सैफ अलि खानलाई चक्कु हान्ने व्यक्ति पक्राउ

काठमाडौं । बलिउड अभिनेता सैफ अलि खानलाई चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोहम्मद सरीफुल अस्लाम असजाद रहेको प्रहरीले जनाएको छ । उनी विजोय दास नाम राखेर मुम्बइमा बस्दै आएको बताइएको छ । उनी भारतीय नागरिक भएको प्रमाण फेला नपरेको प्रहरीको भनाइ छ । तर, प्रहरीले उनी बांङ्लादेशी नागरिक हुन सक्ने अनुमान गरेको छ । तर उनीसँग पासपोर्ट वा अरु कुनै परिचयपत्र केही पनि फेला नपरेकाले अनुसन्धान जारी छ । पत्रकार सम्मेलनमा मुम्बई प्रहरीका डिसीपी दीक्षित गेदमले भने, ‘उनी अवैध तरिकाले भारत आएका थिए । विगत चार महिनादेखि मुम्बइको ठाणेमा बसेर हाउस किपिङ एजेन्सीमा काम गरिरहेका थिए ।’ उनको साथबाट प्राप्त केही कागजात हेर्दा उनी बांङ्लादेशी नागरिक भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध राहदानी दुरुपयोग लगायतका मुद्दामा पनि आरोप पत्र दायर गर्ने तयारी प्रहरीले गरेको छ । उनलाई आज अदालत पेस गरिँदै छ । दिएको जानकारी अनुसार ती व्यक्ति सैफ अलि खानको घरमा चोरी गर्ने उद्देश्यले घुसेका थिए । त्यही क्रममा १६ जनवरीको दिन राति २ बजे सैफ अलि खानमाथि चक्कु प्रहार भएको थियो । शल्यक्रियापछि सैफ अलि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

गीतकार शुभ मुकारुङको गीतीसंग्रह ‘यतै अल्मलिएँ’ बिमोचन

काठमाडौं । वरिष्ठ गीतकार शुभ मुकारुङको दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ सार्वजनिक भएको छ । काठमाडौंको पुतलीसडकमा रहेको ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा कार्यक्रमबीच उनको पुस्तक लोकार्पण भएको हो । यो भन्दा अगाडि उनको पुस्तक ‘पुग्नु कहाँ थियो’सार्वजनिक भैसकेको छ । कार्यक्रममा गीतकार पुर्वमन्त्री एसपि कोइराला, गीतकार गीतकार संघ पुर्व अध्यक्ष चुडामणिा देवकोटा, गीतकार अमर बान्तु, सास्कृतिक विद भक्त राई, हेमराज राई, गीतकार श्रवण मुकारुङ, गायक दिलेन्द्र मुकारुङ, गीतकार शितल कादम्बिनी, चर्चित कवि गीतकार चन्द्र रानाहोङछा, चर्चित गीतकार बिपिन किरण लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो । करिब साढे तीन दशकको साहित्यिक यात्राको क्रममा गीतकार संघ पुर्व अध्यक्ष समेत रहेका वरिष्ठ गीतकार मुकारुङले ल्याएको यो गीति संग्रह जीवन यापन, लोक सन्दर्भमा रहेको छ। कार्यक्रमको अध्यक्षता गीतकार संघ नेपाल अध्यक्ष गीतकार वसन्त बित्यासी थापाले गरेका थिए भने गीतकार संघ उपाध्यक्ष वरिष्ठ गीतकार रमेश कोइरालाले उद्घोषण गरेका थिए । कार्यक्रममा विभिन्न गीतकार, संगीतकार, सन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत

काठमाडौं । गायक प्रकाश सपूतको परिचय संगीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ । गीत र श्रव्य दृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहेका गायक सपूतले चलचित्र निर्माण गरेका छन् । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उनलाई पाउन सकिन्छ । एकै व्यक्तिले यति धेरै भूमिका निर्वाह गर्न कठिनाइ हुँदैन त ? यस जिज्ञासामा गायक सपूतले आउँदा दिनमा एक विधामा मात्र केन्द्रित हुने प्रतिक्रिया दिए । उनी निर्देशित पहिलो चलचित्र ‘वसन्त’मा समावेश पहिलो गीत ‘साँझ पर्‍यो झमक्कै’ को गीत र श्रव्य दृश्य सार्वजनिक गर्न शनिबार साँझ दरबारमार्गमा रहेको एक चलचित्र भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गायक सपूतले आफ्नो समूहका कारण यस पटक सफल भए पनि आउँदा दिनमा एक विधाबाहेक अरूको जिम्मेवारी नलिने बताए । उनले भने, ‘आफैँले सबै काम गर्दा गाह्रो नै हुने रहेछ । विशेषतः निर्देशन र अभिनय एकै पटक गर्दा दुवैमा ऊर्जा बाँडिएको महसुस भयो । त्यसैले आउँदो चलचित्रमा म निर्देशक भएमा आफ्नो दृश्यलाई निकै कम राख्छु, नत्र सुनिल विकलाई निर्देशनको जिम्मेवारी दिन्छु र म अभिनयमा मात्र केन्द्रित हुन्छु । किनकि मेरै पछिल्ला कामभन्दा कमजोर नहोस् भन्ने मेरो प्रयास रहन्छ ।’ यस विषयमा अभिनय र निर्देशनसँगै गरिरहेका निश्चल बस्नेत, अर्पण थापा लगायतसँग छलफल गरेको गायक सपूतले बताए । उनले गायनमै व्यस्त हुँदा चलचित्र निर्देशनमा आउनु कथालाई धेरै दर्शकसम्म पुर्‍याउने चाहना भएको बताए । ‘भोगाइ, देखाइसहितका आफ्ना कथा गीतमार्फत व्यक्त गरिरहेको थिएँ । मलाई ती कथा गीतमै सकाउँछु कि भन्ने लाग्यो । त्यही भएर चलचित्र बनाउने योजनालाई मूर्तरूप दिएको हुँ । यो मजस्ता धेरै मध्यम वर्गीय युवाको कथा हो’, उनले भने । यो चलचित्रको कथामा आफ्नो बालापन र भोगाइ भए पनि आफ्नै जीवनी भने नरहेको गायक सपूतले स्पष्ट पारे । अभिनेत्री स्वस्तिमा खड्काले गायक सपूतले एउटा परिपक्व चलचित्रकर्मी भएर काम गरेको बताइन् । उनले भनिन्, ‘गायक सपूतलाई मैले नयाँजस्तो कहीँकतै पाइनँ । उहाँको काममा परिपक्वता थियो, जसलाई दर्शकले छिट्टै पर्दामा महसुस गर्नुहुनेछ । यो चलचित्रमा जोडिएर शान्ति नामक पात्र बाँच्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु । यो मलाई वर्षौँसम्म सम्झिने पात्र बन्ने छ ।’ सार्वजनिक गरिएको ‘साँझ पर्‍यो झमक्कै’ गीतमा शब्द, संगीत र स्वर सपूतकै रहेको छ भने गायनमा शान्तिश्री परियारले साथ दिएकी छन्। चलचित्रमा प्रभात पाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन् । आर्थिक रूपमा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षलाई चलचित्रको विषय बनाइएको निर्माण पक्षले जनाएको छ । यो चलचित्र आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ । रासस