डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझी

काठमाडौं । डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीलाई ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ । यो सहकार्यको औपचारिक घोषणा डिशहोमको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममार्फत गरिएको हो । सम्झौतामा डिशहोम इन्टरनेटका तर्फबाट मुख्य बजार अधिकृत संजय प्रसाद राजभण्डारी र अभिनेत्री रायमाझीले हस्ताक्षर गरे । 'डिजिटल कनेक्टिभिटीलाई प्रविधिमा मात्र सीमित नराखी नयाँ पुस्ताको प्रेरणासँग जोड्ने प्रयासमा छौं,' डिशहोमले भनेकाे छ, 'दिव्या रायमाझी युवाको आत्मविश्वास र डिजिटल भविष्यको प्रतीक हुन् ।' सो अवसरमा रायमाझीले भनिन्, 'डिशहोम इन्टरनेटजस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु गर्वको विषय हो । यो केवल ब्रान्डको सहकार्य होइन, लाखौं नेपालीसँगको डिजिटल यात्राको सुरुवात हो ।' डिशहोम इन्टरनेटले हाल ३ लाख ५० हजारभन्दा बढी ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । ‘माई डिशहोम’ मोबाइल एपमार्फत कम्पनीले ग्राहक सेवा स्मार्ट र सहज बनाएको जनाएको छ। रायमाझीसँगको सहकार्यबाट डिशहोम इन्टरनेटले युवा पुस्तासँगको सम्बन्ध अझ प्रगाढ बनाउने र डिजिटल पहुँचलाई जनस्तरसम्म विस्तार गर्ने दीर्घकालीन लक्ष्य लिएको कम्पनीले जनाएको छ।

स्टारडमसँगै स्टार्टअप, व्यवसायमा जम्दै सेलिब्रेटी

क्यामेराको फ्ल्यास, सिने पर्दाको झिल्को र स्टेजको तालीभन्दा पर सेलिब्रेटीहरूको जीवनमा अर्को संसार छ- साइड व्यवसाय । जुन उनीहरुको आम्दानीको मुख्य स्रोतमात्र होइन पहिचानको दोस्रो आयाम, सुरक्षित भविष्य र आत्मनिर्भरताको प्रतिबिम्ब पनि हो । विगतमा हलिउड र बलिउडका कलाकार तथा सेलिब्रेटीहरु व्यवसायमा आबद्ध भएका कथाहरू सुन्ने तपाईं हामीहरू अब नेपालकै सेलिब्रेटीहरु पनि व्यवसायमै आबद्ध भए भन्ने खबर सुनिरहेका छौं । जसरी सेलिब्रेटीहरुले आफ्नो कलामार्फत कौशलता देखाए, त्यसैगरी व्यवसायमा पनि जमिरहेका छन्, चम्किरहेका छन् ।  नेपाली अर्थतन्त्रको सानो बजारमा रहेको सीमित अवसर र सङ्कुचित पारिश्रमिक प्रणालीमा सुख सयलको जीवन जिउन कठिन नै छ । यही यथार्थलाई आत्मसात गर्दै धेरै सेलिब्रेटीहरु व्यवसायमा आबद्ध भएका छन् । कतिपय घरजग्गा कारोबार, कतिपय कृषि, शिक्षा, कफी सपदेखि इलेक्ट्रोनिक्सदेखि रेष्टुरेन्टसम्मकका व्यवसायमा सक्रिय बनेका छन् । आज हामीले व्यवसायमा आबद्ध भएका कलाकारको विषयमा यो सामग्री तयार गरेका छौं ।  कृषिमा सरोज  पुर्ख्यौली व्यवसायलाई आधुनिक रुप दिएर व्यवसाय गरिरहेका नेपाली सेलिब्रेटी हुन् सरोज खनाल । ‘भस्मासुरको नली हाड’ नामक चलचित्रबाट सन् १९८७  बाट नेपाली सिनेमामा प्रवेश गरेका खनालले हाल सम्म छ दर्जन नेपाली सिनेमामा अभिनय गरेका छन् ।                                                                                                                                                         उनी नेपाली चलचित्रको नायक मात्र नभएर कृषि प्रधान देशमा कृषक नायक भन्ने उद्देश्यका साथ कृषिमा लागेका छन् । चितवनको रत्ननगरमा रहेको उनको पारिवारिक व्यवसाय ‘खनाल पोल्टि’ मा अहिले उनी आबद्ध छन् । केही समय अमेरिकामा बस्दा त्यहाँको कृषि देखेपछि प्रभावित भएर नेपालमा पनि कृषि सुरु गरेको धारणा उनको छ । त्यस फार्मबाट उनले उन्नत जातको कुखुरा, कुखुराको दाना र मल उत्पादन गर्ने गरेका छन् ।  क्रिकेटसँगै कफी व्यवसायमा रोहित उसो त क्रिकेटर रोहित कुमार पौडेललाई कफी खासै मन पर्दैन । तर, उनले कफी पारखीका लागि कफी सप सञ्चालनमा ल्याएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन रोहितले एक साताअघि मात्र बुद्धनगरमा आफ्नो जर्सीको १७ नम्बरबाट १७ बिन्स क्याफे सञ्चालनमा ल्याएका छन् । खेलजस्तै व्यवसायमा पनि उनी रणनीतिक सोचका साथ अघि बढेका छन् ।  