‘यो नेपाली शिर उचाली: सिजन-२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली शिर उचाली : सिजन-२’ (बुधबार) भोलिदेखि प्रसारण हुने भएको छ । कार्यक्रम प्रत्येक साता साँझ ८ः३० बजे हिमालय टेलिभिजन मा प्रसारण हुनेछ । साथै, दर्शकले कार्यक्रम ‘यो नेपाली शिर उचाली’ युट्युब च्यानलमार्फत पनि हेर्न सक्नेछन् । कार्यक्रममा हमालले विदेशी भूमिमा संघर्ष गर्दै उल्लेखनीय सफलता हासिल गरेका नेपालीहरूसँग उनीहरूको कर्मथलोमै पुगेर संवाद गर्नेछन् । दोस्रो सिजन अष्ट्रेलिया केन्द्रित रहने जनाइएको छ । अष्ट्रेलियाका विभिन्न सहरमा विविध क्षेत्रमा सफलता हासिल गरेका नेपालीहरूको जीवनकथा कार्यक्रममा समेटिनेछ । मुभ मिडिया प्रालिले निर्माण गरेको कार्यक्रम अष्ट्रेलियामा एसजिटी प्रोडक्सनको सहकार्यमा छायांकन गरिएको हो । कार्यक्रमका कार्यकारी निर्माता विवेक रेग्मीले पहिलो सिजनझैं दोस्रो सिजन पनि १३ भागको हुने जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रममा प्रस्तुत गरिएका कथाहरू विश्वभर रहेका नेपालीका लागि प्रेरणादायी बन्नेछन् । विदेशमा रहेका नेपालीको ज्ञान, सीप र अनुभवलाई स्वदेशसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा कार्यक्रमले सकारात्मक बहसको सुरुआत गर्ने विश्वास उनले व्यक्त गरे । ‘यो नेपाली शिर उचाली’ को पहिलो सिजन गत वर्ष युरोपबाट सुरु गरिएको थियो । निर्माता रेग्मीका अनुसार आगामी दिनमा कार्यक्रममार्फत विश्वभर छरिएका नेपालीहरूको संघर्ष र सफलताका कथाहरू क्रमशः प्रस्तुत गरिँदै जानेछ ।

काठमाडौंमा दुई दिने सांगीतिक उत्सव सम्पन्न

काठमाडौं ।  राजधानीमा दुई दिने अन्तर्राष्ट्रिय सांगीतिक महोत्सव सेकरेड हिमालयज २०२६ सम्पन्न भएको छ । युनिभर्स अफ साउन्ड र काठमाडौं युथ अर्केस्ट्राको संयुक्त आयोजना रहेको महोत्सव वैशाख २६ र २७ गते होटेल दुसित प्रिन्सेसमा सञ्चालन भएको हो ।  महोत्सव संगीत केवल मनोरञ्जनको साधन मात्र नभई ब्रह्माण्ड र आफूलाई बुझ्ने माध्यम रहेको सन्देश दिँदै सम्पन्न भएको हो । महोत्सवको पहिलो दिन रुट्स् एन्ड अवेकनिङ शीर्षकमा केन्द्रित थियो । मंगलमान महर्जन, ब्रबिम महर्जन र राजन महर्जनले ओपनिङ ब्लेसिङ अफ साउन्ड मार्फत कार्यक्रमको सौम्य सुरुवात गरेका थिए ।  हिमालयन सिङ्गिङ बाउल र गोङको गहिरो कम्पनले हलमा उपस्थित सबैलाई ध्यानमग्न अवस्थामा पु¥याएको थियो । त्यसलगत्तै गायिका सुगमा गौतम, सलिना बिक, तबला वादक जगन्नाथ धौगोडा र बाँसुरी वादक नागेन्द्र राईको सुमधुर जुगलबन्दीले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो । पहिलो दिनको प्यानल छलफलमा मंगलमान महर्जन, ब्रबिम महर्जन, अमेलिया कांग, कालिन योंग र दुर्गामणि