डिशहोमले ल्यायो नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड, ग्राहकलाई २५ प्रतिशतसम्म छुट
काठमाडौं । नेपालका इन्टरनेट तथा टिभी ग्राहकहरूको अनुभवलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले डिशहोमले नेपालमै पहिलोपटक भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्ने भएको छ। डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार यो कार्ड 'माइ डिशहोम एप' मार्फत उपलब्ध हुनेछ र सक्रिय सदस्यताका ग्राहकहरूले स्वचालित रूपमा प्राप्त गर्नेछन् । कार्डमार्फत ग्राहकले होटल, क्याफे, अस्पताल, शैक्षिक संस्था, स्किनकेयर तथा वेलनेस सेन्टर, फिटनेस क्लब, मोबाइल एक्सेसोरिज, इलेक्ट्रोनिक्स, अटोमोबाइल शोरूम लगायतका थुप्रै सेवा तथा पसलमा २५ प्रतिशतसम्म छुट पाउनेछन् । मानन्धरले डिजिटल मनोरञ्जन र इन्टरनेट सेवा मात्र नभई ग्राहकको दैनिक जीवनशैलीमा समेत डिशहोमले अर्थपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरिन् । उनका अनुसार डिजिटल कार्ड प्रणालीले सुरक्षित, सजिलो र डिजिटल जीवनशैलीलाई प्रवर्द्धन गर्नेछ । डिशहोमले प्ले स्टोर वा एप स्टोरबाट माइ डिशहोम एप डाउनलोड वा अपडेट गर्न ग्राहकलाई आग्रह गरेको छ ।
डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने
काठमाडौं । डिशहोमको रमाइलो टिभीले धार्मिक टेलिभिजन श्रृंखला रामायण नेपाली भाषामा प्रसारण गर्ने भएको छ । असार १९ गतेदेखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे उक्त श्रृंखला प्रशारण हुने कम्पनीले जनाएको छ । ‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन श्रृंखला हो, जसलाई निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए । यो सिरिज पहिलो पटक सन् १९८७–१९८८ मा भारतको डीडी नेसनल च्यानलबाट प्रसारित भएको थियो । आशोक कुमार र रामानन्द सागरद्वारा प्रस्तुत यो श्रृंखलामा संगीत रविन्द्र जैनले संयोजन गरेका थिए । प्रसारणको समयमा रामायण ले भारतमा ८२ प्रतिशत दर्शक संख्यासहित ऐतिहासिक कीर्तिमान बनाएको थियो । बीबीसीका अनुसार, यो श्रृंखला ६५ करोडभन्दा बढी दर्शकद्वारा हेरिएको थियो र विश्वका १७ देशका २० भन्दा बढी च्यानलहरूले पुनः प्रसारण गरेका थिए । कोरोना लकडाउनको समयमा सन् २०२० मा पुनः प्रसारण हुँदा एकै दिन ७ करोड ७० लाख दर्शकसहित विश्वकै सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रम बन्न सफल भएको थियो । डिशहोमले आफ्ना ग्राहकका लागि रमाइलो टिभीमार्फत यो ऐतिहासिक कथा नेपाली भाषामा प्रसारण गर्ने व्यवस्था गरेको हो । हाल रमाइलो टिभी डिशहोमका ग्राहकहरूको लागि मात्र उपलब्ध रहेको र ग्राहकहरूले यसका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद र अन्य मनोरञ्जन कार्यक्रम पनि रमाइलो टिभीबाट हेर्न सक्ने डिशहोमले जनाएको छ ।
६१ लाख रुपैयाँ पारिश्रमिक लिएपछि केदार घिमिरेले भने- राज्यलाई तिर्नुपर्ने कर तिर्छु
काठमाडौं । टेलिशृङ्खलामा ‘माग्ने बुढा’को उपनामले परिचित अभिनेता केदारप्रसाद घिमिरेले राज्यलाई कर तिर्नु कलाकारको दायित्व भएको बताएका छन् । चलचित्र ‘माग्ने राजा’को पहिलो झलक (फस्टलुक) सार्वजनिक गर्न शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अभिनेता घिमिरेले अन्य क्षेत्रका पेसाकर्मीझैँ कलाकारले पनि देशमा समृद्धिका लागि आफ्नो दायित्व पूरा गर्नेबाट पछाडि हट्न नहुने बताए । ‘मैले लिएको पारिश्रमिकको चर्चा भइरहँदा मैले आफ्नो दायित्व भुलेको छैन । म आफ्नो पारिश्रमिक बुझेपछि राज्यलाई तिर्नुपर्ने कर तिर्छु, किनकि देश विकासमा हामीले पनि अन्य पेसाकर्मीझैँ तत्परता र सहभागिता देखाउनु आवश्यक छ । हामीले आफ्नो दायित्व नभुलेमात्र सरोकारवाला निकायलाई चलचित्र क्षेत्रलाई समृद्ध बनाउने विषयमा झक्झकाउन सक्छौँ,’ उनले भने । चलचित्र ‘माग्ने राजा’मा ६१ लाख रुपैयाँ पारिश्रमिक बुझ्ने चर्चा चलेपछि कलाकारको दायित्व र सुविधाका विषयमा अभिनेता घिमिरेले चर्चा गरेका थिए । उक्त चलचित्रका निर्देशक ऋषि लामिछानेले कलाकार घिमिरेको लगनशीलता र बजार मूल्य हेरेर पारिश्रमिक दिएको बताए । ‘कलाकार घिमिरेले माग राख्नुभयो होला तर हामीले उहाँको लोकप्रियता र बजारको अस्तित्व हरेर लगानी गरेका हौँ । उहाँलाई गरिएको लगानीबाट निर्माताले मुनाफा कमाउनुहुन्छ भने त्यसमा कसैले आपत्ति मान्नुपर्ने ठाउँ छैन,’ निर्देशक लामिछानेले भने । आफूले आफूलाई राजा ठान्ने स्वभाव रहेको एक व्यक्तिको कथालाई चलचित्र ‘माग्ने राजा’मा प्रस्तुत गरिएको उनको भनाइ छ । सामीप्यराज तिमल्सेनाको लेखन रहेको चलचित्रमा कलाकार घिमिरेसँगै वर्षा शिवाकोटी, विल्सनविक्रम राई, आर्यन सिग्देल, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरीलगायतले अभिनय गरेका छन् । उक्त चलचित्रलाई कलाकार मुनाल घिमिरेले निर्माण गरेका हुन् । चलचित्र ‘माग्ने राजा’ आगामी भदौ ६ गतेदेखि नेपालसहित विदेशमा पनि प्रदर्शन हुनेछ ।