स्वप्निल शर्मा गायनसँगै व्यवसायमा  स्वप्निल शर्मा ‘दि स्याडाेज ब्यान्ड नेपाल’का महत्त्वपूर्ण सदस्य हुन् । सन् १९९७ बाट साथीहरूसँग मिलेर रक ब्यान्डमा संलग्न भई ‘सुन हाम्रो सानो आवाज’ नामको एल्बममार्फत गायन यात्रा सुरु गरि चर्चित बनेका हुन् ।  उनी अहिले गायनसँगै व्यवसायमा पनि आबद्ध छन् । उनको पर्पल हाज रक बार, एडुक्वेस्ट नेपाल नामक शिक्षा परामर्श कम्पनी, फज स्टुडियो नेपाल, संगीत पाठशाला, फुच्चे रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् । पर्पल हाज रक बार ठमेलमा छ भने एडु-क्वेस्ट नेपाल कमलादीमा रहेको छ । यस कम्पनीमार्फत विदेश अध्ययनको परामर्श, भिसा आवेदन सहायता, करिअर काउन्सिलिङ, लगायत सेवा दिइन्छ ।  रेष्टुरेण्ट व्यवसायमा पुजा  पूजा शर्मा नेपाली कलाकारिता जगतमा चर्चित नायिका तथा निर्माता हुन् । सन् २०१२ को ‘थ्रि लभर’ चलचित्रबाट सिनेमामा डेब्यू गरेकी उनी ‘प्रेम गीत’ बाट चर्चामा आएकी हुन् । उनले हाल सम्म डेढ दर्जन चलचित्रमा काम गरिसकेकी छन् । उनी अहिले व्यवसायमा पनि व्यस्त छिन् । उनको ललितपुरको झम्सिखेलमा ‘ट्याग स्पोर्ट्स एण्ड लाउन्ज बार’ सञ्चालन गरिरहेकी छन् । उनले रेष्टुरेण्टबाट कमाएको पैसाले चलचित्र निर्माणमा खर्च गर्ने बताउँदै आएकी छन् ।  थिएटर र रेष्टुरेण्टमा दयाहाङको लगानी  नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा व्यस्त नायक हुन् दयाहाङ राई । लामो समयसम्म रङ्गमञ्चमा नाटक गरेर पछि चलचित्रमा प्रवेश गरेका उनले दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन् । सन् २००६ मा ‘अनागरिक’ चलचित्रबाट डेब्यु गरेका उनी ‘लुट’ चलचित्रबाट चर्चामा आएका हुन् । उनले अभिनयसँगै रेष्टुरेण्टमा पनि लगानी गरेका छन् । ‘मण्डला थिएटर’ मा पनि उनकाे लगानी रहेकाे छ । लेञ्चा खिम रेष्टुरेण्टमा बङ्गुरको मासुको स्पेशल परिकार पाइने गरेको छ भने यस रेस्टुरेन्ट मा प्रायः कलाकारको जमघट हुने गरेको छ । उनले जीवनशैली सहज बनाउन र साथीहरूको जमघट स्थल पनि आवश्यक पर्ने भएकोले रेष्टुरेण्ट व्यवसाय थालेको बताउँदै आएका छन् ।  दिपक-दीपा र वर्षा-संजोग जोडी पनि व्यवसायमा  पछिल्लो समय दिपक-दीपा र वर्षा-संजोगको जोडी पनि व्यवसायमा सक्रिय छ । कलाकारितामा जोडी बनाएका दीपकराज गिरी र वर्षा राउत पनि व्यवसायमा छन् । कोरोना भाइरस (कोभिड -१९) को कारण व्यापार ठप्प हुँदै गर्दा वर्षा-संजोग जोडीले नयाँ बानेश्वरमा ‘चिया अड्डा’ नामको चिया पसल सुरु गरेका थिए । अहिले सो पसलका विभिन्न ठाउँमा शाखाहरू छन् । उनीहरुको ‘गेजु’ चाइनिज रेष्टुरेण्टमा समेत लगानी छ । संजोग सेयर बजारका लगानीकर्ता समेत हुन् ।  चिया अड्डामा दीपकराज गिरी र दीपाश्री निरौलाको समेत लगानी छ । हेर्दा चिया व्यापार सामान्य देखिन्छ तर नेपालीमा चिया पिउने संस्कृति रहेकाले यो व्यापार थालेको उनीहरुले बताउँदै आएका छन् । हिट फिल्म ‘छक्का पञ्जा’ सिरिजका अभिनेता तथा निर्माता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको लगानीमा सिनेमा हल समेत सञ्चालनमा छन् ।  फुटबलसँगै चियामा किरण  राष्ट्रिय फुटबल टोलीका प्रमुख गोलकिपर किरण चेम्जोङ नेपालमा मात्र नभएर विदेशमा समेत प्रख्यात रहेका छन् । उनले राष्ट्रिय टिममा सन् २००८ मा स्थान बनाएका थिए भने हाल उनी नेपाली राष्ट्रिय टिमबाट सबैभन्दा धेरै १०४ खेल खेल्ने खेलाडी हुन् । उनको उपस्थितिमा नेपालले पहिलो पटक साफ चेन्पेनसिप फाइनल (२०२१), साफ यू-२३ (२०१६) विजेता लगायत थुर्पै उपलब्धि नेपालले हासिल गरेको छ । किरण फुटबलको मात्र नभएर व्यवसायको पनि खेलाडी हुन् । उनी बानेश्वरमा रहेकको चिया टाइम्सको सञ्चालक हुन् । चियाका पारखीहरुको यहाँ भीड लाग्ने गरेकाे छ ।  