संसदमा ‘एकीकृत लाइन’ खोज्दै एमाले, सांसदलाई संसदीय रणनीति प्रशिक्षण

काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्ना संघीय सांसदहरूको संसदीय भूमिका थप प्रभावकारी बनाउन विशेष प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ। संसदमा पार्टीको धारणा, नीति र रणनीति एउटै ढंगले प्रस्तुत गराउने उद्देश्यसहित आयोजित कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद सहभागी छन्।

एमाले संसदीय विभागको आयोजनामा भएको कार्यक्रममा सांसदहरूलाई संसद सञ्चालन, संसदीय समितिको भूमिका, विधेयकमाथिको छलफल तथा पार्टी नीतिअनुसार संसदमा प्रस्तुत हुनुपर्ने विषयमा प्रशिक्षण दिइँदैछ।

संसदीय विभाग प्रमुख एवं सचिव पद्मा अर्यालका अनुसार कार्यक्रमको उद्देश्य सांसदहरूलाई संसदीय अभ्यासमा थप सक्षम र प्रभावकारी बनाउनु हो। संसदमा उठाउनुपर्ने विषय, समितिहरूको अधिकारक्षेत्र तथा संसदीय प्रक्रियाका व्यावहारिक पक्षबारे पनि विस्तृत छलफल हुनेछ।

प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि सांसदहरूलाई समसामयिक राजनीतिक अवस्था, पार्टीको रणनीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे ‘ब्रिफिङ’ गर्ने कार्यक्रम छ।

त्यसैगरी, संसद सचिवालयका पूर्वसचिव हर्कराज राईले संसद सचिवालयको कार्यप्रणाली, सांसदका अधिकार तथा दायित्व, संसदीय समितिको प्रभावकारी उपयोग र समितिमार्फत उठाउनुपर्ने विषयबारे प्रशिक्षण दिनेछन्।

महासचिव शंकर पोखरेलले भने पार्टी नीति, संसदीय अनुशासन र सांसदको राजनीतिक जिम्मेवारीबारे आफ्नो प्रस्तुति दिने कार्यसूची रहेको छ। उनले सांसदहरूले संसदमा प्रस्तुत गर्ने धारणा पार्टीको आधिकारिक नीतिसँग मेल खाने गरी अघि बढ्नुपर्ने तथा विषयगत मुद्दामा पार्टीका सम्बन्धित विभागसँग नियमित समन्वय र परामर्श गर्नुपर्ने विषयमा स्पष्ट पार्ने कार्यक्रम रहेको बताइएको छ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यक्रममा केन्द्रीय विभागका प्रमुख तथा पूर्व विभागीय प्रमुखहरूको पनि सहभागिता रहेको छ। कार्यक्रममा विभागगत विज्ञहरूको ‘रोस्टर’ तयार गर्ने तयारीसमेत गरिएको छ, जसअन्तर्गत विभिन्न विषयका विज्ञहरूको सूची तयार गरी आवश्यक पर्दा सांसदहरूले उनीहरूसँग प्रत्यक्ष परामर्श लिन सक्ने व्यवस्था मिलाइनेछ।

एमालेले संसदमा आफ्ना सांसदहरूको प्रस्तुति, नीति तथा विषयगत तयारीलाई थप व्यवस्थित र समन्वित बनाउने उद्देश्यका साथ यस्तो प्रशिक्षण कार्यक्रम आयोजना गरेको जनाएको छ।

Share News