मरानले संगीतका विविध आयाममाथि प्रकाश पारेका थिए । कार्यशालामा तबला वादक तथा कार्यक्रम संयोजक न्हुच्छे मुनिकार र नृत्यकार कृपा बज्रचार्यले शरीरमा सकारात्मक ऊर्जा जागृत गर्ने कला सिकाएको थियो । सोही अवसरमा काठमाडौं युथ अर्केस्ट्राद्वारा प्रकाशित संग्स अफ नेपाल (नेपालका गीतहरू) नामक पुस्तकको लोकार्पण समेत गरिएको थियो । महोत्सवको दोस्रो दिन साइन्स, सोल एन्ड सिम्फनी सत्रमार्फत ध्वनिको वैज्ञानिक र आध्यात्मिक पक्षलाई जोडिएको थियो । त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा. अर्जुन आचार्यले ध्वनिको कम्पनले मानव स्नायु प्रणालीमा पार्ने सकारात्मक प्रभावबारे रोचक चर्चा गरेका थिए । महोत्सवको समापन भने निकै उल्लासमय रह्यो । डा. जोन शाप्र्लीको नेतृत्वमा काठमाडौं युथ अर्केस्ट्राले प्रस्तुत गरेको स्प्रिङ कन्सर्ट सबैको आकर्षणको केन्द्र बन्यो । उक्त कन्सर्टमा नेपालको राष्ट्रिय गानदेखि मंगल धुन, ’कान्छी मट्याङ ट्याङ’, राजमती कुमती’, ’उकाली ओरालीहरूमा’, ’सीलु’ जस्ता मौलिक धुनहरूलाई अर्केस्ट्राको शैलीमा प्रस्तुत गरिएको थियो । त्यतिबेला हलमा उपस्थित दर्शकहरू हर्षविभोर भएका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वरिष्ठ हाँस्यकलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको गरिमामय उपस्थिति रहेको थियो । सन् २०१८ मा सिङ्गापुरबाट यात्रा सुरु गरेको युनिभर्स अफ साउन्ड अभियानले यसपटक नेपालको भूमिमा आफ्नो सांगीतिक सुगन्ध फैलाएको हो । सेकरेड हिमालयज २०२६ का परिकल्पनाकार तथा निर्देशकद्वय संगीतकार डा. जोन शाप्र्ली र सिङ्गापुरकी साउन्ड हिलर अमेलिया काङले महोत्सवले संगीत, नृत्य र ध्वनिलाई अनुभव गर्ने एउटा साझा मञ्च प्रदान गरेको बताए  । डा. शाप्र्लीले भने, ‘सारा ब्रह्माण्ड नै एउटा कम्पन हो र ध्वनि भनेको अनुभवमा ढालिएको ऊर्जा हो ।’ अमेलिया काङले आफ्नो सन्देशमा यो उत्सव प्रश्नहरूको उत्तर खोज्न नभई स्वयंलाई महसुस गर्नका लागि भएको बताए ।  आयोजक संस्था काठमाडौं युथ अर्केस्ट्राका संस्थापक सबिन मुनिकारले यस महोत्सवलाई नेपाली संगीतलाई विश्वव्यापी मञ्चमा नयाँ ढंगले चिनाउने एक ऐतिहासिक अवसरका रूपमा व्याख्या गरे ।

लालीबजार महिलाले छोरीका लागि गाउँ, समाज र समुदायसँगै राज्यसँग गर्ने सङ्घर्षको कथा हो : अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय चरित्र बाच्ने अभिनेत्रीको रुपमा परिचित छिन् । ‘होस्टेल रिटन्स’ नामक चलचित्रमार्फत अभिनय यात्राको सुरुआत गरेकी अभिनेत्री खड्कालाई चर्चित गीत ‘कुटुमा कुटु’ ले आम दर्शकमाझ परिचित गरायो । उनलाई ‘कुटुमा कुटु गर्ल’ भनेर उपनाम समेत दिइयो । सुन्दरीका रूपमा मात्र नभई गम्भीर र