शिल्पा मास्केको कोरियन रेस्टुरेन्ट शिल्पा मास्के नेपाली चलचित्रमा मात्र नभएर हलिउडमा समेत चर्चित छिन् । उनको चलचित्र यात्रा ‘दि ब्रेकअप’ बाट सन् २०१९ बाट सुरु भएको थियो । हालसम्म उनले एक दर्जन चलचित्रमा अभिनय गरिसकेकी छन् । उनले कुपन्डोल हाइट्समा भएको डोक्डो साराङ रेस्टुराँ सञ्चालन गर्दै आएकी छन् । रेस्टुरेन्ट व्यवसायको बाहेक छोटा फिल्म, व्यावसायिक विज्ञापनमा व्यस्त रहने मास्केले आफ्नै रुचीका कारण अन्य व्यवसायमा लागेको बताउँदै आएकी छन् ।  हिमालय जावामा श्वेता खड्का  नेपाली चलचित्रको अभिनेत्री श्वेता खड्का ‘कान्छी’ चलचित्रको निर्माता पनि हुन् । ‘कहाँ भेटिएला’ चलचित्रबाट सन् २००८ मा नेपाली सिनेमामा प्रवेश गरेकी उनले अभिनय गरेका चलचित्र पनि हिट भएका छन् । उनी अहिले चलचित्रबाट टाढिएर व्यवसाय क्षेत्रमा जमेकी छन् । उनले लामो समयदेखि विभिन्न ठाउँमा हिमालय जावा ब्राण्डको कफी सप तथा क्याफे र रेस्टुरेन्ट सञ्चालन गर्दै आइरहेकी छन् । हिमालयन जावामा कफी, खाना, प्रख्यात छ भने बारिस्टा र बेकरीको प्रशिक्षणसँगै उपकरण बिक्री, फ्रेन्चाइज अवसर, मोबाइल एपमार्फत अर्डरको समेत सुविधा दिँदै आइरहेकाे छ । साथै उनको ‘अल्टिमोडिल’ भन्ने अनलाइन व्यवसाय, ‘ट्रिकी एण्ड पिंक्सी’ भन्ने एक ट्रेनिङ सेन्टर, इन्टिरियल डिजाइनिङको व्यवसाय पनि छ ।  केदार र जितु होटल व्यवसायमा  केदारप्रसाद घिमिरे (माग्ने) र जितु नेपाल हाँस्य व्यङ्ग्य क्षेत्रमा चर्चित कलाकारको छवि बनाएका कलाकार हुन् । यी दुवै जनाले लेखन, निर्देशक तथा निर्माताको काम पनि गर्दै आएका छन् । घिमिरे टेलिसिरियल मेरी बास्सैबाट र नेपाल जीरे खुर्सानीबाट चर्चामा आएका हुन् ।  उनीहरू छक्का पञ्जा चलचित्रमा पनि सँगै थिए । उनीहरू दुवै जना रङ्गमञ्चसँगै होटल व्यवसायमा पनि जमेका छन् । उनीहरुको काठमाडौंको चेन क्याफे तथा होटल ‘ए वान’मा लगानी रहेको छ । ए वानले राम्रो आम्दानी गरिरहेको उनीहरुको धारणा छ ।  नेपालमा २०७२ मा विनाशकारी भूकम्प आएपछि व्यवसाय आवश्यक छ भन्ने महसुस गरेर होटल सञ्चालन गरेको उनीहरुको धारणा छ ।  सलोन बस्नेतको बार बाल कलाकारको रुपमा सन् १९९९ मा ‘नेपाली बाबु’ चलचित्रबाट डेब्यु गरेका सलोन बस्नेत अहिलेका चर्चित नायकका रुपमा चिनिन्छन् । उनले तीन दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । अभिनेता बस्नेतको ललितपुरको पुल्चोकमा ‘बैठक लाउन्ज बार’ सञ्चालन गर्दै आएका छन् । उनले रेष्टुरेण्ट एण्ड बारबाट राम्रै आम्दानी भइरहेको प्रतिक्रिया दिँदै आएका छन् । उनको बुबा र काका पनि चलचित्र क्षेत्रमै सक्रिय छन् ।  पर्यटन व्यवसायमा रेजिना  आफ्नो मान्छे चलचित्रबाट नेपाली चलचित्रमा प्रवेश गरेकी नायिका रेजिना उप्रेती पनि चर्चित अभिनेत्रीकै रुपमा परिचित छन् । उनले करिब पाँच दर्जन चलचित्रमा अभिनय गरेकी छन् । रेजिनाको पारिवारिक व्यवसाय नै ट्राभल एण्ड टुर हो । उनको एजेन्सीले युरोप, अमेरिका लगायतका देशमा ट्राभल तथा टुरको व्यवस्थापन गर्दै आएको छ । उनी पनि अहिले सोही व्यवसायमा सक्रिय छिन् । उनले पनि चलचित्रमा अभिनय गरेर मात्र कलाकारले जीविकोपार्जन गर्न नसकिने भएकोले साइड व्यवसायका रुपमा पर्यटन रोजेको बताउँदै आएकी छन् ।  करिश्मा मानन्धरको इलेक्ट्रोनिक्स व्यापार नेपाली फिल्म क्षेत्रमा सदाबहार अभिनेत्रीको परिचय निर्माण गरेकी करिश्मा मानन्धर पनि व्यवसायमा आवद्द छिन् । उनले इलेक्ट्रोनिक्स सामानको व्यापार गर्दै आएकी छन् । उनले ‘रिसिक ट्रेडिङ कन्सर्न’ कम्पनीमार्फत व्यापार गर्दै आएकी छन् । यस कम्पनीले इन्टेक्स ब्रान्डका इलेक्ट्रोनिक्स सामानको बिक्री गर्छ । यो कम्पनी बोस ब्राण्डका होम सप्लायर्स, इन्टेरियर र भवन निमार्णका सामग्रीको आधिकारिक वितरक पनि हो । सन् १९८८ मा सन्तान चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनी अहिले पनि सक्रिय छिन् । उनले दर्जनौं चलचित्रमा अभिनय गरेकी छन् ।  