राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने हो : हरिवंश आचार्य

काठमाडौं । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषित भएपछि उनले आफूलाई नियमितभन्दा फरक भूमिकामा कला प्रस्तुत गर्दै आएका छन् । त्यस्तो त आचार्यले चलचित्र ‘बलिदान’ मै आफूलाई भिन्न रुपमा प्रस्तुत गरेर वाहवाही पाएका थिए । तर, प्रदर्शनरत चलचित्र ‘भूठान’ मा उनी हाँसो हराएको मान्छेका रुपमा प्रस्तुत भएका छन् । कलाकारितामा ‘ह्युमर कमेडी’ को प्रयोग गर्ने अभिनेता आचार्यले यस चलचित्रमा दुई दृश्यमा मात्र हाँसेको हेर्न पाइन्छ । यसकारण पनि पछिल्लो केही चलचित्रदेखि उनलाई हास्य कलाकार नभई अभिनेता भन्न थालिएको छ । सतसठ्ठी वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई गम्भीरतापूर्वक लिएर पात्रलाई जीवन्त बनाएका बहुआयामिक आचार्य विविधता मन परान । “मलाई हास्य हराएको मान्छे बनेर चलचित्रमा अभिनय गर्ने रहर थियो, त्यो यसपटक पूरा भएको छ । मैले ‘महापुरुष’मा पनि आफ्नो छविभन्दा फरक रुपमा प्रस्तुत हुने कोसिस गरेको थिएँ, तर त्यसमा निर्देशकले मलाई सन्तुलित रुपमा प्रस्तुत गर्नुभयो । यसपटक भने म भिन्न देखिएको छु,” अभिनेता आचार्य भन्छन् । प्रस्तुत छ, अभिनेता आचार्यसँग कला यात्रा, चलचित्र निर्देशन र राजनीति प्रवेशको सम्भावना, नेपाली चलचित्रको विदेशी बजारलगायत समसामयिक विषयमा राससका नवीन पौडेल र भेषराज कार्कीले लिएको अन्तर्वार्ताको सम्पादित अंशः चलचित्र ‘भूठानमा’ हाँसो हराएको मान्छेको भूमिका गर्न कसरी तयार हुनुभयो ? मकहाँ धेरै चलचित्रहरुको पटकथा आउने गरेको छ । अहिले धेरैमा छोराछोरी विदेश र अभिभावक नेपाल रहेको कथा पाउने गरेको छु । तर, म आफूलाई नयाँ रुपमा प्रस्तुत गरौँ भन्ने सोचका साथ ती कथाहरु पढ्ने र सुन्ने गर्छु । तर, ‘सिचुएसनल कमेडी’ नभई संवादमा आधारित वा हाउभाउले गर्ने ‘कमेडी’ भएका कथा आइरहेका थिए । त्यही समयमा मैले ‘भूठान’ को पटकथा पाएँ । त्यो एकैपटकमा बुझ्न सहज थिएन, तर बुझ्दै गएपछि त्यसमा रहेको विविधताले मलाई आकर्षण ग¥यो । ‘बलिदान’ चलचित्रमा अभिनय गर्दा मैले सक्दिन कि भन्ने डर थियो, तर चलचित्र हेरेपछि धेरैले राम्रो गरेको प्रतिक्रिया दिनुभयो । ‘महाजात्रा’ मा पनि मैले केही फरक गर्ने कोसिस गरेको थिएँ । तर, निर्देशक प्रदीप भट्टराईले त्यसमा ‘ह्युमर’ हाल्नुभयो । तर ‘भूठान’ को पात्र नितान्त फरक छ । एकै पटक पढ्दा बुझिँदैन, अनि मैले दुई/तीनपटक पढिसकेपछि मेरो पात्र केही फरक र आफूले सोचेजस्तो पाएँ, त्यसछि कुरा अगाडि बढेको हो । तपाइँले चलचित्र ‘भूठान’ मा निर्वाह गर्नुभएको पात्र कसरी तयार भयो ? म पटकथा पढेपछि रुने दृश्यमा पनि ‘ग्लिसिरिन’ को प्रयोग गर्दिनँ । किनकि कथा र पात्र जोडिएपछि त्यसको भावना हामीमार्फत देखिनुपर्छ । चलचित्र ‘भूठान’ को कथाले मलाई केही आभाष गराइसकेको थियो । चलचित्र छायाङ्कन अगाडि भएको कार्यशालाले मलाई सहयोग गर्यो । तर, पनि आफैँलाई मैले निर्वाह गरेको विष्णुबहादुर केसी बन्न नसकिरहेको लागिरहेको थियो । एक दिन निर्देशक विनोद पौडेलले ‘दाइ, तपाइँ नेपाल जान पाउनु भएन भने के गर्नु हुन्छ ?’ भन्नुभयो । म एक्कासि निराश भएँ । किनकि विभिन्न कार्यक्रमका दौरान विदेश धेरै घुमिसकेको छु । म कार्यक्रम सकिनेबित्तिकै नेपाल फर्किन रुचाउने मान्छे । म निराश भएपछि अब यही भाव चलचित्रभर हुनुपर्छ भनेर निर्देशक पौडेलले भन्नुभयो । यसरी नै पात्र तयार भयो । छायाङ्कन अगाडि तपाइँको पात्रसँग मिल्दोजुल्दो व्यक्तिहरू भेट्नुभयो ? त्यहाँ (अमेरिका) मा रहनुभएका नेपाली मूलका भूटानीसँग भेटघाट गरेर उहाँको कुरा सुनेको छु । हाम्रो संस्कार र संस्कृतिमा केही फरक छैन, तर उहाँहरू आफ्नो देश फर्कन पाउनुभएको छैन । त्यो दुःखद हो । युवा काममा व्यस्त भए पनि वृद्ध उमेरका अभिभावकहरू भने खुसी कम हुनुहुन्छ कि जस्तो लाग्यो । म त्यसरी बस्नु परेको भए सायद जीवित रहन सक्दिन थिएँ । मैले त्यो कल्पना पनि गर्न नसक्ने तीतो सत्य हो । चलचित्र ‘भूठान’ मा तपाइँ पूर्ण रुपमा निर्देशकमा समर्पित हुनुभयो ? आफैँले यस क्षेत्रमा ५० वर्ष बिताइसक्दा पनि त्यो समर्पण गर्न सकिन्छ ? म कथामा ‘कन्भिन्स’ भएपछि निर्देशकलाई समर्पित गर्छु, किनकि चलचित्रको कप्तान नै निर्देशक हुन्छन् । म कार्यशाला गर्दा होस् वा दृश्य छायाङ्कन गर्दा आफ्नो काम दोहो¥याउनु पर्दा पनि झर्को नमानी गर्छु । किनकि हामी सबैको प्रयत्न राम्रो काम गर्ने नै हुन्छ । मैले चलचित्रमा चुम्बन गरेको छु, जहाँ शरीर नभई भावनाले एकअर्कालाई स्पर्श गरेको हो । श्रीमान्–श्रीमतीबीच यो स्वाभाविक हो । फेरि हामीले अन्तरराष्ट्रिय बजारलाई ध्यानमा राखेर चलचित्र निर्माण गरेका हौँ । मैले गरेका केही नयाँ दृश्य कलात्मक छन्, भद्दा लाग्ने छैनन् । अब आफैँ चलचित्र निर्देशन गर्ने तयारी पनि छ ? म चलचित्र निर्देशक बन्दिन होला । टेलिशृङ्खलामा छोटो समय र समूह हुने भएकाले गरेको हुँ । तर, चलचित्रको सुरुआतदेखि चलचित्र प्रदर्शन भएर चलचित्र भवनमा रहँदासम्म निर्देशकको दायित्व हुन्छ । मेरो उमेरका कारण पनि मैले त्यसरी समय दिन सक्दिनँ । अहिले मलाई विविधता भएको भूमिकाले आकर्षित गर्ने गरेको छ । म आफूलाई अभिनेताकै रुपमा व्यस्त पार्न चाहन्छु । मह सञ्चारमार्फत चलचित्र बनाउने योजना के छ ? चलचित्र निर्माणमा पनि अहिले योजना बनिसकेको छैन । तर, हाम्रा मित्र किरण केसीले विषयवस्तुसहित अन्य विविध विषयमा प्रयत्न गरिरहनुभएको छ । हामीले नगर्ने भन्ने होइन, तर तत्काल नै योजना बनिसकेको छैन । मैले हालै अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा पनि अभिनय गरेको छु, त्यसलाई छोरा