चरित्रप्रधान भूमिकामा पनि स्थापित गर्न सफल अभिनेत्री खड्कालाई ‘बुलबुल’ को ट्याम्पो चालक र ‘चिसो मान्छे’ मा सुदूरपश्चिमको लवजसहितको सशक्त भूमिकाले मात्र बाच्ने अभिनेत्रीको रुपमा स्थापित गर्यो । यिनै अभिनेत्री खड्काले अभिनय गरेको चलचित्र ‘लालीबजार’ पछिल्लो समय चर्चामा छ । आजदेखि प्रदर्शन हुने उक्त चलचित्रमा अभिनेत्री खड्काले आमाको भूमिका निर्वाह गरेकी छन् । हिजो साँझ कलाकार, चलचित्र निर्माता र सञ्चारकर्मीहरुको उपस्थितिमा राजधानीमा यस चलचित्रको प्रिमियम–शो भएको थियो । उक्त चलचित्रमा अभिनेत्री खड्काले वादी समुदायको महिलाको भूमिका निर्वाह गरेकी छन् । उक्त चलचित्रको सार्वजनिक पहिलो पोस्टरमै अभिनेत्री खड्काको चर्चा भएको थियो । गर्भवती महिला ढोकामा शृङ्गार गरेर उभिरहेको पोस्टरमार्फत अभिनेत्री खड्काले चर्चा बटुलेकी थिइन् । प्रस्तुत छ, उनै अभिनेत्री खड्कासँग उनको कला यात्राका बारेमा गरेको कुराकानीको सम्पादित अंश : अभिनयप्रतिको लगाव कसरी भयो ? सायद टेलिभिजन हुनसक्छ । म सानी छँदा टेलिभिजनमा धेरै शृङ्खला आउथ्यो, हामी सबै परिवार बसेर टिभी हेथ्र्यों । त्यतिबेलादेखि हामी टेलिभिजनमा देखिएजस्तै अभिनय गर्ने गथ्र्यौं । त्यसैले मलाई कलाकारितामा आकर्षित गरेको हुनसक्छ । चलचित्रमार्फत अभिनय यात्रा कसरी सुरुआत भयो ? म अध्ययन नै गरिरहेकी थिएँ । सोही क्रममा म सौन्दर्य प्रतियोगिता ‘मिस टिन’ मा सहभागी भएँ । त्यसपछि म ‘मोडलिङ’ गर्दै थिएँ, केही ‘म्युजिक भिडिओ’ मा समेत अभिनय गरेँ । तर, त्यो विस्तारै भइरहेको थियो । सोही क्रममा निर्माता सुनिल रावलले मलाई चलचित्रमा अभिनय गर्न प्रस्ताव गर्नुभयो । मैले अभिनय गर्ने मनसाय बनाएको थिइन्, तर एक पटक भेटेर कुरा गर्ने भन्ने भयो । भेटघाटका क्रममा चलचित्रको कार्यशाला भइरहेको थियो । त्यो माहोलले मलाई चलचित्रमा अभिनय गर्न प्रेरित गर्यो तर त्यो अर्कै चलचित्रको लागि थियो, पछि मेरो सहकार्य सोही समूहसँग ‘होस्टल रिटन्स’मार्फत भयो । ‘कुटुमा कुटु’ गीतमा कसरी नृत्य गर्ने अवसर जुर्यो ? मैले विस्तारै अभिनय यात्रा प्रारम्भ गरेकी थिएँ । मेरो विवाह निर्देशक निश्चल बस्नेतसँग भइसकेको थियो । ‘कुटुमा कुटु’ गीत रहेको चलचित्र ‘दुई रुपैयाँ’ मा मेरो श्रीमान् निश्चल पनि निर्माण र अभिनयमा सहभागी हुनुहुन्थ्यो । उक्त समयमा एउटा गीतमा अतिथि भूमिका गर्नुपर्ने भएकाले मलाई नै प्रस्ताव गरिएको थियो । त्यो समयमा विस्तारै लोक गीतसङ्गीत चलचित्रमा प्रयोग हुन् थालेको थियो । चलचित्रको दृश्य सकिएपछि हामीले इटहरीमा उक्त गीतको छायाङ्कन गरेका थियौँ । केही पारिवारिक कारणले पनि उक्त गीतको छायाङ्कनको समयमा धेरै कठिनाइ भएको थियो । तर, त्यो गीतले मलाई