डिशहोम गोमार्फत नेपाली चलचित्र ‘जय हो’ र ‘लाखे’ हेर्न सकिने
काठमाडौं । नेपाली चलचित्रप्रेमी दर्शकहरूका लागि डिशहोम गोले थप दुई चर्चित नेपाली चलचित्र ‘जय हो’ र ‘लाखे’ उपलब्ध गराएको छ । दर्शकहरूले नेपालभित्र २२५ रूपैयाँ र नेपाल बाहिर युएसडी १.९९ मात्र तिरेर डिशहोम गोमार्फत यी चलचित्र हेर्न सक्नेछन् । टेक पौराखी राईको निर्देशनमा बनेको ‘जय हो’ सशक्त एक्सन–ड्रामा विधाको चलचित्र हो । चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङको प्रमुख अभिनय रहेको छ । राज के. अधिकारी र सुरज सरकार निर्माता रहेको यस चलचित्रले सामाजिक अन्याय र भ्रष्टाचारविरुद्ध संघर्षरत एक दृढ पात्रको कथा प्रस्तुत गर्छ । व्यक्तिगत पीडा र सामूहिक संघर्षमार्फत परिवर्तनको सन्देश दिने ‘जय हो’ दर्शकमाझ फरक प्रभाव छोड्न सफल भएको छ । त्यसैगरी, सम्राट बस्नेतको निर्देशनमा बनेको ‘लाखे’ नेपाली लोककथा र नाट्य तत्वको संयोजनमा आधारित चलचित्र हो । सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनूप बिक्रम शाही र वर्षा राउतको अभिनय रहेको यस चलचित्रका निर्माता सिजन अर्याल, जी.एम. ठाकुरी र डीपी भण्डारी हुन् । परम्परागत विश्वास, समुदाय र लाखे पात्रको माध्यमबाट आशा र डरको कथा प्रस्तुत गर्ने ‘लाखे’ ले दर्शकलाई फरक स्वादको सिनेमाई अनुभव दिन्छ । डिशहोम गो एक आधुनिक डिजिटल मनोरञ्जन प्लेटफर्म हो, जहाँ नेपाली तथा विदेशी चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, खेलकुद, सर्ट फिल्महरू तथा नेपाली भाषामा डब गरिएका कोरियन ड्रामा लगायत विविध सामग्री सहज रूपमा हेर्न सकिन्छ । जहाँसुकै र जुनसुकै बेला गुणस्तरीय मनोरञ्जनका लागि डिशहोम गो दर्शकहरूको भरपर्दो डिजिटल साथी बन्दै गएको छ ।
'एलओडी क्लब' डिजे म्यागको पुन: नोमिनेसनमा
काठमाडौं । ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२६ का लागि क्याम्पेनमा एलओडी पुन: परेको हो । डिजे म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । यस वर्ष पनि एलओडी क्लबले टप १०० क्लबको सूचीमा परेकाले भोट गर्न अपिल गरेको छ । एलओडी नेपालको वेभसाइटमा गएर डिजे टप १०० क्लबमा क्लिक गरेर भोट गर्न सकिने छ । मतदान गर्न वा गुगलको वा एप्पलको अप्सन आउँछ । डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा 'सबमिटमा' क्लिक गर्नुपर्छ । प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् । अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडी लेख्दै काठमाडौं सहरको नाम उल्लेख गर्नुपर्नेछ । एलओडी डिजे म्याग टप १०० को छनौटका लागि नोमिनेशनमा पर्दा राष्ट्र सँगसँगै जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए । छनौटमा सय क्लबको छनौटमा पर्न सफल भएमा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने रहेछन् भनेर प्रमाणित गर्न सकिने उनको भनाइ छ । विश्वका उत्कृष्ट क्लबहरूमध्ये एलओडी ४४ औँ स्थानमा रहेको छ । सन् २०१९ मा स्थापना भएको एलओडीले साउन्ड, अत्याधुनिक लाइटिङ र सांगीतिक वातावरणको उच्चतम माहोल बनाएको श्रेष्ठले बताए । उनका अनुसार साउन्ड र लाइट सिस्टमलाई स्तरोन्नति गर्दै पाहुनाहरूका लागि अझ सहज र सुरक्षित वातावरण बनाएको छ । 