मोहित (मोहितवंश आचार्य) र सरोज ओलीजीले निर्माण गर्नुभएको छ । त्यसको पनि जिम्मेवारी मैले उहाँहरु दुवैलाई नै दिएको छु । किनकि पुस्तान्तरण पनि हुन जुरुरी छ । गत वर्ष नेपाली चलचित्रको बजार बढेको देखियो । ‘पूर्णबहादुरको सारङ्गी’ को व्यापार इतिहास नै बन्यो, तपाइँले समग्र चलचित्र क्षेत्रलाई कस्तो रुपमा बुझ्नुभएको छ ? हाम्रो चलचित्र हेर्न आउने दर्शक बढ्नु हामी सबैका लागि खुसीको खबर हो । ती दर्शकलाई पुनः चलचित्र भवनसम्म फर्काइरहनु हाम्रो दायित्व हो । तर, चलचित्र निर्माणमा सङ्ख्यात्मक वृद्धिले मात्र हामीलाई दीर्घकालीन रूपमा फाइदा पुग्दैन । हाम्रो घरेलु बजारले धान्न सक्ने र चलचित्र बुझेका निर्माता वा निर्माण समूह बढ्नुपर्छ । कुनै एक चलचित्रको व्यापार हेरेर चलचित्र निर्माणमा हौसिँदा त्यसले सुखद परिणाम नदिन पनि सक्छ । त्यसकारण चलचित्र बुझेर मात्र निर्माणमा आउन म नवप्रवेशीलाई आग्रह गर्दछु । नेपाली चलचित्र अहिले विदेशमा पनि प्रदर्शन हुन्छन् ? तपाइँले बजार बढेको पाउनुभएको छ ? विदेशमा नेपाली बढेपछि हाम्रो चलचित्र बढी हेरिएको हो । त्यहाँ पुग्नुभएका नेपालीले नै हेर्नुभएको छ । त्यहाँका स्थानीयले नहेरेसम्म बजार कसरी बढ्यो भन्न सकिन्छ ? किनकि यहाँ रहेका नेपाली नै अहिले अस्ट्रेलिया, अमेरिकालगायतका देशमा पुगेका छन् । पहिला यहाँ हेर्थे, अहिले विदेशमा हेर्छन् । स्थानीयले नहेरेसम्म विदेशी बजार बढ्यो भन्न सकिन्न । पछिल्लो समय नेपाली दर्शक बढेका मात्र हुन् । तपाइँले प्रहसन धेरै गर्नुभयो, नाटक गर्ने रहर भएन वा संयोग जुरेन ? मलाई प्रहसन र नाटक उस्तै लाग्छ । हामीले प्रयोग गर्ने मञ्च नै हो । प्रहसनमा हास्यव्यङ्ग्य हुन्छ भने नाटकमा विविधता हुन्छ । हामीले गत वर्ष ‘मह जात्रा’ नामक प्रहसन प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेका थियौँ । त्यही कुनै नाटक घरमा गरेको भए, नाटक हुन सक्थ्यो । त्यसकारण यी दुईमा धेरै भिन्नता लाग्दैन । हामीले प्रत्यक्ष दर्शकसमक्ष आफूलाई मञ्चमा प्रस्तुत गरिरहेका हुन्छौँ । आगामी दिनमा कस्ता चलचित्र गर्ने सोच बनाउनुभएको छ ? म विविधता रुचाउने भएकाले यही गर्छु भन्ने छैन । तर, आफूलाई आएको प्रस्तावमा ‘ह्युमर’ भएका चलचित्र गर्छु । ‘भूठान’ मा काम गरे भन्दैमा म त्यस्तै मात्र चलचित्रमा काम गर्न रुचाउछु भन्ने पक्कै होइन । आफूलाई विभिन्न भूमिकामा प्रस्तुत गर्न चाहन्छु । मेरो आउँदो चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा मैले हरिबहादुरको भूमिका गरेको छु । यसले पनि मैले भनिरहेको विविधता झल्काउँछ होला । तपाइँ र अभिनेता मदनकृष्ण श्रेष्ठले मह जोडीका रुपमा सहकार्यको ४५ वर्ष पूरा गर्नुभयो, यो सम्बन्ध टिकाइरहन महत्वपूर्ण कुरा के रह्यो ? म र मदन दाइ (मदनकृष्ण श्रेष्ठ) ले सहकार्य गरेको यही वैशाख १४ मा ४५ वर्ष पूरा भएको छ । हाम्रो जोडीले यो यात्रा पार गर्नुमा आपसी सम्बन्ध, पारिवारिक हार्दिकता र दर्शकको माया महत्वपूर्ण बन्यो । दर्शकले हामीलाई एकसाथ हेर्न इच्छा नराख्नु भएको भए हामीले यत्रो यात्रा पार गर्न गाह्रो हुन्थ्यो । अनि हामीलाई परिवारले सधैँ सहयोग गरेर अगाडि बढ्न मद्दत ग¥यो, हाम्रो सम्बन्धमा उनीहरू हाबी भएनन् । यसका साथै हामीले गरिरहेको कामले दुवैको नाम दियो, एउटा स्थान बनायो । हामीले एकअर्कासँग कहिल्यै आरिस (इगो) राखेनौँ, सधैँ दर्शकको भावनाअनुरुप प्रस्तुत भइरहयौँ । तपाइँ र अभिनेता मदनकृष्ण श्रेष्ठले फरक फरक चलचित्रमा अभिनय गरिरहनुभएको छ, यद्यपि दर्शकले एकसाथ हेर्ने इच्छा जाहेर गरेका छन् । तयारी छ केही ? दर्शकलाई जस्तै हामीलाई पनि सँगै काम गर्दा खुसी लाग्छ । त्यहाँ काम नगरेर पारिवारिक माहोलमा रमाएको महसुस हुन्छ । त्यसकारण कथा अनुकूल हुने बित्तिकै हामीसँगै देखिने नै छौँ । फेरि हामीलाई एकअर्काको सानो भूमिका छ भन्ने पनि लाग्दैन तर त्यो पात्रको अर्थ हुनुपर्छ । हामी मह जोडी छौँ भनेर मात्र दर्शकलाई खुसी बनाउन सकिँदैन । हामीले निर्वाह गर्ने भूमिका सशक्त, कथामा महत्वपूर्ण भएमा पैसा र समय खर्चेर चलचित्र भवन आइपुग्नुभएका दर्शक पनि खुसी बन्नुहुन्छ । हामीसँगै काम गर्छौं, केही समय मात्र लागेको हो । किनकि मैले मदन दाइसँग काम नगरे कोसँग गर्ने ? अहिलेको नयाँ पुस्ताले हास्यव्यङ्ग्यमा कस्तो गरिरहेका छन् ? बेलाबखतमा उच्छृङ्खल भए भन्ने पनि आउँछ नि ? मह जोडी बनेर हामीले काम सुरु गर्दा आफ्ना कुरा सिधै भन्न पाइने व्यवस्था थिएन । हामीले अभिव्यक्त गर्ने कुराहरूलाई शब्दसँग खेल्दै त्यसलाई कलात्मक बनाएर प्रस्तुत गर्थ्यौं । अहिले द्विअर्थी लाग्ने संवाद वा उच्छृङ्खल भएको भन्ने सुनिन्छ, केही भएका पनि छन् । तर, दर्शकले रुचाउनुभएको छ । ती फेरि नेपाली मात्र नभई विदेशी च्यानल वा डिजिटल माध्यममा उत्तिकै छन् । दर्शकले रुचाउनु भएकै कारण त्यस्ता कार्यक्रम बढेका छन् । यद्यपि यो क्षणिक लहर हो जस्तो लाग्छ । विस्तारै यो परिवर्तन हुँदै जान्छ । पछिल्लो समय टेलिभिजनमा शृङ्खला कम पाइन्छ, किन जस्तो लाग्छ ? हामी कहाँ शृङ्खला निर्माण लागत बढेको र त्यसबापत प्राप्त हुने लाभ कम भएकाले शृङ्खला निर्माणमा कमी आएको हुनसक्छ । विदेशमा रहेका उद्योगले प्रायोजन गरेर शृङ्खला निर्माणमा सघाउने गरेको सुन्छु । तर, यहाँ त्यो अवस्था निकै कम छ । यसलाई सरकारले भाषा र संस्कृतिको माध्यमका रुपमा बुझेर सघाउनुपर्छ । भारतीय टेलिभिजन नेपालमा हेरिनुले अहिले बिस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ । यसले भाषामा पनि प्रहार गरेको छ । उदाहरणका लागि विवाह नै लिन सकिन्छ । पहिले र अहिले वैवाहिक कार्यक्रममा तपाईँले सहजै अन्तर देख्न सक्नुहुन्छ । त्यसले आर्थिक भार थपेको छ, अभिभावक देखासिकी गर्न बाध्य छन् । त्यसकारण नेपाली कार्यक्रम, शृङ्खलालगायतलाई प्रोत्साहन गर्न सरकार नै अग्रसर हुनु जरुरी छ । ‘चिना हराएको मान्छे’ को लोकप्रियतापछि किताब लेखनबारे सोच्नु भएको छ कि ? मैले एउटा पाण्डुलिपि तयार गरेको छु । सम्भवतः तीनदेखि चार महिनामा त्यो किताबका रुपमा आउनेछ । राजनीतिमा आउने तपाइँको चाहना छ ? म बिस्तारै ‘रिटायर्ड’ हुँदैछु । त्यसकरण राजनीतिमा आउने सोच पनि मैले बनाउनु हुँदैन । हामीले अहिले राजनीतिमा युवा आउनुपर्छ भनिरहेका छौँ, युवालाई नै प्रोत्साहन गर्ने हो । उहाँहरूसँग नयाँ जोस, जाँगर र काम गर्ने शैली हुन्छ । हामीले युवालाई सघाउने र अगाडि बढाउने हो । रासस

'द स्कुल वाल' ले भारतको इन्टरनेशनल स्टार सिने अवार्डमा तीन विधामा जित्यो अवार्ड

काठमाडौं । नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ ले भारतको इन्टरनेशनल स्टार सिने अवार्डमा तीन विधामा अवार्ड जित्न सफल भएको छ । वन्ली फिल्म फेस्टिभलको आयोजनामा सम्पन्न उक्त महोत्सवमा ‘द स्कुल वाल’ ले बेष्ट सर्ट फिल्म, बेष्ट स्टोरी ओरिजिनल र बेष्ट डिरेक्टर जुरी मेन्सन अवार्ड हात पारेको हो । ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्रको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । सुरेन्द्र क्षेत्रीले कास्टिङ डाइरेक्शनसँगै निर्माण जिम्मेवारी सम्हालेका छन् । ‘द स्कुल वाल’ ले यसअघि पनि रसियाको किनो फिल्म फेस्टिभल, नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल, नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल, र ग्लोबल एक्सिलेन्स अवार्डमा विभिन्न विधामा अवार्ड जितिसकेको छ । फिल्ममा गरिबी, जिम्मेवारी र परिस्थितिले बाँधिएका एक बालकको संघर्षको कथा प्रस्तुत गरिएको छ । श्लोक साहले मुख्य भूमिका निर्वाह गरेको चलचित्रमा सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गीता थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘द स्कुल वाल’ अमेरिका, नाइजेरिया, इरान, इटाली, इजिप्ट, ब्राजिल, मलेसिया, कोरिया, बेलायत लगायतका देशका प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा पनि छनोट भइसकेको छ । नेपालमा इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ), नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) लगायतका महोत्सवहरूमा समेत यो फिल्मले आफ्नो उपस्थिति जनाइसकेको छ । बजार व्यवस्थापक लर्निङ मिडिया एण्ड इभेन्ट प्रालिका अनुसार विद्यालयहरूमा प्रदर्शन भइरहेको फिल्मले शिक्षक र विद्यार्थीहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ । विद्यालयहरूबाट फिल्म प्रदर्शनको माग समेत बढिरहेको जनाएको छ ।

जब चलचित्र हेरिरहँदा दर्शकले आक्रोश व्यक्त गरे...