बृहत् रुपमा चिनाउन मद्दत गर्यो । चलचित्र ‘बुलबुल’ ले तपाइँको अभिनय क्षमतालाई प्रस्ट्यायो, त्यो चलचित्र गर्ने निर्णय कसरी लिनुभयो ? मलाई मेरो श्रीमान् बस्नेतमार्फत नै ‘बुलबुल’ को प्रस्ताव आएको थियो किनकि त्यो चलचित्रका लेखक तथा निर्देशक मेरो श्रीमान्सँग चलचित्रसम्बन्धी अध्यन गर्नुभएको थियो । मलाई त्यो पटकथा पढ्नेले तिमीलाई सुहाउँदैन होला की भन्ने गर्थे । त्यही कारण नै मैले त्यो चलचित्र गरे । त्यस अगाडि मैले गरेका कामको आधारमा मैले यो सक्छु, यो सक्दिन वा यो मात्र गर्नुपर्छ भन्ने मानसिकता बनाउनु सही होइन । त्यसलाई मैले एउटा ‘च्यालेञ्ज’ को रुपमा लिएँ । म भन्दा त्यो पात्र भिन्न थियो । त्यसकारण पनि मैले यसलाई निर्वाह गर्न मेहनत गरेँ । ‘बुलबुल’ को पात्रले तपाइँलाई के दियो ? म बिहान टेम्पो चलाउन सिकेर दिउँसो चलचित्रको कार्यशालामा सहभागी पात्रलाई तयार गरेकी हुँ । त्यो पात्रले मलाई भिन्न जीवन र जीवनशैलीसँग परिचित गरायो । त्यो मेरा लागि नयाँ अनुभूति थियो । तपाइँले अभिनय गर्नुभएको ‘चिसो मान्छे’ पनि पोस्टरकै कारण चर्चामा आएको थियो । त्यो पात्र निर्माण कसरी भएको थियो नि ? ‘बुलबुल’ चलचित्रपछि मलाई निकै चर्चामा ल्याएको पात्रलाई मैले ‘चिसो मान्छे’ चलचित्रमा निर्वाह गरेकी थिएँ । त्यो चलचित्रका लागि मैले सुदूरपश्चिममा बोल्ने भाषा नै सिकेकी थिएँ । म अहिले त्यताको भेगको मान्छे भेट्दा यो ठाउँको हुनहुन्छ भनेर म चिन्न सक्छु । त्यो पात्रले पनि मलाई भिन्न छाप छाडेको छ । यसलाई मैले मनदेखि नै ‘इञ्जोय’ गरेकी थिएँ । त्यो पात्रले मलाई केही सिकाएको छ ।  चलचित्र निर्मात्री बन्न के कुराले प्रेरित गर्यो ? मलाई चलचित्र बनाउँछु भन्ने लागेको थिएन् । म निर्मात्रीभन्दा पनि निर्देशनमा सोच बनाएकी थिएँ । म तत्कालै नभई भविष्यमा निर्देशन गर्छु भन्ने सोच बनाएकी थिएँ तर मलाई एउटा पटकथा आयो, त्यो केवल अभिनयको लागि थियो । त्यतिबेला त्यसको नाम ‘बेहुली फ्रम मेघौली’ थिएन तर मलाई पटकथाले तान्यो । मैले पटकथा पढेको देखेर मेरो श्रीमान्ले पनि चासो लिनुभयो । त्यसपछि हामीले नै चलचित्र निर्माणमा सघाउने प्रस्ताव राखेका थियौँ । कहिलेकाहीँ निर्देशक र पटकथा राम्रो हुँदा हुँदै पनि सही तरिकाले बजारसम्म पुग्दैन । त्यसैले हामी निर्माणमा जोडिएका हौँ । एउटा राम्रो कथालाई सही तरिकाले दर्शकसम्म पुर्याएको आभाष भएको छ ।  