स्वास्थ्य र घरजग्गा कारोबारमा खुस्बु नेपाली चलचित्रमा परिचित अभिनेत्री तथा गायिका हुन् खुस्बु खड्का । सन् २०१२ मा चलचित्रमा अभिनय गरेर यो क्षेत्रमा प्रवेश गरेकी उनले आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी छन् । अहिले उनको ‘रियलस्टेट’ को व्यवसाय छ, साथै उनी स्वास्थ्य सामग्रीको समेत व्यापार गर्दै आएकी छन् । उनले विदेशबाट स्वास्थ्य सामग्री आयात गरेर नेपालमा बिक्री गर्ने गरेकी छन् ।  रेष्टुरेण्टमा नम्रताको लगानी मोडलिङ, चलचित्रमा अभिनय तथा निर्माताको रुपमा पनि राम्रो परिचय बनाएकी नम्रता श्रेष्ठ पनि अहिले व्यवसायमा व्यस्त छिन् । उनले सन् २००८ बाट नेपाली चलचित्र सानो संसारमा अभिनय गरेर रङ्गमञ्चमा प्रवेश गरेकी थिइन् । उनले दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी छन् । थुप्रै हिट फिल्ममा अभिनय गरेकी नम्रताको काठमाडौंको ज्ञानेश्वरमा एटिक रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा छ । साथै यो रेस्टुरेन्टको लाजिम्पाट र ठमेलमा पनि शाखा रहेको छ ।  हँसाउने ठाउँमा केकीको लगानी  अभिनेत्री केकी अधिकारी पनि कलाकारिताको अलावा टेलिभिजन कार्यक्रम निर्माणमा व्यस्त छिन् । बहुचर्चित टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को निर्माताका रुपमा केकी सक्रिय छिन् । पछिल्लो समय दीपक श्रेष्ठको निर्देशन रहेको फिल्म ‘घिन्ताङ’को अभिनय सकेकी उनी चलचित्र निर्माताको रूपमा पनि परिचित छिन् । केकीले ‘कमेडी च्याम्पियन’नामक हँसाउने चर्चित टेलिभिजन रियालिटी शोमा निर्माताको रुपमा कार्यरत छिन् ।  घरजग्गा कारोबारमा भावना  सन् २०१२ बाट ‘मस्ती’ चलचित्रमार्फत कला क्षेत्रमा सक्रिय बनेकी भावना गुरुङ पनि व्यवसायमा सक्रिय छिन् । विभिन्न चलचित्रमा राम्रो पफर्मेन्स गरेर चर्चा पाएकी उनी अहिले घरजग्गाको व्यवसायमा आबद्ध छिन् । उनले जीवनलाई सहज रुपमा अगाडि बढाउनुका लागि व्यवसाय गरेको बताउँदै आएकी छन् ।  वर्षा पनि व्यवसायमा  नेपाली चलचित्रमा परिचित नाम हो वर्षा सिवाकोटी । सन् २०१४ ‘नाई नभन्नु ल २’ चलचित्रबाट सिनेमा क्षेत्रमा प्रवेश गरेकी उनी त्यसपछि चर्चामा आएकी थिइन् । उनी मोडल पनि हुन् । वर्षा सिवाकोटीको नेपाल मेडिसिटि हस्पिटल अन्तर्गत स्किन सिटी नामको क्लिनिक छ । सो क्लिनिकको उनी प्रमुख कार्यकारी अधिकृत हुन् । यो क्लिनिकले छाला, कपाल र नङ्ग सम्बन्धी समस्याको उपचार गर्छ । सिवाकोटीको नेतृत्वमा स्किन सिटीले अन्य ठाउँमा पनि सेवा विस्तार गर्ने तयारी गरिरहेको छ ।  रेष्टुरेण्ट र बुटिक व्यवसायमा पवित्रा  चर्चित कोरियोग्राफरका रुपमा परिचित पवित्रा आचार्यले पनि अहिले व्यवसायमा व्यस्त छिन् । अभिनयलाई मुख्य पेशाका रुपमा अगाडि बढाइरहेकी उनले मोडलिङ, नित्याङ्गना, कोरियोग्राफीमा समेत राम्रो छाप बसालेकी छन् । उनले आधा दर्जन चलचित्रमा आफ्नो कला प्रस्तुत गरिसकेकी छन् ।  केही समय यता उनी नित्य बुटिक नामक व्यवसाय सञ्चालन गर्दै आइरहेकी छन् । उनले हातबाट निर्मित विभिन्न डिजाइनको कपडा बिक्री गर्ने गरेकी छन् । बुटिकका कपडाका लागि उनले अनलाइन सेवा पनि दिने गरेकी छन् । बुटिकसँगै उनको रेस्टुरेन्ट व्यवसाय समेत रहेको छ । उनले त्यसलाई खाली समयको सदुपयोग स्वरूप व्यवसाय गरेको बताउँदै आएकी छन् ।    

चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो : अभिनेता दयाहाङ राई

