काठमाडौं । आइएमई लिमिटेडले चर्चित गायक तथा अभिनेता प्रकाश सपुतलाई सांगीतिक दूत (म्युजिकल एम्बेसेडर) नियुक्त गरेको छ ।
शुक्रबार आयोजित एक कार्यक्रममा आइएमईले सपुतलाई सांगीतिक दूतका रूपमा सार्वजनिक गरेको हो । ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने तथा रेमिट्यान्स सेवाप्रति जनचेतना विस्तार गर्ने उद्देश्यले सपुतसँग सहकार्य गरिएको कम्पनीले जनाएको छ ।
लोकगीत तथा सामाजिक विषयवस्तुमा आधारित सिर्जनाका कारण लोकप्रिय रहेका सपुतका गीतहरू देशभित्र मात्रै होइन, विदेशमा रहेका नेपालीमाझ पनि उत्तिकै रुचाइने गरेका छन् । विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपालीका भावना, संघर्ष र जीवन भोगाइलाई उनले आफ्ना गीतमार्फत निरन्तर उठाउँदै आएका छन् ।
आइएमईले रेमिट्यान्सले देशको अर्थतन्त्र र समाजमा पुर्याएको योगदानबारे आम नागरिकलाई थप जानकारी दिन सपुतको सहभागिताले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।
सम्झौता कार्यक्रममा आइएमईका महाप्रबन्धक बद्री कटवालले सपुतका सिर्जनाले नेपाली समाजको यथार्थ चित्रण गर्ने भएकाले यो सहकार्यले कम्पनीको अभियानलाई थप प्रभावकारी बनाउने बताए ।
‘उहाँका सिर्जनाले नेपालीको मन छुन्छन् । त्यसैले यो सहकार्यले हाम्रो अभियानमा छुट्टै अपनत्व थप्नेछ,’ उनले भने, ‘स्वदेश र विदेशको दूरी कम गर्न संगीत बलियो माध्यम बनेको छ, जसले प्रवासी नेपाली श्रमिकहरूका लागि सारथीको भूमिका निर्वाह गर्न सक्छ ।’
कार्यक्रममा गायक सपुतले आइएमईजस्तो प्रतिष्ठित संस्थासँग जोडिन पाउँदा खुसी लागेको बताए । उनले संगीतमार्फत विश्वभर छरिएका नेपालीलाई आफ्नो माटो र संस्कृतिसँग जोडिराख्ने प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।