अभिनय गर्न थालेको एक दशकपछि ‘लालीबजार’ का लागि ‘अडिसन’ नै दिनुभयो, किन नि ? मैले पहिलो चलचित्रको लागि पनि ‘अडिसन’ दिएको थिइन् । कार्यशालामै कुरा भएर चलचित्रमा अभिनय गरेकी थिएँ तर मलाई कहिले पनि ‘अडिसन’ हो वा ‘लुक टेस्ट’ गर्नु हुँदैन भन्ने लागेन । किनकि जो आफ्नो काममा गम्भीर छ, उसले यस्ता जाँच गरेर नै चलचित्र निर्माण सुरु गर्छ । मलाई ‘लालीबजार’ को नामले नै आकर्षित गरेको थियो । चलचित्रको निर्माण घोषणा हुँदा म आबद्ध थिइन । यसको विषयवस्तु नौलो भएकाले नै मैले पनि ‘लुक टेस्ट’ गरेर मेरो पात्रलाई बुझ्न खोजेकी थिएँ । पहिलो सार्वजनिक पोस्टरले नै पाएको चर्चाले हामीलाई झनै गम्भीर भएर काम गर्नुपर्छ भन्ने दायित्व बोध गरायो ।  हामी छायाङ्कनस्थलमा पुगेर वादी समुदायका महिलालाई भेटेर, अनुसन्धान गरेर चलचित्रलाई तयार गरेका छौँ । अहिले आफूलाई चाहिने जानकारी डिजिटल माध्यममार्फत लिने प्रचलन छ, तर हामीले वादी समुदायसँग जोडिएका डिजिटल सूचना निकै कम पायौँ । हामी समुदायकै महिलासँग पुगेर बुझ्दा केही रहेका जानकारी पनि भ्रामक रहेको आभाष भयो । सम्भवतः यो चलचित्र आगामी पुस्ताका लागि एउटा ‘डिजिटल दस्ताबेज’ पनि हुनेछ ।  ‘लालीबजार’ कस्तो खालको चलचित्र हो ? चलचित्रमा आमा र छोरीको कथा देखाइएको छ तर आमा वादी समुदायकी महिला हुन्छिन् । यो एउटी महिलाले आफ्नो छोरीका लागि गाउँ, समाज र समुदायसँगै राज्यसँग गर्ने सङ्घर्षको कथा हो । यसले वादी समुदायमा रहेकी महिलाको बाध्यता, विवशता र सङ्घर्षलाई चित्रण गरेको छ । यो गम्भीर विषयमा बनेको छ तर यसले समुदायलाई चोट पुर्याउने नभई गर्व गर्ने कथा देखाउने छ भन्नेमा विश्वस्त छु ।  तपाइँको भूमिका कस्तो छ चलचित्रमा ? चलचित्रमा मेरो पात्रको नाम ‘मधुवाला’ हुन्छ । यसलाई मैले बर्दियामै रहनुभएका वादी समुदायको महिलासँग कुराकानी गरेर तयार गरेकी हुँ । साथै, हाम्रो निर्देशक यम थापा त्यहाँकै हुनुहुन्छ, जसले उक्त समुदायलाई बाल्यकालदेखि नै देख्दै र बुझ्दै आउनुभएको छ । निर्देशक थापाको बुझाइ र हाम्रो अनुसन्धानलाई मिश्रण गरेर पात्र तयार गरेका छौँ । मधुवालाले आफ्नो आफ्नो परिवारको जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष नै चलचित्रको कथा हो । अहिले दर्शकले सार्वजनिक श्रव्यदृश्य सामग्रीमार्फत गरिरहनुभएको अनुमानभन्दा चलचित्र भिन्न छ ।  तपाइँका लागि ‘लालीबजार’ कतिको महत्वपूर्ण छ ? मैले धेरै वर्षपछिसम्म सम्झिने चलचित्र हो, ‘लालीबजार’ किनकि यसमा मैले वादी समुदायको महिलाको भूमिका निर्वाह गरेकी छु । हाम्रो पहिलो सार्वजनिक पोस्टर नै चर्चामा आएको थियो, जहाँ एउटी गर्भवती महिला शृङ्गार गरेर ढोकामा उभिएकी थिइन् । पेटमा रहेको बच्चाका लागि उनले आफूलाई आराम दिन सकेकी छैनन् । त्यहीँबाट यो एउटी आमाको कथा हो भन्ने प्रस्ट भएको थियो । मेरो अभिनय यात्रामा ‘बुलबुल’ र ‘चिसो मान्छे’पछि मलाई चिनाउने चलचित्र ‘लालीबजार’ बन्नेमा विश्वस्त छु । मेरो चर्चा हुँदा यी तीन चलचित्रको चर्चा पनि धेरै वर्षसम्म हुनेछ । रासस