रास्वपाको केन्द्रीय समिति बैठक भोलि बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक भोलि (वैशाख ७) गते बस्ने भएको छ । पार्टी कार्यालयद्वारा जारी सूचनाअनुसार बैठक सोही दिन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा आयोजना गरिनेछ । बैठकमा केन्द्रीय समितिका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।  पार्टीले समसामयिक राजनीतिक अवस्था तथा संगठनात्मक विषयमा छलफल हुने जनाएको छ ।

नेपालमा दूतावास खोल्न टर्कीका सभामुखलाई अध्यक्ष दाहालको प्रस्ताव

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ ।  अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १५२औं महासभामा सहभागी हुन इस्तानबुलमा रहेका अध्यक्ष दाहालले शनिबार टर्कीको संसद्का सभामुखसँग शिष्टाचार भेट गरेका हुन् ।  भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको  सचिवालयले जनाएको छ ।  द्विपक्षीय भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत दुई देशबीचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनुपर्ने उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीयमैत्री समूह गठनका लागि आफूहरू आतुर रहेको बताए । दुई देशबीचको कूटनीतिक सम्बन्ध छ दशकदेखि नै सौहार्द र आपसी सम्मानमा आधारित रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालमै टर्कीको दूतावास स्थापना गर्न आग्रह गरे ।  अहिले टर्कीसँग जोडिएका सबै काम गर्न नेपाली भारतको राजधानी दिल्ली धाउनुपर्ने स्थिति रहेको भन्दै अध्यक्ष दाहालले नेपाल र टर्कीबीच श्रम सम्झौता गर्नुका साथै नेपालमै टर्किस दूतावास स्थापना भए दुई देशबीचको सहकार्यमा थप सहज हुने विश्वास व्यक्त गरे । आइपीयूको महासभामा टर्की सरकार र संसद्ले गरेको स्वागत र हार्दिकताका लागि अध्यक्ष दाहालले धन्यवाद व्यक्त गर्नुभयो । सो क्रममा टर्कीको संसद् ग्रान्ड नेसनल एसेम्बलीका सभामुखले राष्ट्रियसभा अध्यक्षसहित नेपाली संसदीय प्रतिनिधिमण्डललाई इस्तानबुलमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।  टर्की र नेपालबीच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन आफूहरू सदैव तत्पर रहेको उल्लेख गर्दै सभामुख नुमानले नेपालमा टर्किस दूतावास खोल्न सकारात्मक रहेको बताए   टर्किस सरकारले नेपालका लागि सीमित कोटाको शैक्षिक छात्रवृत्तिको व्यवस्था गरेको उल्लेख गर्दै उहाँले छात्रवृत्तिको कोटा वृद्धि गर्ने र दुई देशबीचको व्यापार पनि बढाउने प्रतिबद्धता व्यक्त गरे ।  आगामी नोभेम्बरमा कोप–३१ टर्कीमा हुन लागेको उल्लेख गर्दै सभामुख नुमानले त्यसको नेतृत्वका लागि टर्कीलाई आवश्यक सहयोग गर्न अनुरोध पनि गरे । भेटमा आइपीयूमा सहभागी नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरू पनि उपस्थित थिए ।  

योजना तर्जुमा गर्न रास्वपाले विज्ञको सहयोग लिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक विज्ञ र योजनाहरू आह्वान गर्ने भएको छ । आइतबार (आज) बस्ने सचिवालय बैठकले यसको प्रारूप र कार्यविधि तय गर्ने बताएको छ ।  रास्वपाले आइतबार दिउँसो साढे तीन बजेका लागि सचिवालय बैठक बोलाउँदै विज्ञ र योजना आह्वान गर्ने बताएको हो ।  रास्वपाको योजनाअनुसार कुनै पनि व्यक्ति, संस्थाले पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, उद्यमशीलता, उत्पादन लगायत क्षेत्रमा योजना प्रस्तुत गर्न सक्नेछन् ।  राजनीतिक दलले गरेको यो पहिलो अभ्यास हो । विगतमा यस्तो अभ्यास थिएन । सरकारले आगामी जेठ १५ गते बजेट ल्याउने छ । त्यसभन्दा पूर्व सरकारले नीति, कार्यक्रम ल्याउने छ । सचिवालय बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन सम्बन्धमा, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघिय नेतृत्व मञ्च र विभागहरूको मनोनयन र महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन लगायत विषय कार्यसूचिमा राखेको छ ।  सचिवालय बैठकमा प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक र संसदीय दलको लागि प्राविधिक सहायता एवं लेवी सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।