कामाठमाडौं । भोजपुरको खावा गाउँबाट लाहुर जाने उद्देश्यका साथ काठमाडौं आइपुगेका दयाहाङ राई अहिले रङ्गमञ्च र चलचित्रको परिचित अभिनेता बनिसकेका छन् । काठमाडौंमा साहित्यकारसँगको सङ्गत र आकर्षणले लाहुर जानबाट भुलिएका राईले अभिनेताको परिभाषा नै बदल्न सफल भए । खाइलाग्दो शरीर, अग्लो कद र सुन्दर हुनुपर्छ भन्ने परम्परागत मान्यतालाई भत्काउँदै स्थापित भएका अभिनेता राईले ‘हिरो’ को नयाँ परिभाषा बनाए । उनले ‘मेरो एउटा साथी छ’, ‘दासढुङ्गा’लगायतका चलचित्रमा अभिनय गरे तापनि स्थापित गर्ने काम चलचित्र ‘लूट’ ले गर्यो । त्यो उनले नसोचेको अप्रत्याशित सफलता थियो । चिटिक्क अनुहार र सुकिला वेशभूषा, नृत्य र द्वन्द्व गरेर अभिनय गरिरहेका अभिनेताको भीडमा अभिनेता राईले दर्शकसँग भौतिक दूरी तोडेर नयाँ शैलीको सुरुआत गरे । 'मैले ‘लूट’ मा अभिनय गर्दा त्यस अगाडिका दुई चलचित्रसहित तीन चलचित्रमा काम गरेँ भनेर देखाउन थियो । किनकि मैले भिन्न किसिमका तीन पात्रलाई पर्दामा ल्याएको थिएँ । ‘लूट’ ले मलाई चिनाउँछ भन्ने आशा थियो तर यस्तो सफलता दिन्छ भन्ने सोच भने थिएन । सायद, त्यहाँ दर्शकले आफूलाई पाउनुभएका कारण त्यो चलचित्र मात्र चलेन, त्यहाँका हामी कलाकार पनि चलिरहेका छौँ', अभिनेता राईले भने ।  चलचित्रमै काम गरिरहँदा सन् २००८ मा रङ्गकर्मीहरूको समूह बनाएर मण्डला नाटकघरको समेत स्थापना गरेका अभिनेता राईले अहिलेसम्म उक्त दायित्व निर्वाह गरिरहेका छन् । आफूलाई अभिनय गर्न, नाटकको अभ्यास गर्न र रङ्गकर्मीलाई एउटा ठाउँ दिन स्थापना भएको मण्डलाले अहिले धेरै कलाकारलाई मञ्चसम्म पुर्याएको छ । अहिले चलचित्रकर्मीका लागि पनि अभिनेता खोज्ने एउटा ठाउँ उक्त नाटक घर बनिसकेको छ । अभिनेता राईसँग उहाँको रङ्ग यात्रा, चलचित्रमा प्रवेश, नाटकघरको परिकल्पनालगायत समसामयिक विषयमा राससका नवीन पौडेल र भेषराज कार्कीले लिएको अन्तर्वार्ताको सम्पादित अंशः      तपाइमा रङ्गमञ्चप्रतिको लगाव कसरी भयो ? भोजपुरको माटोमा साहित्य र सङ्गीतको छुट्टै जादु छ, जस्तो लाग्छ । बाल्यकालमा आमाले लोककथा धेरै सुनाउनु हुन्थ्यो । ती कथाका पात्रले मलाई आकर्षित गरिरहेको हुन्थ्यो किनकि उनीहरू रोमाञ्चक थिए । त्यसपछि रेडियो सुन्न थालियो गीतसङ्गीतमा आकर्षण बढ्यो, पुस्तक पढ्न थालेपछि साहित्यप्रति आकर्षित भएँ । त्यसो त म सदरमुकाममा दुई घण्टा हिँडेर चलचित्र हेर्न पुग्थे । चलचित्र हेर्दा किन र कसरी हुन्छ भनेर धेरै कौतुहलता बढ्थ्यो । घरबाट मलाई चाहेको कुरा गर्ने छुट थियो । ‘अरूको चित्त दुखाउने काम नगर्नु’ भनेर अभिभावकले भन्नुहुन्थ्यो । त्यो बाहेक रहर लागेका काम गर्दै हुर्किएँ ।  रङ्गमञ्चसँग कसरी जोडिनुभयो ?  १६ वर्षसम्मा खावा गाविसको गाउँमा जन्मेर खेतीपाती र गाईवस्तु गोठालो गर्दै खावा गाविसको दिल प्राथमिक विद्यालय, पशुपति मावि हुँदै अन्नपूर्ण गाविसका अन्नपूर्ण उच्च माध्यमिक विद्यालय भोजपुरमा एसएलसीसम्म अध्यायन गरेँ । एसएलसीपछि भोजपुर बहुमुखी क्याम्पसमा आइए पढेर भोजपुरबाट काठमाडौं छिरेँ । यहाँ नाटक र साहित्यप्रतिको आकर्षणले मलाई रङ्गमञ्चसँग जोड्यो । म नाटक, साहित्य, चित्रकला प्रदर्शनीका कार्यक्रममा पुग्ने र त्यहाँ आएका कलाकारलाई भेट्ने गर्थें । मैले नाटक महोत्सवमा पनि पुगेर कसरी गरिन्छ भन्ने अवलोकन गरेको छु ।  त्यही क्रममा नाचघर जमलमा अभिनय सिक्न पाइन्छ भन्ने थाहाँ पाएँ । म पुग्दा एकवर्षे अभिनय कक्षा सकिन लागेको रहेछ, तर तत्कालीन महाप्रबन्धक हरिहर शर्मालाई अभिनयप्रतिको लगाव सुनाएँ । भोजपुरदेखिका कथा सुनाएँ । त्यसपछि अनुभवी कलाकारलाई दिइने कार्यशालामा मैले सहभागी हुने अवसर पाएँ । त्यहाँ अनुप बराल, वीरेन्द्र हमालसँग कार्यशाला लिएँ । त्यसपछि रङ्गकर्मीसँग सामीप्यता पनि बढ्यो, विस्तारै काम पाउन थाले ।  