नेपालमा लगानी गर्न आउने चलचित्र उद्योगीलाई सहज वातावरण छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मौलिक संस्कृति र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने गरी निर्माण हुने चलचित्रलाई सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने बताएका छन् । आठौँ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा आज उनले सांस्कृतिक र पर्यटन प्रवर्द्धन हुने गरी चलचित्र निर्माण गर्ने योजना लिएर आए मन्त्रालयले सहयोग र सहजीकरण गर्ने बताए । गुणस्तरीय चलचित्र निर्माण गर्न सकेको अवस्थामा विदेशीभन्दा स्वदेशी चलचित्रप्रतिको दर्शकको आकर्षण बढी हुने भन्दै मन्त्री पाण्डेले चलचित्र उद्योग भौतिक र अभौतिक सुन्दरता बोक्नेतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । ‘चलचित्र बनाउने विषय निर्माताको विषय मात्रै होइन, एउटा चलचित्र सफल भएको अवस्थामा निर्माता, निर्देशक र कलाकारसहित समग्र मुलुकले त्यसबाट फाइदा लिनसक्छ । निराशाको बढी प्रचार भइरहेका बेला आशाको सञ्चार गर्न पनि चलचित्र प्रभावकारी माध्यम बन्नसक्छ । यसतर्फ ध्यान दिन आवश्यक छ,’ उनले भने । मन्त्रालयअन्तर्गतका ८ वटा धरोहर विश्वसम्पदा सूचीमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले त्यसलाई समेटेर चलचित्र उद्योगी अघि बढेको अवस्थामा मन्त्रालयको पनि सहयोग रहने धारणा राखे । ‘यसबाट नेपालले पर्यटन क्षेत्रबाट लाभ लिनसक्छ । चलचित्रकर्मीले विगतका विषयवस्तु र साँघुरो मानसिकताभन्दा माथि उठेर विश्वव्यापीकरणको सोच राख्नुपर्ने आवश्यकता छ । स्वदेशमा लगानी गर्न आउने उद्योगीलाई सहज वातावरण बनाउनुपर्छ । नेपाली चलचित्र बाहिर खिच्नुपर्ने अभ्यासलाई निरुत्साहित गर्नुपर्छ,’ उनले भने । मन्त्री पाण्डेले राष्ट्रिय एकता, सहिष्णुता, धार्मिक एकतासहितको सन्देशसमेत चलचित्रले दिने भएकाले यस क्षेत्रको प्रवर्द्धन गर्न सरकारले काम गरिरहेको बताए । चलचित्रकै माध्यमबाट सांस्कृतिक स्थलहरू पशुपति, लुम्बिनी, जनकपुरजस्ता क्षेत्रको विश्वमा प्रवर्द्धन गर्न सकिने उनको भनाई छ ।

शारिरिक दुर्बलतालाई जितेर लाखौं कमाउने अनिल, सम्पादकदेखि निर्देशकसम्म

‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल, सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल’ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको यो कविताको पंक्ती जस्तै मानिसमा दृढ ईच्छाशक्ति र लगनशिलता भयो भने कुनै पनि कार्य असम्भव हुँदैन । जीवनमा सबल भएर पनि केहि गर्न सकिँन भन्नेहरुका लागि एक उदाहरणीय र प्रेरणाका पात्र हुन्, अनिल कुमार महर्जन । उनको सिर्जनशीलताको अगाडि शारिरिक