'एलओडी क्लब केवल एउटा नाइटक्लब मात्र होइन, यो नेपाली संस्कृति, प्रतिभा र राष्ट्रिय गौरवको प्रतीक पनि बनेको छ,' उनले भने, 'नेपाली संस्कृति र परम्परालाई समर्पित विशेष कार्यक्रमहरू मार्फत क्लबले नेपाली पहिचानलाई विश्वमञ्चमा प्रवर्द्धन गर्दै आएको छ । जसले राष्ट्रिय एकता र गर्वको भावना अझ बलियो बनाएको छ ।' एलओडी क्लब विदेशी र स्वदेशी पर्यटक दुवैका लागि ठमेलको एउटा गन्तव्य बनिसकेको उनले बताए । एलओडी क्लब सन् २०२२ मा ५२,२०२३ मा ४९, २०२४ मा ५० र २०२५ मा ४४ औँ स्थानमा परिसकेको छ । एलओडी क्लबले केही वर्षमै आफ्नो उत्कृष्ट स्थान बनाएर विश्वस्तरीय पहिचान बनाइसकेको क्लबका निर्देशक श्रेष्ठले बताए ।
६ लाख २८ हजारले हेरे परान, मुगलानको कमाई ६ लाख रुपैयाँ
चलचित्रको व्यावसायिक विवरण सार्वजनिक काठमाडौं । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको हो । गत मङ्सिर १२ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘हर्ष’ ले पुस १९ गतेसम्म २८ लाख ७८ हजार ८३६ रुपैयाँ आम्दानी गरेको छ । एकता पौडेलले निर्देशन गर्नुभएको चलचित्र ‘हर्ष’ का लागि जम्मा ८ हजार ८६८ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा खगेन्द्र लामिछाने, सन्तोष पन्त, नीर शाह, वर्षा राउतलगायत कलाकारले अभिनय गरेका छन् । गत मङ्सिर १८ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘अभिमन्यूः च्याप्टर १’ ले सोही अवधिसम्म २१ लाख ५८ हजार ४०२ रुपैयाँ कमाइ गरेको छ । सुशान्त गौतमले निर्देशन गरेको उक्त चलचित्रको ६ हजार ८९२ वटा टिकट बिक्री भएका छन् । चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरीलगायत कलाकारले अभिनय गरेका छन् । मङ्सिर २६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘पीआर’ ले सोही अवधिमा ६ लाख ८२ हजार २८३ रुपैयाँ कमाइ गरेको छ । उक्त चलचित्रको कूल २ हजार १६६ वटा टिकट बिक्री भएका छन् । शोभित बस्नेतले निर्देशन गर्नुभएको उक्त चलचित्रमा सुरज पौडेल, विनिता कार्की, नीर शाह, गौरी मल्ललगायत कलाकारले अभिनय गरेका छन् । गत पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ पनि घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गर्न सकेको छैन । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले निर्देशन गरेको उक्त चलचित्रले सोही अवधिमा ९३ लाख ८३ हजार ५१६ रुपैयाँ कमाइ गरेको छ । उक्त चलचित्रका लागि कूल २९ हजार ६८३ वटा टिकट बिक्री भएका छन् । भ्रष्टाचार र बेथिति विरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपालीलगायतका कलाकारले अभिनय गरेका छन् । गएको पुस १० गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘मुगलान’ ले ६ लाख ५ हजार २९४ रुपैयाँ कमाइ गरेको छ । अभिनेता प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारीलगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रको २ हजार २८८ वटा टिकट बिक्री भएका छन् । आशिष ढकालको निर्देशनमा तयार भएको उक्त चलचित्रले निकै न्यून कमाइ गरेको छ । हाल प्रदर्शनरत चलचित्रमध्ये गत कात्तिक १४ गतेदेखि प्रदर्शन सुरू भएको ‘परान’ ले १७ करोड ७१ लाख १७ हजार ८३० रुपैयाँ कमाइ गरेको छ । दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्रले प्रदर्शनको ५१ औँ दिन पूरा गर्दा गएको शनिबारसम्म ६ लाख २८ हजार ७९३ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, सुव्रत आचार्य लगायतले अभिनय गरेका छन् । चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी चलचित्रको व्यावसायिक विवरण सार्वजनिक हरेक सोमबार गर्दै आएको छ ।