नाटकघर खोल्ने सोच कसरी आयो नि ?  मैले केही चलचित्रमा काम गरिसकेको थिएँ । अभिनय गर्ने लालसा झन् बढ्दै थियो । त्यो समयमा नाचघर, प्रज्ञा प्रतिष्ठान र गुरुकुलमा नाटक हुन्थ्यो । त्यहाँको आर्थिक भार उठाउन सक्ने हैसियत मसँग थिएन । नाट्यकर्मी साथीहरू राजन खतिवडा र सिर्जना सुब्बासँग छलफल गरेर नाटक गर्ने सोच बनाइरहेका थियौँ । तर, अभ्यास गर्न नै हामीले स्कुलको बिदाको समय चाहिने, छलफल गर्न चिया पसलमा घन्टौं बस्नुपर्ने बाध्यता थियो । हाम्रो कारणले अरुलाई असर गरिरहेको महसुस हुन्थ्यो । त्यसकारण एउटा ठाउँ चाहिन्छ भन्ने भयो ।  त्यही क्रममा हामीले काठमाडौ चहारेपछि अनामनगरमा छ आना क्षेत्रफलमा मण्डलाको स्थापना गर्यौँ । तीन जनाबाट सुरू भएको समूह विस्तारै १५ जनाको बनिसकेको छ । यसले हामीलाई जिम्मेवारी पनि दिएको छ । त्यहाँ अभिनय सिक्न पाउनु हुन्छ, आफूलाई बुझ्न आउनु हुन्छ । हाम्रो सपनासँगै अहिले धेरैको सपना जोडिएको छ । चलचित्रको छायाङ्कनमा पुग्दा अभिनयदेखि अन्य प्राविधिक पक्षमा पनि मण्डलाका विद्यार्थी देख्दा सन्तुष्ट हुन्छु । फेरि यो कसैको दबाब होइन, मैले देखेको सपना नै हो । चलचित्रमा काम गरेर नाटकघर चलाउने योजना नै थियो ।  नयाँ पुस्तामाको भविष्य रङ्गमञ्चमा कस्तो देख्नुभएको छ ? अनि रङ्गमञ्च साक्षरताको अवस्था के छ ?     नयाँ पुस्तालाई हामीले अग्रजबाट पाएको ज्ञान हस्तान्तरण गर्नु नै छ । हामीले त्यो गरिरहेका छौँ । हामीभन्दा अघिल्लो पुस्ताको सङ्घर्ष हाम्रो लागि प्रेरणादायी रह्यो । त्यसबाट प्रभावित भएर हामीले उहाँहरूसम्म पुग्न नसकेता पनि एउटा स्थान बनाउन सफल भयौँ । हामी पछाडिको नयाँ पुस्ता प्राविधिक युगको हुनहुन्छ । ज्ञान आर्जन गर्न विभिन्न माध्यम छन् तर इमान्दारिता, धैर्यता र समपर्ण चाहिन्छ । त्यही हामीले बुझाइरहेका छौँ । नयाँ पुस्ताले रङ्गमञ्चमा देखाउनुभएको सम्भावना प्रसंशनीय छ । रङ्गमञ्च साक्षरता बढ्न वा बढाउन समाजनै अध्ययनशील हुनुपर्छ । त्यसपछि हामीले गरिरहेको कामको प्रभाव देखिन्छ । त्यसका लागि विद्यालय वा विश्वविद्यालय जहाँ हामीले शिक्षा आर्जन गर्छौँ, त्यहाँ रङ्गमञ्चसम्बन्धी अध्यन गराउने र छलफल चलाउने हुनुपर्छ । अध्यनबाट सुरुआत भयो भने त्यसले रङ्गमञ्चलाई निकै उचाइमा पु¥याउँछ जस्तो मलाई लाग्छ ।   रङ्गमञ्चबाट जीविकोपार्जन गर्न सकिन्छ त ?   केहीले गरिरहेका छन्, धेरैले सोचे जस्तो जीवनशैली पाउन सकेका छैनन् । रङ्गमञ्च धानिएकै लगाव र इमान्दारिताले हो । किनकी नाटकलाई अझै व्यावसायिक बनाउन सकिएको छैन, हामीले प्रयास गरिरहेका छौँ । यहाँ रङ्गकर्मीकै लगानी छ, जबसम्म ‘कर्पोरेट हाउस’हरु आकर्षित हुँदैनन्, रङ्गकर्मीले सङ्घर्ष गर्नै पर्छ । हामीले चलचित्रमा पाएको पारिश्रमिकले आफ्नो सपना पूरा गर्न रङ्गमञ्च चलाइरहेका छौँ । चलचित्र झैँ यहाँ पनि टिकेट नै आयस्रोत भएकाले हाम्रो सीमितता छ । हामीसँग सिमित सिट छ, सिमित समय छ । तर, हामी धेरै दर्शकसम्म पुग्ने प्रयास गरी नै रहेका छौँ ।  चलचित्र जस्तै विदेशमा नाटक लान वा देखाउन प्रस्ताव आउँछ ? प्रस्ताव आइरहेका छन् । विदेशबाट आएर नाटक हेरेर प्रतिक्रिया दिने नाटक प्रेमी पनि धेरै हुनुहुन्छ । उहाँहरूले विदेश ल्याउनुस् भन्नुहुन्छ । तर, म हतार नगर्नुस्, पहिला सबै बुझ्नुस् भन्छु । किनकी हामिले छोटोमा पनि सात जनासम्मको समूह बनाउनु पर्छ । नाटकलाई सुन्दर बनाउने काम कलाकारसँगै ध्वनी, प्रकाशसहितको ‘स्टेज’ ले गरिरहेको हुन्छ । हामीले विदेशमा मञ्चन गर्दा प्राविधिक रुपमा ती गर्न सक्छौँ वा सक्दैनौँ रु भन्ने प्रश्न आफैँलाई आउने गर्छ । किनकी व्यावसायिक दायित्व धेरै थपेर हामीले नाटक गर्न सक्दैनौँ । त्यसकारण आएका प्रस्तावलाई पर्खिन आग्रह गरेका छौँ ।  