दुर्बलताले पनि हार खाएको छ । शारिरिक रुपमा अशक्त भएपनि उनले चलचित्र, लघुचलचित्र, वृत्तचित्र, म्युजिक भिडियोहरु सम्पादन गरेर महिनाको लाखौं आम्दानी गर्ने गर्दछन् । कुनै ईन्स्टिच्युटमा नगई घरमा आफै सम्पादन कला सिकेर हजारौं भिडियोहरु सम्पादन गरिसकेका अनिलले एक दर्जन बढि म्युजिक भिडियोहरु तथा लघुचलचित्रहरुसमेत निर्देशन गरिसकेका छन् । अनिलको बाल्यकाल, विवाह र शिक्षा ललितपुरको कुपन्डोलमा सुनिल महर्जन र शान्ति महर्जनको कोखबाट जन्मिएका ४७ वर्षीय अनिल कुमार महर्जन घरका जेठा सन्तान हुन् । वंशाणुगत शारीरिक समस्या मार्बल बोन डिजिज अर्थात् हड्डीभित्रको मासी नबढ्ने समस्याका कारण अनिल सानैदेखि हिँड्न सक्दैन थिए । आमामा देखिएको यो समस्या तीनजना दाजुभाइमध्ये अनिलसँगै माईला भाई अजय महर्जन पनि मार्बल बोन डिजिज सर्भाइभर हुन् । घिस्रिँदै हिँड्नुपर्ने भएका कारण अनिल विद्यालय पढ्नको लागि जान सक्दैन थिए । उनी घरमै स्वअध्ययन गरेर परिक्षा दिने गर्थे । बहिनीहरुलाई सिकाउन आएको शिक्षकले नै उनलाई पनि घरमा नै सिकाउने गर्दथे । अनिललाई बुबा आमाले बोकेर कहिलेकाहिँ स्कुल लगिदिने गर्थे । ५१ सालमा एसएलसी पास गरेका अनिलले निम्स कलेजबाट व्यवस्थापनमा १२ कक्षा सम्मको अध्ययन पुरा गरेका छन् । उनी बैसाखीको सहाराले कलेज जाने गर्दथे । उनको इन्जिनियरिङ पढ्ने ईच्छा थियो तर आर्थिक र शारिरिक समस्याकै कारण पढ्न नसकिएको उनी बताउँछन् । २७ वर्षको उमेरमा दोलखाकी मन्जु कार्कीसँग वैवाहिक बन्धनमा बाँधिएका अनिलका १ छोरा र १ छोरी गरि २ सन्तान छन् । जुनसुकै स्थानमा जाँदा पनि श्रीमती र छोराछोरीले साथ दिने गरेका छन् । बुबाको महानता, श्रीमतीको त्याग, आमा र छोराछोरीको प्रेमले जीवन रसमय बनेको अनिल बताउँछन् । वंशाणुगत शारीरिक समस्या मार्बल बोन डिजिजमार्बल बोन डिजिज एक दुर्लभ आनुवंशिक समस्या हो, जसलाई ओस्टियोपेट्रोसिस पनि भनिन्छ । जसले हड्डीको विकासलाई प्रभावित गर्दछ । हड्डीको पुनर्निर्माणमा बाधा पुर्‍याउँछ । परिणामस्वरूप हड्डी असामान्य रूपमा कठोर, तर अत्यन्त भंगुर बनाउँछ । यस्तो अवस्थामा हड्डीहरू असामान्य रूपमा बाक्लो हुन्छन् र जतिबेला पनि भाँचिने सम्भावना अत्यधिक हुन्छ । हड्डीहरू कमजोर हुने भएका कारण ठोक्किन र लड्नबाट बच्नुपर्ने हुन्छ । मार्बल हड्डी रोगको लागि जिम्मेवार आनुवंशिक उत्परिवर्तन दोषपूर्ण जीन बोक्ने आमाबाबुबाट वंशाणुगत हुन सक्छ । यी उत्परिवर्तनहरूले ओस्टियोक्लास्ट भनिने कोशिकाहरूको कार्यलाई असर गर्छ, जुन नयाँ हड्डीको विकासको लागि बाटो बनाउन पुरानो हड्डीको तन्तुलाई तोड्न जिम्मेवार हुन्छ ।  