अन्तर्राष्ट्रियस्तरमा नेपाली र्‍यापको चर्चा

काठमाडौं । नेपाली गीतसङ्गीतमा ‘र्‍याप’ को छुटै स्थान छ । भनिन्छ, र्‍यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ । लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने सदाबहार विधा हुन् । यद्यपि नयाँ पुस्ता र्‍यापतर्फ पनि उत्तिकै आकर्षित छन् । पप विधाअन्तर्गत रहेको र्‍यापलाई ‘एक्प्रेस योर सेल्फ’ भन्ने गरिन्छ । र्‍यापले आफ्नो भोगाई र समाजको देखाइलाई व्यक्त गर्ने गरेको छ । पछिल्लो समय नेपाली र्‍याप र र्‍यापरको चर्चा राष्ट्रिय रूपमा मात्रै होइन अन्तर्राष्ट्रियस्तरमा पनि हुने गरेको छ । विदेशी र्‍यापरले नेपाली र्‍यापरको चर्चा गरेपछि यसप्रतिको आकर्षण र यसको बजार पनि बढ्दै गएको बताइन्छ । र्‍यापर गिरिस खतिवडा पछिल्लो समय र्‍यापको सुनौलो समय आएको बताउँछन् । ‘हामी कलाकारको लागि र्‍याप एउटा थेरापी जस्तै हो, मनको कुरा पोख्न पाएका छौँ । र्‍यापले गाउँको समस्या सहरसम्म र सहरको समस्या गाउँसम्म बुझाएको छ, किनकि म आफैँ सहरमा बस्न थालेपछि गाउँलाई र्‍यापमार्फत पनि चिन्ने गरेको छु,’ उनले भने । खतिवडाले आफूले र्‍यापलाई मनको कुरा व्यक्त गर्ने माध्यमको रूपमा लिएको बताउँछन् । अन्य माध्यमको तुलनामा सजिलै भावना व्यक्त गर्न सकिने माध्यम र्‍याप रहेको उनको बुझाइ छ । अर्का र्‍यापर मानस घलेले नयाँ पुस्तामा र्‍यापप्रति बढेको आकर्षणले सङ्गीतमा छुटै स्थान बनाउन सफल भएको बताए । ‘हामीले र्‍यापलाई नेपालभर प्रचार गर्ने प्रयास गरेका थियौँ तर अहिलेको पुस्ताले यसलाई अन्तर्राष्ट्रियकरण गरेको छ । नेपाली भाषा नबुझ्ने पनि हाम्रो श्रोता बन्नुभएको छ । हामीले रहरमा सुरू गरेको र्‍याप अहिले पेसा बनिसकेको छ । अहिले र्‍याप गायनबाटै जीविकोपार्जन गर्न सकिन्छ,’ उनले भने । र्‍यापरप्रति सामाजिक धारणा फेरिएकै कारण काठमाडौं महानगरपालिकाले र्‍यापर बालेनलाई प्रमुखको रूपमा पाएको उनले बताए । पछिल्लो समय नवोदितसँगै पुराना र्‍यापरको माग स्टेज कार्यक्रममा पनि बढ्दै गएको छ । नेपाल मात्र नभई विदेशमा पनि उत्तिकै लोकप्रिय छन्, र्‍यापर । यद्यपि र्‍यापलाई चाहिनेभन्दा बढी बद्नाम गर्नेको पनि कमि नरहेको र्‍यापर हाकिमले बताए । ‘र्‍याप भनेको भावना व्यक्त गर्ने भएकाले यसमा बन्देज हुँदैन, यसकारण पनि हामीले मनमा लागेको शब्दलाई कुनै फिल्टर नगरी बाहिर ल्याउछौँ तर यो भन्दैमा अश्लीलतालाई प्रवर्द्धन गर्नु हुँदैन । र, जसले अश्लील, अपाच्य शब्दकै सहारामा मात्र र्‍याप बनाउने गरेका छन्, ती चर्चाको लागि आएका र्‍यापर हुन् । किनकि र्‍यापमा बेदना, भोगाई र बुझाइ हुन्छ,’ उनले भने । र्‍यापरलाई सुरुआती समयमा आर्थिक कठिनाई र सामाजिक सद्भाव नभएका कारण ती पीडा र्‍यापमार्फत बाहिर आउने गरेको गयाक