रस्तुत गर्नु मेरा लागि ठूलो चुनौती थियो । उनलाई हेर्न चलचित्र भवनसम्म आउनुहुने दर्शकले निराश हुनु पर्दैन, आफूले गरेको कामप्रति विश्वस्त छु । हाम्रो चलचित्रको मुख्य आकर्षण कथा नै हो, त्यहाँ परिवेशअनुसार सबै ‘पात्र’लाई सुहाउँदो भूमिकामा प्रस्तुत गरेको छु', निर्देशक भट्टराईले भने । उनले पछिल्लो समय प्रदर्शन भएका चलचित्रभन्दा ‘नरसिंहा अवतार’ फरक रहेकाले चलचित्र भवन पुग्ने दर्शकको समय र पैसाको सदुपयोग हुने दाबी गरे । उक्त चलचित्रमा अभिनेता हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाले अभिनय गरेका छन् । आगामी जेठ ९ गते नेपालभर प्रदर्शन हुने चलचित्र ‘नरसिंहा : अवतार’ लाई नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
डा. सुधन लम्सालले पाए वर्ल्ड बुक अफ रेकर्डबाट ‘इमिनेन्स अवार्ड’
काठमाडौं । वर्ल्ड बुक अफ रेकर्डले नेपालका डा. सुधन लम्साललाई 'इमिनेन्स अवार्ड' प्रदान गरेको छ । कजाकिस्तानको अल्माटीमा आयोजित विशेष समारोहमा सो अवार्ड प्रदान गर्दै लम्साललाई सम्मान गरेको हो । उनलाई यो सम्मान ज्ञान प्रवर्द्धन, आलोचनात्मक सोचको विकास, र समग्र व्यक्तित्व विकासमा पुर्याएको उल्लेखनीय योगदानको आधारमा प्रदान गरिएको हो । उक्त समारोहमा विभिन्न राष्ट्रका विशिष्ट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । जसले कार्यक्रमको अन्तर्राष्ट्रिय महत्वलाई झल्काउने गर्दछ । लण्डन, बेलायतमा मुख्यालय रहेको वर्ल्ड बुक अफ रेकड्र्सले विश्वभर असाधारण उपलब्धी हासिल गरेका व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । 'इमिनेन्स अवार्ड' उत्कृष्टता प्रदर्शन गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफल व्यक्तिहरूलाई प्रदान गरिन्छ । विश्वस्तरको प्रतिष्ठित व्यक्तित्वहरुले पाउने सम्मान नेपालबाट आफुलाई पदान गरेकोमा उनले खुशी व्यक्त गरे । नेपालको शिक्षाक्षेत्र तथा युवा विकासमा रहेको अग्रणी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न पाउनु नै गर्वको कुरा रहेको उनी बताउँछन् । जापान, इजिप्ट, दुवै, टर्की, सिंगापुर, मलेसिया, थाइल्याण्ड, चीन, काजकिस्तान लगायतका देशहरुमा गएर उनले थुप्रै तालिम र कार्यशालाहरू सञ्चालन गरिसकेका छन्, जसमा शिक्षा, कर्पोरेट, र अन्तर्राष्ट्रिय संस्थाहरू समावेश छन् । लम्साल एक प्रतिष्ठित कार्यक्रम, तालिम र संचार निर्देशक पनि हुन् । उनले इमोशनल इंटेलिजेन्स, एप्रिसिएटिव इन्क्वायरी, पर्सनालिटी डेवलपमेन्ट, क्यारियर काउन्सिलिङ, र जीवनको दृष्टिकोण व्यवस्थापनसम्बन्धी युवा प्रोत्साहन कार्यक्रमहरू गर्दै आएका छन् । उनी विभिन्न प्रवृत्तिका कार्यक्रमहरू डिजाइन गर्दै सामुदायिक विद्यालय र नेतृत्व प्रशिक्षण कार्यशालाहरू, जसले आधुनिक शिक्षा प्रणालीलाई प्रवर्द्धन गर्दै युवा सशक्तिकरणको लागि नयाँ दृष्टिकोण ल्याउनको लागि काम गर्दैछन् । डा. लम्सालको उपलब्धि समर्पण, सृजनशीलता र उत्कृष्टताको प्रेरणादायी प्रतीक बन्न पुगेको छ ।
प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै
काठमाडौंं । प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘झिल्को द स्पार्क’ आजदेखि देशभर प्रदर्शनमा आउँदैछ । बालमनोविज्ञान, पारिवारिक सम्बन्ध र सामाजिक संवेदनशीलता जस्ता विषयमा केन्द्रित यो चलचित्रले अभिभावक, शिक्षक र नीतिनिर्मातालाई पनि सोच्न बाध्य बनाउने अपेक्षा गरिएको छ । यसअघि काठमाडौंको आईएनआई सिनेमा, एनबी सेन्टरमा आयोजित भव्य प्रिमियर समारोहमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्य रहेको थियो । उनले चलचित्रले उठाएको विषय सामाजिक दृष्टिले अत्यन्तै सान्दर्भिक रहेको बताउँदै ‘झिल्को’ जस्ता फिल्म बालबालिकाको मनोविज्ञान बुझ्न आवश्यक रहेको धारणा राखेकी थिइन् । फिल्ममा सुनिल पोख्रेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, आयुषी ढकाल, जेभिन जेभिस र जान्वी बस्नेतको अभिनय देख्न सकिन्छ । विशेषगरी आयुषी ढकालले निर्वाह गरेको बाल पात्रको भूमिकालाई दर्शकले अत्यन्त मन पराएका छन् । ‘मिडिया फर कल्चर प्रालि’ को ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्देशन यादवकुमार भट्टराईले गरेका हुन् । कथा तथा पटकथा उनले अरुण देव जोशी र देव व्रतसँग सहकार्यमा तयार पारेका हुन् । निर्माण टिममा कार्यकारी निर्माता उमेश पौडेल तथा निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, साउन्ड मिक्सिङ श्याम कुँवर र उत्तम न्यौपानेले गरेका छन् ।