मार्बल बोन डिजिज सर्भाइभर अनिलको जीवनमा पनि उपचारको लागि बुबाले धेरै अस्पतालहरुदेखि भारतसम्म बोकेर लगेका थिए । धेरै हड्डीको डाक्टरसँग सल्लाह लिँदा यो समस्या निको हुने उपचार नभएको बरु लड्न, ठोक्किनबाट बच्नुपर्ने सुनाएका थिए । त्यसपछि अस्पतालहरु धाउन छोडेको अनिल बताउँछन् । बाहिर जाँदा भर्याङ चढ्न उक्लन समस्या भएका कारण अनिल हत्तपत्त बाहिर निस्कँदैनन् । हिँडडुल गर्न केही समस्या भए पनि सम्पादनमा कुनै समस्या नभएकाले आफूलाई अन्य सामान्य मानिसझैँ महसुस हुने उनले बताए । उनी आफुलाई मिष्टर ग्लासका रुपमा चिनाउँछन् । मिष्टर ग्लासको संघर्ष र सपनासानोमा घिस्रिएर हिँड्ने अनिल ६० सालपछि बैसाखीको सहारामा हिँड्न थाले । उनले जीवनमा केहि गर्नुपर्छ भनेर आफै मोबाईल पसल खोलेर रिपेयरिङको काम गर्न थाले । २० वर्ष जति मोबाईल पसलमै बिताए । आफुभित्र भएको ईच्छा र सिर्जनालाई रोक्न सकेनन् । उनी विस्तारै डिजाईन र सम्पादन आफै सिक्न थाले । उनले जेनेक्स मिडिया नामको कम्पनी खोलेर बिस्तारै भिडियोहरु सम्पादन गर्न थाले । उनी निरन्तर ११ वर्षदेखि डिजाईनर तथा भिडियो सम्पादकको रुपमा काम गरिरहेका छन् । कम्युटरको किबोर्ड माउस र मोनिटरसँग अभ्यस्त अनिल बिहान ८ बजेदेखि बेलुका १० बजेसम्म सम्पादनकै कार्यमा व्यस्त देखिन्छन् । उनले भिडियोहरु सम्पादन गरेरै महिनाको लाख भन्दा बढी कमाई गर्ने गर्दछन् । कहिलेकाहिँ महिनामा दुई तीन लाख सम्म हुने गरेको उनी बताउँछन् ।सानैदेखि केही गरौँ र नाम राखौँ भन्ने सोच बोकेका अनिल आफ्ना बाबु आमालाई प्रेरणाको स्रोत मान्छन् । उनी यतिबेला आफैले निर्देशन गरेको म्युजिक भिडियोको सम्पादनमा व्यस्त छन् । अनिल आफैले लेखेको नयाँ लघुचलचित्र निर्माण गर्ने योजनामा पनि रहेका छन् । उनको एउटा सपना छ, चलचित्र निर्देशन गर्ने । यसको लागि ५ वर्षदेखि स्क्रिप्टमा काम गरिरहेका छन् । कुनै निर्माता भेटियो भने चलचित्र निर्माणको कार्य पनि चाँडै सुरु हुने उनी बताउँछन् । सम्पादकदेखि निर्देशकसम्म यात्रानयाँनयाँ म्युजिक भिडियो, वृत्तचित्र, र चलचित्रको सम्पादन गर्ने सिर्जनशील कर्ममा अनिलले झन्डै डेढ दशक बिताइसकेका छन् । कम्युटरको ज्ञान भएका उनले सम्पादन कला आफैँ सिकेका हुन् । उनले ६ सय भन्दा बढि नेपाली भाषाका म्युजिक भिडियोहरु, सयभन्दा बढि लघुचलचित्रहरु, ६० भन्दा बढि वृत्तचित्रहरु सम्पादन गरिसकेका छन् ।१ दर्जन ठूलो पर्दाका चलचित्रहरु सम्पादन गरेका अनिलले मट्टिमाला, झमक बहादुर, तिम्रो मन बदलिएछ, कसैलाई नभन्नु, ब्ल्याक ब्युटी, द्रौपदी, सेमिफुङ, फुर्वा, थिम लगायत विदेशी चलचित्रहरु पनि सम्पादन गरेका छन् । जापानिज सर्टफिल्म पुष्प (द हर्बल ब्वोई) लगायत विभिन्न जातजाति तथा धर्मसँग सम्बन्धित धरै भिडियोहरु सम्पादन गरिसकेका छन् ।अनिलले सम्पादन मात्र नभई डिजाईन, कलर तथा निर्देशन समेत गर्ने गर्दछन् । एक दर्जन बढि म्युजिक भिडियोहरु तथा लघुचलचित्रहरु निर्देशन गरेका छन् । उनले आफै निर्देशन गरेको लघुचलचित्र गौरव, कम्युटर र बैसाखीे धेरै महोत्सवहरुमा छनोट भएर प्रदर्शनसमेत भईसकेको छ । उनले सगरमाथा म्युजिक अवार्ड, स्टार म्युजिक अवार्डलगायत विभिन्न अवार्डमा सर्वोत्कृष्ट सम्पादकको अवार्डसमेत पाएका छन् ।

‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ प्राप्त हुने मुनाफा उनकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताएका छन् । कप्तान सुब्बालाई इलामदेखि काठमाडौं ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलमा फुटबल खेलाएका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ अभियान सञ्चालन गरेका छन् । उनले भने, ‘यस चलचित्रबाट प्राप्त सम्पूर्ण मुनाफा अञ्जिलाको घर निर्माणमा लगाउने छौं । नेपालमा प्रदर्शनबापत आउने रकम र त्यस अगाडि हङकङ, बेलायत र दक्षिण कोरियामा गरिएको विशेष प्रदर्शनीबाट संकलन भएको रकमले हामीले देखेको सपना पूरा हुनेमा विश्वस्त छौं ।’ उनी कप्तान सुब्बाको धर्मपिताका रुपमा परिचित छन् । गत फागुन २९ गते होलीलाई लक्षित गर्दै प्रदर्शन सुरु भएको चलचित्रले तीन दिनमा दुई करोड सात लाखको व्यापार गरेको वितरक करण श्रेष्ठले जानकारी दिए । ‘प्रदर्शनकै दिनदेखि हामी काठमाडौं उपत्यकामा रहेका प्रायः चलचित्र भवनमा पुगेर दर्शकमाझ प्रतिक्रिया लिइरहेका छौं । चलचित्रको व्यापार पहिलो दिनको तुलनामा दोस्रो दिन र दोस्रो दिनको तुलनामा तेस्रो दिन बढेको छ । चलचित्र हेर्नुभएका दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ, यसकारण आउँदा दिनमा व्यापार बढ्नेमा हामी विश्वस्त छौं’, वितरक श्रेष्ठले भने । उनले चलचित्र प्रदर्शनको चौथो दिन आइतबार र पाँचौँ दिन आज पनि दर्शकको उपस्थिति राम्रो रहेको जानकारी दिँदै थप व्यावसायिक तथ्यांक आउँदो केही दिनमा सार्वजनिक गर्ने बताए । कप्तान सुब्बा आफैंले अभिनय गरेका कारण दर्शक उनको संघर्ष र सफलतासँग भावनात्मक रुपमा जोडिएको निर्देशक मिलन चाम्सले बताए । ‘कप्तान सुब्बाको कथा सुनेपछि यसले अन्यलाई प्रेरणा दिन्छ भनेर चलचित्र निर्देशन गर्न सहमत भएको थिएँ । हामीले रुचाएको कथालाई दर्शकले पनि रुचाउनु भयो । यो सफलताले आगामी दिनमा अन्य खेलाडीको कथामा चलचित्र निर्माण गर्न हौसला थपेको छ’, निर्देशक चाम्सले भने । चलचित्रमा कप्तान सुब्बासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र निर्माणमा तुबेन्द्र लिम्बू, विनोद अग्रवाल, राजेश बगडियाले सहकार्य गरेका छन् ।