गुल्मीमा ६ उम्मेदवारले आफैलाई मतदान गर्न नपाउने
काठमाडौं । गुल्मी जिल्लाका दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका ४३ उम्मेदवारमध्ये ६ जना उम्मेदवारले भने आफ्नै पक्षमा मतदान गर्न नपाउने भएका छन् । आफू उम्मेदवार बनेको निर्वाचन क्षेत्रमा मतदाता नामावली नरहेका कारण उनीहरू मतदानबाट वञ्चित हुने अवस्था आएको हो । गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोविन्द पन्थीले आफ्नै पक्षमा मत हाल्न नपाउने भएका छन् । निर्वाचन आयोगको मतदाता नामावलीअनुसार पन्थीको नाम काठमाडौं महानगरपालिका–१० मा रहेको छ । संघीय संसदको उम्मेदवार हुन देशको जुनसुकै मतदान केन्द्रमा नामावली भए पुग्छ । मतदान भने सम्बन्धित मतदाता नामावली रहेको मतदान केन्द्रबाट मात्रै गर्न पाइने कानुनी व्यवस्था छ । मतदाता नामावली तथा मतदान सम्बन्धी ऐनले देशको कुनै पनि स्थानको मतदाता नामावलीमा नाम रहे उम्मेदवार बन्न रोक लगाएको छैन । तर मतदान गर्न भने आफ्नो नाम दर्ता भएको मतदान केन्द्रमै उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ । यही प्रावधानका कारण पन्थीले गुल्मी–२ मा उम्मेदवारी दिए पनि त्यहीँबाट मतदान गर्न नपाउने भएका हुन्। यस्तै, गुल्मी–१ बाट मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार खड्कबहादुर गुरुङको मतदाता नामावली नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको छ । त्यसैगरी, नेशनल रिपब्लिकन पार्टीबाट गुल्मी–१ का उम्मेदवार लोकबहादुर थापाको मतदाता नामावली बुटवल उपमहानगरपालिका सालघारीमा रहेको छ । उनीहरू दुवैले पनि आफू उम्मेदवार भएको क्षेत्रमा मतदान गर्न पाउने छैनन् । यसैगरी, जनमोर्चाका उम्मेदवार लालबहादुर थापा र मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार वेदबहादुर थापाले पनि आफ्नै क्षेत्रमा मत हाल्न नपाउने भएका छन् । उनीहरूको मतदाता नामावली सम्बन्धित निर्वाचन क्षेत्रभन्दा बाहिर रहेको छ । लाल बहादुरको मतदाता नामावली काठमाडौंको नागार्जुन नगरपालिका र वेदबहादुरको दाङको घोराही उपमहानगरपालिकामा रहेको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार मैयाँलक्ष्मी त्यातले पनि मतदान गर्न पाउने छैनिन् । भक्तपु्र निवासी त्यात गुल्मी– १ बाट चुनावी मैदानमा उत्रिएकी छन् ।
उज्यालो नेपाल पार्टीले सार्वजनिक गर्यो निर्वाचन प्रतिबद्धतापत्र, २०३५ सम्म १११ अर्ब डलर जीडीपी पुर्याउने लक्ष्य
काठमाडौं । उज्यालो नेपाल पार्टीले आइतबार (आज) आफ्नो निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गर्दै आगामी आर्थिक र पूर्वाधार योजना प्रस्तुत गरेको छ । पार्टीले २०३०-२०३५ सम्मका लागि देशको आर्थिक रूपान्तरण र विकास लक्ष्यहरू घोषणा गरेको हो । पार्टीका अनुसार सन् २०३० सम्म कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ७० अर्ब डलर र २०३५ सम्म १११ अर्ब डलर पुर्याउने लक्ष्य रहेको छ । यसअन्तर्गत २५ हजार मेगावाट विद्युत उत्पादन गरी विदेशी बजारमा निर्यात गर्ने, जसबाट वार्षिक आम्दानी वृद्धि हुने योजना छ । योजना अनुसार जलविद्युत, जडीबुटी, सिमेन्ट, पर्यटन र सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्रवर्द्धन गरी उत्पादन, निर्यात, पूर्वाधार र विप्रेषणबाट जीडीपी बढाइने छ । २०३५ सम्म नेपाललाई उच्च मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने लक्ष्य पनि पार्टीले लिएको छ । यस अन्तर्गत निर्यात २०३० सम्म १० अर्ब डलर र २०३५ सम्म २० अर्ब डलर पुर्याउने योजना रहेको छ । त्यसैगरी, श्रममूलक प्रविधि, जलविद्युत, जडीबुटी र नविन प्रविधिको उचित उपयोग गरेर व्यापार घाटा घटाउने योजना पनि प्रतिबद्धतामा समावेश गरिएको छ ।
निर्वाचन : ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ
काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । शनिबारसम्म एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । शुक्रबारसम्म ६३ जिल्लाको मतपत्र छपाइ सकिएको थियो । आज थप तीन जिल्लाको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ । अब ११ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी रहेको छ । काठमाडौँ उपत्यका वरपरका जिल्लाको मात्र मतपत्र छपाइ बाँकी रहेको जनाइएको छ । अब दुई दिनमा मतपत्र छपाइ सकिने अनुमान गरिएको जनाइएको छ । छापिएका जति जिल्लाको मतपत्र प्याकिङ पनि भइसकेको छ । हालसम्म १६ हजार ४९४ बाकस मतपत्र प्याकिङ भइसकेको छ । हाल दिनमा करिब एक हजार बाकस मतपत्र प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ । गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको पनि आयोगले जनाएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्पmको मतपत्र छपाइ सुरु भएको हो । कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाइयो मतपत्र छपाइ भएको मतपत्र आजैदेखि आयोगले कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाउन सुरु गरेको छ । आयोगले आज कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको सहायक प्रवक्ता न्यौपानेले बताए । रासस