सुुदूरपश्चिमका मतदातामाझ बालेनले भने– भोट नदिए पनि हुन्छ, कामको लिस्ट दिनूस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताएका छन् । बुधवार धनगढीमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले सो दाबी गरेका हुन् । वरिष्ठ नेता साहले आफूहरू भोट माग्न नभई जनतासँग काम माग्नका लागि आएको जिकिर समेत गरे ।  उनले आफ्नो पार्टीले सुदूरपश्चिमलाई बनाउने आश्वासनसमेत दिए ।  रास्वपालाई भोट नदिएपनि कामको लिष्ट दिए हुने वरिष्ठ नेता साहको भनाइ थियो ।  उनले भने, राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंहरुसँग भोट माग्न आएको होइन, काम माग्न हो । काम दिनूस् है । तपाईंहरुले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ । काम माग्न आएको हो ।’ सो पार्टीका प्रधानमन्त्रीका उम्मेदवार समेत रहेका साहले आँखाबाट चस्मा खोल्दै आफ्नो आँखा नभई काम हेर्न पनि सबैलाई आग्रह गरे ।  वरिष्ठ नेता साहले गरिबको पक्षमा आफूहरूले काम गर्ने समेत बताए ।

पपुलिस्ट शक्तिहरू सत्तामा आएमा त्यसको भार नेपालले थेग्न सक्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई अहिले सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरू उभिएको बताएका छन् । बुधवार राजधानीमा आयोजिक कार्यक्रममा उनले अबको पाँच वर्ष खेर नफाल्ने गरि संकल्प र योजनासहित आफूहरू आएको बताए । उनले नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको बताए । त्यसलाई सम्बोधन गर्न सुधार आवश्यक रहेको उनको भनाइ छ ।  सभापति थापाका अनुसार विगत १०–१२ वर्षमा जति विकास हुनुपर्थ्यो, त्यो हुन सकेन । तर अबका पाँच वर्ष खेर जान नदिने उनले प्रतिवद्धता जनाए । देश बनाउन सबै राजनीतिक दलहरूको सहभागिता र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।  आगामी निर्वाचनबाट पपुलिस्ट शक्तिहरू सत्तामा आएमा त्यसको भार नेपालले थेग्न नसक्ने उनको भनाइ छ ।  उनले हालको प्रमुख चुनौती देशलाई पपुलिजमबाट जोगाउनु रहेको पनि बताए । सभापति थापाले बौद्धिक व्यक्तित्व तथा पेशाकर्मीहरूलाई पपुलिजमको विरुद्धमा बोल्न आग्रहसमेत गरेका छन्।

नेपाली कांग्रेसको प्रतीज्ञा पत्र सर्वसम्मत पारित, आज जनकपुरधामबाट सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तयार पारिएको पार्टीको प्रतीज्ञा पत्र सर्वसम्मत रूपमा पारित गरेको छ । भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमितिको बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि तयार पारिएको उक्त प्रतीज्ञा पत्र अनुमोदन गरेको हो । पारित प्रतीज्ञा पत्र बुधबार (आज) मधेस प्रदेशको ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने विशेष सभामार्फत सार्वजनिक गरिने पार्टीले जनाएको छ । कांग्रेसले मधेसबाटै चुनावी अभियानलाई औपचारिक गति दिन खोजेको देखिएको छ । प्रतीज्ञा सभा कार्यक्रममा पार्टीका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका शीर्ष नेताहरूको सम्बोधन रहनेछ । उनीहरूले प्रतिज्ञा पत्रका मुख्य प्रतिबद्धता, सुशासन, आर्थिक सुधार, रोजगारी सिर्जना, संघीयताको सुदृढीकरण तथा समावेशी लोकतन्त्रका एजेन्डाबारे धारणा राख्ने कार्यक्रम छ । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार जनकपुरधाममा आयोजना हुने यो सभा केवल चुनावी औपचारिकता नभई मधेसको स्वाभिमान, सामाजिक सद्भाव, पहिचान र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरका रूपमा लिइएको छ । मधेस आन्दोलनपछिको राजनीतिक सन्दर्भलाई ध्यानमा राख्दै कांग्रेसले मधेसमा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउने रणनीति अघि सारेको बुझिएको छ । पार्टी स्रोतका अनुसार प्रतिज्ञा पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्यमा सुधार, कृषि आधुनिकीकरण, युवा रोजगारी तथा आर्थिक वृद्धिदर उकास्ने कार्यक्रमहरूलाई प्राथमिकता दिइएको छ । आगामी निर्वाचनलाई निर्णायक मोडका रूपमा लिँदै कांग्रेसले प्रतिज्ञा पत्रमार्फत मतदातासँग प्रत्यक्ष प्रतिबद्धता जनाउन खोजेको जनाएको छ । जनकपुरबाट सुरु हुने यो अभियानले तराई–मधेस क्षेत्रमा चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने राजनीतिक विश्लेषकहरूको आंकलन छ ।