ब्रिजेश श्रेष्ठको बुझाइ छ । गीत रेकर्डिङ स्टुडियोसमेत सञ्चालन गरिरहेका उनले नवोदितको पीडा राम्रोसँग बुझेको बताए । ‘मसँग स्टुडियो भएकाले नयाँको पीडालाई नजिकबाट अनुभव गरेको छु । उनीहरूको रहरमा समाज र परिवार बाधक बन्ने गरेको सुनेको छु, किनकि र्‍यापलाई अहिले पनि रहरिया भन्ने गरिन्छ । त्यहीकारण मैले प्रतिभावान केहीलाई निःशुल्क रेकर्डिङ गरिदिने गरेको छु । यो पेसालाई सहजै स्वीकार नगरिएकै प्रभाव र्‍यापमा देखिएको पनि हुन् सक्छ,’ गायक श्रेष्ठले भने । उनी केही समय अगाडि गीतसङ्गीत छाडेर विदेश पनि जानु भएको थियो तर आफ्नो ‘प्यासन’ जीवित रहँदै नेपाल फर्किएर पुनःगीतसङ्गीतमा सक्रिय भएका छन् । श्रेष्ठ गीतसङ्गीतलाई सबैले सुन्ने र हेर्ने बनाउनुपर्ने बताउँछन् । हाल र्‍यापको अवस्था नेपालमा राम्रो देखिनु खुसीको विषय भए पनि र्‍यापरले परिवेश र भविष्य हेर्ने भन्दा पनि आफ्नो भावना व्यक्त गर्ने गरेको र्‍यापर खतिवडाको धारणा छ । ‘हामीले र्‍याप हान्ने हो, आफूलाई व्यक्त गर्ने हो । यसको भविष्य के होला वा हाम्रो स्कोप कस्तो छ भनेर सोच्ने नै होइन । र्‍यापले मलाई खुसी र सन्तुष्टी दिएको छ, त्यहि भएर म अहिलेसम्म सक्रिय छु,’ उनले भने । र्‍यापर घले हाल विभिन्न रियालिटी ‘सो’ हरू निर्माण भइरहेकाले पनि र्‍यापमा भविष्य खोज्नेलाई सहज भएको बताउँछन् । ‘हाल आइरहेका विभिन्न कार्यक्रमले एउटा बाटो देखाएको छ तर मेहनती चाहिँ हुनुपर्छ किनकि मेहनती नहुँदा त्यसको प्रतिफल पाउन सकिँदैन । अहिले सहजता बढेसँगै प्रतिष्पर्धा पनि बढेको छ । त्यसैले यसलाई नै पेसा बनाउन मेहनत आवश्यक छ,’ उनले भने । र्‍यापर हाकिमले ‘जी-बब’जस्ता र्‍यापर ‘रियालिटी शो’मार्फत नै आएको बताए । उनीसहितको टिमले विभिन्न ‘सो’समेत गर्ने गरेको छ । र्‍यापलाई पेसा बनाउन सके यसमा राम्रो भविष्य उनले देखेका छन् । ‘अहिले नेपाल मात्र नभई विदेशमा समेत कार्यक्रममा सहभागिता जनाउन सके र्‍यापरका लागि उत्तम समय छ । आउँदो दिन झनै राम्रो देखिएको छ । अहिले र्‍यापलाई लिएर सामाजिक धारणासमेत फेरिएको छ । म निकै खुसी छुँ,’ र्‍यापर हाकिमले भने । उनको ‘राक्षस’, ‘चोरीदेउ लौन मलाई’ लगायतका गीत लोकप्रिय छ । ती गीतको समयमा यसलाई ‘प्यासन’को रूपमा हेरिएको उनले स्मरण गरे । नयाँ पुस्ताको आगमन बढेसँगै केही अश्लीलता बढेकामा भने धेरै जसोको चिन्ता छ । ‘अहिले बढिरहेको लोकप्रियताले र्‍याप नबुझी आउनेलाई यहाँ टिक्न दिँदैन । यहाँ टिक्न र र्‍याप गाउन त लगाव चाहिन्छ, नत्र एउटा र्‍याप बनाउने र हराउने हुन्छ । यद्यपि आउँदो समय नेपाली र्‍यापका लागि राम्रो देखिएको छ,’ र्‍यापर हाकिमले भने । र्‍यापरद्वय खतिवडा र घलेको पनि यस्तै सल्लाह छ । उनीहरू नवोदितका लागि यसै क्षेत्रमा राम्रो भविष्य देख्छन् ।

सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा डिशहोमको इन्टरनेट सेवाको नयाँ शाखा उद्घाटन

काठमाडौं । सैनामैना नगरपालिकाको नगर प्रमुख फणेन्द्र प्रसाद शर्माद्वारा मुर्गिया क्षेत्रमा डिशहोमको नयाँ सेवा केन्द्र उद्घाटन गरेका छन् । सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा डिशहोमको इन्टरनेट सेवाको नयाँ शाखाको उद्घाटन गरिएको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, डिशहोमका कर्मचारीहरु तथा अन्य उल्लेखनीय ब्यक्तीहरुको उपस्थिति रहेको थियो । नवउद्घाटित सेवा केन्द्रले सैनामैना नगरपालिकाका ग्राहकहरूलाई डिशहोमका विविध सेवाहरू उपलब्ध गराउनेछ । ग्राहकहरूले यहाँबाट इन्टरनेटको नयाँ जडान, रिचार्ज, र टिभी जडान तथा रिचार्ज सेवा बुक गर्न सक्नेछन् । यस सेवा केन्द्रमार्फत अब सैनामैना क्षेत्रका स्थानीय ग्राहकहरूको आवश्यकता समाधान गर्न र गुणस्तरीय सेवा सुविधाहरू थप प्रभावकारी रूपमा प्रदान गर्न सहयोग गरिनेछ । डिशहोमको यो नयाँ शाखाले सैनामैना नगरपालिकाका नागरिकहरूलाई डिजिटल सेवासम्बन्धी सहज पहुँच पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

‘मह जात्रा’ प्रहसनको तयारी पुरा

काठमाडौं । मह जोडीले नेपालमा करिब दश वर्षपछि ‘मह जात्रा’ नामक प्रहसनमार्फत आफ्नो प्रस्तुति दिने प्रहसनका लागि रियल्सल लगायतका सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । मिरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम कात्तिक २९, ३० र मंसिर १, ४, ५, ६, १२, १३, १७, १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । आयोजककाअनुसार प्रहसनमा किरण केसी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेतजस्ता ख्यातिप्राप्त हास्य कलाकारहरूको पनि प्रस्तुति रहनेछ । यस प्रहसनको प्रमुख विशेषता हास्य–व्यंग्यको माध्यमबाट समाजमा विद्यमान समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्नु रहेको र नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, र सांस्कृतिक कुरितीहरूलाई व्यंग्य शैलीमा प्रस्तुत गर्ने यो कार्यक्रम मह जोडीको विशिष्ट र मौलिक शैलीमा हुने हास्य कलाकार किरण केसीले बताएका छन । मह जोडीले यसअघि प्रस्तुत गरेका लोकप्रिय प्रहसनहरू, जस्तै यमलोक, प्यारालाइसिस, अंशबन्डा, विज्ञापन, श्राद्ध, नेपाल बन्द, रिमोट कन्ट्रोल, वडा नं. ३४, दुई सय पाँच, नाता, र सपथ ग्रहणजस्ता प्रस्तुति नेपाली हास्य क्षेत्रमा अत्यन्त स्मरणीय रहेका छन् । हाल मदनकृष्ण श्रेष्ठ पार्किन्सन्स रोगबाट पीडित भए तापनि अभिनय, लेखन र गायनलाई निरन्तरता दिइरहेका छन् । उनले आफ्नो स्वास्थ्यले साथ दिएसम्म कलाकारीता क्षेत्रमा लागिरहने बताउदै , साथी हरिवंशलाई सधैं साथ दिने प्रतिबद्धता पनि सार्वजनिक रूपमा प्रकट गर्दै आएका छन् । दश वर्षको अन्तरालपछि फेरि मंचमा एकसाथ आउने मह जोडीले पुरानो शैलीको हास्य–व्यंग्यलाई पुनर्जीवित गर्ने उद्देश्य लिएको छ । यो प्रहसनमा मनोरञ्जनसँगै सामाजिक सन्देशको समिश्रण हुनेछ, जसले दर्शकलाई हसाउँदै समाजप्रति नयाँ दृष्टिकोण राख्न प्रेरित गर्नेछ । हालैका वर्षहरूमा नेपाली समाजमा भएका विविध राजनीतिक, सामाजिक, र सांस्कृतिक घटनाहरूको आलोचनात्मक दृष्टिकोण यस प्रहसनमा देख्न पाइनेछ, जसले दर्शकलाई हाँस्दै सोच्न बाध्य बनाउनेकुराको जानकारी प्रहसनका लागि रियल्सल गरिरहेका कलाकारहरुले दिए । ‘मह जात्रा’ कार्यक्रम मह संचार र सुश्री मिडियाको सहकार्यमा हुने प्रहसनको टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । ‘मह जात्रा’ नेपाली हास्य–व्यंग्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।