प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाबाट तीन अध्यायदेश स्वीकृत भएको छ । सभाको सोमबारको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ सर्वसम्मत रूपमा स्वीकृत भएको हो ।        बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले ती विधेयकलाई अस्वीकार गर्ने सूचना प्राप्त नभएको व्यहोरा जानकारी गराएका थिए ।   बैठकले नेपाली कम्युनिष्ट पार्टीका सांसद रामचन्द्र भट्टराईको निधनमा सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २४ गते मङ्गलबार अपराह्न १ः०० बजे बस्नेछ ।   

प्रतिशोधको डोको स्याहार गरेर राख्नूहोला, पालो तपाईंहरूको पनि आउन सक्छ : महर

काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले सत्तापक्षलाई एमालेको शीर्ष नेतृत्वमाथि प्रतिशोधको भावना राखेर कदम नचाल्न चेतावनी दिएका छन् ।  सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले वर्तमान सरकारको शैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउलाई गैरकानुनी र अन्यायपूर्ण भन्दै तत्काल रिहा गर्न मागसमेत गरे ।  महरले सरकारको  कदमले संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्ड दुवैको उल्लंघन गरेको दाबीसमेत गरे । महरले नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हक विशेषगरी स्वतन्त्रता, समानता र जीवन जिउने अधिकारको विरुद्धमा सरकारले कार्य गरेको आरोप लगाएका छन् । साथै संयुक्त राष्ट्रसंघको मानवअधिकार घोषणापत्र १९४८ मा उल्लेखित प्रावधानहरूसँग पनि यो कदम असंगत रहेको उनको भनाइ थियो । उनले राजनीतिक प्रतिशोधको प्रवृत्ति लोकतन्त्रका लागि गम्भीर खतरा भएको उल्लेख गर्दै यस्तो अभ्यास अन्त्य गर्न जोड दिए ।  महरले वर्तमान सरकारलाई भविष्यप्रति सचेत गराउँदै सत्ता सधैं स्थायी नहुने स्मरण गराए ।  ‘आज सत्तामा हुनुहुन्छ, भोलि तपाईंहरू पनि पूर्व हुनुहुनेछ । त्यसैले अरूमाथि अन्याय गर्नुअघि त्यसको परिणामबारे सोच्नु जरुरी छ,’ उनले चेतावनी दिए ।  महरले प्रतिशोध साँध्ने काम गरे अहिलेकालाई फाल्न प्रयोग भएको डोको स्याहार गरेर राख्न पनि आग्रह गरे । उनले भने, ‘त्यो डोको फेरि तपाईंहरूलाई फाल्न आवश्यक पर्न सक्छ ।

लीला भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् । सोमवार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।  भण्डारी राष्ट्रिय सभाको उपाध्यक्ष निर्विरोध निर्वाचित भएको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।  त्यस अवसरमा उनले नवनिर्वाचित उपाध्यक्ष भण्डारीलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरिन् । एमाले सांसद भण्डारी, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लगायतका सबै दलहरूको सहमतिमा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन् । उनले संविधान सभा सदस्य र शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेकी छन् ।