काठमाडौं । केही समययता चलचित्र भवन पुगेर दर्शकको प्रतिक्रिया लिने क्रम बढिरहेको छ । चलचित्र प्रदर्शन भइरहेको समयमा निर्माता र निर्देशक नै कलाकारसहित मिडियाकर्मी लिएर चलचित्र भवन पुग्ने गरेका छन् । दर्शकले दिएको प्रतिक्रियाले चलचित्रको व्यापार बढ्ने अपेक्षासहित पछिल्लो समय यसले निरन्तरता पाएको छ ।  तर, केही दिन अगाडि एक दर्शकले यस्तो शैलीप्रति आपत्ति जनाए । उनले चलचित्र भवनभित्र चलचित्र हेरिरहँदा क्यामेरा नल्याउन सुझाव दिँदै आक्रोश व्यक्त गरे । त्यसपछि चलचित्र भवनमा दर्शक प्रतिक्रिया लिन जाने कि नजाने भन्ने विषयमा बहस चल्न थालेको छ । यस्तो शैली प्रदर्शक अर्थात् चलचित्र भवन सञ्चालकलाई पनि मन परेको छैन । तर यसलाई निर्माताले ‘पब्लिसिटीको पार्ट’ भनेपछि प्रदर्शकले केही गर्न सकेका छैनन् । निर्देशक निश्चल बस्नेतले दर्शकलाई भेट्न कलाकार जानु गलत नरहेता पनि गोपनीयताका बारेमा सचेत हुनु जरुरी रहेको बताए । अहिलेको शैलीमा परिमार्जन गरेर दर्शक प्रतिक्रिया लिन सकिने उनको भनाइ छ ।  उनले भने, ‘हाम्रो चलचित्र हेर्न आएका दर्शकलाई भेटेर हाम्राबारेमा गरिएका समीक्षा धेरै ठाउँमा पुगोस् भनेर चलचित्र भवन पुग्ने गरेका छौँ । यदि हाम्रो त्यही कुराले दर्शकलाई असर गरेको छभने हामी सचेत हुनुपर्छ, किनकि दर्शक दुःखी बनाएर चलचित्रकर्मी खुसी हुन सक्दैनौँ ।’  उनले आफ्नो पहिलो चलचित्र ‘लूट’ को समयमा आफूसहित अभिनेताद्धय सौगात मल्ल र दयाहाङ राई काठमाडौँका विभिन्न चलचित्र भवन डुलेको स्मरण गरे । ‘हामी उक्त समयमा कलाकार र निर्देशकमात्र दर्शक प्रतिक्रिया लिन पुगेका थियौँ । अहिले हामीसँग मिडिया र क्यामेरा पनि हुन्छ, सायद यसकारण दर्शकले प्रश्न गर्नुभएको हुनसक्छ । हामी यसमा सच्चिनु पर्छ,’ निर्देशक बस्नेतले भने ।  अभिनेत्री स्वस्तिमा खड्काले आफूले यसबारेमा निर्माता तथा निर्देशकसँग छलफल गर्ने गरेको बताइन् ।  उनले भनिन्, ‘हामी चलचित्र हेरि रहनुभएका दर्शकमाझ त्यतिकै पुग्दा चलचित्रमा असर गर्छ । हामी पर्दाभित्र एउटा भूमिकामा हुन्छौँ भने बाहिर भिन्न । त्यसकारण चलचित्र हेरेर निस्किने इच्छुक दर्शकले भेट्न मिल्ने वा प्रतिक्रिया दिन मिल्ने गरी हामी एउटा छुट्टै स्थान बनाएर बस्नुपर्छ जस्तो लाग्छ ।’  उनले दर्शकले पनि कलाकार भेटेर खुसी व्यक्त गर्ने र कलाकारलाई आफ्नो कामको प्रतिक्रिया सिधै प्राप्त हुने भएकाले यो गलत नै नभएको बताइन् ।  प्रदर्शक तथा वितरकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले यस विषयमा प्रदर्शकबीच सल्लाह भइरहेको बताए ।  ‘दर्शकको गुनासो हामीले पनि सुनिरहेका छौँ । निर्माण पक्षले यसलाई प्रचारप्रसार भनेपछि हामीले पनि सहजता दिएका हौँ । दर्शक पनि कलाकार भेट्दा खुसी नै भएको पाएका छौँ । अब यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दैछौँ,’ उनले भने ।