नाटकघर सञ्चालन गर्दा के-कस्ता दायित्व थपिने रहेछन् ? पहिला हामीले आफ्नो लागि भनेर स्थापना गरेका थियौँ, अब यो कलाकारिता गर्ने धेरै युवाको सपना बनेको छ । त्यसले हामीलाई दायित्व थपेको छ । केही समय मलाई आर्थिक रुपमा निकै कठिनाइ परेको थियो । तर, अहिले भने सहज रुपमै नाटक घर सञ्चालन गर्न सकेका छौँ ।  तपाई चलचित्रमा देखिन थालेपछि नाटकमा कम समय दिनुभएको छ, अभिनय नगर्नुभएको पनि धेरै भयो । कहिले तपाईलाई दर्शक रङ्गमञ्चमा देख्न पाउने छन् ? म कसरी पवित्र रङ्गमञ्च छाड्न सक्छु रु मञ्च छुटेकै हो तर रङ्गमञ्च कहिल्यै छाडिनँ । रङ्गमञ्च त्यस्तो ज्ञानशाला हो, जहाँ बृहत् विद्या, कला र शिल्पको संयोजन हुन्छ । मैले पछिल्लो समय झन्डै छ वर्ष अगाडि अनुप बरालको निर्देशनमा तयार भएको नाटक ‘महाभोज’मा काम गरँे । त्यसमा म र कलाकार बुद्धी तामाङ ‘डबल कास्ट’ थियौँ । हामी जहाँ भएपनि एक जना नाटक गर्न आउने सहमति भएको थियो । एकपटक पोखरामा छायाङ्कन हुँदा प्लेन नउडेर आउन सकिन । म आफैँ निराश भएँ । त्यो भन्दा अगाडि मैले ‘र।।। माइलो’ नामक नाटक गरेको थिएँ । चलचित्र र नाटकको धपेडीले एउटा शोमा सोफाको आड लिएर अभिनय गरेँ । शो सकिने बितिकै डाक्टरको निगरानीमा उपचार गराउनुपर्यो । त्यसकारण रहरले मात्र नहुने रहेछ भन्ने लाग्यो ।  अहिले पनि हामीले २०८२/८३ का लागि नयाँ नाटक निर्देशन घोषणा गरेका छौँ । मैले पनि गर्ने भन्ने तयारी थियो । म निर्देशन गर्ने तयारीमा रहँदा पनि समय व्यवस्थापन नभएपछि अर्को वर्ष वा कुनै समयमा गरौँला भनेर व्यवस्थापनको जिम्मेवारीमा छु । मानसिक र शारीरिक रुपमा स्वतन्त्र भइएन भने आफू सन्तुष्ट हुने काम गर्न सकिदैन । काम गर्नैका लागि किन गर्ने भन्ने हो । तर, मञ्च छुटेता रङ्गमञ्च छाडेको छैन । यो मेरो घर हो । घर नफर्की कहाँ जानु र !  तपाईले नाटक हेर्ने शुल्क बढाउनु भएको छ, यसको प्रभाव कस्तो पर्ला ?  हामीले शुल्क न बढाएको झन्डै छ वर्षभयो होला । हामीले नाटकघर सञ्चालन गरिरहेको जग्गाको भाडा, बढ्दो महङ्गीले हामीले आर्थिक भारअनुसार नै टिकट मूल्य बढाएका छौँ । एउटा नाटक मञ्चन भएको पहिलो दुई साता विद्यार्थीलाई ? तीन सय र त्यसबाहेक व्यक्तिलाई पाँच सय रुपैयाँ तथा तेस्रो र चौथो साता विद्यार्थीलाई रु पाँच र त्यस बाहेककालाई एक हजार रुपैयाँ शुल्क तय गरेका छौँ । हामीले पहिले पनि केही सिटलाई एकहजार मूल्य राखेका थियौँ, त्यसलाई परिमार्जन गरेका हौँ । यसले हामीलाई पनि दायित्व बढाएको छ । हामीले पनि लिएको शुल्कअनुसारको मेहनत नाटकमा गर्नुपर्ने दायित्व थपिएको छ ।  ‘लूट’ मार्फत तपाईले अभिनेताको परिभाषा नै बदल्नुभयो नि ? त्यो चलचित्रको बनोट शैली नै नियमितभन्दा भिन्न थियो । त्यसका म लगायतका पात्र टोल, छरछिमेकमा भेटिने नै थिएँ । दर्शकले त्यहाँ आफूलाई पाउनुभयो । त्यही कारण त्यसले नसोचेको नतिजा दियो । हामी रङ्गकर्मी अहिले चलचित्रमा काम गरिरहेका छौँ । हामी दर्शकको सोच र स्वाद फेर्न सफल भयौँ । तर, म त्यो चलचित्रमा आफ्नो विविधता देखाउन अभिनय गरेको थिएँ । मैले ‘दासढुङ्गा’ र ‘मेरो एउटा साथी छ’मा गरेको काम भन्दा भिन्न थियो । अभिनयमा मलाई निरन्तरता दिन मद्दत गर्छ भन्ने लागेको थियो तर यो सफलता पाउँछु भन्ने आशा थिएन ।  नाटकघर स्थापनासँगै चलचित्र निर्माणमा पनि जोडिनुभयो । ‘कबड्डी’ निर्माणमा सहकार्य गर्ने सोच कसरी आयो ?   चलचित्रमा काम गरेर भएको आर्जनले नाटकघर चलाउने हाम्रो सोच नै थियो । ‘लूट’ को सफलताले दर्शकले एउटा विश्वास गर्नुभएको थियो । हामी मण्डला स्थापनाकै समय भेटघाट हुँदै गर्दा निर्देशक रामबाबु गुरुङले चलचित्र बनाउने कुरा गर्नुभयो । उहाँले सुनेको कथा (आइडिया) राम्रो लाग्यो । सोही क्रममा निर्देशक निश्चल बस्नेतसँग पनि सहकार्य गर्ने सल्लाह भयो । हामीसँग पर्याप्त पैसा नभए पनि जोडजाम गरेर चलचित्र बनाउने निधो गरेर काम गर्यौं । ‘कबड्डी’ को कथा नयाँ थियो, यसले नयाँ शैलीलाई परिचित गरायो । त्यसबाट हामीले व्यावसायिक रुपमा समेत लाभ लिन सक्यौं ।  चलचित्र ‘कबड्डी’ मा तपाईले निर्वाह गर्नुभएको ‘काजी’ को राम्रै चर्चा भयो । त्यो प्रेम कथाको शैली कहाँबाट आयो ?   ‘कबड्डी’ एउटा प्रेम कथानक चलचित्र हो । त्यसको काजी नामक पात्रले एकोहोरो माया गर्नेको कथा हो । उसले मन पराएको मान्छेलाई इमान्दारिताको साथ प्रेम गर्छ तर शैली मिलाउन सक्दैन । सोही कारण उसको शैलीमा दर्शकले ‘ह्युमर’ पाउनुभयो । यस्तो प्रेम गर्ने पनि छन्, हुन्छन् । हामीले नियमित भन्दा फरक काम गर्ने कोशिसकै सिलसिलामा काजी पात्रको उदय भएको हो ।  कलात्मक र पूर्ण व्यावसायिक (मसालेदार) दुवै चलचित्रमा काम गरिरहनुभएको छ, के छ यिनमा भिन्नता ?  मसालेदार चलचित्रमा दर्शकको प्रिय बन्न पात्रको बनोट हुन्छ । हाम्रो कोसिस त्यहि हुन्छ । तर, कलात्मक चलचित्रमा हामीले स्वतन्त्र भएर काम गर्न पाउँछौ, किनकी यी चलचित्रलाई अन्तरराष्ट्रिय बजार केन्द्रित गरेर तयार गरिएको हुन्छ । दर्शकले पनि दुवै चलचित्रको भिन्नता महसुस गरिसक्नुभएको छ । किनकी उहाँहरू मनोरञ्जन मात्र लिने की नयाँ केही हेर्ने भन्ने सोच बनाएर नै चलचित्र भवनसम्म आउनुहुन्छ ।  नाटक निर्देशन गर्नुभयो, चलचित्रतर्फ के छ सोच ?  म निर्देशन अवश्य गर्छु । तर, यो समयमा भन्ने सोचेको छैन । अहिले नाटकघरसँगै अभिनयमै व्यस्त छु । कुनै समय अभिनयबाट विश्राम लिनुपर्यो भने मैले गर्ने भनेकै नाटक र चलचित्र निर्देशन हो । तर, अहिले के कसरी गर्ने भन्ने तय छैन । यद्यपि केही पटकथा (स्क्रिप्ट) हेरिरहेको छु । तय भएपछि म आफैँ यसबारेमा जानकारी दिन्छु ।  तपाईको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महाभोज’ मा कस्तो भूमिका निर्वाह गर्नुभएको छ ? यो हाम्रै गाउँ/समाजको कथा हो । यसमा पाँच जना प्रमुख पात्र छन्, जसमध्येको म एक हुँ । त्यहाँ एकजना विदेशबाट गाउँ फर्किएका छन्, एक जना काठमाडौँबाट । ती युवाहरुको सोचको कथा नै ‘महाभोज’ हो । यसमा मैले धेर वर्षपछि निर्देशक दिनेश राउत र अभिनेता आर्यन सिग्देलसँग सहकार्य गरेको छु । मैले झन्डै सत्र वर्ष अगाडि चलचित्रमा सुरुआत गरेको थिएँ । त्यसक्रममा ‘मेरो एउटा साथी छ’ मा अभिनेतामा सिग्देल र मुख्य सहायक निर्देशकमा राउत हुनुहुन्थ्यो । केही समयदेखि कुरा गर्ने भनिएको सल्लाह अहिले बल्ल काममा परिणत भएको छ । यो जेठ १५ गते प्रदर्शन हुँदैछ, यसको विषयले हामीलाई रमाइलो मात्र बनाउँदैन । समाजका केही विषयमा सोच्न बाध्य बनाउँछ ।  नेपाली चलचित्र क्षेत्रमा गएको वर्षको व्यावसायिक उपलब्धिले कस्तो प्रभाव पार्ला ?  अघिल्लो वर्ष हामीले धेरै विविधतामूलक कथालाई पर्दामा हेर्न पायौं । धेरै भिन्न र फरक किसिमका कथा भएकै कारण धेरै देशक चलचित्र भवन आउनुभयो । तर, हाम्रो चुनौती नै ‘फलोअर्स’ बन्नबाट जोगिनु हो । हामीले त्यस्तो चलचित्र चल्यो भनेर त्यही शैलीलाई पछ्याउनु हुँदैन । आफैँ ‘क्रिएटर’ बन्न सक्नुपर्छ । हिजो ‘लूट’ होस् वा ‘कबड्डी’, गएको वर्षकै ‘पूर्णबहादुरको सारङ्गी’ बनाउनुको उदेश्य अर्काको देखासिखी थिएन । त्यो बनाउन मन लागेको शैली र कथामा चलचित्र बनेका थिएँ । तर, अब त्यो चल्यो, त्यो जस्तै बनाउन भनेर आउनुभयो भने गत वर्ष चलचित्र भवन आएका दर्शकलाई हामीले नयाँ केही दिन सक्दैनौँ । त्यसकारण हामीले आफ्नो रचनात्मक पक्षलाई अझैँ बढाउनु आवश्यक छ । चलचित्रको बजार हामीले देखिसकेका छौँ, राम्रो चलचित्र बनाउने दायित्व हामीलाई छ । रासस